अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९ | Colorodo: 22:04

अनलाईन प्रणालीबाट ढुवानी साधनको अनुगमन शुरु

बिआरटीनेपाल २०७६ साउन १ गते ९:३९ मा प्रकाशित

सरकारले ढुवानी साधनको अनुगमन अनलाईन प्रणालीबाट सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार मालवस्तु तथा ढुवानी साधनको अनलाइन अनुगमन प्रणालीको शुभारम्भ गर्नुभयो । राजश्व अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले अपारदर्शी एवं अनौपचारिक व्यवसायलाई पारदर्शी र औपचारिक व्यवसायमा रुपान्तरण गर्न खोजिएको बताउनुभयो । प्रविधिको प्रयोगले ५० प्रतिशत अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा रुपान्तरणको एउटा प्रयासमा यो प्रणालीको कार्यान्वयन भएको उहाको भनाई छ ।

निजी क्षेत्रले पनि प्रणालीको स्वागत गर्दै यसलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिएको छ । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले प्रणालीबारे स्थानीय तहका व्यवसायीमा अन्यौल रहेको बताइन् । उनले तीन महिनाको प्रोभिजनल समय अपुग हुने बताउनुभयो । उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले यो प्रणाली विकासको चरणमा एक पाइला अढि बढेको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले यो प्रणाली स्थानीय ढुवानीमा भने उपयुक्त हुन नसक्ने भन्दै शंका व्यक्त गर्नुभयो । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले प्रणालीको प्रयोग गर्न कुनै शुल्क नलाग्ने, सहज एवं विश्वासिलो रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया