अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३२ | Colorodo: 13:47

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

बिआरटीनेपाल २०८१ वैशाख १७ गते ५:४८ मा प्रकाशित

हिजोदेखि काठमाण्डाैमा शुरु भएको तेस्रो लगानी सम्मेलन आज सकिँदैछ । आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन भएसँगै बेलुका सम्मेलन सकिने लगानी बोर्डको सचिवालयले जानकारी दिएको छ । आज बिहान चार वटा सभा हलमा चार वटा फरक–फरक सत्र चलेका छन् । सबै सत्रमा स्वदेशी तथा विदेशी विज्ञ तथा सरकारी प्रतिनिधिले आफ्नो धारणा राखेका छन् ।

यसैबीच चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ । आज नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुशन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआईसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो ।

नेक्सजेनले एमएबीसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआईसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ । यी दुई समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।

यस्तै नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि ‘वर्ल्ड एसोसिएशन अफ पीपीपी युनिट्स एन्ड प्रोफेशनल्स’ (वाप) र ‘नेपाल एसोसिएशन अफ पीपीपी प्रोफेशनल्स अफ प्राक्टिशनर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारीसम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू