अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 21:48

कोभिडले सम्झाएको कोफिन

स्पन्दन विनोद

स्पन्दन विनोद २०७७ पुष १६ गते ११:३२ मा प्रकाशित

स्मरण लेख:

घटस्थापनाको तेस्रो दिन अर्थात् अक्टोबर १७ का दिन सबै जना दसैँको रमझममा हुनुहुन्थ्यो म भने सदाझैँ बिहान स्नान गरेर भान्छा कोठा छिर्दा केही अनौठो महसुस गर्दै थिए । केही आलस्यता केही कमजोरी केही तापक्रम बढेझैँ भयो । म प्राय: बिरामी नहुने मान्छे र भैहाले नराम्रै थला पर्ने मान्छे भएकोले सामान्य अस्वस्थतालाई त्यति महत्त्व दिन्न थिए । मसँग आजसम्म जीवनको यात्रामा भेटिनु हुने सबैलाई मानव भए पछि सामान्य अस्वस्थताको विषयमा चिन्तित नहुन सधैँ सुझाव दिइरहन्छु । यति बेला डा. रवीन्द्र समीर सरको कुरालाई पनि ब्रिफिंग गर्छु । कोभिडको कहरले विश्वलाई आतङ्कित गरेबाट नै म अति आवश्यक पर्दा बाहेक घरबाट बाहिर निस्केको थिएन। मेरीपुरोधिका ब्यूटिसियन भएका कारण उनी काममा जान्थिन । म प्राय: छोरा रायनसँग घरमै बस्दथेँ । केही वर्ष देखि कार्यस्थलमा L3 – L4 समस्या आएपछि म बिरामी बिदामा भएका कारण काममा पनि जान पर्दैन थियो ।

त्यसो त भान्छाको वा घरको काम गर्न मलाई अल्छी लाग्दैन । मैले नगरेको घरायसी काम सायदै होला। काठमाण्डौमै जन्मेको मान्छे भए पनि मेरो शिक्षामा असर नपरोस् भनेर म करिब ८ कक्षा पढ्दैबाट कोठा लिएर बस्ने गर्दथेँ।तर नेपाल हुँदा खासै खाना बनाउन आएन।लन्डनमा भेटिएका साथीहरू सरोज जी , नेहा जी, प्रकाश जी, सुमिरा जी आदिले मलाई हरेक परिकार बनाउन सिकाउनु भयो र त्यो समयबाट प्राय: खाना म आफै बनाउने गर्छु। फरक परिकारका खाना बनाउनु मेरो सौख जस्तै भई सकेको छ। त्यसैले म आफ्नै काममाब्यस्त भएँ । बिस्तारै साँझपख ज्वरो आउने, टाउको दुख्ने हुन थाल्यो ।

‘के भयो, किन अनुहार निन्याउरो छ नि ?’ उत्सुकतापूर्वक अम्बिकाले प्रश्न राखिन । ‘होइन, ठिक छु ।’ प्रश्न झर्न नपाउँदै मैले भनिदिएँ । हामी एकले अर्कोलाई तनाव नहोस् भनेर सितिमिति अति जटिल अवस्था नपरी त्यस्ता कुरा गर्दैनौँ । केयर हो कि खराब बानी हो तर आफ्नो कारण अरूलाई तनाव नहोस् भन्ने सोच आउँछ । चिसोले यस्तो भयो कि भनेर विदेशी तरिका अपनाएर चिसोको घरेलु उपचार पनि गरियो । चिसोमा मदिरा विदेशमा सामान्य औषधि कै रूपमा लिइन्छ । तर मलाई १०० बाट ९९ पनि भएन । अनि आफैँ मेडिकलग्र्याजुयट भएको नाताले प्राय पहिलो उपचार म आफै गर्थेँ । उसै नि कम समय मात्र निदाउने म, अनेसास केन्द्रको चुनाव अघि र पछिका घटनाले करिब १ महिना राम्ररी सुत्न सकिएन ।

‘आज त खसी किन्न जानु पर्छ । मन्तेजो जाऊँ है ? ‘फोनमा राज पाण्डे सर दसैँको लागि खसी लिन जान अनुरोध गर्नु भएको थियो । यता आफूलाई भित्र भित्र गाह्रो भैसकेको थियो । ‘हुन्छ, शनिवार या आइतबार जाउँला नि । आइतबार भए अम्बिकाको बिदा हुन्छ । मलाइ दिनभर फुर्सद मिल्छ ।’ मैले हतार हतार रायनको डायपर चेन्ज गर्दै भनेँ र पछि कन्फर्म गर्छु भनेर राखिदिएँ । २३ अक्टोबर फूलपातीकादिन आफैलाई आफैले हेर्दा घाँटीमा टन्सिल बढेको र जिब्रोको फेदमा स साना गिर्खा आएको देखियो । त्यसपछि मन तातो नुन पानीले कुल्ला गर्न थालेँ । अनि विदेशी तरिकाले चिसोको उपचार त छँदै थियो । खसी लिन जान सकेको थिएन तर नजिकैको मासु पसलबाट खसीको मासु ल्याएर अष्टमी मनाउँदै थियौँ । अष्टमीका दिन घरका सबै जना मिलेर सँगै डिनर गरियो । कम नै नभएको महसुस भएपछि अक्टोवर २५ महानवमीका दिन फार्मेसी गएर टन्सिलको औषधि लिएर आएँ । अब औषधि खाएर ठिक हुन्छ भनेर ढुक्क भएको थिएँ तर अक्टोबर २८ सम्म पनि औषधिले खासै असर गरेन । जेठी हजुर आमाको देहान्तले यो वर्ष टिका लगाउन नमिल्ने थियो त्यसैले पनि खासै रमझम र तयारी गरिएन । त्यसैले २७ अक्टोबरको विजया दशमीको दिन पनि सुतेरै गयो । एकातिर मनमा कोरोना हो कि भनेर शंकाबढेको बढ्यै थियो अर्को तिर बाबुलाई मसँगै सुत्न पर्ने अनि ओठमै चुप्पा गर्न पर्ने बानीले बच्चामा सर्छ कि भन्ने तनाव थियो । अर्कातिरकेही दिनपछि बच्चा पाउने अम्बिकाको चिन्ता थियो । अचानक २८ अक्टोबर साँझ ज्वरो बढेको बढै ग-यो । सिटामोलले काम गर्न छोड्यो । सास फेर्न गाह्रो भयो । र म अर्धचेत अवस्थामा पुगेँ । मलाई लाग्यो अस्पताल गएपछि फर्कन गाह्रो छ, त्यसैले मैले अम्बिकालाई मेरोमोवाईलको पासवर्ड र बैङ्क पासवर्ड पनि दिएँ । अब भने यो कोरोनाको लक्षण त हैन ? भन्ने तिर शङ्का भयो र एम्बुलेंसलाई बोलाइयो र एम्बुलेंसले बोकेर अस्पतालको इमर्जेन्सी पुरायो । आजकल एम्बुलेन्समा वा अस्पतालमा बिरामी मात्र जान मिल्ने भएकोले कहाँ कसलाई के भइरहेको छ थाहा हुन्न थियो ।

एम्बुलेन्सले कतिखेर अस्पताल पुरायो खासै याद भएन । आकाशबाट सूर्यको तेज आँखामा परेझैँ लागिरहन्थ्यो । केही पछि होस् खुल्दा सलाईन र औषधि जोडिएको थियो । अक्सिजन दिइएको थियो । ज्वरोले होला पसिनाले भिजेको थिएँ । टाउको दुखेको थियो । घाँटी पनि चराईरहेको थियो । पछि सेता कपडाले सिर देखि पाउसम्म ढाकिएका डाक्टर नर्स आए, मलाई हल्का उठाए र रक्तचाप नापे, नाडी छामे, श्वासप्रश्वास/ अक्सिजन नापे, रगत निकाले र लामो नली नाकमा छिराए । नाकको भित्र पाइपले छोएपछि बल्ल नशाबाट बाहिरनिस्केझैँ ब्यूझिएँ म । यति बेला १२ बजिसकेको थियो । भोक पनि लागि रहेको थियो । तर मलाई यौटा कोठामा राखिएको थियो जसमायौटा बेड सानो टेबल जोडिएको सानो ट्वाइलेट बाहेक केही थिएन र त्यो भन्दा बढी अट्ने ठाउँ थिएन । चिसो कोठा, न पानी न खाना नकोही आउने ! बाहिरबाट लक गरिएको कोठा । २ बजेतिर यौटा नर्सले ढोकाबाट खबर लिइन र छातीको एक्स-रे लिन बोलाइन । त्यसपछि फेरी उहीँ लगेर राखिदिइन । मलाई उसै पनि अस्पतालको खाना वा पानी सम्म पनि खान मन पर्दैन अझ कोरोनाको बेला पानी प्यास लागे पनि माग्न सकिन । टाउको दुखिरह्यो, ज्वरो आइरह्यो, म रातभर सुत्न सकिन । फोन पनि घरमै छोडेको थिएँ । त्यसैले घरिघरि नेपालको सानो नोकिया जस्तो फोन हेरिरहन्थेँ । पोर्चुगलमा नेटसिम अस्थाई रूपमा प्रयोग गरिने हुँदा प्राय: स्थाई रूपमा यस्ता फोन प्रयोग गर्ने गरिन्छ । मैले पनि आइफोनमा नेट सिम र सानो नेकियामा स्थाइ सिम राखेको थिएँ । त्यसमा न गेम थियो न केही । हे-यो लाईटबाल्यो अनि राख्यो । अर्ध चेतमा पनि ‘भगवान् कोरोना नहोस्’ भनिरहन्थेँ । होस आउँदा मलाई देखिए पनि घरको अरूलाई नदेखिएहुन्थ्यो भनेर चिन्ता लागिरहन्थ्यो । अक्सिजन लगाएको मास्कले मेरो दुनियाँ कब्जा गरिरहेझैँ लाग्थ्यो । यस्तै तनावमा नसुतेरै रात गएको थाहा भएन । बिहान ८ बजेतिर ढोकाबाट कसैले यौटा किस्ती जस्तो प्लेटमा यौटा सानो बोतल पानी, सानो पाउरोटी, सानो कचौरामातातो सुप र यौटा उसिनेको आलु प्लास्टिकले बेरेर ढोकाभित्र छिराएर गयो । म सकिनसकि उठेर खाएँ । अरू त ठिकै हो यति बेला तातोपानी अझ बेसार पानीले कोरोना परास्त गर्छ भन्छन् तर त्यहाँ कसैले तातो पानी दिँदैन थियो । मानी नमानी अलिअलि चिसै पानी पिएँ रफेरी सुतेँ । सायद १२/१ बजेतिर डा. आए र भने मेरो रिपोर्ट आउन २४-४८ घण्टा लाग्छ । अरू अवस्था ठिक छ भनेर गए । घर जस्तै भए पनि अस्पताल भन्दा धेरै राम्रो नहुने रहेछ भनेर मैले महसुस गरेँ । मरे पनि घरमै मरिन्छ भनेर अक्सिजन मास्क निकालेँ, आफ्नो मास्क लगाएर टाउको एक क्षण मिचेर कोठाबाट निस्किएँ । डा. को कोठामा गएँ, डाक्टरहरू कोही थिएनन् मात्र नर्सहरू थिए । अनि नर्सलाई बोलाएँ, करिब २० मिनेट कुरेपछि नर्स आइन । मैले ‘मेरो घर ठुलो छ । ४ वटा ठुला कोठा छन् । म एक्लै मिलाएर बस्छु । म घर जान चाहन्छु ।’ भनेँ । एक क्षण है भनेर नर्स यताउति गरिन अनि २० मिनेट पछि आएर मेरो नशाको पाइप निकालिदिइन अनि घर जाने अनुमति दिँदै भनिन- ‘माक्स नखोल्नु र कसैको सम्पर्कमा नरहनु । डाक्टरले निरन्तर फोन गर्नुहुन्छ।’ मैले हस् भनेँ। अस्पतालको मुख्य ढोकामा आइपुगेँ । मलाई देखेर सेक्युरिटी कुदेर भित्र गयो । म त मलाई समातेर लाने भयो कि भनेर तर्सिएँ अनि ट्याक्सी बोलाउन थालेँ । उता मलाई भेट्न बिजय भाइ आएको रहेछ र सेक्युरिटी उसैलाई बोलाउन गएको रहेछ । त्यसपछि दुइजनाले ट्याक्सी लियौ र हल्का कुराकानी गर्दै घर आयौँ ।

घर आएपछि सबै जना लुक्न थाले । छुन त के हेर्न नि गाह्रो मान्न थाले । म आफ्नो कोठामा छिरेँ । अम्बिकाले आफ्नो र बाबुको केही आवश्यक कपडा निकालेर पल्लो कोठामा बस्न गइन र म कोठामा एक्लै बसेँ। पल्लो कोठामा ८ महिनाकी गर्भवती साथी (सिर्जना) हुनुहुन्थ्यो जसको भाइ विशेष कामले लिस्वन बाहिर जानु भएको थियो । अम्बिका र सिर्जना जी अनि बाबु यौटा कोठामा बस्न थाले। फेरी अर्को कोठाका साथी सुनिल जीलाई पनि कोरोना पोजेटिभ निस्केको खबर आयो । त्यो कोठामा उहाँका बूढा बा आमा, सानी छोरी रश्रीमति सहित उहाँ बस्नु हुन्थ्यो । कोठा ठुला भएकाले वारी पारी गरेर बिचमा पर्दा बारेर पनि बस्न मिल्थ्यो । त्यसरी नै उहाँ कोठामै बस्नुभयो । सिर्जना जीको भाइलाई पनि कोरोना पोजेटिभ भन्ने कुरा भयो । यसरी हाम्रो घरका ३ कोठाका ३ पुरुषलाई नै कोरोना पोजेटिभ भएको पाइयो । बच्चा, गर्भवती र बूढा बूढीलाई सर्छ कि भन्ने खुब तनाव भयो । टाउको दुखेर आँखा हेर्न सकिन्न थियो । सुत्दा रातभर दिनभर निन्द्रा पर्दैन थियो । आँखा बन्द गरेर सुतेझैँ ग-यो, उठेर ज्वरो नाप्यो अनि सिटामोले खायो फेरी सुत्यो । अम्बिकाले बेसार, जिरा, अदुवा, पानी बनाएर थर्मसमा हालेर ढोकाबाट भित्र राखिदिन्थिन अनि म बेड नजिक ल्याएर राख्थेँ र बिस्तारै समय समयमा पिउँथेँ । समयसमयमा गेडागुडीको रस, तातो खाना (दाल, भात, मासु, तरकारी), फलफूल आदि दिइरहन्थिन् । त्यो दिन यसै गयो । बेला बेला त सास फेर्न साहै गाह्रो भयो । छातीमा कतै सियोले घोपे जस्तै भयो । सास लिन गाह्रो हुँदा पनि २४ घण्टै मास्क लगाएरै बसेँ । मनमा एक तमासको डर लागिरहन्थ्यो, कतै कोरोनाले लाने त हैन भनेर । फेरी गाह्रो भएको कुरा सेयर गर्न पनि गाह्रो थियो । अम्बिकालाई भने अम्बिकालाई तनाव होला अनि डाक्टरलाई भने अस्पतालको कोरेन्टाईनमा लगेर १५/२० दिन राख्ला ।

यता अम्बिकाले बच्चा पाउने दिन आइसक्यो । अनि छोरा रायनलाई कसले हेर्ने ? यही तनावमा रोग पनि बिर्सिरहेथेँ । कोरोना पोजेटिभ नभै दिए हुन्थ्यो भनेर भगवानसँग प्रार्थना गरिरहन्थेँ । मेरो सानो नोकिया फोन प्राय: अम्बिकासँगै हुन्थ्यो । डाक्टरको फोन उनीले उठाएर दिन्थिन् । टाउको दुखेर फोन चलाउन सक्ने अवस्था थिएन । एक दिन अनेसास केन्द्रीय उपाध्यक्ष अग्रज साहित्यकार सुनिल सङ्गम सरले फोन गरेर स्वास्थ्य स्थिति बुझ्नु भयो र अब ठिक भइसकेछ भन्नु भयो । मलाई केही राहत महसुस भयो । नेपाली साहित्यकार समुहका प्रशिक्षकज्यूहरू र केही मित्रहरूले मलाई सम्झिरहनुहुन्थ्यो, रचना समायोजनकर्ता कमला महतज्यूले सोधिरहनुहुन्थ्यो । तर यो समयमामलाई खासै अरू कसैले व्यक्तिगत फोन गर्नु भएन र धेरै संवादमा अल्झनु परेन । हुन त मान्छे मरे पछि श्रद्धाञ्जली दिन पनि गुटबन्दी गर्नेयुगमा हामी छौँ ।

अर्को दिन साँझ डाक्टरको फोन आएछ, अम्बिकाले ढोका थोरै खोलेर सानो स्वरमा भनिन- ‘तपाईँलाई कोरोना पोजेटिभ देखिएछ, १० दिन कतै ननिस्कनु भनेको छ । तर आत्तिनु पर्दैन है, केही हुन्न ।’ उनको यो कुराले मन गह्रौँ भयो । आँखामा तारा चम्किए । एक क्षण सुन्यसमयमा पुगेँ । अरूभन्दा नि बच्चा र गर्भवतीमा सर्ने हो कि वा कसले हेर्ला भनेर आत्तिएको थिएँ । यो समयसम्म कोरोना भयावह लाग्थ्यो । त्यसैले केही न केही डर लागिरहन्थ्यो। लामो समयबाट L4/ L5 को बिरामी पनि भएकोले केही असर पो गर्छ कि भन्ने भयो । फेरी अम्बिकाले ‘चिन्ता नगर्नु, सामान्य हो, फेरी तपाई कमजोर भए बाबु कसले हेर्छ, म अस्पताल जानु पर्छ १/२ दिनमा । १/२ दिनमा पानी पिएर ठिक गर्नु पर्छ । स्ट्रेस फ्रि हुनु।’ भनिरहन्थिन र आत्मबल बढाइरहन्थिन । तर भित्रभित्र उनी डराएको मनोविज्ञान म पढिरहेथेँ । बिरामी भएको करिब १० दिन त म २८ महिनाको छोरा रायनलाई लिएर सुत्थेँ । १० दिन पछि टेस्ट गर्दा बल्ल कोरोना देखिएको हो । डाक्टरलेपुरानो भएछ अब सर्दैन पनि भन्नुभयो । अरू १० दिन बस्दा पूर्णतया ठिक हुन्छ भनेर डाक्टरले बारम्बार भन्थ्यो । तर मन मान्दैन थियो । महरेक धड्कन गन्दै समय बिताउन थालेँ ।

अम्बिकाले बेला बेला ढोका खोलेर ‘अहिले कस्तो छ ? ठिक छ ? कतै दुखेको त छैन ? छाती दुखेको छ ? ज्वरो कस्तो छ?’ आदि प्रश्न गरिरहन्थिन । अम्बिका ३९ हप्ताकी गर्भवती थिइन तर रायनलाई बोकेर सबै काम गर्थिन । कोरोना लाग्नु अघि भने म सबै काममा सहयोग गर्थेँ । रायनले मलाई मिस गरेको थियो, भित्र आउन झगडा गर्थ्यो तर हेरेर चित्त बुझाउन पर्थ्यो । कोठामा टिभी भए पनि हेर्न सकिन । मोबाइल पनि छुन सकिन । पसिनामा डुबेर निदाइरहेँ । करिब १० दिन यसरी उठ्दै ढोकासम्म बामे सर्दै पानीको थर्म र खाना बेडसम्म लिएर आएर खादै पिउँदै सुतेझैँ लडेरै बित्यो । दिनको एक चोटि डाक्टरको फोन आउँथ्यो । ‘अहिले कस्तो छ? घरको अरूलाई के समस्या छ ?’ भनेर । तर घरमा करिब १० महिनाको गर्भवती भएकाले मलाई कोरेन्टाइनमा लगेर राख्छ कि भन्ने डरले पनि म ठिक छु भन्थेँ । फोनमा फेसबुक म्यासेन्जर एप डिलेट गरेको थिएँ । बेला बेला फेरी किन फोन भएन भनेर शङ्का गर्छन् कि भनेर रिइन्सटल गर्थेँ । दसौँ साहित्यिक समुहमा अभ्यास र साहित्यिक कार्यक्रमको निम्ता र चर्चा चलिरहँदा आफू जान नसक्दा मन अझ दुखेको थियो । L4/ L5 समस्याले विमार परेको चरम अवस्थामा पनि अनेसास पोर्चुगलमा रहेर औषधिको भरमा दिनरात खटिएर नलिना चित्रकार साँझ भव्य गरेका थियौँ । त्यो कार्यक्रमको पुरै संयोजन मैले गरेको थिएँ र उहाँलाई पोर्चुगलबाट बिदा गरेपछि मात्र आराम गरेको थिएँ । त्यसैले दसैँ तिहारको समयमा साहित्यिक कार्यक्रममा पहिलो पटक सहभागी हुन नसक्दाको पीडा अझ गहिरो थियो । नेपालको घरमा थाहा भयो भने बेकार तनाव लिनुहुन्छ भनेर कुरा गर्न सकिन । अम्बिकाको माइतबाट भने बारम्बार आइ प्याडमा फोन आउँथ्यो, जहाँ अम्बिकाको फेसबुक खुल्ला थियो । सबैलाई सँगै नदेखेर खोज्नु हुन्थ्यो । म बहाना बनाएर राखिदिन्थेँ । छोरो रायन मलाई भेट्न नपाएर ढोका बाहिर आएर रोइरहन्थ्यो । बेलाबेला आइ प्याडमा फेसबुक भिडियो कल गरेर बोल्थ्यौ । वल्लो पल्लो कोठा पनि लाखौँ कोष टाढा जस्तो अनुभूति भयो । सञ्जीव जी र सुनील जी घरकै अर्को कोठामा दुई बेड लगाएर छुट्टै बस्नु भएको थियो र तीन कोठाका तीन महिलाले हामी तीन जनालाई खाना, खाजा, पानी आदिको राम्रो व्यवस्था गरेका थिए । बाथरुम जाने समय भएपछि खबर गर्थेँ, बाहिरका सबै कोठामा छिर्थे । म सेनिटाईजर बोकेर यौटै बाथरुम जाने गर्दथेँ । दुई बाथरुम भएकोले हामी कोरोना लागेकाहरू यौटा मात्र बाथरुम प्रयोग गर्दथ्यौ र हरेक पटक सेनिटाइज गर्दथ्यौँ । यसरी घरभित्रै कैद भएर समय यापन गरियो । कहिले हेल्थ वर्कर, कहिले नर्स कहिले डाक्टरको भिजिटले अझ त्रासमयवातावरण बन्थ्यो तर जति दिन बढ्दै गयो, उति आत्मबल बढ्दै गयो ।

सुरुआतमा खानाको केही स्वाद नहुने भएपछि खान पनि मन नलाग्ने भयो । करिब १० दिनपछि बल्ल हल्का स्वाद आउन थाल्यो । १० दिन निदाउनै सकिएन । डाक्टरले मलाई अब हिँड्न मिल्छ भनेको थियो । प्रत्येक दुई दिनमा रायनको लागि खाना बनाउन फ्रेस सब्जी, मासु चाहिन्थ्यो । अम्बिकाले सकी नसकी ल्याउँथिन । डाक्टरले मलाई हिँड्न हुन्छ भनेपछि मैले सुरक्षित तरिकाले गएर ल्याउँथेँ । बाहिर निस्केपछि साह्रै टाउको दुख्यो । फेरी सुतेँ । सिटामोल खाएँ, पेनकिलर खाएँ । यो बिचमा २ चोटि जँचाउँदा दुइचोटी नै कोरोना पोजेटिभ देखियो । डाक्टरले मिनिमम ६ हप्ता कोरोना शरीरमै रहने जानकारी दिनुभयो । ६ हप्ता देखि ६ महिनासम्म रहने कोरोना भाइरसलाई सामान्य लिनु भने नहुने रहेछ ।

नोभेम्बर ७ गते म हल्का हिँड्न थालेँ अनि अम्बिकाको रेगुलर चेकअपको लागि अस्पताल गइन । घर भरी कोरोना पोजेटिभ भएको तथ्यांकहरेक अस्पतालमा पुगिसकेको थियो । त्यसैले होला अम्बिकालाई पहिले भन्दा असहज व्यवहार गरेछन् र कोरोना टेस्ट पनि गरेछन् । ८ गते फोन आयो अम्बिकालाई पनि कोरोना पोजेटिभ देखियो तर पुरानो भई सकेको छ, सँगै बस्दा हुन्छ । अम्बिका खोकिरहन्थिन तर गर्भवतिहुँदा यो सामान्य हो भन्थिन त्यसैले हामीले खासै शङ्का गरेनौँ । २४ घण्टै सानो छोरासँगै हुँदा कतै छोरालाई समेत छ कि भनेर डरायौँ । पल्लो कोठाको साथीको बुबा र साथीको श्रीमतीलाई पनि देखियो । यौटै घरमा सबै पोजेटिभ हुँदा अझ त्रसित बन्यौँ । त्यसपछि अम्बिका पनि आफ्नै कोठामा आइन आफ्नै बेडमा बसिन । हामी स्टुडियो रुममा बस्थ्यौँ जसको पल्लो भागमा अम्बिकाको कोठा थियो भने वल्लो भागमा टिभी सहितको मेरो कोठा । अब स्याहार गर्ने मेरो पालो भन्थिन तर मलाई अचम्मै टाउको दुख्थ्यो, औषधी खाएर म दिनभर रातभर पल्टिरहन्थेँ । तर सकी नसकी खाना बनाउने, पानी तताउने काम गर्थेँ । यो समयसम्म मलाई स्वाद राम्रो थाहा नहुने हुँदा नुन हालेँ वाहालिन वा मीठो नमिठो के भयो पत्तो पाउँदिन थिएँ । त्यही दिन अम्बिकालाई फेरी टेस्ट गर्न बोलायो अर्को अस्पतालबाट र फेरी टेस्ट गरेर आइन । बाबु मसँगै सुत्न थाल्यो । दिनरात जति बेला पनि मास्क लगाउने गर्दथेँ, आफ्नो सास आफैले लिने यो क्रमले आजीद भैसकेकोथिएँ । त्यसैले होला छाती बेला बेला दुखिरहन्थ्यो । अस्पतालबाट निस्केपछि अक्सिजनको सहयोग लिएको थिएन ।

भोलिपल्ट अम्बिकालाई अस्पतालबाट फोन आयो र अर्को टेस्टमा पनि उनको कोरोना पोजेटिभ नै देखियो । उनी बेला बेला रुन्थिन अनि छातिभित्र कता कता मन दुखिरहन्थ्यो । त्यो हेरेर अरूलाई सम्झाउन जति सरल छ आफूलाई सम्झाउन त्यति नै गाह्रो थियो । ७ गते बेलुका अम्बिका पेट दुख्यो भनिन र  एम्बुलेन्स बोलाएर पठाएँ तर समय भएको छैन भनेर फिर्ता पठाएछन् । फेरी ८ गते बेलुकीपख अम्बिकाले गाह्रो भयो भनिन एम्बुलेन्स बोलाएँ । डाक्टरहरू सेताम्मै आउँथे र लिएर जान्थे, अरू कसैलाई जान अनुमति थिएन । उसै पनि डर लाग्ने अवस्था थियो, अझ कोरोना पोजेटिभले के असर पर्ने हो भनेर मन आत्तिएको थियो । झ्यालको सिसाबाट छोरालाई बोकेर एम्बुलेन्स नजाँदासम्म हेरिरह्यौँ । अन्जानमै बेलाबेला उनी रोएको सम्झेर आँसु झर्थे, मन आकुल व्याकुल हुन्थ्यो। घरी पानी पिउँथेँ, घरीवाथरुम जान्थेँ । बच्चालाई समयमा खान, सुत्न खेल्न पर्छ । त्यता पनि ध्यान दिइरहेथेँ तर मनमा खिन्नता थियो । उसै पनि निन्द्रा नलाग्नेझन यो समय मेरो लागि अन्तिम परीक्षा जस्तै भयो । बेलाबेला फोन गरिरहन्थेँ। ‘चिसो कोठा, एकान्त कोठामा लगेर राखेको छ । गाह्रो भएको छ । कोही हेर्न आउँदैन भनेर उताबाट रुन्थिन । आफू लाचार भएर यता सुनेर सान्त्वना दिएर राखिदिन्थेँ । असाध्यै पीडा भइरहेथ्यो । धेरै पल्ट गएको कारण म त्यो अस्पतालको पुरै नक्साको जानकार थिए । यसरी किन अवहेलना गरेका होलान् भनेर रिसले अस्पतालको फोनमा घण्टी बजाई रहेँ तर कसैले उठाएन । उसै नि निन्द्रा लाग्दैन अझ त्यो रात सुत्न सकिन । ३/४ बजिसक्यो मन छट्पट्टि मात्र रह्यो । सहज होस् राम्रो होस् भनेर प्रार्थना गरिरहेँ । फोन गर्दा उताबाट अम्बिका रोइरहन्थिन । म डाक्टर बोलाऊ भनेर भनिरहन्थेँ । ६/७ बजेसम्म पनि व्यथा लागिरहेछ, सायद पहिले भन्दा लामो समय थियो यो पटक । ‘अहिले बच्चा पाउने समय भयो होला र पहिलेको कोठामा ल्याएका छन् । ‘ भनिन र लाग्यो अब राम्रै हेरचाह होला । तर पनि सुत्न सकिन । हेर्दा हेर्दै ९ बज्यो, फोन उठ्न छोड्यो । मन अत्तालियो, केही गर्न सकेको थिएन, रायन पनि उठ्यो । उसको डायपर चेन्ज गर्नै प-यो, उसलाई खाना दिनै प-यो । बेला बेला फोन लगाइरहेँ, तर उठेन । मन गह्रौँ भइरह्यो । अचानक १०:३० मा अम्बिकाको फोन आयो । ‘बाबु भयो, सबै ठिक छ, आत्तिनु पर्दैन है ? फोटो फेसबुक मेसेन्जरमा पठाएको छु ।’ यति भन्ने बित्तिकै ०% बाट मेरो मन ९०% उफ्रियो । भगवानलाई धन्यवाद दिएँ र फेरी सोधेँ- ‘बाबुलाई कोरोना टेस्ट गर्यो ? ‘गरेको छ, रिपोर्ट आउन बाँकी छ ।’ उत्तेजित भएँ र फेसबुकमा स्ट्याटस राख्न मन भयो । फेरी घरतिर कोरोना लागेको थाहा पाए चिन्तित हुन्छन् भनेर यसै खबरमा जोडेर कोरोना पनि जित्यौ भनेर लेखेँ ।

घरबाट भाइ गणेश, बहिनी सङ्गीता लगायत आफन्तले पनि कोरोना लागेर पनि नभन्ने ? भन्नु भयो । पोर्चुगलका केही मित्रहरूले कोरोना लागेको खबर राख्दा अर्कै नजरले हेर्छन्, हटाउनुस् सम्म भन्नु भयो । कस्तो अचम्म छ यो ठाउँ र यहाँका केही मान्छे भनेर पनि सोचिरहेँ । आखिर रोग जसलाई पनि लाग्छ तर यो रोग लाग्यो भन्दा समाजबाट बहिष्कार हुनु पर्छ र ? युरोप जस्तो ठाउँमा बस्ने नेपालीको सोच त यस्तो छ भने नेपालको दुर्गम क्षेत्रको अवस्था कस्तो होला ? म एक क्षण सोच मग्न भएँ र पछि मैले कोरोनाको खबर हटाएर आफ्नो बच्चा प्राप्तिको खबर मात्र राखेँ ।

