अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०३ | Colorodo: 00:18

स्वर्गद्वारी यात्राको स्वर्गीय आनन्द

रवीन्द्र तिमसेना २०७७ मंसिर २६ गते ८:५८ मा प्रकाशित

कामको सिलसिलामा तुलसीपुर पुगेका वेला स्वर्गद्वारी पुग्ने हाम्रो आकस्मिक योजना बन्यो । लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन र चौधरी ग्रुपको सहयोगमा नेपालको मध्यपश्चिम तथा सुदूर पश्चिम क्षेत्रका उद्यमीहरूद्वारा सञ्चालित सामाजिक व्यवसायहरूको अवलोकन गर्ने सिलसिलामा हामी त्यहाँ पुगेका थियौँ । कार्यालयको उक्त जिम्मेवारी पूरा गर्न म लगायत देव यादव, मनोज मेहता र मिनु महर्जनले एक हप्ताअघि नै काठमाडौँबाट यात्रा थालेका थियौँ । तुलसीपुर अघि हामी कैलाली र डडेलधुराका परियोजना अवलोकनका लागि सुदूरपश्चिम पुगेका थियौँ ।

स्वर्गद्वारी पुग्ने हाम्रो योजना पूरा गर्न दरिलो साथ दिए तुलसीपुरका समाजसेवी सन्तोष गुप्ताले । हामीलाई उनैले तुलसीपुरस्थित होटेल वेस्टर्न प्यालेसमा बसाइँको चाँजो मिलाइदिएका थिए । वेस्टर्न प्यालेसमा एक रात बसेर सल्यानमा सञ्चालित व्यवसायको अवलोकनका लागि गएका हामी फर्किने वेलामा पुनः त्यही होटेलमा वास बस्न आइपुगेका थियौँ । मानवअधिकारकर्मी समेत रहेका गुप्ता लायन्स क्लब लगायतका विभिन्न सामाजिक संस्थामा सक्रिय छन् । लायन्स क्लबकै कार्यक्रमका सिलसिलामा यसअघि दुई पटक स्वर्गद्वारी पुगिसकेका यस्ता भरोसायोग्य व्यक्ति हाम्रा पथप्रदर्शक हुने भएपछि हामीलाई के चाहियो र ?

डडेलधुरा, कैलालीदेखि तुलसीपुर हुँदै सल्यान पुग्दासम्म लगातार गाडी चलाएका चालक थकित छन् कि भनेर हामीले उनको राय बुझ्न खोज्यौँ । हुन पनि नेपालगन्ज विमानस्थलमा ओर्लेदेखि नै ती चालक हामी चार जनाका सहयात्री बनिसकेका थिए । हाम्रो इच्छा बुझेर चालकले सहमति जनाएपछि हामी स्वर्गद्वारी पुग्ने तय भयो । तुलसीपुरबाट होलेरी हुँदै करिब ८३ किलोमिटरमै स्वर्गद्वारी पुग्न सकिने भए पनि त्यो बाटो अप्ठ्यारो भएको थाहा पाएर हामीले यात्राको सहजताका लागि भालुबाङ हुँदै जाने झन्डै दोब्बर दुरीको रुट तय गर्यो ।

तुलसीपुरबाट भालुबाङ झन्डै ७९ किलोमिटर दुरीमा छ भने भालुबाङदेखि भिङ्ग्रीसम्मको ५८ किलोमिटर र भिङ्ग्रीदेखि स्वर्गद्वारी पुग्ने सडकको दुरी झन्डै १४ किलोमिटर छ । यो रुटबाट स्वर्गद्वारीसम्म पुग्दा मोटामोटी १५१ किलोमिटर यात्रा गर्नुपर्दछ । कष्टपूर्ण यात्राबाट समेत रोमाञ्चक अनुभूति सँगाल्न सकिने भए पनि कार्यालयको कामका सिलसिलामा रहेकाले हामीले यात्राको सहज विकल्प छानेका हौँ । नभए होलेरी भ्रमण गर्ने अवसर पनि हामीलाई छुटाउन मन थिएन । द्वन्द्वका समयमा २०५८ असार २८ गते होलेरीमा तत्कालीन शाही नेपाली सेना र तत्कालीन नेकपा माओवादी आमनेसामने भएका थिए । यस घटनाले नेपाली राजनीतिमा ठुलै तरङ्ग ल्याएकाले पनि यो स्थान त्यसयता चर्चित छ ।

राति नै तुलसीपुर फर्किने गरी बिहान पाँच बजे नै होटेलबाट छुट्ने हाम्रो योजना बन्यो । नेपालगन्ज हुँदै काठमाडौँ फर्किन देव र मिनुका लागि पर्सिपल्टका लागि फ्लाइट टिकट कन्फर्म भइसकेको थियो भने मनोज र म पनि सोही दिन नेपालगन्जबाट जुम्ला जाने कार्यक्रम थियो । त्यस कारण पनि हामीलाई त्यसै दिन तुलसीपुर फर्किनुपर्ने बाध्यता थियो । खासमा काठमाडौँबाट हिँड्दा मनोज र देव जुम्ला जाने कार्यक्रम तय भएको थियो । तर देव जान नपाउने भएपछि उनको सट्टामा जुम्ला जान म सहमत भएको थिएँ ।

पूर्ववत् योजना अनुसार सन्तोष गुप्ता सबेरै होटेलमा आए । उनको घर होटेलबाट पाँच मिनेट जतिको पैदल दुरीमा छ । होटेलका कर्मचारीलाई हामीले सबेरै नास्ता तयार गर्न अघिल्लो दिन नै भनेका थियौँ । समय पालनामा सबै जना इमानदार भएकोले नास्ता खाएर हामी २०७३ पुस ४ गते सबेरै होटेलबाट स्वर्गद्वारीका लागि छुट्यौँ । नमरी स्वर्ग देखिँदैन भनिए पनि स्वर्गको द्वार अर्थात् स्वर्गद्वारीसम्म पुग्ने क्षण नजिकिँदै गर्दा हामी सबै उत्साहित र प्रफुल्लित थियौँ ।

सन्तोष गुप्ता स्वर्गद्वारीको महिमाका बारेमा आफूले जानेका कुरा हामीलाई सुनाउँथे । यसले हाम्रो उत्साह र उत्सुकता झन् थपिन्थ्यो । लमहीबाट अगाडि बढेको केही बेरमा देवलाई आएको आकस्मिक फोनपछि भने माहौल अलिकति फेरियो । उनी स्वर्गद्वारी नगई काठमाडौँ फर्किन खोजे । पर्सि एक्लै फर्किनुभन्दा आफू पनि आजै देवसँग फर्किने चाहना मिनुले राखिन् । अब उनीहरू दुई जनाका लागि काठमाडौँ फर्किने टिकट सोही दिनकै लागि सार्नुपर्ने भयो । तर भन्दाभन्दै जहाजको टिकट कहाँ पाउनु ? तैपनि दुईचार वटा ट्राभल एजेन्टसँग कुरा गरिसकेपछि हामी बल्ल बल्ल टिकट पाउन सफल भयौँ । त्यतिन्जेलसम्म गाडी भालुबाङ पुगिसकेको थियो ।

हामीले उनीहरू दुई जनालाई भालुबाङबाट नेपालगन्जका लागि गाडी चढाएर बिदा गर्यौ । त्यसपछि हामी पूर्व पश्चिम राजमार्गबाट बायाँ मोडियौँ र राप्ती नदीको किनार हुँदै अगाडि बढ्यौँ । तुलसीपुरबाट छ जना हिँडेकामध्ये दुई तिहाइ सदस्य मात्र स्वर्गद्वारीतर्फ जाँदै थियौँ । त्यसै भनिएको होइन रहेछ, लेखेको चिज मात्र पूरा हुन्छ भनेर । त्यस दिन हाम्रो समूहका चार जनालाई मात्र स्वर्गद्वारी जान लेखेको रहेछ भन्नुपर्यो । पूर्व पश्चिम राजमार्गले छुने प्युठानको करिब सात किलोमिटर भूभागबाहेक मेरा लागि प्युठान नयाँ जिल्ला थियो । चालक र मनोज पनि त्यो बाटोमा नयाँ रहेछन् । नयाँ ठाउँमा यात्रा गर्नुको मज्जा नै बेग्लै हुन्छ ।

चिसो भएकोले हामीले चकचकेमा पुगेर मरीच राखेको चिया पियौँ । चकचकेबाट राजमार्ग छोडेर दायाँ लाग्ने हो भने प्युठान सदरमुकाम खलङ्गा पुग्न सकिन्छ । नभए यो राजमार्ग हुँदै रोल्पाको लिवाङ पुग्न सकिन्छ । भालुबाङदेखि लिवाङसम्मको दुरी १०४ किलोमिटर छ । हामी चकचकेबाट त्यही राजमार्ग हुँदै गाडी चढेर भिङ्गृ भन्ने स्थानमा पुग्यौँ । राजमार्गबाट बायाँतर्फ मोडिएर करिब १४ किलोमिटर कच्ची बाटोमा यात्रा गरेपछि स्वर्गद्वारी पुग्न सकिन्छ । हामी पनि त्यतै लाग्यौँ ।

भाडाका सवारी साधन नचल्ने भएकोले धेरै मानिसहरू हिँडेरै उकालो लागिरहेका थिए । पैदल यात्रीले प्रयोग गर्ने बाटो भने झन्डै ९ किलोमिटर लामो रहेछ । अलि अगाडि गएपछि दुई जना प्रौढ महिलाहरूले हामीलाई गाडी रोक्न सङ्केत गरे । मानवीय हिसाबले पनि गाडीमा ठाउँ भएसम्म लिफ्ट दिनु राम्रै कुरा हो । त्यसमाथि हामी धार्मिक तीर्थस्थल स्वर्गद्वारीको भ्रमण गर्दै थियौँ । फेरि हामीले दुई जना साथीलाई भालुबाङबाट बिदा गरेका थियौँ । त्यही रिक्त स्थानमा ती दुई महिलाहरू बसे ।

संयोगले उनीहरू पनि स्वर्गद्वारीका स्थानीय रहेछन् । उनीहरू गाडीमा चढेपछि दोबाटो आउँदा अलमलिनुपर्ने स्थिति आएन । डोजरले घर–घरमा बाटो लगेकोले दुई पटक स्वर्गद्वारी पुगे पनि दोबाटो आउँदा सन्तोष गुप्ता अलमलिन थालेका थिए । त्यसपछि चाहिँ हामीलाई राहत भयो । बाटोमा ती महिलाहरूले हामीलाई स्वर्गद्वारीको महŒवका बारेमा पनि आफूmले जानेको कुरा बताउँदै गए । जस्तो कि पौराणिक कालमा पाण्डवहरू यही बाटो हुँदै स्वर्ग गएकोले यस स्थानको नाम स्वर्गद्वारी रहन गएको हो । यस पुण्य भूमिमा विभिन्न ऋषिमुनिहरूका अतिरिक्त सृष्टिकर्ता ब्रह्माले पनि तपस्या गरेको विश्वास गरिन्छ । वि.सं. १९१६ मा रोल्पाको रुम्टीमा जन्मिएका बाल तपस्वी १०८ महाप्रभु श्री नारायण गौतमले स्वर्गद्वारीमा आएर वेदका मन्त्रद्वारा अग्नि प्रज्वलित गरी वि.सं. १९५२ वैशाख पूर्णिमादेखि अखण्ड महायज्ञ चलाएपछि यो स्थान धार्मिक हिसाबले थप प्रख्यात बनेको हो ।

गाडीमा उकालो लाग्दै गर्दा हामीले नागबेली आकारमा बगेको माण्डव्य नदीका साथै प्युठान र रोल्पाका विभिन्न भागको पनि अवलोकन गर्दै गयौँ । समुद्री सतहबाट २१२१ मिटर उचाइमा रहेको स्वर्गद्वारी र आसपासको क्षेत्रमा लगभग बाह्रै महिना चिसो हुँदो रहेछ । जाडोबाट बच्न हामीले बाक्ला लुगा लगाएका थियौँ । त्यसो त पुसको ठन्डी भएकोले तुलसीपुरमै पनि बाक्ला लुगा लगाउनुपर्थ्यो । चैतमा गएका भए बाटोमा हामीले लालीगुराँस फुलेको देख्न पाउने रहेछौँ । पुसमै पुगेकाले हामीले लालीगुराँसका बोट मात्र देख्यौँ ।

उक्त कच्ची सडक निकै अप्ठ्यारो थियो र ठुला ठुला खाल्डाखुल्डी थिए । यतिसम्म कि कुनै कुनै खाल्डाखुल्डी पार गर्दा त युद्ध जिते जस्तै हुन्थ्यो । साधारण गाडी भएका भए त के तान्नु ? हामी चढेको फोर–ह्विल ड्राइभलाई पनि पिक–अप लिन गाह्रो हुँदा हामी बल निकालेर चिच्याउँथ्यौँ । मानौँ कि यसो गर्दा गाडीलाई अलिकति भए पनि पिक–अप लिन सजिलो हुन्छ । राम्रो भनिएको बाटो त त्यस्तो थियो, अप्ठ्यारो भनिएको होलेरी हुँदै जाने बाटो कस्तो थियो होला ? तुलसीपुर फर्किँदा होलेरी हुँदै जाने कि भनेर सोचेको भए पनि यहाँको बाटोको हालत देखेपछि हामीले त्यो सोचलाई त्यहीँ त्यागिदियौँ ।

स्वर्गद्वारी आउनै लाग्यो भन्ने वेलामा ती दुई जना महिला धरमपानी भन्ने ठाउँमा झरे । हामी पनि त्यहीँ झरेर पुनः मरीच हालेको चिया पियौँ । मरीच हालेको चियाले शरीर तताउन खुब मद्दत गर्दो रहेछ । हामीले त्यहीँ पूजाका लागि फुलप्रसाद पनि किन्यौँ । गाडी पुग्ने ठाउँबाट स्वर्गद्वारीसम्म पुग्नका लागि करिब एक किलोमिटर उकालो हिँडेरै जानुपर्ने रहेछ । अन्य भक्तजनसँगै हामी पनि त्यहाँबाट उकालो लाग्यौँ ।

भक्तजनको सुविधाका लागि बाटोमा व्यवस्थित ढङ्गले सिँढी र रेलिङ निर्माण गरिएको रहेछ । त्यही बाटो हुँदै २०/२५ मिनेटमा मन्दिरसम्म पुग्न सकिँदो रहेछ । त्यहाँ शुल्क लिएर भक्तजनलाई घोडचढीको सुविधा पनि दिइँदो रहेछ । मनोज र मैले त्यहाँ घोडचढीको अनुभव पनि लियौँ । स्वर्गद्वारी पुगेपछि भने हामीलाई स्वर्गीय आनन्दको अनुभूति भयो । मन्दिरलाई फन्को लगाएर चारैतिर हे¥यौँ । त्यहाँबाट अन्नपूर्ण, धवलागिरि र मनासलु हिमालका अतिरिक्त थुप्रै पहाड पर्वतहरू अवलोकन गर्न पाइँदो रहेछ ।

मन्दिरमा पूजा गरेर हामीले टिका–प्रसाद ग्रहण गर्यौ । निश्चित रकम तिरेपछि मन्दिरमै खानाको व्यवस्था गरिँदो रहेछ । भोक लागेकोले हामीले पनि त्यहीँ खाना खाने निर्णय गर्यौ । मन्दिरभन्दा माथि एउटा गुफा भएको थाहा भएर पनि हामीले जाने आँट गरेनौँ । स्वर्गद्वारी महाप्रभु त्यही गुफा हुँदै २३०० मिटर तल लुङ्ग्री माडीको दोभानमा झरेर स्नान गर्ने र फर्किने गरेको विश्वास गरिन्छ । खाना तयार होउन्जेलम्म हामीले स्वर्गद्वारीस्थित गौशालाको अवलोकन गर्यौ ।

गौशालामा तीन सयभन्दा बढी गाईगोरु भए पनि दिउँसो चराउनका लागि जङ्गल लगिँदो रहेछ । त्यसैले हामीले त्यहाँ भएकामध्ये केहीलाई मात्र देख्न पायौँ । १९९७ सालसम्म पनि त्यहाँ करिब एक हजार गाई रहेको र स्वर्गद्वारी महाप्रभु स्वयंले गाईको सेवा गरेको विश्वास गरिन्छ । वैशाख पूर्णिमा, जेठ, भदौ, कात्तिक र माघे सङ्क्रान्तिमा बढी चहलपहल हुने यस पुण्य भूमिमा भारतबाट पनि थुप्रै दर्शनार्थी आउँदा रहेछन् । मौसम प्रतिकूलताका बिच पनि त्यस दिन स्वर्गद्वारी पुगेका भक्तजनलाई देखेर सिजनमा त्यहाँ थुप्रै भक्तजन पुग्लान् भनेर हामीले लख काट्यौँ ।

गौशालामा केही बेर टहलिँदा खाना तयार भइसकेको थियो । गौशालाको मलखादमा हलक्क हुर्केको अर्गानिक सागसहितको सात्त्विक भोजन गरिसकेपछि यादगार सम्झनाहरू बोकेर हामी स्वर्गद्वारीबाट ओरालो लाग्यौँ । बाटोमा पर्ने झिमरुकखोला जलविद्युत आयोजनाको अवलोकन गरेर स्वर्गद्वारी भ्रमणको अनुभव साट्दै तुलसीपुर पुग्दा सन्ध्याको स्थान निशाले ओगटिसकेकी थिइन् ।