अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 10:14

कास्कीमा नागरिकता प्रकरणमा मुछिएका ५ कर्मचारी फरार

बिआरटीनेपाल २०७६ भदौ ८ गते ९:५८ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय कास्कीबाट तिब्बती शरणार्थीले नागरिकता लिएको प्रकरणमा मुछिएका ५ कर्मचारी फरार भएका छन्। कास्की प्रहरीले नागरिकता कसुर सम्बन्धी आरोपमा जिल्ला अदालतबाट पक्राउ आदेश लिएका ५ कर्मचारी फरार भएका हुन्।

फरार हुनेमा जिल्ला प्रशासन कास्कीका अधिकृत ऋषिराम आचार्य, नासु डाँसीराम लाछिाने, खरिदार परशुराम पौडेल र रामचन्द्र थापा छन् भने पोखरा १८ नम्बर वडाका पूर्व स्थानीय पञ्जिकाधिकारी विष्णुप्रसाद पौडेल छन्। पौडेल हाल राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा प्रशासन शाखामा कार्यरत छन्।

अदालतबाट पक्राउ आदेश लिएर सम्बन्धित कार्यालयमा जानकारी दिइसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो । पोखरा २५ हेम्जा शरणार्थी क्याम्पमा बस्ने सरु थापा मगर र तासी आङ्मो थापामगरलाई वशंजको आधारमा नागरिकता दिलाउन उनका हजुरबुबा पोखरा १८ का लेखबहादुर थापाले बाबु बनेर झुठो विवरण पेस गरेका थिए ।

उक्त विवरणमा पोखरा १८ का ५ जनाले सर्जमिन मुचुल्कामा दस्तखत गरी वडामार्फत नागरिकताका लागि प्रशासनमा सिफारिस पुगेको थियो। सनाखत गर्ने लेखबहादुर, नागरिकता लिने २ तिब्बतीयन युवती र सनाखत गर्ने ५ जनालाई प्रशासनको आदेशमा साउन २४ गते पक्राउ परेका थिए । वडाबाट सिफारिस गर्ने वडाध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापा र स्थानीय पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई साउन ३१ गते प्रहरीले पक्राउ गरेको थियो ।

वडाध्यक्ष र वडासदस्यलाई महानगरको जिम्मा जमानीमा भदौ ४ गते हिरासत मुक्त भइसकेका छन् । भोलीपल्ट स्थानीय पञ्जिकाधिकारी राजेन्द्र पौडेल परिवारको जिम्मा जमानीमा रिहा भएका थिए । अन्य कास्की प्रहरीको हिरासतमा रहेको प्रवक्ता केसीले जानकारी दिनुभयो । । प्रशासनले जेठ २६ गते र असार ६ गते जारी भएका २ नागरिकता खारेज गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू