अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०४ | Colorodo: 11:19

मैले चिन्न नसकेको मान्छे

राम खत्री, न्यु योर्क २०७८ मंसिर ७ गते १७:४८ मा प्रकाशित

ललितपुरको मंगल बजारदेखि लुभुसम्मको बाटो २०२२—२३ साल अगाडि नै मोटर चल्ने सडक थियो तर साना गाउँबाट शंखादेवी मेरो गाउँ जाने बाटो गोरेटो नै थियो । २०२४ सालतिर जस्तो लाग्छ शिवहरी आचार्यको नेतृत्वमा साना गाउँंदेखि विशंखुरायाण स्थान सम्म मोटर बाटो बनाउने अभियान चलेको थियो । त्यति बेला हाम्रो भेगतिर नाम चलेका मान्छेहरूमा शिवहरी आचार्य र लोकबहादुर विष्ट दुई जना सरकारी उच्च ओहोदामा हुनुहुन्थ्यो । शायद लोकबहादुर विष्टले पनि त्यो अभियानमा अफिसियल काममा केही सहयोग गर्नु भयो की मलाई थाहा भएन तर शारीरिक रूपमा उहाँ कहिले पनि सडक बनाउन आउनु भएको मलाई थाहा भएन ।

सुरुवाती काममा जहिले पनि तीन वटा अवस्था आउँछन् (१) उपहास (२) विरोध, (३) स्वीकृति । सडक बनाउने भन्नासाथ सबै ठाउँका समस्या उस्तै उस्तै हुन । कसैको निजी वा सार्वजनिक जग्गा नकाटी सडक बन्दैन । सबै ठाउँमा सार्वजनिक जग्गा मिल्दैन । अरूको जग्गा काटेर सडक बनाउन सबैलाई मज्जा लाग्छ । आफ्नो जग्गा काट्ने बेला आएपछि त्यही मान्छे —‘लौ कसरी काट्छौ मेरो जग्गा’ भनेर जग्गामै गएर सुत्ने आफ्नै दाजुभाइ दिदीबहिनीहरू मैले धेरै देखेको छु । सकेसम्म सडकले कसैको घर आँगन काट्न वा भत्काउन नपरोस् भन्ने धेय पनि राखिएको थियो तरपनि योजनाबद्ध काम नभएको गाउंँठाउँ वा सहर जहांँपनि त्यो सम्भव नहुने । त्यो सडकको नाम त्यतीबेला ललित घुम्ति भनिएको जस्तो लाग्छ मलाई । यो सडक अभियानले माथिका तीनै अवस्था पार गर्नु पर्‍यो । सुरुसुरुमा ‘कसरी अरूको जग्गाबाट बाटो खान्दो रहेछ हेरौला’ भनेर खिल्ली उडाउने पनि ननिस्किएका होइनन् । सडकको काम अगाडि बढ्दै गएपछि विरोध आउन थाल्यो । मेरो जग्गा काट्न पाइन्न भनेर जग्गामा सुत्न नआउने पनि भएनन् ।

सानागाउँं नेवार बस्तीको एउटा सानो सहरै हो । यो सहर भित्रैबाट पनि साधारण मोटर जान सक्ने बाटो थियो । तर मोटरको आवत—जावत भएपछि एक्सिडेन्ट वा अन्य घटना बढ्न सक्छ भनेर मान्छेको जीवनको ख्याल गरेर सडकलाई सहर बाहिरबाट लग्ने योजना बनेको थियो । यसका योजनाकार शिवहीनै हुनुहुन्थ्यो । बाटो खन्ने काम प्रत्येक दिन हुन्थ्यो । खेती किसानी गर्नेहरू जुन दिन उनीहरूलाई अनुकूल पर्छ त्यही दिन जान सक्थे । कर्मचारीहरू तथा विद्यार्थीहरू भने बिदाको दिन सडक बनाउने काममा जानु पर्थ्यो । हामी पनि रमाएर शनिवार बाटो खन्न जान्थ्यो । कुन गाउँबाट को—को मानिस सडक बनाउन आए भनेर हाजिर लिने पनि चलन थियो । एक दिनको घटना मेरो दिमागमा अझै झलझली आइरहन्छ । हामी घरमा खाना खाएर बाटो खन्नको निमित्त सानागाउँं पुगी सकेका थियौँ ।

घाम मज्जाले लागिरहेको थियो । हामी रमाई रमाइ अरूको भात खाने खेत सडकका निमित्त खन्न थालेका मात्र थियौँ । अलि पर तिरबाट ठूलोठूलो स्वरमा मान्छेहरू कराउँदै हामीतिर आएको आवाज आयो । काम गर्दागर्दै हामी टक्क रोकियौँ । एकैछिनमा थाहा भयो । सडकको निमित्त जग्गा पर्ने जग्गाधनीहरू हामीलाई कुटन तयार भएर हामीतिर आउँदै रहेछन् । हामीलाई डर लाग्न थाल्यो । अब के गर्ने होला । भाग्ने हो की ? बाटो खन्ने हो की । हामी अन्योलमा पर्‍यौँ । नेता र नेतृत्व जहिले पनि अप्ठेरो परिस्थितिमा चिनिने हो । सबै कुरा नियमित रुपमा चलिरहेको अवस्थामा नेताले आफ्नो नेतृत्व गर्न सक्ने क्षमताको प्रदर्शनी गर्न पाएकै हुन्न । सही नेता हो की होइन भनेर चिन्ने भनेको आपत बिपतका अवस्थामा उसको धैर्यता, बुद्धि तथा विवेकको प्रयोगबाट हो ।

त्यति बेला हामी सबै शिवहरिको मुख ताकिरहेका थियौँ । ती आक्रोशित किसानहरू हामी नजिक आइपुग्नुभन्दा अगाडि नै उहाँले हामी सबैलाई शान्त भएर बस्न आग्रह गर्नु भयो । अनि भन्नु भयो— “उनीहरूले कुटिहाले छन् भने पनि जवाफ नफर्काउने । खाली आफू सुरक्षित हुने कोशिस मात्र गर्नु । एक शब्दले पनि उनीहरूलाई केही नभन्नु ।” हामी भने डराइरहेकै थियौँ । भाग्न पनि सकेनौँ । चुपचाप जहाँको तही बसी रह्यौँ । किसानहरू दौडादौड गरेर आए । तर हामीलाई पिटी भने हालेनन् । हामीलाई घचेट्दै परपर पुर्‍याए । धक्का लगाए । गाली पनि गरे । धेरै बेर हो—हल्ला, कोलाहल जस्तै भइरह्यो । धेरै किसानहरू शिवहरिको अगाडि झुम्मिइ रहेका पनि थिए । उहाँलाई पिटी हाल्छन् कि भनेर हामी डराइरहेका पनि थियौँ । घेराउ गरे पनि हातपात भने गरेनन् । कसै—कसैले एक—दुई लात्ती, एक—दुई मुक्का पनि खानु भयो रे । हामी केटाकेटी भएर होला हामीलाई घचेडेर लडाई दिए मात्र । हामीलाई केही भएन । धेरै बेर पछि किसानहरू बिस्तारै एक—एक गर्दै आ-आफ्नो घरतिर लागे । उनीहरू गएपछि बल्ल हामीहरूको मन रमायो । हामी हाँसेर कुरा गर्न थाल्यौँ । फेरि शिवहरिले आएर भन्नु भयो— अहिले हाँस्ने र रमाउने बेला होइन है । शान्त भएर काम गरेको जस्तो मात्रै गर्नु होला । आज कसैको पनि काम गर्ने मुड नहुन सक्छ । हामी खुसी भएको खबरले किसानहरूलाई फेरि उत्तेजित गराउन सक्छन् । उनीहरूलाई हार भएको महसुस हुन दिनु हुन्न । बरु हामीले नै हारेको आभास गर्नुपर्छ । जसले गर्दा आगामी दिनमा काम गर्न सजिलो हुन्छ । बास्तवमा हामीलाई लडाई जितेको जस्तो लागेकै थियो । उहाँले भने जस्तै हामीले काम गरे जस्तो मात्रै गरेर ४—५ घण्टा बितायौँ र घर फर्कियौँ । मैले देखेको शिवहरी आचार्यको पहिलो नेतृत्व त्यही थियो । हरेक काममा उहाँ आफै खटिनु हुन्थ्यो हामी सरह । कहिले पनि नाइके भएर बस्नु भएन ।

सडक बनिसकेपछि उहाँले पाउने सरकारी मोटर हाम्रो घर नजिकको शंखादेवी मन्दिर परिसरमा आयो । हामीलाई मोटर हेर्ने र चढ्ने निकै रहर । हामी धेरै जसो केटाकेटीहरूका स्कुल लुभुमा थियो, गोरेटो बाटोबाट जानु पर्ने । करिब आधा घण्टाको बाटो । मोटर बाटो साना गाउँंतिर जान्थ्यो । उहाँको सरकारी मोटरमा हामी केटाकेटी अटाइ—नअटाई चढेर साना गाउंँतिर जान्थ्यौँ र त्यहाँबाट अर्को आधा घण्टा हिँडेर लुभुको स्कुलमा जान्थ्यौँ । हामी मोटरमा चढेपछि उहाँ हिँडेर साना गाउंँसम्म आउनु हुन्थ्यो । त्यसपछि मोटरमा बसेर कार्यालय जानु हुन्थ्यो । मोटर चढ्न पाउनेहरूको पनि नियम बनाई दिनु भएको थियो जो-जो बाटो बनाउन आएको छ त्यसले मात्र मोटर चढ्न पाउने । सडक बनाउन नआउनेहरूलाई उहाँको मोटर चढ्नमा प्रतिबन्ध थियो ।

अनेक समस्या तथा व्यवधानका बीच पनि ललित घुम्तीले साकार रूप लियो । सडक बनी छाड्यो । सडक तयार भइसके पछि पनि लास्ट प्रयास स्वरूप साना गाउँंका किसान दाजुभाइहरूले त्यो बाटो भरी दिसा—पिसाब गरिदिएर टेक्नै नहुनेगरि फोहोर गरिदिए । हामी पुग्दा पनि मुख छोपेर सडक भरि दिसा गर्नेको लाइन हुन्थ्यो । हामी नाक थुनेर नदेखेको जस्तो गरेर हिड्थ्यौं । तर बिस्तारै समय परिवर्तन हुँदै गयो । मानिसमा चेतना बढ्दै गयो । सडक खन्न गएका बखत हामीलाई कुटन आउने किसानहरू त्यही बाटोको छेउमा आएर घर बनाउन थाले । आज त्यो सडकको वरिपरि घर हुने किसानहरू करोडपति भएर बस्नु भएको छ । हामीले १० फिटे बाटो बनाएका थियौँ । अहिले २२ फिटे सडक बनेको छ । अहिले सबैलाई मज्जा भइरहेको छ ।

त्यसपछि शिवहरिले हाम्रो गाउँमा पोखरी बनाउनु भयो । त्यो पोखरीमा अहिले पानी छैन तर पोखरीको आकार अझै रहेछ । त्यतीबेला हामीहरू सबैको घरमा गाई र भैँसी दुवै थिए । उहाँको घरमा भैँसी थिएन । उहाँलाई पोखरीको आवश्यकतै थिएन । भैँसीको लागि पोखरी चाहिने । त्यसैले उहाँले हाम्रो सुविधाको लागि त्यो काम सम्पन्न गरिदिनु भएको थियो । त्यो पोखरी बनाउंदापनि उहाँ हामी सरह नै काम गर्नु हुन्थ्यो । हामीसँगै बसेर खानु हुन्थ्यो । कहिले हात बाँधेर नाइके भएर बस्नु भएन । अहिले कसैको घरमा पनि बस्तुभाउ छैन । त्यसैले पोखरीको आवश्यकता नै रहेन ।

