अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा सामेल हुने भन्ने प्रश्नै उठ्दैन – रक्षामन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ असार १० गते ९:४६ मा प्रकाशित

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानको मर्म र भावनाअनुरुप नेपाली सेना परिचालित हुँदै आएको बताउनुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत् रक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखन्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाका लागि नेपाली सेना दृढ संकल्पित रहेको बताउनुभयो ।

नेपाली सेनालाई आधुनिकीकरण र सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै उपप्रधानमन्त्री पोखरेलले विकास र निर्माणका काममा पनि नेपाली सेनाको योगदान उल्लेख्य रहेको बताउनुभयो । सर्वसाधारणको आवाजलाई ध्यानमा राखेर विशिष्ट व्यक्तिको सवारी व्यवस्थापन गर्न सरकार संवेदनशील रहेको बताउँदै मन्त्री पोखरेलले परिवर्तित राजनीतिक शासकीय व्यवस्थाअनुसार नयाँ सुरक्षा नीति पारित गर्नाका साथै राष्ट्रिय सुरक्षा नीतिलाई अद्यावधिक गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

सैनिक कूटनीतिक सम्बन्ध विस्तार, पेसागत दक्षता र क्षमता अभिवृद्धिका साथै शान्ति स्थापना र विपद् व्यवस्थापनामा क्षमता बढाउने उद्देश्यले नेपाली सेनाले विभिन्न मुलुकका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय सैन्य तालिम र अभ्यास गर्दै आएको चर्चा गर्दै उपप्रधानमन्त्री पोखरेलले यस्ता प्रशिक्षण विशुद्ध सेनाको क्षमता अभिवृद्धि र पेसागत व्यावसायिक सुदृढीकरणका सिलसिला रहेको उल्लेख गर्नुभयो ।

नेपाली सेनाले भारत, चीन, अमेरिका, श्रीलंका र बेलायतका सेनासँग पेसागत क्षमता बढाउने, सहकार्य गर्ने, ज्ञान आदान–प्रदान र पारस्परिक क्षमता बढाउने सिलसिलामा यस्ता अभ्यास हुने गरेको बताउँदै पोखरेलले नेपाल स्थापनाकालदेखि नै असंलग्न आन्दोलनको सदस्य मुलुक भएकाले कुनै क्षेत्रीय वा अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा सामेल हुने भन्ने प्रश्नै नउठ्ने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया