अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

अट्वारी पर्व मनाइँदै, थारु समुदायलाई सार्वजनिक बिदा

बिआरटीनेपाल २०७६ भदौ १५ गते १:२८ मा प्रकाशित

दाङसहित थारु समुदायको बसोबास रहेका जिल्लाहरुमा आज अट्वारी पर्व मनाइँदै छ । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्छन् । हरेक वर्षको अष्टमीपछि चन्द्रमा देखिने बित्तिकै मनाउने परम्पराअनुसार उपयुक्त ठानी अट्वारी मनाउन लागिएको हो ।

खासगरि थारु समुदायका पुरुषहरुले महिलाको सम्मानको लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरेका छन् । आजको दिन पानीसमेत नखाएर (निर्जला) ब्रत बस्ने गरिन्छ । अट्वारी पर्व कृण्ण जन्माअष्टमीको आठ दिनपछि आउने दिनलाइ मनाउने प्रचलन थारु समुदायमा छ । यो पर्व सूर्य अर्थात् शक्तिको उपसनाको लागि गर्ने गरिएको लक्ष्मीमान चौधरीले बताए । किम्बदन्तीअनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भिमसँग समेत जोडेर यो पर्वलाई मनाउन गरिएको चौधरीले बताए । थारु राजा र पाच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको उनीहरुको भनाइ छ ।

प्रदेश नं. ५ सरकारले थारुहरुको पर्व अट्वारीका अवसरमा दाङसहित ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । थारु बहुल्यता रहेका क्षेत्रहरु दाङ,बाँके र बर्दियामा थारु समुदायका मानिसहरुलाई सार्वजनिक बिदा दिइएको हो । प्रदेश सरकार मन्त्री परिषदको गत वैशाख १२ गतेको निर्णयको आधारमा आइतवार आज तीन जिल्लाका थारु समुदायका व्यक्तिहरुलाई सार्वजनिक बिदा दिइएको अधिकृत माधव शर्माले जानकारी दिनुभयो । अन्य समुदायको हकमा भने विदा प्रदान गरिएको छैन ।

प्रतिक्रिया