अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२१ | Colorodo: 20:36

नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न राप्रपाको सरकारसंग माग

बिआरटीनेपाल २०७५ फागुन ५ गते ७:२३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ । कमल थापा नेतृत्वको राप्रपाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष थापाले राजसंस्थासहितको सबै राजनीतिक शक्तिहरु अटाउने मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न पनि माग गर्नुभयो । राप्रपाले संघीयताबारे जनमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने लगायतका विभिन्न २२ बूँदे माग समेत सरकारसँग राखेको छ । ती मध्ये तत्काल गर्नुपर्ने माग पूरा नभए चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध सशक्त संघर्ष गर्ने अध्यक्ष थापाले चेतावनी दिनुभयो ।

अध्यक्ष थापाले सरकारलाई ती माग तत्काल पूरा गराउन दवाव दिन फागुन ७ गतेबाट जनसंघर्षको कार्यक्रमलाई पनि सुरुवात गर्ने घोषणा गर्नुभयो । फागुन मसान्तसम्म पनि पार्टीले राखेको माग पूरा गर्न सरकार तयार नभए चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने राप्रपाले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले यस अघि पनि पटक पटक हिन्दु राष्ट्र स्थापना गर्नुपर्ने अडान राख्दै आएको थियो । अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि सरकारलाई दवाव दिन फागुन १५ बाट चैत्र १ गतेसम्म ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु गर्ने पनि वताउनुभयो ।

प्रतिक्रिया