अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

प्रथम अनेसास च्याप्टर सम्मेलन र रजत जयन्ती कार्यक्रममा अमेरिका भ्रमण

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७८ असार ६ गते ९:४४ मा प्रकाशित

१. लसएन्जेलसतर्फ प्रस्थान र हलिउड भ्रमण
अनेसास केन्द्रको आयोजना र लसएन्जेलस च्याप्टरको संयोजनमा २०१६ मे २०–२२ मा प्रथम अनेसास च्याप्टर सम्मेलन र जुन ४–५ मा रजतजयन्ती कार्यक्रम गर्ने निर्णय पहिले नै गरिसकिएको थियो । अनेसासको २५ वर्षे इतिहासमा प्रथम पटक आयोजित यस ऐतिहासिक सम्मेलनको प्रमुख अतिथिका रूपमा म आमन्त्रित थिएँ । म सो कार्यक्रमका लागि मे १७ बेलुकी ९.१५ मा कतार एयरवेजको उडानबाट प्रस्थान गरेँ । ५.३० घण्टामा २०८८ माइल उडेर दोहा पुगियो । दोहामा केही समयको ट्रान्जिटपछि मेरो यात्रा अगाडि बढ्यो । त्यहाँबाट ८२९४ माइलको लामो यात्रा गर्नु थियो । त्यसका लागि १६–१७ घण्टा लाग्थ्यो । म मे १८ दिनको दुई बजेतिर लसएन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएँ र केही समयमै अध्यागमनका प्रक्रिया पूरा गरी बाहिरिएँ । विदेशी अध्यागमनमा प्राध्यापकलाई उति दुख दिँदैनन् ।

त्यहाँ मलाई लिन च्याप्टर सम्मेलन संयोजन समितिका संयोजक शान्तिराम ढकाल, बिओटी सदस्य राम लामा, बलराम थापालगायतका व्यक्तिहरू अगि नै आइसकेका रहेछन् । फूलका गुच्छा, माला, खादासहितको भव्य स्वागत–सम्मान र सामान्य भलाकुसारीपछि उनीहरूले मलाई सोझै होटेलमा पुर्‍याए । केहीबेर गफगाफ र खानपिनपश्चात् एक छिन आराम गरियो ।

यो सम्मेलन सफल बनाउनका लागि पहिले नै प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, डा. श्याम कार्की, होमनाथ सुवेदी, ऋषि ढकाल, भक्त थापा, मुकुन्द ढुङ्गाना, वेदभक्त जोशी, उमा कार्की थापा र राजेन्द्र सिवाकोटी रहेको सल्लाहकार समिति गठन गरिएको थियो । लसएन्जेलस च्याप्टरका अध्यक्ष शान्तिराम ढकालको संयोजकत्वमा सहसंयोजक डनबहादुर कार्की र सदस्यहरू गीता खत्री, सुमल गुरुङ, प्रकाश पौडेल, भीमसेन सापकोटा, प्रकाश नेपाल, गीता पन्थ, भगवती बस्नेत, भोला सिवाकोटी, कुसुम ज्ञवालीलगायत स्थानीय साहित्यकार, बुद्धिजीवी, कलाकार, समाजसेवी र व्यवसायीहरू गरी ५१ सदस्यीय समिति पनि गठन गरिएको थियो । यसै गरी व्यवस्थापन समितिका संयोजक राम लामा, आर्थिक समितिका संयोजक तिलक कार्की, स्वागत समितिका संयोजक सुशीला पाण्डे, महिला समितिका संयोजक तुलसा कार्की, सांस्कृतिक समितिका संयोजक इन्दिरा त्रिपाठी, टेक लामा, प्रचारप्रसार समितिका संयोजक प्रेम गुरागाईं, खाद्य समितिका संयोजक प्रकाशचन्द्र घिमिरे, यातायात व्यवस्थापन समितिका संयोजक नवीन पोखरेल, युवा समन्वय समितिका संयोजक विश्व, उत्तमजंग थापा, अनुषा कार्की रहेका थिए । मिडिया पार्टनरका रूपमा हिमाली पोस्ट, मेरो खबर, हिमालय खबर, खुला मञ्च, समुदाय मासिक, ए एन टिभी, बिआरटी नेपाल, हाम्रो इन्टरनेट रेडियोलगायत रहेका थिए । सम्मेलन सफल बनाउन यी सबै क्रियाशील थिए ।

च्याप्टरहरू बिच आपसी सहयोग र अनुभव आदानप्रदान, नेपाली साहित्यलाई विश्वव्यापीकरण, संस्थाको संस्थागत विकास, च्याप्टरको महत्त्व तथा च्याप्टरहरू बिच दूरी घटाएर दरिलो सम्बन्ध स्थापना र विकास आदि उद्देश्यबाट आयोजित यस कार्यक्रममा संसारभरि रहेका विभिन्न देशका च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहने यस कार्यक्रममा अन्यत्रबाट आउनेहरूको क्रम पनि निरन्तर थियो । कोलोराडोबाट अध्यक्ष पदम विश्वकर्मा, न्यु योर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठ, अस्ट्रेलिया पर्थ च्याप्टरका अध्यक्ष गणेश घिमिरेहरू पनि आइपुगेका थिए, अरू आउने क्रम जारी थियो । पाहुनाहरूलाई बस्ने व्यवस्था राम्रै होटेलमा गरिएको थियो । अध्यक्ष पदम विश्वकर्मा, न्यु योर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठ र म एउटा कोठामा थियौँ । बेलुका संयोजक शान्तिराम ढकालसमेत बसेर कार्यक्रमको विस्तृत रूपरेखा बनाइयो ।

मे १९ का दिन राम लामाले मलाई हलिउड घुमाउन लगे । पहाडी डाँडाकाँडामा निर्माण गरिएको हलिउड विचित्रकै ठाउँ रहेछ । त्यहाँ पुरै डुलेर सबै कुरा बुझ्नलाई त महिनौ लाग्ने रहेछ । हामीलाई केही घण्टामै ती सब डुलिसक्नु थियो । त्यहाँ थरीथरीका पिङ खेलियो, हिराहिरी चढ्ने बाइक चढियो र भुतघरदेखि अनेक थोक हेरियो । त्यहाँ घुमाउनाका लागि आन्तरिक बसको व्यवस्था गरिएको रहेछ । सुटिङ स्थल पनि विचित्र विचित्र ढङ्गले बनाइएको रहेछ । विश्वका विभिन्न सहरहरूका नमुना घर पनि हेर्न लायकका थिए । ती नमुना घर अगिल्तिरबाट मात्र घर देखिने पछिल्तिर खाली रहेछन् । जहाज दुर्घटनाको दृश्य देखाउनाका लागि त्यहाँ दुर्घटित जहाज नै राखिएको रहेछ । त्यहाँ हिराहिरी बस्ने ससाना चिटिक्क परेका घर पनि रहेछन् । यी सब ठाउँका बारे वर्णन गरेर साध्य नै रहेनछ ।

यीमध्ये धेरैजसो ठाउँहरू सर्सर्ती घुमेर हामी राती राम लामाको घरमा आयौँ । निकै शान्त र सुरक्षित ठाउँमा रहेको उनको घर पनि निकै भव्य रहेछ । घरका कोठा पनि निकै सजिसजाउ । बुद्धका अनेक मूर्तिहरूसमेत राखिएका । त्यस रात त्यहीँ सुतियो ।

२. प्रथम अनेसास च्याप्टर सम्मेलनका गतिविधि
मे २० प्रथम अनेसास च्याप्टर सम्मेलन कार्यक्रमको पहिलो दिन थियो । त्यस दिन बेलुका नेपालीद्वारा सञ्चालित तारा हिमालयन कुजिन रेस्टुरेन्टमा आपसी परिचय, अतिथिहरूलाई स्वागत तथा अनेसासका गतिविधिबारे सामान्य छलफल र रात्रि भोजको कार्यक्रम थियो ।

पत्रकार पुरुषोत्तम ढकालले द हिमालयन भ्वाइस नामक अङ्ग्रेजी पत्रिका प्रकाशन गरेका रहेछन् । त्यसको विमोचन पनि त्यसै दिन बेलुका राखिएको रहेछ । विमोचनको प्रमुख अतिथिका रूपमा मलाई निम्ता गरियो । त्यहाँ कतिपयका आन्तरिक मनमुटाबका कारण मलाई त्यहाँ नजान भनियो । पदमजीलाई पनि भनिसकिएको रहेछ । मलाई त्यहाँका अवैतनिक वाणिज्यदूत ऋषि ढकालले पनि पत्रिका विमोचनका लागि विशेष आग्रह गरेका थिए । एकातिर आउनुपर्छ भन्ने र अर्कातिर जानु हुँदैन भन्नेहरूका बिचको चपेटामा म परेँ । त्यहाँका मानिसको आन्तरिक मनमुटावमा मलाई पर्नु थिएन । मैले जाने निधो गरेँ र पदमजीलाई समेत लिएर म त्यहाँ पुगेँ । हामीलाई पुर्‍याउने काम राम लामाले गरेका थिए । आउँदैन कि भन्ने मान्छे ठिक समयमा पुग्दा आयोजकहरू सारै खुसी भए । त्यस कार्यक्रममा स्थानीय विभिन्न गोरागोरी र सुरक्षाकर्मी पनि आमन्त्रित रहेछन् । मैले त्यस कार्यक्रमका लागि आधा घन्टाभन्दा बढी समय दिन नसक्ने बताइसकेको थिएँ । उनीहरूले पनि यसलाई स्वीकार गरिसकेका थिए । पत्रिकाको विमोचन गरियो । निकै राम्रो साजसज्जाका साथ पत्रिका निकालिएको रहेछ । दुवै कार्यक्रम एकै ठाउँमा राखिएको भए पनि फरक नपर्ने रहेछ तर नेपालीहरूको वैयक्तिक अहं र चुर्के बानीले गर्दा त्यसो गरेको बुझियो । पत्रिका विमोचन गरिसकेपछि मैले आफ्नो मन्तव्य राखेँ । मैले सम्बोधनका क्रममा ‘तपाईंहरू सबै मिलेर बस्नुस् मिल्न सक्नु हुन्न भने झगडाचाहिँ नगर्नुस्’ भन्दा सबैले करतल ध्वनिका साथ समर्थन जनाए । पत्रिका प्रकाशन गर्न प्रारम्भ गर्नभन्दा पनि यसलाई निरन्तरता दिनु महत्वपूर्ण कार्य भएकाले पत्रिकाको भरसक निरन्तरताको कामना गरियो । वास्तवमा एउटा नेपालीले अमेरिकाजस्तो मुलुकमा अङ्ग्रेजी भाषामा पत्रिका निकालेर चलाउन सहज थिएन । अहिले त्यो पत्रिका बन्द भइसक्यो रे । विना दीर्घयोजना थालिएका कामको परिणति यस्तै हुन्छ ।

विमोचन कार्यक्रममा आफ्नो मन्तव्य राखिसक्नेबित्तिकै हामी सोझै अनेसासद्वारा आयोजित रात्रिभोज कार्यक्रममा आयौँ । त्यहाँ स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूको बाक्लै सहभागिता थियो । त्यहाँ केहीले हाम्रो प्रमुख अतिथि अर्काको कार्यक्रममा नजानुपर्ने भन्ने गुनासो गरे । मलाई तिनीहरूको गुनासोसँग खासै सरोकार थिएन । एउटा नेपालीले आयोजना गरेको कार्यक्रममा म जानुपर्थ्यो गएँ, बस कुरो यत्ति हो ।

त्यस दिन पनि राम लामाले मलाई उनकै घरमा लगे । राती मैले राम लामासँग ‘अहिलेसम्म अनेसासमा सबैभन्दा ठुलो पुरस्कार पन्ध्र सय डलरको छ । तपाईँले पाँच सय डलरको सर्वोत्कृष्ट च्याप्टर पुरस्कार स्थापना गर्नुभएकै छ । तपाईँ अर्को त्योभन्दा ठुलो दुई हजार डलरको पुरस्कार स्थापना गरिदिनुहोस् न’ भनी प्रस्ताव राखेँ । मैले राखेको प्रस्तावलाई उनले आनेकाने तर्क वितर्क केही नगरी सहज रूपमा तत्काल स्वीकार गरे ।
भोलिपल्टको कार्यक्रममा यसको घोषणा गर्ने तय भयो र दुई हजार डलर (हाल २५०० डलर रहेको छ) को अनेसास राम लामा विशिष्ट साहित्य पुरस्कारको घोषणा गरियो । अनेसासका लागि यो ठुलै उपलब्धि थियो । त्यसै कार्यक्रममा ऋषि ढकाल, पुरुषोत्तम ढकाल, प्रेम गुरागाईँलगायत विभिन्न व्यक्तिले पनि विभिन्न नामका पुरस्कार स्थापना गर्ने कुरा गरे तर त्यसको फलो अप हुन नसक्दा ती पुरस्कार स्थापना हुन सकेनन् र कुरामा मात्र सीमित भए ।

गजबको सहर लसएन्जेलसबाट आकाश पनि निकै तल देखिँदो रहेछ, किन हो थाहा भएन । अन्तभन्दा त्यहाँ बसोबास गर्ने नेपालीहरू बढी सम्पन्न रहेछन् तर चुर्के बानीचाहिँ प्रायः उस्तै… । धनकारी मात्र होइन, राम लामाजस्ता कतिपय त निकै मनकारी पनि देखिए । व्यापारी भएर पनि साहित्यमा केही गरौँ भन्ने उनको भावना प्रशंसनीय लाग्यो ।

अर्को दिन २१ मे बिहानै राम लामाको घरबाट होटेलमा गइयो । निर्धारित समयमै हामी कार्यक्रमस्थलमा पुग्यौँ । आयोजकहरूले हाम्रो भव्य स्वागत गरे । अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको सभापतित्व तथा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भयो । मैले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेँ । मैले धेरै ठाउँमा कार्यक्रमको उद्घाटन गरेको भए पनि त्यो मेरा लागि अलि पृथक् प्रकारको थियो । ठ्याक्कै पेस्तोलजस्तो देखिने लाइटरबाट बत्ती बालेर उद्घाटन गरेको मेरा लागि पनि नयाँ अनुभव थियो । साहित्यकारहरूका तस्बिरमा माल्यार्पण र दुवै देशका राष्ट्रिय गानका साथमा कार्यक्रम अगि बढाइयो ।

उद्घाटन कार्यक्रममा अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला, साहित्यकार कृष्ण धारावासी, वाणिज्यदूत ऋषि ढकाल, आर्टेिसया सहरका प्लानिङ कमिस्नर भक्त थापा, एएनएका वरिष्ठ उपाध्यक्ष डा.शम्भु ढुङ्गाना, डा.जित जोशी, दिल श्रेष्ठ, मुकुन्द ढुङ्गाना आदिले शुभकामना मन्तव्य दिएका थिए । अनेसास बोर्डअफ ट्रस्टीका अध्यक्ष श्याम कार्की र एएनएका अध्यक्ष रजर अधिकारीको शुभकामना सन्देश वाचन गरिएको थियो ।

यस कार्यक्रममा विगत दुई वर्षमा उत्कृष्ट कार्य गरेबापत नेपाल च्याप्टरलाई राम लामाद्वारा स्थापित नगद पाँच सय अमेरिकी डलरको अनेसास राम लामा पुरस्कार प्रदान गरिएको थियो । सो पुरस्कार मैले नै नेपाल ल्याएर नेपाल च्याप्टरका अध्यक्षलाई हस्तान्तरण गरिदिएँ । प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने यस पुरस्कारको निरन्तरताका लागि सम्झौता पत्रमा संस्थापकको तर्फबाट राम लामा र अनेसासका तर्फबाट पदम विश्वकर्माद्वारा हस्ताक्षर भयो । प्रमुख अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलबाट बोर्ड अफ ट्रस्टीका सदस्यहरू राम लामा, शान्तिराम ढकाल, एकराज पाण्डेलगायतलाई सदस्यता प्रमाणपत्र प्रदान गरियो ।

सोही समारोहमा प्रमुख अतिथिबाट गुणराज लुइटेलको जलेको मन (कविता सङ्ग्रह), निशा अर्यालको अनगिन्ती चोटहरू (कथा सङ्ग्रह) र राष्ट्रनिर्माता र राजनीति (लेख सङ्ग्रह) विमोचन गरियो ।

सोही दिनको दोस्रो सत्रमा अनेसासका विभिन्न च्याप्टरका प्रतिनिधिले आआफ्नो च्याप्टरको गतिविधि प्रस्तुत गरेका थिए । यसमा न्युयोर्कबाट राजेन्द्र श्रेष्ठ, अस्ट्रेलियाबाट गणेश घिमिरे, डल्लासबाट विजय भट्टराई, कोलोराडोबाट कपिल सुवेदी, बोस्टनबाट लालगोपाल सुवेदी, फ्लोरिडाबाट मिना शाक्य, न्युह्याम्प्स्यारबाट कृष्ण गिरी, अस्टिनबाट मोहन सिटौला, पोर्चुगलबाट वाईबी गुरुङ, लसएन्जेलसबाट शान्तिराम ढकाल, लसभेगसबाट कृष्ण कुसुमलगायतको प्रस्तुति रहेको थियो ।

कार्यक्रमको तेस्रो सत्र मोहन सिटौलाको सभापतित्वमा विश्व काव्य गोष्ठी सम्पन्न भयो । यसमा विभिन्नतिरबाट आएका र स्थानीय गरी चालीस जनाजति कविहरूले आआफ्ना रचना वाचन गरे । यस दिनको कार्यक्रमको सञ्चालन केन्द्रीय महासचिव गोवर्धन पूजा र लसएन्जेलस च्याप्टरका महासचिव तिलक कार्कीले गरेका थिए ।

त्यसै दिन बेलुका बुद्ध पशुपतिनाथ फाउन्डेसनद्वारा आयोजित विशेष कार्यक्रममा राम लामा, ऋषि ढकाललगायतबाट मलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरियो । अनेकौँ बौद्ध भिक्षुहरूका माझमा प्रमुख अतिथिका रूपमा उपस्थित हुँदा मलाई पनि रमाइलो लाग्यो । मैले नेपालमा जन्मिएका बुद्ध संसारभर पुगेकामा खुसी व्यक्त गर्दै यसबाट नेपालको पहिचान थप अभिवृद्धि हुने कुरा बताएँ । विभिन्न बौद्ध भिक्षुहरूलाई प्रशंसा पत्र, प्रमाणपत्र तथा दक्षिणा प्रदान गरी कार्यक्रमको समापन गरियो र त्यहीँ खाना खाई होटेलमा गएर सुतियो ।

कार्यक्रमको तेस्रो तथा अन्तिम दिन पहिलो सत्रमा प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले “नेपाली साहित्यको विकासमा अनेसास च्याप्टरहरूको भूमिका”, मोहन सिटौलाले “च्याप्टरहरूका न्यूनतम कार्यक्रमहरू”, पदम विश्वकर्माले “च्याप्टरहरूको संस्थागत विकास, कार्यक्रम, च्याप्टर संचालनविधि” डा. जित जोशीले “च्याप्टरहरूको क्षमता अभिवृद्धि”, दीपक सिम्खडाले “च्याप्टरहरूको संस्थागत विकास, व्यवस्थापन” विषयक कार्यपत्र/अवधारण पत्र प्रस्तुत गरेका थिए भने तिनमाथि सहभागीहरूले गहनतम छलफल गरेका थिए ।

समापन समारोहमा अनेसास लसएन्जेलस च्याप्टरका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रथम अनेसास च्याप्टर सम्मेलनका संयोजक शान्तिराम ढकालले सम्मेलन सफल पार्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए । मैले प्रमुख अतिथिको मन्तव्य व्यक्त गरिसकेको थिएँ । कार्यक्रम समापनका अवसरमा बिओटी सदस्य थपिने लर्काे लाग्यो । पदमजीले समापन भाषण गर्दागर्दै केही व्यक्तिले मञ्चबाट तल मलाई बोलाए । म तिनीहरू भए ठाउँ पुग्दा कतिपय झोक्किए पनि । उनीहरूले हामी पनि बिओटी सदस्य बन्छौँ तर अहिले तपाईँले नै घोषणा गरिदिनुपर्छ भने । मैले पदमजीलाई केही क्षण सभा विसर्जन नगर्न भनेँ । साथमा नाम टिप्ने कागज पनि नभएकाले न्याप्किनमा नाम टिपेर ल्याई मैले घोषणा गरिदिएँ । वातावरण रोमाञ्चित बन्यो । सबै खुसी भए । लसएन्जेलसबाट बोर्ड अफ ट्रस्टीका सदस्य बन्नेहरू एकराज पाण्डे, राम लामा, शान्तिराम ढकाल, डनबहादुर कार्की, बलराम थापा, ऋषि ढकाल, कृष्ण कोइराला, गोकुल पौडेल, रामबाबु पाण्डे र वेदभक्त जोशी हुन् । यीमध्ये केहीले तत्कालै नगद नै दिए, केहीले चेक काटेर दिए भने केहीले पहिले नै दिएका थिए । केहीले अर्को दिन दिने बताए । यो सबै रकम मैले पछि कोलोराडोमा पदमजीलाई हस्तान्तरण गरिदिएँ ।

बोर्ड अफ ट्रस्टीका सदस्य बन्ने–बनाउने कार्यक्रम सकिएपछि अनेसास प्रथम च्याप्टर सम्मेलनमा निम्नलिखित ६ बुँदे घोषणापत्र जारी गरी समापन गरियो:
(१) च्याप्टर सम्मेलनलाई निरन्तरता दिने,
(२) समान उद्देश्य भएका संस्था बिच समन्वय गर्ने,
(३) प्रकाशित कृतिहरूको अभिलेख राख्ने,
(४) संस्थालाई आर्थिक रूपमा सबल बनाउने,
(५) विधानलाई सरलीकरण गर्ने,
(६) केन्द्रीय वेबसाइटलाई च्याप्टरसँग जोड्ने ।

कार्यक्रमको अन्त्यमा त्यहाँको सक्रिय संस्था नेपाल अमेरिका एकता समाजले स्थानीय बालबालिकासमेत सहभागी गराई सुन्दर सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । तीन दिने सम्मेलनको समापनपश्चात् सबै होटेलमा गएर सुतियो ।

३. लसएन्जेलस वरपर घुमघाम
अर्को दिन सबै आआफ्नो गन्तव्यतिर लागे । त्यहाँ भएजतिलाई राम लामा, पुरुषोत्तम ढकाललगायतले दिनभर अनेकतिर घुमाए । एउटा पार्कमा त अघोषित दौड प्रतियोगिता पनि गरियो । बेलुका म र गणेश घिमिरेचाहिँ राम लामाकोमा गयौँ ।

अर्को दिन राम लामा र पुरुषोत्तम ढकालले हामीलाई त्यहाँबाट निकै टाढा मलेबु भन्ने ठाउँमा अवस्थित स्वामी वेङ्कटेश्वर मन्दिरमा पुर्‍याए । त्यहाँ भारतीय पुजारी रहेछन् । राम लामाको ती पुजारीसँग राम्रै परिचय रहेछ । उनले ती पुजारीसँग मलाई परिचय गराए । पुजारीले नेपालबाट शालिग्राम पठाइदिन आग्रह गरे । मैले पनि सहज रूपमा हुन्छ भनिदिएँ तर नेपाल आएर बुझ्दा शालिग्राम खोज्न सहज रहेनछ । धेरैतिरबाट प्रयास गरेपछि बल्ल शालिग्राम फेला पर्‍यो र मैले पठाइदिएँ । मैले शालिग्राम फेला पार्न नसकेको भए नेपालको प्रोफेसरले पनि ढाँट्यो भनी मेरो देशकै बदनाम हुन्छ कि भन्नेमा मलाई चिन्ता लागेको थियो तर म त्यसबाट जोगिएँ । शालिग्राम पाएपछि ती पुजारी सारै खुसी भए रे अनि मलाई आशीर्वाद पनि दिए रे । यो खबर मैले सबै राम लामाबाट प्राप्त गरेको हुँ । यसबाट आफूलाई पुरै जानकारी नभएका विषयमा ठ्याक्कै निर्णयात्मक कुरा गर्न नमिल्ने रहेछ भन्ने शिक्षा प्राप्त भयो मलाई ।

वेङ्कटेश्वर मन्दिरको दर्शन र पुजारीसँगको कुराकानीपछि त्यहाँबाट अलि माथि मलेबु डाँडामा गई रसपानका साथ तलको समुद्रादि सुन्दर दृश्यावलोकन गरी फर्किइयो ।

४. लसभेगस यात्रा
अर्को दिनको हाम्रो यात्रा लसभेगसतिरको थियो । लसभेगस विश्वकै प्रसिद्ध जुवा सहर हेर्ने घुम्ने रहर थियो नै । त्यस दिन बिहानको खानाका लागि हामी ऋषि ढकालकहाँ आमन्त्रित थियौँ । राम, पुरुषोत्तम, गणेश र म त्यहाँ खाना खाएर लसभेगसतिर हुइँकियौँ । अमेरिकाका बाटाको के कुरा गर्नु जता हेर्‍यो उस्तै । खाल्डाखुल्डीको त के कुरा कतै एउटा खाल्डो भेटिए औषधी हुन्छ भन्दा पनि फेला पर्दैन । ड्राइभिङ स्पिड पनि प्रति घण्टा ७५–८० माइलभन्दा पनि बढी तैपनि थकानको अनुभूति पटक्कै नहुने । सलल बगेको बाटो । ठाउँठाउँ ओर्लिएर आराम गर्दै र जुसादि पदार्थ सेवन गर्दै हामी बेलुकातिर लसभेगस पुग्यौँ ।

लसभेगस रात्रिकालीन सहर रहेछ । कृष्ण कुसुमकहाँ खाना खाएर हामी सहर घुम्न गयौँ । त्यो सहर जुवाको मात्र सहर भन्ठानेको त गाँजाभाङ र तरुनीतन्नेरीको पनि सहर रहेछ । गाँजाभाङ गनाएर खपिनसक्नु । मलाई त अत्यन्तै दिक्दार लाग्यो । बिच सडकमा हाउभाउ कटाक्षका साथ नाङ्गै उभिएकी गोरीसँग पैसा तिरेर फोटो खिच्नेको लर्काे देख्दा पनि अनौठै लाग्यो । गोरीले फोटो खिच्न मलाई पनि तानेकी थिई । मैले ‘तिमीलाई पैसा दिएर त के तिमीले मलाई पैसा दिए पनि म तिमीसँग फोटो खिच्दिन’ भनिदिए“ । ऊ मुडअफ भई वरिपरिका सबै गलल हाँसे । एक छिन जुवा घरभित्र पनि पसियो । केही साथीहरूले अलिअलि खेले पनि ।

त्यहाँ विभिन्न देशका परिचायक भवनहरू एकै ठाउँमा बनाइएका रहेछन् । पानीको फोहरा नृत्य पनि रमाइलै लाग्यो । सहर सफा भए पनि जताततै गाँजाको दुर्गन्धले गर्दा मेरो काठमाडौँभन्दा पनि निकै खराब लाग्यो मलाई । मैले घुम्न छोडेर सुत्ने कुरा बताएँ । साथीहरूले पनि कुरा काट्न सकेनन् र हामी फर्कियौँ । म सुतेपछि साथीहरू फेरि उतै लागेछन् बिहान थाहा भयो । मलाई कतिखेर त्यो सहर छोडौँ भइराखेको थियो । म मनमनै सोच्दै थिएँ यस ठाउँमा त फेरि झुक्किएर पनि आउँदिन । कसैका लागि स्वर्ग लाग्ने ठाउँ कसैका लागि नर्क पनि लाग्दो रहेछ !

५. कोलोराडो प्रस्थान र वरपर भ्रमण
त्यस दिन हामी कोलोराडो जानु थियो । राम लामाहरू हामीलाई एयरपोर्टबाट बिदा गरेर फर्किए । हामी एयरपोर्ट भित्रियौँ र बोर्डिङ पास लियौँ । हाम्रा पोकापुन्तुरा साथमै थिए । हामी लाइन लाग्यौँ । काउन्टरमा एउटी बुढी गोरीले टिकट जाँच गर्न यति ढिलो गरी कि हाम्रो प्लेन नै छुट्यो । अरू यात्री पनि छुटे । अर्को प्लेनका लागि निकै बेर कुर्नुपर्‍यो । हामी सल्ट लेक सिटीमा उत्रियौ“ र केहीबेरको ट्रान्जिटपछि कोलोराडोतर्फ उड्यौँ र साँझतिर कोलोराडो एयरपोर्टमा उत्रियौँ । पदमजीहरू हामीलाई लिन आइपुगेका थिए । उनी हामीलाई लिएर सोझै घर गए ।

अर्को दिन बिहान पदमका छोराले हामीलाई रेड रक, रेड रक ओपन थिएटरलगायत विभिन्न ठाउँमा घुमाए । मौसम चिसै थियो । दिउँसोको हाम्रो यात्रा कोलोराडोको तल्लो भागमा अवस्थित संसारकै पुरानो र अग्लोमध्येको मानिने अनौठो पुल रोएल जर्ज ब्रिज हेर्न जानु थियो । अगिल्लो पटक पुनर्निर्माणाधीन भएकाले त्यहाँ पुगिएको थिएन । हामी त्यहाँ पुग्यौँ । पुलको मुखमा राखिएको पानीघडीले नै त्यहाँको प्राचीनता झल्काउँथ्यो । हिँडेर र केबलकारबाट ओहोरदोहोर गरियो । पुलको तल खोलाको किनारमा ट्रेन कुदाइँदो रहेछ । ठाडो भिरालोमा पनि ट्रेन कुद्ने व्यवस्था रमाइलै लाग्यो । यी सब दृश्यावलोकन गरिसकेपछि गर्दा नहुने केही रहेनछ भन्ने लाग्यो । मेरो देशमा त यस्ता डाँडा खोंच कति छन् कति । खोइ पर्यटक भित्र्याउन सकेको । त्यहाँको एउटा सामान्य खोंचलाई यस्तो पर्यटन स्थल बनाएको देख्दा र आफ्नो देश सम्झँदा विरक्त लाग्यो । हामी त्यहाँबाट फर्कियौँ र खाना खाएर सुत्यौँ ।

