अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 16:15

पोतलाको चढाइ

राम खत्री, न्यु योर्क २०७९ भदौ ४ गते १२:०३ मा प्रकाशित

ल्हासा पुगेको भोलिपल्टै पोतला दरबार छिर्न मन आतुर थियो तर परिचयपत्र लिएर जाँदा मान—मर्यादाकासाथै विशेष स्थानहरू जहाँ जन साधारणलाई जान प्रवेश निषेधित कोठाहरुमासमेत सजिलैसँग जान पाइने आशाले केही दिन ढिला हुन गयो ।

सन १९९३ को डिसेम्बरको तेस्रो हप्ताजस्तो लाग्छ । ठ्याक्कै दिन यकिन भएन । ल्हासा पुगेको तेस्रो दिन बिहान नौ बजे नै गीता खत्री, बाबुकाजी डङ्गोल,  ल्हाक्पा र मसहितको भ्रमण दल पोतला दरबारको गेटमा हाजिर भयौँ । चिसो निकै भए पनि त्यहाँको वातावरणले चिसोजस्तो नलाग्ने । घाम झलमल लागि सकेको थियो । जाडोको लुगाले हामी पुरै ढाकिएका थियौँ । नीलो आकाशमा बादलका एउटा टुक्रा पनि देखिएका थिएनन् । हामीलाई लाग्यो, यति नीलो आकाश यसअघि कहिले देखेका थिएनौ । उद्योगधन्दाहरूको शून्यता, इँटा भट्टाहरूको अभाव, घरघरमा प्लास्टिक र फोहोर बालेर निस्कने दूषित धुवाँको अभाव र उच्चाईका कारणले पनि त्यस्तो सफा देखिएको हुन सक्थ्यो । यस सम्बन्धमा बातावरणविद्हरु बढी जानकार होलान् ।

बाबुकाजी डङ्गोल मेरै सहकर्मी मित्र, गीता खत्री मेरो श्रीमती र ल्हाक्पा नियोगको स्थानीय कर्मचारी । हिसिला दोर्जेले हामीलाई पोतला दरबारको अगाडि पुर्‍याई दिएका थिए । नियोगमा ल्हाक्पाको काम यही हो भन्ने थिएन । जे काम पनि गर्ने । अरूभन्दा टाठोबाठो भएकोले सबै जनाले उसैलाई आफ्नो निजी तथा सरकारी कामका लागि सहयोगी लिएर जान रुचाउने । साँच्चै ऊ चिनिया तथा तिब्बतीय दुबैसँग कुरा मिलाउन बडो सिपालु पनि थियो । यसको एउटा सानो किस्सा अर्को अध्यायमा मैले गर्ने पर्ने भएकोले यहाँ उल्लेख गरिन ।

पोतला दरबार रातो पहाडमा बनाइएको दरबार हो भन्ने चलन छ तर यहाँ मेरा आँखा अगाडि देखिएको पहाड, पहाड नै नभनौँ कि? सानो थुम्किलो डाँडोभन्दा उपयुक्त होला । उक्त डाँडाको उचाइ जमिनबाट झन्डै एक हजार फिट जति होला कि ? पहाड त यो भन्दा निक्कै ठुलो हुनु पर्छ भन्ने मेरो निजी बिचार भएका कारणले यो धारणा राखेको हुँ । वरिपरिका सबै पहाडहरू उजाड तथा फुङ्ग उडेका छन् । हरियो कतै देख्न पाइन्न । रातो माटो वा रातो ढुङ्गा कतै देखिन्न । सबैले यसलाई रातो पहाडै किन भन्छन् होला ? मेरो मनभित्र खुलदुली मच्चिई रहन्छ तर यसको जवाफ साधारण तिब्बतीय नागरिकले दिन पनि सक्दैनन् । पहाड रातो होस् या सेतो यसै डाँडालाई आधार बनाएर तिब्बती राजाका लागि यो दरबार बनाउने श्रेय भने नेपाली राजकुमारी भृकुटीका श्रीमान् त्यस बखतका राजा स्रोङचोङ गोम्पोलाई जान्छ । उनले यो दरबारको निर्माण गर्न लगाएका हुन । पछि सन् १६४५—४६ तिर आएर पांचौ दलाई लामाले यसको पुनर्निर्माण गर्न लगाएर यति सुन्दर दरबार बनाएका रहेछन् । यो दरबारलाई दलाई लामाको जाडोको दरबार पनि भन्छन् । गर्मीको दरबार भने हाम्रो नियोगको नजिकै नोर्बुकिङ्खा नामले चिनिन्छ । त्यो दरबारले मानिसको मन जित्न सकेको छैन पोतलाले जस्तो । त्यस बखत यति विशाल दरबार निर्माण कार्य पक्कै सजिलो थिएन । दरबार तयार हुन झन्डै ४५ वर्ष लागेको थियो रे । बिचरा पांचौ दलाई लामाले दरबार बनाउन त लगाए तर खडा भएको हेर्न नपाई निर्वाण प्राप्त गरे रे । उनी मरेको १२ वर्षपछि निर्माण पुरा भएछ ।

दरबार डाँडाको टुप्पोमा भएकोले यसका चारैतिर अगाडि दुई पछाडि दुई र दायाँ एक बायाँ एकगरि छतिरबाट उक्लन मिल्ने बाटाहरू बनाइएका छन् । ती बाटामा लामा लामा ढुङ्गाका स्ल्याब राखेर जिगज्याग किसिमले घुमाउँदै उकालो चढाइएको छ । अगाडिको भागको दुइटा बाटाहरू झन्डै १० फिट चौडाइका होलान् । पछाडि र दायाँ बायाँतिरका बाटा भने अलि साना छन् । बाटो देख्दै दरबारतिर चढौंचढौ लाग्छ । दरबारको बनोट तल निक्कै फराकिलो छ । जमिन सतहबाटै दरबारका भागहरू बन्दै बन्दै गएकोछ । तर, त्यहाँ एउटै भवन नभई साना साना घरहरूमा  विभाजित भएका छन् । पहाडका कारणले त्यसो गरेको हुन पनि सक्छ । बीचभागमा साना साना घरहरुपनि छन् तर ती घरहरुपनि दरबारकै भाग हुन । डाँडाको झन्डै आधाभन्दा बढी भाग यस्तै सानातिना घरहरुमात्र छन् । बाँकी ढुङ्गेलो डाँडो खाली नै छ । त्यसपछि पोतलाको जग सुरु हुन्छ । जति जति माथि गयो उति उति साँघुरिँदै गएको छ । सेतो, कलेजी र पहेँलो रङ्गले यो दरबारलाई सिँगारिएको छ । पहिलो र दोस्रो तल्लाका झ्यालहरू ठूलाठूला झ्याल नभएर टिकिझ्या जस्तो मात्रै साना साना प्वालहरुमात्रै छन् । त्यसपछिका तल्लामा ठुला झ्यालहरू एउटै साइजका छन् । त्यति बेलाको डिजाइनमा यो दरबार एक किसिमले उत्तम भन्नै पर्छ । भित्री कोठाहरू कुनै ठुला कुनै साना । दरबारभित्रै एउटा सिङ्गो संसार अट्ने ।

भित्रका भर्‍याङहरु भने बडो अप्ठेरा छन् । अलि ठाडो पनि छ । पूजा—आराधनाका निमित्त प्रयोग गरिने चौरीको घिउले सबै भ¥याङहरु चिल्ला भइसकेका छन् । उक्लँदा वा ओर्लँदा बडो सतर्कता अपनाउनु पर्ने । अझ बुढाबुढी र बिरामीलाई कति कठिन होला । समाउँदासमाउँदै चिप्लिने डर । हाम्रो गाइड ल्हाक्पाले भने — “यो दरबारमा १३ तल्ला छन् र एक हजार कोठाहरू छन् हजुर ।” हामी त्यो कोठा गन्नेतिर लागेनौँ । दलाई लामा सुत्ने कोठा, उनले निर्णय सुनाउने कोठा र उनको सत्सगी कोठाहरू हेर्ने इच्छा थियो । कता सुत्छन्, कता बसेर प्रवचन दिन्छन् । कता बसेर खाना खान्छन् आदि आदि । बिचरा दलाई लामाहरू आफै के पो गर्न सक्थे होलान् र? उनीहरू (दलाई लामाहरू) काँचो माटो जस्तै हुन । कुमालेले जसरी वा जस्तो भाँडो बनाउन चाह्यो उस्तै बनिदिने । किनकि उनीहरूलाई सानै उमेरमा दलाई लामाको अवतारको रूपमा चिनेर दरबारमा शिक्षादीक्षाका निमित्त ल्याउछन् । खान दिन्छन्, लगाउन दिन्छन् । यसो गर्नु पर्छ उसो गर्नु पर्छ भनेर सिकाउँछन्, बुझाउँछ । कतै जान दिँदैनन् । उनले चाहेको केही पनि गर्न दिँदैनन् । बाहिरी संसार देखेकै हुन्न । अनि उनको कोठा कस्तो हुने । नदेखेसम्म कस्तो होला भनेर बडो कौतूहल लाग्ने । देखिसकेपछि सामान्य । साँच्चै बिचार गर्ने हो भने त दलाई लामा पनि एउटा बन्दी नै हुन । धर्म गुरु वा धर्म सभाले जे भन्छ मान्नै पर्छ । बाहिरी संसारको मान्छे भेटने पहिलो व्यक्ति नै चौधौ दलाई लामा (ल्हामो थोन्डुप, वर्तमान दलाई लामा) होलान् । उनले दोस्रो विश्वयुद्ध ताका भारतमा रहेको बेलायती जेलबाट भागेर तिब्बत पसेका अष्ट्रियन नागरिक हेनरिक ह्यारर नै होला । पछि तीनै ह्याररले दलाई लामालाई अङ्ग्रेजी सिकाए । साथै ह्याररले ल्हासामा आधुनिक विकास अन्य कामहरुपनि गरिदिए ।