अलि बल आयो र म्यासेन्जरमा आएका शुभेच्छा र केही कलहरू पनि फर्काएँ । नोभेम्बर ९ गतेको यो समयपछि मैले अनेसास पोर्चुगलको कार्यसमिति ग्रुपमा पनि मेसेज गरेँ र लक्ष्मी जयन्ति मनाउनको लागि सबैँ जना एक जुट हुन आव्हान गरेँ । भोलिपल्ट मेरो फोनमा म्यासेज आयो नवजात शिशुमा कोरोना नेगेटिभ आयो । बेला बेला अम्बिका रोइरहन्थिन । अस्पतालमा छुट्टै कोठा दिएको थियो । पहिले जस्तो डाक्टर नर्स जाँदैन थिए । बिहान र बेलुकी मात्र खाना दिन्थ्यो । तातो पानी पाइन्न थियो । उनीलाई भोक पनि लाग्थ्यो । र फोनमा गुनासो गर्दै रुन्थिन । अरू भन्दा पनि यस्तो समयमा एक्लै हुँदा पीडा हुन्छ नै । सानो बाबुलाई जन्डिस देखिएर फेरी केही दिन अस्पतालमै राख्यो । यसरी विभिन्न तनाव झेलेर १२ गते बेलुकी ९ बजेतिर एम्बुलेन्सले नवजात शिशु र आमालाई घरमा ल्याइदियो । १४ गते अनेसास पोर्चुगलले लक्ष्मी जयन्ती मनायो । कोरोना पोजेटिभ नै भएका कारणले होला । बिरामी भएपछि पहिलो चोटि यति लामो समय कार्यक्रममा बसेको म राम्ररी टाउको उचाल्न सकेको थिएन । कार्यक्रमको अन्तिम सम्म रहेर निस्केपछि औषधि खाएर सुतेँ । फेरी उठेँ अनिसुत्केरीलाई खाना, रायनलाई खाना अनि भान्छाको काम । हात खुट्टा टेकेर गर्थेँ । अनि फेरी औषधि खाएर सुत्थेँ । करिब एक महिना भएको थियो तर ठिक भएको थिएन । मलाई र अम्बिकालाई फेरी पोजेटिभ देखियो । अनि दैनिक दुई समय पानीको बाफ लिने गर्‍यौ । केही सहज भयो । यसरी कोरोनाले जटिल अवस्थालाई अझै जटिल गराए पनि आफ्नो आत्मबलका कारण कोरोनालाई जित्यौ । कोरोनाका बारे विकसित देशमा बस्ने हामी माझ त यति धेरै असहज परिस्थिति छ भने विकासोन्मुख देश नेपालमा कस्तो होला ? कोरोनाभाइरस मेरो बुझाइ र भोगाइमा यौटा मनोरोग हो । किनकि रुघा, खोकी, ज्वरो, टन्सिल सहित जिउँ दुखेर वा कुनै लक्षण विना पनि कोरोना पोजेटिभ देखिन्छ । तर यो रोगको हालसम्म उपचार नभेटिएका कारण साह्रै पीडा हुँदा पेनकिलर नत्र सामान्यतया ज्वरो आउँदा / टाउको दुख्दा सिटामोल खाए पुग्छ । जिरा, मरीच, बेसार, अदुवा, स्वाङ, सुकिमेल सहित उमालेर मन तातो पानी प्रत्येक घण्टा पिएर घरमै आराम गरेर बस्दा सहजै यो रोगबाट मुक्ति मिल्छ । यो प्राणघातक रोग भनिए पनि आत्मबल बलियो भए कसैको ज्यान अनाहकमा जाँदैन । धेरै बूढा मान्छे पनि कोरोना पोजेटिभ भएर ठिक हुनुभएको छ । यस्ता धेरै उदारण छन् । समयमा स्वस्थ खाना खाने, मनताताो पानी पिउने र आराम गर्ने अनि स्यानिटाइजर प्रयोग गर्ने वा राम्ररी साबुन पानीले हात धुने, मास्क अनिवार्य नियमित प्रयोग गर्ने र घर बाहिर नजाने, जानै परे भिडमा नरहने गर्दा यो भाइरस केही पनि हैन । त्यसैले तपाइहरू पनि सुरक्षित रहनुहोस्, एक अर्कालाई सामाजिक सद्भाव राख्नुहोस्, कोरोना पीडितलाई माया र साथ दिनुहोस्, यति गरे कोरोना जित्न महाभारतको युद्ध लड्नु पर्दैन ।

अन्त्यमा यो वर्ष केही खुसी र केही दुख लिएर बिदा हुँदैछ । हो, जीवन भनेको यौटा शिक्षा रहेछ, अनवरत पढिरहनु पर्ने । यसमा सधैँ पास/ सफलता हात पर्ने भनेन हुँदैन रहेछ । कहिले काही असफलताले पनि ठुलो पाठ पढाएर जाने रहेछ । पेसागत रूपमा पनि २०२०ले ठुलो पाठ सिकायो । चाहेका धेरै काम अधुरा रहे र गरिरहेका काममा सोचेझैँ उत्कृष्टता हासिल गर्न सकिएन र केही व्यावसायिक हार पनि सहेँ । कोरोना सङ्क्रमणले कोफिनको याद दिलाइरह्यो । लाग्यो अब रातो बाकसमा घरदेश जाने समय आएछ ।

कोरोनालाई जितेर उठेपछि केही कुरा याद आयो । पारिवारिक एवम् मित्रवत् नाता यो वर्ष कोरोना कहरले चरम पाठ सिकायो । परदेशी हुनु पर्दाको यति धेरै पीडी यो बर्षभन्दा पहिले वा पछि कहिल्यै नहोला । पहिले घरदेशमा ९० वर्ष कट्नु भएकी बिरामी हजुर आमालगायतको चिन्ता अनि परदेशमा नाबालक र आउँदै गरेको नवआगंतुक शिशु र शिशुको आमाको चिन्ता । आखिर परदेशका हामी शिशु जन्मने २ दिन अघि मात्र कोरोना संक्रमित भएर चिन्ताले हद पार गर्यो । धेरै मित्रहरूको अर्थपूर्ण शब्द कामना र निरन्तर चिकित्सकहरूको आत्मीयताले आत्मबल पुनः उच्च कायम गर्न सक्षम भयौँ र यो समयले जीवनको अति महत्त्वपूर्ण पाठ सिकायो ।

मानिस भए पछि उत्तेजना, क्रोध, डर, चिन्ता, जीत, हार, सुख, दुःख र जीवन, मरण हुन्छ नै, त्यस्तै यो वर्ष जीवनमै पहिलो पटक अनेसास केन्द्रको चुनावमा अचानक महासचिव पदमा उम्मेदवारी दिएर मतदानमा भाग लिने मौका मिल्यो । यसबाट पनि साहित्य जगतमा एकोहोरो कलम मात्र चलाई रहने मलाई धेरै ज्ञान हासिल गर्ने मौका मिल्यो । मैले जे जस्ता कुराहरूको पक्ष विपक्ष राखेँ त्यो मेरो दृष्टिकोण, मेरो सुचबुझ र मेरो स्वाभिमान थियो तर कसैप्रति व्यक्तिगत रोष प्रकट गर्ने, दुर्व्यवहार गर्ने, मानहानि गर्ने वा बेइज्जत गर्ने मनसाय कतै थिएन । कुनै पनि संस्थामा रहुन्जेलसम्म म त्यस संस्थाको मूल मर्मलाई न्यायोचित व्यवहार गरी निष्पक्ष रूपमा कर्तव्यनिष्ठ भई त्यस संस्थाकोलागि लागी पर्नेछु जसरी अहिले पनि अनेसास पोर्चुगलको अध्यक्ष भएर लागि रहेको छु । हो अग्रजहरूको जुत्तामा म हिँडेको छैन, भर्खर बामे सरिरहेछु र धेरै हिँड्नु पनि छ । त्यसैले मैले अग्रजहरूलाई बुझ्न नसकी केही त्यस्ता गल्ती भएका भए यस वर्षको अन्तिममा माफी माग्न चाहन्छु । विशेष गरी अनेसास तत्कालीन केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीज्यू, अनेसास बिओटी अध्यक्ष गीता खत्रीज्यू, उपाध्यक्ष पदम विश्वकर्माज्यू, कोषाध्यक्ष राम लामा अविनाशीज्यू, अनेसास केन्द्रीय पूर्व सल्लाहकार डा. खगेन्द्र लुइटेलज्यू , अनेसास केन्द्रिय व. उपाध्यक्ष गोवर्द्धन पूजाज्यू, केन्द्रीय महासचिव सर्वज्ञ वाग्लेज्यू, तत्कालीन निर्वाचन आयोग पदाधिकारीज्यूहरू र अनेसास सम्बद्ध तथा अन्य आदरणीय अग्रजहरू सम्पूर्णमा । आशा गर्दछु यस वर्षको अनेसास केन्द्रको चुनावी समयमा मैले प्रकट गरेका असहमती वा रोषबाट मन दुखाउनु हुनेहरूले बुझ्नु नै हुनेछ । पहिलो पाइला थियो लड्दा केही सिकेर उठेको छु, जिन्दगी त्यहीबाट सकिएन । कोरोनाले पनि माफी दिएको छ र म उठेको छु । मेरो कलमलाई माया गरेर मतदान गर्ने तमाम अनेसास आजीवन सदस्य ज्यूहरू तथा बिभिन्न अनेसास च्याप्टर अध्यक्ष ज्यूहरू तथा पदाधिकारीज्यूहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु र मैले कहीँ कतै जानी नजानी ठेस पुराएको भए माफी चाहन्छु । सबैभन्दा प्रिय नाता जीवन्त रहोस् र त्यो नातामा विश्वास रहोस् यही कामना छ ।

मैले जीवनमा नैतिकता आँच आउन दिएको छैन । जसलाई वाचा दिए, वाचा निभाएको छु । वफादार पनि रहेको छु । आजसम्म फोनमा कसैसँगका कुरा रेकर्ड छैनन् । न्यायको कठघरामा न्याय मर्न दिएको छैन । कहिल्यै सर्जकको प्रतिष्ठामा आँच आउन दिएको छैन र दिनेछैन । नेपाली भाषा साहित्य, कला र संस्कृतिको विकास र पुस्तान्तरणका लागि आफूले आफ्नो चेतनाले भ्याएसम्म जहाँ, जस्तो अवस्थामा रहेर पनि निरन्तर कर्म गरिरहनेछु । जीवन रहेसम्म मेरो कलम चलिरहनेछ, चाहे म कुनै संस्थामा रहूँ या नरहूँ तर हजुरहरू सम्पूर्णमा सम्मान र साथ रहिरहने प्रण गर्दछु । धेरै अग्रजहरूको आशीर्वादले आज म यहाँसम्म आइपुगेको छु, सबै अग्रजहरूमा नमन गर्दछु ।

यत्तिका वर्ष म जीवनको अर्थ खोजिरहेँ तर अन्त्यमा २०२० ले मलाई अर्थपूर्ण बाँच्न सिकायो । परिवार र आमा बुबा लगायत सबैलाई फेरी पनि सम्झिए । २०२० मा धेरै कुरा पाएँ र गुमाए पनि । पहिलो पटक एकै वर्षले धेरै प्रकारका पाठ सिकायो । सत्कर्ममा, न्यायमा, सत्मार्गमा, जिम्मेवारीमा कतै चुक्न नपरोस् । यही तपाइहरूको आशीर्वाद रहिरहोस् । हार्दिक धन्यवाद २०२० र यस वर्ष मेरो जीवनका पात्रहरूमा नमन !

साथै नव वर्ष २०२१ को सबैमा हार्दिक शुभकामना !

 

स्पन्दन विनोद, हाल: पोर्चुगल