त्यसपछि उहाँले गाउँमा शिक्षाको विकास हुनुपर्छ भनेर गाउँभरिका ९—१० कक्षामा पढ्ने विद्यार्थीहरूलाई जम्मा पारेर मेरो माइलो बाको नयाँ बनेको घरमा होष्टल खोल्नु भयो । उहाँको घर गाउँमा सबैभन्दा ठुलो थियो । कोठाहरू नै कति थिए कति । अफिसबाट फर्केपछि खाना खाएर उहाँ होस्टेलमा आउनु हुन्थ्यो । विद्यार्थीको प्रश्नहरूको जवाफ दिनु हुन्थ्यो । नयाँ कुरा सिकाउनु हुन्थ्यो । बिहान उठेपछि पनि विद्यार्थीको केही प्रश्न भए त्यसको जवाफ दिएर मात्र आफ्नो घरमा फर्कनु हुन्थ्यो र खाना खाएर अफिस जानु हुन्थ्यो । एक पटक म पनि पढ्न भनेर गएँ तर मैले पढ्न पाइन । किनकि म ६—७ कक्षामै थिएँ । तेरो बेला एक—दुई बर्सपछि आउँछ भनेर फर्काइ दिनु भयो । त्यो होष्टलमा बसेर पढ्ने सबै बिद्याथीले एस.एल.सी पास गरे जस्तो लाग्छ मलाई । मेरो दाइलाई मात्र मुस्किल पर्‍यो ।

पछि म उहाँको भाइ धुब्रहरीसँग अङ्ग्रेजी सिक्न जान्थे । एक दिन उहाँ नभएकोले म घर फर्किँदै थिएँ बाटैमा ठूल्दाई (शिवहरि आचार्य) देखिनु भयो । त्यति बेला गाउँका सबैले शिवहरिलाई ठूल्दाई भन्ने चलन थियो । किनकि उहाँ घरको जेठो छोरा । एक जना भाइ र चार—पाँच जना बहिनीहरू हुनुहुन्थ्यो । त्यो घरमा सबै दिदीबहिनीहरू पढेलेखेका र भलाद्मी हुनुहुन्थ्यो । नपढेको भनेको हजुरआमा र दुई जना बुहारी मात्रै । ठूल्दाईले मलाई सोध्नु भयो— “किन आइस राम यहाँ ।” मैले भने — ‘सान्दाईसंङ्ग पढ्न आएको, आज घरमा हुनुहुँदो रहेनछ, त्यसैले फकिर्न लागेको ’ । “यहाँ आइज, म हेरि दिउँला” भनेर मलाई उहाँको कोठामा बोलाउनु भयो । उहाँको कोठा घर बाहिरै थियो । बाहिरैबाट आवत—जावत गर्न मिल्ने । उहाँ सबै काम रुटिन अनुसार गर्नु हुन्थ्यो र अरूलाई पनि यसरी नियमको पालना गर्नु पर्छ भनेर सिकाउनु हुन्थ्यो । मेरो पढाइका सबै कुरा सोधी सकेपछि उहाँले मलाई अंग्रजीमा एउटा निबन्ध लेख्न सिकाउनु भयो । त्यसको सामान्य नियम बताई दिनु भयो । र “ल लेख” भनेर एउटा निबन्धको मोडेल डिक्टेट गराउनु भयो । त्यो निबन्धलाई तीन प्यारा ग्राफमा विभाजन गरिएको थियो । पछि त्यसको व्याख्या गर्नु भयो । पहिलो प्यारा ग्राफले विषय बस्तुको उठान गर्नु पर्छ । अन्तिम प्यारा ग्राफले उठान गरेको कुरालाई कसरी पुष्टि गरिएको छ त्यसको जानकारी दिनुपर्छ । बिचको प्यारा ग्राफमा लेखकले के भन्न खोजेको हो, त्यसको लागि के के प्रमाणहरू छन्, तर्कहरू के के छन् सबै कुरा राख्नु पर्छ । यसरी नै निबन्धको जन्म गराउने हो भनेर प्रस्ट पारि दिनु भयो । त्यतीबेला मलाई सबै कण्ठ गरेर पास गर्ने ध्यान थियो । पछि अमेरिका आइसकेपछि पनि निबन्धको खाँचो पर्‍यो । नियम त त्यही रहेछ सबैतिर । हामीले प्रयोग मात्र नगरेका ।

उहाँको घरमा हामी गइरहन्थ्यौ । काम परिराख्थ्यो । कहिले काही कोठामा पनि पस्थ्यौँ । त्यहाँ विभिन्न पत्रपत्रिका देखिन्थे । त्यस मध्येमा कोरियन पत्रिकाहरू धेरै देखिन्थे । उहाँ किताबहरू धेरै पढिरहनु पनि हुथ्यो । छोलीमा कोरिया भन्ने पत्रिका हो कि किताब देखेर मैले छोलिमा भनेको के हो भनेर सोधेको थिए । यो शब्द मलाई अनौठा लागेर । उदाउँदो सूर्यलाई कोरिएन भाषामा छोलिमा भनेको हो भन्नु भयो । मलाई त्यति बेला उहाँ कुन बिचार धाराको मान्छे हो थाहा थिएन । हामीलाई मतलब पनि भएन । पुराना पत्रिकाहरू किताबको गाता हाल्न मज्जा आउँथ्यो । म ल्याउथेपनि । उहाँको घरको कौसीमा सडकबाटै देखिनेगरि राजा महेन्द्रका शब्दहरू कुराले मात्र देश बन्दैन भनेर लेखिएको थियो । हामी हरेक दिन त्यो लाइन पढ्दै हिड्थ्यौं । मैले घर छोडेर हिँडेपछि उहाँलाई कहिले भेटिन ।

नेपालमा पहिलो पटक मनमोहन अधिकारीको सरकार गठन भएपछि गाउँमा शिवहरिको नाउँ सुनेँ । त्यति बेला उहाँ बितिसक्नु भएको रहेछ । उहाँ त पुष्पलाल, मनमोहनहरूको सिद्धान्तमा हुनुहुँदो रहेछ । सबै जनाको अनुमान थियो कि यदि उहाँ जिउँदो भएको भए उहांँ पनि प्रधानमन्त्री वा मन्त्रि बन्ने हैसियत राख्नु हुँदो रहेछ । उहाँ साम्यवादी सिद्धान्तमा लागेको थाहा पाएर सरकारले उहाँलाई पक्डने तयारी गरेको सुईको पाएर उहाँ भारतमा स्वनिर्वासित जीवन बिताउन निस्कनु भएको रहेछ । र उतै निर्वाण प्राप्त गर्नु भएछ । यति बेला म उहाँको प्रत्येक सामाजिक कृयाकलापको सम्झना तथा विश्लेषण गर्न थालेको छु । साम्यवादमा जनता र नेता समान स्तरमा रहने कार्ल मार्कस्ले कल्पना गरेको थिए । जनताको निमित्त गाँस, बास, कपासका लागि सबैले समानरुपमा मिहिनेत गर्नुपर्छ । जनता—जनताबिच तथा जनता र नेताबिच समान अधिकार हुनुपर्छ । नेता पनि जनता नै हो । जनता सरहकै जीवन बिताउनु पर्छ भन्ने सिद्धान्तको एउटा सफल प्रयोगकर्ता शिवहरी आचार्य हुनुहुदोरहेछ ।

वर्तमान नेतृत्व वर्ग उहाँका चेलाहरू हुनुहुन्छ होला । पुष्पलाल, शिवहरिहरूको विलयसँगै साम्यवादको मूल सिद्धान्त पनि विलुप्त भएकोजस्तो मलाई लाग्छ । किनकि अहिलेको नेतृत्ववर्गले न जनताको हितको कुरा उठाउँछ, न म जनता सरह हु भन्ने ठान्दछ । गरिब जनतालाई साम्याबादको खोक्रो नारा र नामले लोभ्याएर आफू नेता तथा शासक बन्ने दाउपेचमै सधैँ लिप्त । नेतृत्वमा पुग्नासाथ आफ्नो र आफनाहरुको बन्दोबस्त गर्ने होडबाजीमा खरो उत्रिने । सयौँ चम्चे, ढोके, छातेको वरिपरि रमाउने । यिनैको भजन—कीर्तन सुन्ने । जसले भजन—कीर्तन गाउँदैन उसलाई हाम्रो सिद्धान्तबाट टाढा भयौँ भनेर साम्यवादबाट आउट । ओहो, समयले कसरी पल्टा खाने रहेछ सत्तामा पुग्दा र नपुग्दा । शिवहरी आचार्यले यी सबै कुराको पालना पाइला—पाइलामा गरिरहनु भएको थियो । मेरो गाउँले उहाँबाट निकै फाइदा उठायो तर उहाँलाई कसैले चिन्दै चिनेन वा चिनेर पनि नचिने जस्तो गर्‍यो । मेरो गाउँले हिरा चिन्न सकेन र एउटा गतिलो हिरा गुमायो । देशले एउटा राष्ट्रवादी सपुत त्यसै गुमायो ।