अर्को दिन हामीलाई लिएर पदमजी रकी माउन्टेनतिर लागे । प्रायः सधैँ हिउँ पर्ने त्यस डाँडाको यो मेरो दोस्रो यात्रा थियो । मलाई अगिल्लो पटक पनि पदमजीले नै त्यहाँ पुर्‍याएका थिए । हिउँ नपर्ने ठाउँ अस्ट्रेलियाबाट आएका गणेश निकै रमाए । वास्तवमा ठाउँ पनि रमाउने खालकै छ । बस्ती कतै केही नभएको र पहाडको निकै घुमाउरो हिउँ भएको बाटो जानुपर्ने त्यो ठाउँ पनि विशुद्ध पर्यटकीय स्थल हो । त्यहाँको भिड देख्दा लाग्थ्यो त्यो राज्य पर्यटकबाटै चलेको छ । म त दोहोर्‍याएर त्यस ठाउँमा पुगेँ भने अरूको त के कुरा । त्यस ठाउँको सुन्दर दृश्यावलोकन गरी कतिपय आँखामा, कतिपय मनमा र कतिपय क्यामरामा कैद गरेर हामी फर्कियौँ । खानपिनपश्चात् पदमजी र म रजतजयन्ती स्मारिकालाई अन्तिम रूप दिन रातभर जुट्यौँ ।

६. अनेसास रजत जयन्ती कार्यक्रम
हामीलाई जुन ४–५ मा आयोजित अनेसासको रजतजयन्ती कार्यक्रममा सहभागी हुन वासिङ्टन डिसी जानु थियो । पदमजीले हामीलाई कोलोराडो एयरपोर्टबाट बिदा गरे । हाम्रो ट्रान्जिट सल्ट लेक सिटीमा थियो । हामी निर्धारित समयमै वासिङ्टनको डलस एयरपोर्टमा उत्रियौँ । गुणराज लुइटेल हामीलाई लिन त्यहाँ आइपुगिसकेका थिए । उनले हामीलाई सोझै उनकै घरमा पुर्‍याए । अर्को दिन गणेश यताउता आफन्तकातिर लागे । मचाहिँ विभिन्नसँग भेटघाटमै व्यस्त रहेँ । होमनाथजीकोमा रातभर बसेर अनेसासको इतिहासलाई मोटामोटी रूप दिइयो ।

एक दिन रामप्रसाद खनालले पनि मलाई उनका घरमा पुर्‍याए । सहरबाट निकै टाढा रहेको उनको घर निकै भव्य रहेछ । भोलिपल्ट उनका छोराले मलाई गुणराजकहाँ ल्याइदिए । होमनाथ, पुरु र कल्पना सुवेदीले लुरे गुफा पनि डुलाए । विचित्रको गुफा रहेछ । पानीमा पैसा चढाउने प्रचलन त्यहाँ पनि देखियो ।

अनेसासका रजतजयन्ती कार्यक्रम मनासस भर्जिनियामा आयोजना गरिएको थियो । पहिलो दिन जुन ४ बेलुका केक काटेर रजतजयन्ती मनाइयो ।
दोस्रो दिन जुन ५ रजत जयन्तीको मुख्य दिन थियो । डा. श्याम कार्कीको सभापतित्व, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीको प्रमुख आतिथ्य तथा मेरो विशिष्ट आतिथ्यमा रजतजयन्ती कार्यक्रम सुरु भयो । पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएपछि साहित्यकारहरूको तस्बिरमा माल्यार्पण गरियो । नेपाल र अमेरिका दुवैतिरका राष्ट्रियगान गाइयो । पदमले स्वागत मन्तव्य राखे भने दुर्गा रिजालले स्वागत कविता वाचन गरिन् । यसपछि सम्मान अभिनन्दनको कार्यक्रम सुरु भयो । संस्थापक सदस्य होमनाथ सुवेदीलाई अभिनन्दन गरियो । अनेसासका संस्थापकहरू, पूर्व अध्यक्षहरू, ट्रस्टी सदस्यहरूलाई खादा र रजतजयन्ती पदकबाट सम्मान गरियो । यसै गरी विधान संशोधन समितिका संयोजक मलगायत विभिन्न, पुरस्कार समितिका अध्यक्षहरू, अन्तर्दृष्टिका प्रधान सम्पादकहरू आदिलाई पनि रजतजयन्ती पदकबाट सम्मान गरियो । अभिनन्दन सम्मानको कार्यक्रम सकिएपछि रजतजयन्ती स्मारिका, अनेसासको इतिहासलगायतका कृतिहरू विमोचन गरियो । राजदूत अलि छिटै कार्यक्रमबाट निस्किए । हामी सबैको मन्तव्यपछि पहिलो सत्र सकियो र खानपिनतिर लागियो ।

कार्यक्रमको दोस्रो सत्रमा अनेसासका गतिविधि र नेपाली साहित्यको विकासमा अनेसासको भावी कार्यदिशाबारे अन्तर्क्रिया गरियो । अन्तर्क्रिया सम्पन्न भएपश्चात् अनेसासका सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको सभापतित्वमा विशेष काव्य गोष्ठी सुरु भयो । गोवर्धन पूजाबाट सञ्चालित त्यस कार्यक्रममा कविता वाचन निकै लामो समयसम्म चल्यो । कविता वाचक सबैलाई रजतजयन्ती पदक र प्रमाणपत्र सभापतिकै हातबाट प्रदान गरियो । कविता वाचनको कार्यक्रम सकिएपछि वाचित कवितालगायत अनेसासका विभिन्न गतिविधिबारे चर्चा गर्दै मैले रजतजयन्ती समारोहको समापन भएको घोषणा गरेँ ।

