अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

बिआरटीनेपाल २०७६ साउन १ गते ९:२३ मा प्रकाशित

आज श्रावण १ गते अर्थात साउने संक्रान्ति र लुतो फाल्ने दिन । श्रावण महिनामा भगवान शिवको पुजा आराधना गर्नेचलन रहिआएको छ । यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले व्रत बस्ने र राम्रो वर पाउने विश्वासमा शिवको पुजा आराधना गर्ने गर्दछन् ।

श्रावण संक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछ । कर्कट संक्रान्तिलाई श्रावण संक्रान्ति या साउने संक्रान्ति पनि भनिन्छ ।

आजको दिनदेखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणि गोलार्थ तर्फ प्रवेश गर्ने भएकोले दिनपछि छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । विशेषतः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात तथा गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरुमा जल, भाङ्ग, धतूरो तथा बेली पुष्प समर्पण गरी सफलता, सु–स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने गर्दछन् ।

श्रावण संक्रान्तिको दिन परम्परा अनुसार लुतो फाल्ने प्रचलन समेत रहेको छ । असार महिनाभरि धान रोप्ने काममा संलग्न हुने क्रममा कृषकहरु पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलोमा रहनुपर्ने हुन्छ । गर्मी र वर्षाको यो असरले बर्षाको महिनाहरुमा चर्म तथा छालासंग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु आउनसक्ने संभावना अत्याधिक हुन्छ ।

साउने संक्रान्तिका दिन हिन्दु धर्मावलम्बीहरुले लुतो फाल्ने गर्दछन् । लुतो फाल्ने आ– आफ्नै खालका जनविश्वाश र चलन रहेको पाइन्छ । यस दिन नदि किनारमा गई शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश छ भने भन्टालाई दूलो पारेर चौबाटोमा फालेर नुहाएमा समेत लुतोबाट छुट्कारा पाईन्छ भन्ने जनविश्वास रहिआएको छ ।

घरमा आजको दिन साँझ लुतो फाल्ने प्रचलन रहेको छ । परम्परानुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी घरको चारै दिशामा अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ ।

प्रतिक्रिया