सबैभन्दा माथिको भागमा पुग्दा एउटा स्वर्गीय आनन्द प्राप्त हुन्छ । माथि नीलो आकाश तल वा वरिपरि त्यति बेला (जाडोको समयमा) हरियाली नभए पनि पात झरेका रुख बिरुवा, पातला घर बस्ती तथा स—साना डाँडा पाखा हेरेर मन आनन्दले पूर्ण हुने रहेछ । त्यहाँको भौगोलिक अवस्था, उच्चाई तथा हावापानीको कठिनाइलाई चटक्कै बिर्सेर मानिस स्वर्गको कल्पनामा डुब्दो रहेछ । मानिस आआफ्नो दैनन्दिनीबाट चल्नु पर्ने भएकोले हामी त्यो स्वर्गीय आनन्दको तन्द्राबाट वास्तविकतामा फर्कनु आवश्यक थियो । हामी फर्कनेक्रममा तलतिर झर्न थाल्यौँ ।

दरबार पछाडि ठुलो तलाउ छ । जाडोभरि त यसको पानी बरफ बनिहाल्छ । गर्मीमा भने असाध्य रमणीय बन्दछ  पोतलाको शोभा बढाइरहेको छ उक्त तालले पनि । तलतिर झर्दाझर्दै हामी एउटा विशाल हलमा पुग्यौँ ।

ल्हाक्पाले भन्यो — “लौ छुनु होस् हजुर यो सुनको ढिक्कोलाई । नेपालतिर ‘ल्हासामा सुन छ मेरो कान बुच्चै’ भन्छन् नि । यही देखेर हो । यो पांचौ दलाई लामाको चिहान हो हजुर । सबैभन्दा ठुलो चिहान उहाँकै छ । सबै सुनैसुनबाट बनेको हो ।”

मैले सोधेँ — “ए हो र? साँच्चै, सुनको खानी चाहिँ कता छ यहाँ ल्हाक्पा, हेर्न जाउँ न, एक दिन ? हाम्रो उता त सबै गरिबको मुखमा यही उखान आइरहन्छ । हामी यहाँ आएको बेलामा एक दुई किलो लैजान पाए त पुग्थ्यो होला नि ।”

उसले हाँसेर जवाफ दियो — “कहाँ पाउने यहाँ हजुर । खानीसानी केही छैन यहाँ । सबै सुन बाहिर जाने तिब्बतीयहरुले लिएर आउने र परलोक सुधार्ने र ईश्वर प्राप्तिका लागि स्वइच्छाले दलाई लामालाई समर्पण गरेका हुन हजुर । खासगरि उ बेलामा सुन बर्मातिर गएकाहरूले लिएर आउने हो भन्छन् । ”

पांँचौ, छैटौँ र तेह्रैं दलाई लामाको लासलाई यसै दरबारमा सुनैसुनको चिहान बनाएर राखिएको रहेछ । चिहानहरू निकै ठुला छन् तर सबैभन्दा ठुलो चाहिँ पांचौ दलाई लामाको रहेछ । पर्यटकलाई चिहानको आभासै हुन्न ।

पोतला दरबारको चित्र मेरो आँखामा परेका दिनदेखिको धोको ल्हासा पुगेको तेस्रो दिन पुरा भएकोमा मैले आफ्ना पिता पुर्खाको आशीर्वाद तथा भगवानको कृपा दृष्टिप्रति आभार र कृतज्ञता चढाएँ । साथै मेरो दुई बर्से कार्यकालमा मन लाग्यो भने फेरि पनि यो दरबारमा आउन सक्ने सम्भावनालाई मनभित्र बचाउँदै पोतला दरबारको पहिलो चढाई प्रति गर्व गर्दै चौरीका घिउले चिल्लिएका ठाडो काठे भर्‍याङको खट्किलाहरु समात्दै बिस्तारै तल झर्‍यौँ ।