समारोहको समापनपछि हामी सबै अमेरिकाका लागि नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजका लागि डिसीतर्फ लाग्यौँ । त्यहाँको रात्रिभोजपश्चात् हामी गुणराज लुइटेलसँग होटेलमा फर्किँदै गर्दा बाटामा अनौठो ढङ्गले टायर पन्चर भयो । अमेरिका सुविधा सम्पन्न ठाउँ, नियम र अनुशासनमा चलेको मुलुक भन्ठानेको त सबैतिर त्यो लागु नहुने रहेछ । गुणराजले मान्छे त बोलाए तर हतपत आएन । केही घण्टापछि आयो र गाडी तानेर मेकानिककहाँ पुर्‍याइदियो । गाडी तानेको र त्यहाँ बनाएको छुट्टाछुट्टै पैसा तिर्नुपर्‍यो । बिमा गरेको गाडीलाई उसैले बनाउने नियम छ रे त्यो नियम पनि लागु भएको देखिएन । रातको समय अमेरिकाको गल्ली भुसतिघ्रे कालाहरूको गतिविधि देख्दा अनिष्टको शङ्का पनि गरियो तर त्यस्तोचाहिँ भएन । गाडी मर्मतको काम सकिएपछि हामी अगाडि बढ्यौँ ।

रात धेरै छिप्पिसकेको थियो । अगि बढ्दै जाँदा थोरै बाटो गल्ती भएछ । पुलिसले समातिहाल्यो । गुणराजले सबै बेलिबिस्तार लगाउँदै पुलिसलाई सम्झाए । गुणराजले उहाँ प्रोफेसर हो म उहाँलाई नै लिएर आउँदा यस्तो भयो भनेपछि पुलिसले टर्च बालेर मलाई तलदेखि माथिसम्म हेर्‍यो, म दौरा सुरुवालमा थिएँ । फेरि यस्तो गल्ती नगर्नु भनी छोडिदियो । आज बालबाल बचियो भनी गुणराजे खुसी व्यक्त गरे । अमेरिकामा पुलिसका अगाडि पनि प्राध्यापकको त्यति ठुलो महत्व र उच्च सम्मान देख्दा सारै खुसी लाग्यो तर हामी नेपालमा विश्वविद्यालयका प्राध्यापक नबनी पार्टी विशेषका प्राध्यापक बनेर आफ्नो इज्जत आफैँ गुमाइरहेको सम्झँदा विरक्त लाग्यो । हामी होटेल पुग्दा उज्यालो हुन लागिसकेको थियो । केही क्षण सुतेजस्तो मात्र गरियो ।

७. न्यु योर्क प्रस्थान र वरपर घुमघाम
सबेरै उठेर नित्यकर्म सकी ब्रेकफास्ट खाएर होटेल छोडियो । राजेन्द्र के.सी. नर्थक्यारोलिनातिर लागे । राम खत्री र गीता खत्री मलाई लिएर न्युयोर्कतिर लागे । हामीसँग विकास विष्ट र भीमसेन सापकोटा पनि थिए । हामीलाई अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले बाल्टिमोरमा खाना खान आमन्त्रण गरेका थिए । त्यहाँ उनको नेपाली शैलीको भव्य रेस्टुरेन्ट रहेछ । उनले मेरो नाम लेखेरै टेबुल रिजर्भमा राखेका रहेछन् । विदेशमा यसलाई निकै ठुलो सम्मानका रूपमा लिइन्छ रे । उनले मलाई खुकुरीसहितको भादगाउँले टोपी लगाइदिएर हार्दिकतापूर्वक सम्मान गरे । खानपिन र केही क्षणको गफगाफपश्चात् हामी त्यहाँबाट न्युयोर्कतर्फ लाग्यौँ । रमाइला कुराकानीका साथ हामी अँध्यारो नहुँदै न्यु योर्क पुग्यौँ र एकदुईवटा मन्दिरमा दर्शन पनि गर्‍यौँ । भीमसेन आफन्तकातिर लागे । मलाईचाहिँ राम र गीताले आफ्नै घरमा लिएर गए । बेलुका खानपिन गरी मस्तसँग सुतियो ।

केही दिन न्यु योर्क डुलियो । यसभन्दा अगाडि पटक पटक जाँदा पनि न्यु योर्क सहर त डुलिएको थियो तर यसपटकको डुलाइ विशेष उल्लेखनीय रह्यो । किशनसिंह धामीले निकै ठाउँ डुलाए ।

प्रदीप थापा र विष्णुमाया परियारले मलाई न्युजर्सी भ्रमणका लागि पहिले नै निम्ता गरेको हुँदा मेरो त्यहाँ पनि जानु थियो । मलाई गीता पन्थले त्यहाँ पुर्‍याइन् । शान्ता अधिकारीको घरमा केही क्षण बसेर हामी त्यहाँबाट निकै टाढा पर्ने एउटा मन्दिरमा पुग्यौँ । मन्दिर निकै आकर्षक, भव्य र सुन्दर रहेछ ।

त्यहाँबाट फर्केपछि गीता पन्थले मलाई नेपाली महावाणिज्य दूतावासमा पुर्‍याइन् । त्यहाँका वाणिज्यदूत प्रिय भाइ कृसु छेत्रीसँग बसेर अनेसासको चुनावलगायत विभिन्न विषयमा निकै बेर छलफल गरियो ।

त्यहाँबाट हिँडेपछि साहित्यकार किशनसिंह धामीले न्यु योर्क घुमाउँदै राजेन्द्र श्रेष्ठको काम गर्ने ठाउँमा पुर्‍याए । उनले त्यहाँ जोखेर खाने होटेलमा लगेर हामीलाई इच्छाभोजन गराए । निकै अग्लो निर्माणाधीन भवनमा उनी कन्सल्ट्यान्ट इन्जिनियर रहेछन् । उनले हामीलाई त्यस भवनको टुप्पामा पुर्‍याएर सारा न्यु योर्क सहर देखाए । निकै कम बोल्ने र भलादमी स्वभावका राजेन्द्रसँग मेरो त्यहाँ अलि बढी नै निकटता भयो । हामी राम खत्रीको घरमा गयौँ । हामीलाई त्यहाँ पुर्‍याउने काम किसनसिंहले गरे । त्यहाँ अनेसासको चुनावबारे केहीबेर छलफल गरियो ।

त्यस दिन बेलुका अनेसास न्यु योर्क च्याप्टरले मलाई विशेष सम्मान–अभिनन्दन गर्ने कार्यक्रम ज्याक्सनहाइटमा राखेको थियो । हामी त्यहाँबाट सोझै ज्याक्सनहाइट गयौँ । राजेन्द्र श्रेष्ठको अध्यक्षतामा मलाई विशेष सम्मान–अभिनन्दन गरियो । कार्यक्रमको सञ्चालन शकुन ज्ञवालीले गरेकी थिइन् । त्यस कार्यक्रममा राम खत्री, गीता खत्री, डा. तारा निरौला, किसनसिंह धामीलगायत थुप्रै व्यक्तिको उपस्थिति थियो । कार्यक्रम सकिएपछि राम खत्रीकहाँ गएर सुतियो । शकुन ज्ञवालीले पनि घरमा निम्ता गरेकी थिइन् तर जान भ्याइएन ।

८. बोस्टन र न्युह्याम्सायर भ्रमण
अर्को दिन म बोस्टनतिर लागेँ । राम खत्रीले बसपार्कमा लगेर बस चढाए । म बोस्टन बसपार्कमा उत्रँदा मलाई लिन महेश्वर पन्त आइसकेका रहेछन् । हामीले त्यहाँ एउटा नेपालीको होटेलमा खाना खायौँ । त्यस दिन बेलुका डा. शिव गौतम र भारती गौतमको बिदाइ र सम्मान कार्यक्रम राखिएको थियो । त्यस कार्यक्रमको प्रमुख अतिथिका रूपमा म नै थिएँ । त्यो कार्यक्रम सकिएपछि महेश्वर पन्तले उनको घरमा लिएर गए । उनले त्यहाँ केही व्यक्तिहरूलाई समेत बोलाएर बार्बिक्युको व्यवस्था गरेका रहेछन् । मलाई त्यहाँ अत्यधिक फोन आएको देखी उनले केही समय मोबाइल नै कोठामा लगेर थन्क्याइदिए । पछि गएर हेर्दा प्रशस्तै मिस्डकल देखिए । त्यस रात त्यहीँ सुतियो ।

अर्को दिन बिहान हामी अनेसासका महासचिव गोवर्धन पूजाको घरमा पुग्यौँ र केही क्षणको कुराकानीपछि न्युह्याम्सायरतिर लाग्यौँ । तीनचार घण्टाको ड्राइभपछि हामी न्युह्याम्सायरमा भोला सिवाकोटीको घरमा पुग्यौँ र खाना खायौँ । त्यहाँबाट हामी न्युह्याम्सायर सहर परिक्रमा गर्दै समुद्रको छेउमा रहेको एउटा बोटिङस्थलमा पुग्यौँ । जीवनमा पहिलोपटक एक्लै बोट चलाइयो । सुरुमा अलि असहज महसुस भए पनि एकछिनपछिदेखि सबैभन्दा छिटो चलाउनेमा म दरिएँ । चानचुन दुई घण्टा जति बोटिङ गरेपछि हामी त्यहाँबाट फर्कियौँ । बेलुकीपख अनेसास न्युह्याम्सायर च्याप्टरले मलाई सम्मान–अभिनन्दन गर्ने कार्यक्रमको आयोजना गरेको थियो । त्यस कार्यक्रममा थुप्रै व्यक्तिको उपस्थिति थियो । त्यहाँ सम्मान–अभिनन्दन ग्रहण गरिसकेपछि हामी बोस्टनतिर फर्कियौँ । न्युह्याम्सायरमा बसोबास गरेका नेपालीहरूका घर निकै ठुला रहेछन् । त्यहाँका धेरैजसो घरमा शारीरिक वा मानसिक सन्तुलन कमजोर भएका व्यक्तिहरूलाई राख्ने व्यवस्था गरिएको रहेछ । त्यसका लागि सबै बन्दोबस्त सरकारले नै गर्छ रे । हामी निकै राती बोस्टन आइपुग्यौँ ।

अर्को दिन पन्तजीले म, दीपा राई पुन, ममता कर्माचार्यसमेतलाई त्यहाँबाट निकै टाढाको समुद्रमा घुमाउन लगे । निकै बेरसम्म समुद्रमा खेलियो । राती पन्तजीकहा“ बसियो । अर्को दिन बिहान पन्तजीले मलाई बसपार्क पुर्‍याए । सुशील नेपाल त्यहीँ काम गर्दारहेछन् । उनले मलाई बस चढाएर न्यु योर्क पठाए । मलाई लिन राम खत्री बसपार्कमा आइसकेका थिए । उनले मलाई सोझै उनकै घरमा पुर्‍याए ।

९. स्वदेश फिर्ता
मेरो फर्किने दिन आइसकेको थियो । मलाई राम खत्रीले जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याए । जुन १४ को ११.१५ मा कतार एयरवेजको विमानबाट म दोहा प्रस्थान गरेँ । त्यहाँबाट ६६८९ माइल पार गरी साढे बार घण्टामा दोहा आइपुगियो । केही क्षणको ट्रान्जिटपछि त्यहाँबाट साढे चार घण्टाको उडानबाट ३.१५ बजे काठमाडौँ उत्रिएँ । जाँदा साढे पाँच घण्टा लाग्ने बाटो आउँदा साढे चार घण्टा मात्र… !

प्रथम अनेसास च्याप्टर सम्मेलन र रजत जयन्तीका अवसरमा सुन्दर र सफा मौसम भएका कारण यसपटकको अमेरिका घुमाइ निकै आनन्ददायी रह्यो । म यस पूर्व धेरै पटक अमेरिका गएको भए पनि यस पटक निकै रमाइलो भयो । अमेरिका बसाइ र घुमाइका क्रममा मलाई सम्मान र सद्भाव व्यक्त गर्नुहुने अनेसास परिवारका साथै अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।