अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

नेपालको पहिलो भू– उपग्रह ‘नेपालीस्याट– १’ प्रक्षेपण

बिआरटीनेपाल २०७६ वैशाख ५ गते ९:५१ मा प्रकाशित

नेपालले पहिलोपटक अन्तरिक्षमा आफ्नै भुउपग्रह प्रक्षेपण गरेको छ । नेपाली दुई युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपालीस्याट– १’ नामक भू–उपग्रह प्रक्षेपण गरिएको हो । ‘नेपालीस्याट–१’ नाम दिइएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर बिहीबार विहान २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको छ ।

‘नेपालीस्याट– १’ सँगै श्रीलंकाको रावण–१ र जापानको युगुसु भूउपग्रह प्रक्षेपण गरिएको नासाले जनाएको छ । जापानको क्युटेक विश्वविद्यालयसँग सहकार्यमा तीनै देशका विद्यार्थीहरुले भु–उपग्रह बनाएका हुन् । नेपालीस्याट–१ लाई नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले बनाउनुभएको हो । क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नानो भू–उपग्रह निर्माण भएको हो ।

नेपाली युवाले बनाएको भू–उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ । यो ‘नेपालीस्याट–१’ ले दैनिक नेपालको फोटो तथा देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना दिनेछ ।

भू उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा रहनेछ । विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि विभागका प्रमुख प्रा. डा.रविन्द्र ढकालका अनुसार यो भू–उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ । उक्त भू–उपग्रह अन्तरिक्षमा तीन महिनादेखि एक वर्षसम्म सञ्चालनमा रहनेछ ।

 

प्रतिक्रिया