अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

पछिल्लो १८ दिनमा आगलागी र डढेलोले लियो १५ जनाको ज्यान

बिआरटीनेपाल २०८१ वैशाख १८ गते ७:३२ मा प्रकाशित

पछिल्लो १८ दिनमा देशभर आगलागी र वन डढेलोका घटनामा परी १५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि १८ गते (आज) यो समाचार तयार पारुन्जेलसम्म आगलागी र वन डढेलोमा परी १५ जनाको मृत्यु भएको हो ।

यस अवधिमा आगलागीका घटनामा परी १२ जना र वन डढेलोका घटनामा परी तीन जनाको मृत्यु भएको छ ।  ललितपुरको गोदावरीस्थित बडिखेल वनमा डढेलो निभाउने क्रममा मंगलबारमात्र घाइते भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको छ । डढेलोमा जलेर स्थानीय शंकर पहारीको मृत्यु भएको हो ।

जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी शेखर खनालले जानकारी दिनुभयो । सोही डढेलो निभाउने क्रममा जलेर अरू दुईजना घाइते छन् । कीर्तिपुर बर्न अस्पतालमै एकजनाको उपचार जारी छ । राष्ट्रिय ट्रमा सेन्टरमा अर्का एक घाइतेको उपचार भइरहेको गोदावरी नगरपालिकाले जनाएको छ ।

गोदावरीकै लेले क्षेत्रको आनन्द वनमा डढेलो लाग्दा आनन्द वन अस्पताल जोखिममा परेको छ । अस्पतालमा उपचाररत करिब ९० बिरामीलाई बज्रबाराही प्राथमिक स्वास्थ्य सेवा केन्द्र र अरू स्वास्थ्य चौकीहरूमा सारिएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । पछिल्लो १८ दिनमा आगलागी र वन डढेलको घटनामा परी देशभर ५८ जना घाइते भएका छन् । आगलागीका घटनामा परी ४८ जना र वन डढेलोका घटनामा परी १० जना घाइते भएका हुन् ।

गत वर्ष २०८० मा वन डढेलो र आगलागीका घटनामा परी देशभर ११७ जनाको मृत्यु भएको थियो । यीमध्ये आगलागीमा परी १०६ जना र वन डढेलोका घटनामा परी ११ जनाको मृत्यु भएको थियो । गत वर्ष वन डढेलो र आगलागीका घटनाबाट साढे दुई अर्बभन्दा बढीको आर्थिक क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू