अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०६ | Colorodo: 22:21

लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट निजी क्षेत्र उत्साहित

बिआरटीनेपाल २०८१ वैशाख १८ गते ७:१३ मा प्रकाशित

दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ ।  सरकारले आयोजना गरेका विगतका दुई लगानी सम्मेलन भन्दा अहिलेको लगानी सम्मेलन सफल र फलदायी भएको भन्दै निजी क्षेत्र उत्साहित भएको हो ।

लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रलाई सह–आयोजकको रुपमा सँगै लिएर जाँदा निजी क्षेत्र सन्तुष्ट देखिएको छ । तेस्रो लगानी सम्मेलनमा करिव ९ अर्ब भन्दा बढीको लगानी स्वीकृत समेत भएको छ । निजी क्षेत्रले नेपालमा अब लगानीको ठूलो सम्भावना रहेको सन्देश विश्वमा पुगेको भन्दै अब मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन समेत सहयोग पुग्ने वातावरण बन्ने अपेक्षा निजी क्षेत्रको छ । व्यवसायीहरुले विगतका लगानी सम्मेलनमा सन्तोषजनक प्रतिफल लिन नसकेको भएपनि अहिलेको लगानी सम्मेलनमार्फत प्रतिफल समेत प्राप्त हुने आशा निजी क्षेत्रको छ । निजी क्षेत्रले सरकारले लगानी सम्मेलनको मुखमा निजी क्षेत्रले माग गरे अनुसार विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउनको लागि केही कानूनहरु संशोधन समेत गरेकाले थप आशा जागेको उनीहरुको भनाई छ ।

सरकार लगानी प्रवद्र्धन तथा सहजता बनाउनको लागि प्रतिवद्ध रहेको सन्देश दिन सकेकाले पनि विगतको भन्दा यो लगानी सम्मेलन उत्साहका साथ सफल भएको निजी क्षेत्रको दाबी छ । देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा लिइएको निजी क्षेत्रलाई साथमा लिएर हिँड्ने सरकारी घोषणा र नेपालमा लगानी गर्न तयार रहेको विदेशी लगानीकर्ताको घोषणापछि निजी क्षेत्र उत्साहित बनेको देखिन्छ । सरकारले कानून संशोधन मात्रै भन्दा पनि कार्यान्यनमा पनि तदारुकता देखाउन आवश्यक रहेको निजी क्षेत्रको माग छ । उनीहरुले सरकारले लगानी सम्मेलनमा आएका प्रतिवद्धतालाई सदुपयोग गर्नेगरी भावी दिनमा काम गर्नुपर्नेमा जोड दिए । तर विगतका लगानी सम्मेलनमा भएका प्रतिवद्धता अनुसार काम नदेखिएकाले थप चुनौतीपूर्ण छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई सहआयोजक बनाएर गरेको लगानी सम्मेलनमा निजी क्षेत्रको पनि स्वामित्व रहेको बताउनुभयो । उहाँले विगतका लगानी सम्मेलन भन्दा यो केही फरक भएकाले प्रतिफल आउने गरी सम्पन भएको दाबी गर्नुभयो । उहाँले स्वदेशी तथा विदेशी लगानीको लागि बाधक रहेका पुराना कानूनहरुलाई सरकारले संशोधन गरेकाले आशा जगाएको बताउनुभयो । उहाँले निजी क्षेत्रले दिएका सबै सुझावका आधारमा कानूनहरुलाई संशोधन गरेकाले लगानीको प्रतिवद्धता जनाउन लगानीकर्तालाई सहज भएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले समग्रमा लगानी सम्मेलनले राम्रो सन्देश दिएको बताउनुभयो । उहाँले लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रका माग अनुसार केही कानूनलाई संशोधन गरेर लगानीको वातावरण बनाउने प्रतिवद्धता जनाएर कानून संशोधन गरेकोमा थप उत्साहित भएको बताउनुभयो । पूर्वअध्यक्ष राणाले निजी क्षेत्रले माग गरेको ऐनहरु सरकारले संशोधन गरेर लगानीकर्ताहरुलाई राम्रो सन्देश दिन सकिएको बताउनुभयो । उहाँले  कानून संशोधन गरेर सरकार लगानीको वातावरण बनाउनको लागि प्रतिवद्ध छ भन्ने सन्देश दिइएको पनि दाबी गर्नुभयो । फेडरेशन अफ नेपाल एक्सपोर्ट एशोसिएशनका अध्यक्ष पवनकुमार गोल्यानले लगानी सम्मेलनले लगानीको वातावरण बनाउन खाजेको बताउनु भयो । उहाँले हरेक लगानी सम्मेलनमा लगानीको भाईब्रेट सिर्जना गरेको बताउनु भयो । उहाँले सम्मेलनबाट मुलुकको लागि आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने आशा गरेको बताउनुभयो ।

उहाँले सरकारको लगानीका प्राथमिक क्षेत्रहरु पर्यटन,जलविद्युत क्षेत्रमा होमवर्क कम भएको बताउनु भयो । उहाँले सरकारले सम्मेलनमा  कृषिलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले समग्रमा लगानी सम्मेलनमार्फत लगानीको वातावरण बनाउने राम्रो प्रयास भएको बताउनुभयो । उहाँले क्षेत्रलाई समेटेर भन्दा पनि अब क्षेत्रगत प्राथमिकताका आधारमा गर्न आवश्यक देखिएको बताउनुभयो । उहाँले नेपाल लगानीको लागि सधँै आकर्षण देश रहेको उल्लेख गर्नुभयो । उहाँले लगानी सम्मेलन सफल हुदाँ खुशी हुने मात्रै नभएर अब परिणाम आउने गरी काम गर्न जरुरी रहेको बताउनुभयो । लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय देशहरुबाट भएको सहभागितालाई लगानीको रुपमा सरकारले ग्रहण गर्नसके मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो ।

त्यस्तै, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मनोज पौडेलले नेपाल वैदेशिक लगानीको लागि राम्रो गन्तव्य भएको सन्देश दिएको बताउनुभयो । उहाँले लगानीको लागि सरकारले वातावरण बनाए लगानी निजी क्षेत्रले गर्ने बताउनुभयो । उहाँले सरकारले कानूनी समस्याहरुलाई समाधानको लागि सरकारले कानूनहरु संशोधन गरेर राम्रो काम भएको बताउनुभयो । उहाँले सरकारले गरेका कानून संशोधनले विदेशी लगानीकर्तालाई आकर्षण गरेको बताउनुभयो ।

उहाँले लगानी सम्मेलनमा उल्लेखिय सहभागिता रहेको भन्दै सम्मेलनमा विदेशी सरकारी निकायको प्रतिनिधि भन्दा पनि विदेशी निजी क्षेत्रलाई ल्याउन आवश्यक देखिएको बताउनुभयो । उहाँले लगानीको लागि नयाँ क्षेत्रमा युवाहरुलाई सहभागिता गराउने गरी सरकारले पनि सहजिकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू