अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 15:49

ब्रिटिस इन्डियन आर्मीमा काम गरेका नेपालीको शालिक भारतमा अनावरण

बिआरटीनेपाल २०८१ वैशाख १७ गते ६:०२ मा प्रकाशित

तत्कालीन ब्रिटिस इन्डियन आर्मीमा रहेर विश्वयुद्ध लडेका नेपाली योद्धा बहादुरसिंह बरालको शालिक भारतको हिमाचल प्रदेशमा पर्ने भाग्सुमा अनावरण गरिएको छ। भारतमा बेलायती उपनिवेश छँदा त्यहाँको सेनामा पहिलो गोर्खा राइफल्स दोस्रो बटालियनका सैनिक अधिकृत रहेका बरालको शालिक भाग्सुस्थित गोरखनाथ मन्दिर परिसरमा शनिबार अनावरण गरिएको हो। बराल नेपालका पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालका बुवा हुन्।

बहादुरसिंहका पनाति पूजन बरालका अनुसार उक्त शालिक शनिबार एक कार्यक्रमबीच अनावरण गरिएको हो। भाग्सुको यस गोरखनाथ मन्दिर स्थापना गर्न साहित्यकारसमेत रहेका बरालको भूमिका थियो। त्रिभुवन विश्वविद्यालयका नेपाली विभागका प्राध्यापक डा.खगेन्दप्रसाद लुइँटेल र भारतकी पूर्वसांसद् दिलकुमारी राईको उपस्थितिमा शनिबार शालिक अनावरण गरिकएको हो।

बरालको पैतृक थलो नेपालको तत्कालीन पाल्पा (हाल नवलपुर) स्थित चुली बोझा गाउँ हो। उनका बुवा कप्तान सर्वजित बराल ‘मेम्बर अफ भिक्टोरियन अर्डर’ पाउने पहिलो नेपाली हुन्। सर्वजितले ६ वर्षसम्म संयुक्त अधिराज्य बेलायतको बकिङ्गह्याम दरबारमा रानी भिक्टोरियाको एडीसी भई काम गरेका थिए। उनी ब्रिटिस इन्डिया आर्मीमा सुबेदार मेजरसम्म भएका थिए। बरालले लेखी प्रा. लुइँटेलले सम्पादन गरेको ‘बरालको आँसु’ नामक उनको कृतिमा गीत, गजल र भजनको संकलन छ। बहादुरसिंहको रूचि गायनमा पनि थियो। बाल्यकालदेखि सुमधुर स्वरमा गीत गाउन थालेका उनलाई पल्टनमा ‘शंखस्वर’ भन्ने गरिन्थ्यो।

उनी विभिन्न सामाजिक संस्थामा पनि क्रियाशील रहे। उनी ‘अल इन्डिया गोर्खा एसोसिएसन’ को अध्यक्षका साथै ‘गोर्खा ढोगभेटरसत्संग प्रचारिणी सभा’ को अध्यक्ष भएर सामाजिक सुधारका कार्यमा पनि क्रियाशील भए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू