अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 13:28

सिन्कीको सपना र माथिल्लो मुस्ताङ

नवराज न्यौपाने 'मौन' २०७८ वैशाख ६ गते १५:२५ मा प्रकाशित

संस्मरण
माथिल्लो मुस्ताङको कोरल्ला नाकाको मुन्तिर रहेको चुङ्जुङ गाउँ पुग्दा अल्टिमीटरले ४२२० मिटर देखाइरहेको थियो । हामी योजना निरीक्षण, सर्वेक्षण र नाप जाँच, मूल्याङ्कन आदि कार्य लिएर त्यहाँ पुगेका थियौँ । घोडेटो बाटो, काठे पुल, सिंचाइकुलो र लघु जल विद्युत आदि योजनाको काम लिएर असारको सुरुवात तिर जोमसोम माथिका १० गाविसको लागि ३ हप्ताको कार्यक्रम लिएर हामी भिर पहरा र खोलानाला छिचोल्दै त्यहाँ पुगेका थियौँ । हामी अर्थात् कार्यालय सहयोगी यम बहादुर पुर्जा र म । कुरा २०५४ साल असार महिनाको हो ।

चुङ्जुङ सानो र चिटिक्क परेको हिमाली बस्ती । हामीले सोधखोज गरेर गाविस, जिविसबाट सञ्चालित र केन्द्रीय सारा योजनाहरू हेर्दै त्यहाँ पुगेका थियौँ । भर्खरै मात्र हिउँ पग्लेर खेती लगाउने समय भएको थियो । कतिपय मानिस त लेकमा गोठमा गएका थिए । सम्बन्धित योजनाका उपभोक्ता समितिलाई भेटेर हामीले योजनाको नाप जाँच गर्‍यौँ । हरिया चौरहरूमा घोडा, खच्चड र झोपाहरु चरिरहेका थिए । चुङ्जुङ खोलाको माथिल्लो भेगमा पुग्दा याकका बथान भेटिए । फोटो खिच्न खोज्दा याकहरू तर्सेर भाग्न खोज्थे । त्यहाँको उचाइ ४२४० मिटर देखिएको थियो ।

साँझमा सबै काम सकेर हामी बासको खोजीमा थियौँ । त्यो बेला ल्होमान्थाङमा मात्र होटेल खुलेका थिए । सन् १९९२ बाट मात्र उपल्लो मुस्ताङ (कागबेनी उत्तर ) पर्यटकको लागि खुला गरिएको थियो । त्यो पनि अप्रिलदेखि जुलाई सम्म मात्र । ट्रेकिङ रुट र बस्ने ठाउँ निर्धारण गरेर मात्र यात्रा गर्नुपर्ने नियम थियो । हामी त सरकारी कर्मचारी भएकोले सबै गाउँ पुग्नुपर्ने। जहाँ पुग्दा साँझ पर्छ, त्यही बसिन्थ्यो ।

चुङ्जुङ् गाउँका बासिन्दाहरू भेला भएर आआफ्ना समस्या र गुनासो पोख्न थाले । वर्षमा एक खेती हुने र त्यो पनि ९ महिना लाग्ने भएकोले धेरै मानिसहरू पशुपालन र जडीबुटी व्यापार गर्ने रहेछन् । पहिले तिब्बत स्वतन्त्र हुँदासम्म तिब्बती भूमिमा याकचौंरी चराउन र तिब्बतमा निर्बाध ओहोरदोहोर गर्न पाइने रहेछ । व्यापार र विहेवारी पनि चल्ने रहेछ । तर पछि तिब्बत चीनमा गाभिएपछि सिमानामा कडाइ गर्न थालियो ।

सन् १९५० अक्टोबर ७ तारिखमा माओ त्सेतुङको सेना तिब्बत पस्यो । सैनिकहरूले अक्टोबर १९ मा चाम्डु सहरबाहिरको क्षेत्र आफ्नो नियन्त्रणमा लिए।झन्डै आठ महिनासम्म चीनको कब्जा र बढ्दो दबाबमाझ तिब्बतका धार्मिक नेता दलाई लामाले १७ बुँदे विवादित सहमतिमा हस्ताक्षर गरे । त्यस अनुसार तिब्बत आधिकारिक रूपमा चीनको भूभाग बन्यो । तर नोबेल शान्ति पुरस्कार विजेता दलाई लामा उक्त सन्धिलाई अमान्य मान्छन् । त्यो हस्ताक्षर एउटा असहाय सरकारमाथि दबाब दिएर इच्छा विपरीत गराइएको उनको तर्क छ । दलाई लामा सम्झौतामा हस्ताक्षर गर्दा १५ वर्षका थिए । चीनले उक्त प्रकरणलाई ‘शान्तिपूर्ण मुक्ति’ ठान्छ । तर निर्वासित तिब्बती समुदाय त्यसलाई ‘आक्रमण र कब्जा’ मान्छन् ।

अहिले आएर माथिल्लो मुस्ताङ (ल्हो घेकर )का सबै बासिन्दा धेरै अर्थमा तिब्बतसँग निर्भर भएका रहेछन् । घर बनाउन काठ पात आदि तिब्बतबाट नै ल्याउने रहेछन् । नेपालका सबै हिमाली भेगमा धर्मगुरु दलाई लामाको फोटो सबैले राख्दा रहेछन् । यसै क्रममा सिन्की गुरुङले आफ्नो कहानी सुनाए । उनी किशोर छँदा चौरीगोठमा बस्थे । चौरी र भेडा डुलाउँदै तिब्बती भूमिमा पुग्दा उनी एक ठाउँमा चिप्लिएर हिउँको खाडल (दरार ) मा फसेँ । कसैगरी निस्कन सकेनन् । तीन दिनसम्म कम्मर कम्मर हिउँमा डुबेर बसेका उनलाई अरू गोठालाले खोजेर निकाले । तर उनी अपाङ्ग भए । गोडा बाङ्गा भएर लङ्गडो जस्तै भए । अनि उनी घरमा आएर बसे भने उनकी श्रीमती गोठमा गएर बसिन् । यसै बेला गाविसमा नागरिकता टोली आयो र उनले नागरिकताको प्रमाण पत्र र अपाङ्ग असक्त भत्ता पनि पाए । तर गोठमा गएर बसेकी उनकी श्रीमतीले अहिलेसम्म नागरिकता बनाएकी छैनन् । ‘नकुली बनाएको छैन , बुढी भए पनि भत्ता पाएन ।’ उनी दुखेसो पोख्छन् । ‘छोराछोरी छैन , नकुली पायो भने चौँरी बेचेर दुवै घरमा बस्छ । नकुली दिने टोली पठाइदेऊ है सार । ‘

साँझमा हामी मुस्ताङ्गी राजाकी भान्जी ढोमा बिस्टको घरमा बस्यौँ । उमेरले ७० नाघेकी उनी अविवाहित रहिछन् र झुमा बनेर लामा भाषा (तिब्बती) पनि पढेकी रहिछन् । उनले पनि मुस्ताङका दुःख र यथार्थ पीडा बताएकी थिइन् । मुस्ताङका तल्लो भेगका थकाली र माथिल्लो भेगका गुरुङ जातिमा माहिलो छोरा लामा र महिली छोरी झुमा बन्ने प्रचलन रहेकोमा अहिले आएर त्यो चलन बिस्तारै हट्दै गएको उनले बताइन् ।

छोन्हुपको चुङ्जुङ गाउँबाट हामी छोसेरको आर्का भन्ने गाउँ गयौँ । त्यो गाउँको पारीपट्टि बगरमा हाइस्कूल थियो -दिव्य दीप माध्यमिक विद्यालय । त्यो स्कुलको पनि आफ्नै कथा रहेछ । जोमसोम लगायत तल्लो भेगका छ गाविसहरूमा (थकाली समुदाय ) ५ वटा मावि रहेका तर माथिल्लो भेगका १० गाविसहरूमा एउटा पनि मावि नभएको हुँदा काठमाडौँ तथा दार्जिलिङ गएर पढेर आएका व्यक्तिहरूले माविको माग गरे तर १० गाविसको लागि जम्मा एउटा मावि स्वीकृत भएर आयो । तर मावि खोलेर चलाउने कोही तयार भएनन् । दुर्गम कोटाबाट बुढानीलकण्ठ स्कुलबाट एसएलसी उत्तीर्ण गरी बीएस्सी पास गरे आएका छोसेर का युवा शंखलाल गुरुङले आफ्नो गाउँमा मावि राख्न तयार भए र उनी त्यही विद्यालयमा पढाउन थाले । मुस्ताङी राजाका नातेदार र आफन्त भने काठमाडौँ ,पोखरा र दार्जिलिङ गएर पढ्ने गरेका रहेछन् । शंखलाल पछि छोसेर गाविसको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

२०५१ सालमा तिब्बतबाट हिमताल फुटेर आएको बाढीले आर्का गाउँका ४६ घर बगाएको थियो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा तनहुँको ढोरफिर्दीमा ती मुस्ताङ्गीहरुलाई बसोबास गर्न दिइएको थियो । बाढीले खोलाको स्वरूप र बाटो परिवर्तन गरेकोले जलविद्युत योजना नै रुद्ध भएको थियो । छोसेरमा माटोका पहरोमा खोपेर बनाइएका घरहरू पनि प्रशस्तै थिए । एउटै गुफामा पाँच तला भएको र कोठाहरू पनि भएको छोसेरको गुफामा पहिले सबै मानिसहरू बस्ने गरेका रहेछन् ।

त्यसपछि हामी लोमान्थाङ आयौँ र लोमान्थाङ गाविस सचिव घ्युर्मिवाङ्याल विष्ट ( ज्ञानेन्द्र ) को घरमा बस्यौँ । चारैतिर पर्खाल लगाएर घेरिएको लोमान्थाङ गाउँ र मुस्ताङी राजाको दरबार हेर्न पर्यटकहरू आउन थालेका थिए । मैले पनि मुस्ताङी राजालाई भेटेर योजनाहरूको ब्रिफिङ गरेको थिएँ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले छोन्हुपबाट आएको शुरुहोरा कुलो र छोसेर बाट आएको चोप्राङ कुलोको पानी मिसाएर लघु जलविद्युत योजना सम्पन्न गरेको थियो । चराङमा भने यस अघि नै लघुजलबिद्युत योजना सम्पन्न भइसकेको थियो ।

त्यसपछि हामी पहराको बाटो हुँदै सुर्खाङ पुग्यौँ । सुर्खाङको सुर्खाङ, ढी, यारा, घारा हुँदै दामोदर कुण्ड जाने बाटो निर्माण भएको थियो । बाटोमा पहरा खोपेर बनाइएको कलात्मक लुरी गुम्बा पनि पर्यटकको निम्ति आकर्षणको केन्द्र बनेको थियो । दामोदर कुण्डमा भने फलामबाट फेब्रिकेशन गरी मन्दिर बनाएर लगिएको थियो ।

त्यसपछि हामी धे ,ताङ्ग्या हुँदै छुसाङ् निस्कियौँ । ताङ्यामा त पहिले मुस्ताङ विद्रोह (२०३० साल) तिब्बती शरणार्थी विद्रोहीहरूले एयरपोर्ट बनाएर हतियार सञ्चय गर्ने गरेका रहेछन् । छुसाङ् पारी रहेको धुम्बाधाङ गुम्बा पनि निकै आकर्षक रहेछ । मुस्ताङका धेरैजसो गुम्बाहरूमा विशाल बुद्धका मूर्तिहरू भेटिन्छन् र ती मूर्तिहरू कसरी आए र कसरी बने भन्ने अनेक किम्बदन्तीहरू भेटिन्छन् ।

अनि हामी तेताङ घुमेर ताङ्वे आएर कर्म ढतुल गुरुङको घरमा बस्यौँ । पहाडको वारी पारी रहेका तेताङ र ताङ्वे गाउँमा पानी आउने खोला भने एउटै रहेछ । नर्सिङ खोलाको कुलोले तेताङ गाउँको आधा जमिन मात्र ओगट्दो रहेछ । कुलो माथिको जमिनलाई लेकबाट ताङ्वे गाउँ झर्ने खोलाबाट कुलो बनाएर ल्याउने गरिएको रहेछ । पहिले तेताङ गाउँका मान्छेले खोलामा पाइप सिमेन्ट प्रयोग गरी कुलो बनाएर लगेपछि ताङ्वे गाउँमा पानीको अभाव भएछ र उनीहरूले पाइप काटिदिए र ट्याङ्की फुटाइदिए । अनि झगडा र विवादले उग्र रूप लियो । कसैले सुल्झाउन सकेनन् र त्यो घटना तत्कालीन गण्डकी अञ्चलाधीश लक्ष्य बहादुर गुरुङ समक्ष पुग्यो । अनि उनले साप पनि मर्ने र लट्ठी पनि नभाँचिने गरी फैसला सुनाएछन् – ‘परम्परादेखि चलिआएका दुवै कुलोलाई रोक्न नमिल्ने देखिन्छ । तर उक्त कुलोमा पाइप, सिमेन्ट र डुँड प्रयोग नगरी ढुङ्गा माटोले मात्र थुनेर लान पाइनेछ । ‘ यो फैसलाले दुवै गाउँको चित्त बुझ्यो र दुवै कुलोमा आधा आधा पानी झर्‍यो । अहिले आएर जलवायु परिवर्तनको असरले गर्दा मुस्ताङका धेरै गाउँहरूमा पानीको अभाव हुन थालेको छ । धेरै गाउँमा पानी सानो हुँदा पोखरी बनाएर जम्मा गर्ने र पोखरी भरिएपछि सिँचाइ गर्ने गर्दछन् । ताङ्वे गाउँमा सिँचाइ गर्न पानी अपर्याप्त भएपछि इन्जिनियरहरू सहितको टोलीले पानीको श्रोत अध्ययन गर्न लेकमा १-२ दिनको अध्ययन गर्‍यो तर पानीको श्रोत र मूल भेट्न सकेन ।

हिमाली भेगमा गाविसको सिमाना छुट्ट्याउन गाह्रो हुने रहेछ । नक्सामा देखाइएको भाग कहाँ पर्छ भनेर अनुमान गर्न गाह्रो हुदोरहेछ । अझ वडाको सिमाना छुट्ट्याउन झनै गाह्रो । सबै वडा एउटै गाउँमा हुन्छन् । गाउँको ठेगानामा मात्र वडा खुलेको हुन्छ । अरू खाली भाग, खर्क, हिमाल, भिर पहरा सबै सार्वजनिक हुन्छन् । एउटै वडाका पनि दुई तीन वटा क्षेत्रफल हुन्छन् । यसले गर्दा विकास निर्माण कार्य र भू उपयोगको मामिलामा विवाद आइरहने गर्छ ।

मुस्ताङ बन जङ्गल कम भएको जिल्ला हो । यहाँ जिल्ला बन कार्यालय पनि स्थापना भएको छैन । माथिल्लो मुस्ताङमा गोबर र भेडा बाख्राको बड्क्यौला (जुत्तो ) लाई खाना पकाउन चुल्होमा प्रयोग गरिन्थ्यो । खेतबारीमा खोलाले बगाएर ल्याएको माटो मलको रूपमा हाल्ने गरिन्थ्यो । तर अहिले जीवनशैलीमा धेरै परिवर्तन आएको छ । तर पशुपालन र कृषि प्रणाली कायम राख्न भने धेरैलाई धौधौ हुने गरेको छ । माथिल्लो मुस्ताङको ३ हप्ते भ्रमणबाट नेपालको मरुभूमिका रोचक कथाहरू सुन्न र देख्न पाइयो । अहिले सम्झन्छु, चुङ्जुङका सिन्कीले बुढीको नागरिकता बनाए कि बनाएनन् होला ? लोमान्थाङको ‘तिन्जी’ पर्व र मुक्तिनाथको ‘यार्तोङ’ पर्वमा युवा सहभागिता उस्तै छ कि छैन ? ढुम्बाताल नजिकै रहेको कुछप तेरङ्गा गुम्बामा धेकप पर्वमा लामा नाच नाच्ने युवाहरू बिदेसिए कि गाउँमै होलान् ? अनि मूलबाटो त पोखरादेखि चीनसम्म जोडिए पनि ज्यानको बाजी लगाएर हिँड्नुपर्ने ती दूर दराजका गाउँहरूमा अब बाटो पुग्यो कि पुगेन होला ?