अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

सरकारले जनताको अधिकार खोस्न खोज्यो – सभापति देउवा

बिआरटीनेपाल २०७६ वैशाख ७ गते ९:३६ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा सभापति देउवाले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको आरोप लगाउनुभएको हो । सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले शासन गर्न खोजेकाले यसविरुद्ध कांग्रेस जाग्नुपर्ने बेला आएको सभापति देउवाले बताउनुभयो । निर्मला पन्तको बलात्कारी र हत्यारालाई वर्तमान सरकारले संरक्षण गर्न खोजेको सभापति देउवाको आरोप थियो ।

पार्टीभित्र अनुशासन हराउँदै गएको उल्लेख गर्दै उहाँले अब अनुशासनविरुद्ध काम गर्ने जो कोहीलाई पनि कारबाही गरिनेमा जोड दिनुभयो । सभापति देउवाले घरघर गएर पार्टीको संगठन विस्तार गर्न कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।

कार्यक्रममा बोल्दै महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको बताउनुभयो । सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीको संगठन विस्तारमा लाग्नुपर्ने आबश्यकता औंल्याउनुभयो । कांग्रेस आफ्नै पार्टीका साथीका कारण निर्वाचनमा पराजय भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया