अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५ | Colorodo: 12:50

युवाहरुको रगत र पसिना निर्यात गरेर मुलुक समृद्ध हुँदैन– राप्रपा अध्यक्ष कमल थापा

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:३५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवाको रगत र पसिना विदेशमा निर्यात गरेर मात्र मुलुक समृद्ध नहुने बताउनुभएको छ । राप्रपाको भातृ संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आयोजित कार्यक्रममा अध्यक्ष थापाले श्रमिक र किसानको प्रतिनिधि बताउने कम्युष्टिहरुको दुई तिहाइको सरकार भएको अवस्थामा पनि नेपाली युवाहरुले खाडीमा रगत र पसिना बेचेर आएको रेमिट्यान्सले मात्र मुलुकको अर्थतन्त्र धानीनु दुःखद रहेको बताउनुभयो ।

भ्रष्टाचार हेर्न पनि सक्दिन भनेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनिरहेकै अवस्थामा राज्यको ढुकुटीमा संगठित रुपमा नै ब्रम्हलुट हुँदै गरेका तथ्यहरु बाहिर आएको बताउँदै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै निरिह र असफल प्रधानमन्त्रीको रुपमा जनताले मूल्याङकन गर्ने दिन नआओस् भन्दै कामनासमेत गर्नुभयो । सरकारले अवलम्वन गरेको आर्थिक नीति नै श्रमिकमैत्री नभएको भन्दै उहाँले उद्योग व्यवसाय फस्टाउन नसक्नु, आशातित रुपमा आर्थिक वृद्धिदर नबढ्नु गलत अर्थनीतिको परिणाम भएको उल्लेख गर्नुभयो ।

श्रमिकहरुलाई प्रयोग गरेर वन सामन्त र नव धनाढ्यहरुको दिनप्रतिदिन वृद्धि भइरहेको बताउँदै अध्यक्ष थापाले नेपालको इतिहासमै श्रमिकहरुको चरम शोषण भइरहेकोले यसतर्फ ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ध्यानाकर्षण गर्दै तल्लो तहसम्म संगठन विस्तार गरेर श्रमिकहरुको हितमा जोडदार आवाज उठाउन आग्रह गर्नुभयो । विगतका कमी कमजोरीहरुलाई सच्याएर राप्रपा अघि बढिसकेकोले आगामी निर्वाचनमा कांग्रेस र कम्युनिष्टको विकल्पमा राप्रपालाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गराउन उहाँले ट्रेड युनियन महासंघ नेपाल (टुकोन) मार्फत देशभरका श्रमिकहरुलाई ऐक्यवद्धताको लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू