अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

संसारमा सबैभन्दा पुरानो मानव वस्ती नेपाल – उपराष्ट्रपति पासाङ

बिआरटीनेपाल २०७३ मंसिर ६ गते १०:५७ मा प्रकाशित

नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले संसारमा सबैभन्दा पुरानो मानव वस्ती नेपाल नै हुनसक्ने बताएका छन् । उनले संवाद डवली र पैरवी प्रकाशनको संयुक्त आयोजनामा आयोजित पुस्तक विमोचन कार्यक्रममा सो विचार ब्यक्त गरेका हुन् ।

राजनीतिशास्त्री प्रा.डा. गोपाल शिवाकोटीद्धारा लिखित ‘संस्कृति र सम्पदा कोश’ को विमोचन गर्दै उपराष्ट्रपति पुनले भने, ‘संस्कृति समाजको दपर्ण हो, संस्कृति र सम्पदाको खोजले गौरवमय इतिहास जान्न पाइन्छ ।’ उनको विचारमा मंगोलियन र हिन्दुहरु यहाँ आएर विकास गरेभन्दापनि यहाँका आदिवाशी जनजाति सबभन्दा पुरानो सभ्यताका नागरिक हुन् ।

नेपालका सम्पदाहरु महाभूकम्पले क्षति पु¥याएपछि सरकारले पुनःनिर्माण गर्ने भनेपनि अझै सन्तोषजनक काम अगाडि बढाउन नसकेकोमा उनले चिन्ता ब्यक्त गर्दै उनले भने, ‘यस्ता सम्पदाहरुले नेपाललाई विश्वमा चिनाउने भएकाले सरकारले विशेष ध्यान दिन पर्दछ ।’ सोही अवसरमा उनले कोशकार प्रा.डा शिवाकोटी पनि एउटा प्राज्ञिक सम्पदा रहेकाले राज्यले सुचीकृत गर्नपर्ने ब्यक्तित्व भएको बताउँदै आफु सो कार्यका लागि पहल गर्ने पनि प्रतिबद्धता जनाए ।

विमोचित कृतिका लेखक प्रा.डा. गोपाल शिवाकोटीले नेपालको धन भनेकै सम्पदा र संस्कृति रहेकाले करिब विश हजार सम्पदालाई कोशमा उल्लेख गरेको दावी गरे । ‘राजनीतिशास्त्रले शक्तिको खोज गर्दछ भने शक्ति संस्कार र सम्पदाबाट प्राप्त हुन्छ’ उनले भने । उनको विचारमा हरेक कला, संस्कृति र सम्पदाको अर्थ र औचित्य रहेकाले त्यसको सही ब्याख्या आजको आवश्यकता रहेको छ ।

इतिहासकार प्रा.डा. सुरेन्द्र के.सीले विद्यामा मरुभूमिकरण हुँदै गएको बेला यसखालका कृतिहरु लेखकबाट नेपाली समाजमा प्राप्त हुनु पनि एउटा महत्वपूर्ण सम्पदा निर्माण भएको बताए । मान्छेले शुरु गरेको एक सयवर्ष पुगेपछि सम्पदा मानिने र त्यो विश्वकै सम्पति हुने विचार ब्यक्त गर्दै के.सीले भने, ‘नेपालबाट विश्व सम्पदामा १० परेका छन् भने बाँकी १५ वटा सुचीकृत हुने क्रममा रहनुले नेपाल विश्वकै धनी देश हो भन्ने पुष्टि हुन्छ ।’

‘७७८ पृष्ठ मोटो कोषमा लेखकले केही चर्चित विषय समेत छुटाएपनि यो नेपाली समाजको लागि महत्वपूर्ण उपहार हो’ भन्दै प्रा.डा. के.सी.ले नेपालको भाग्य र भविश्यका बारेमा प्राज्ञिक क्षेत्रले देखाएको संभावनालाई राजनीतिक क्षेत्रले स्वीकार गर्न नसकेकोमा चिन्ता ब्यक्त गरे । ‘यहाँ राजनीतिक संस्कार नबस्दा भएका सम्पदाहरुको पनि गर्जेना हुन सकेन’ उनको भनाई छ ।

कार्यक्रममा राजनीतिशास्त्री दीपेन्द्र रोकायाले मान्छेहरु भगवानको खोजीमा भौतारिए पनि वास्तविक भगवान भनेका जन्म दिने बा–आमा र गुरुहरु भएको चर्चा गरे । उनले नेपालीहरुले ढुङ्गालाई देउता मानी भाग्यवादी समाज निर्माण गर्नेभन्दा जिउँदा देउता र देउता मानी पुजिने मुर्ति तथा पत्थरको समय र गुण पहिचान गराउनका लागि उत्प्रेरित गराउन यस्ता कृतिको आवश्यकता रहेको तर्क गरे ।

सोही कार्यक्रममा समाजशास्त्रका विद्यार्थी रञ्जना राईले नेपालको सम्पदा र संस्कृति कोष लेखन कार्यमा सहयोगी भूमिका खेल्न पाएको अनुभूति सुनाइन् भने पैरवी प्रकाशनका कार्यकारी निर्देशक पदम शिवाकोटीले लेखक शारीरिक रुपमा जस्तो भएपनि मानसिक रुपमा उच्च स्तरको रहनुले यस्ता एक दर्जन पुस्तक प्रकाशन उन्मुख रहेको जानकारी दिए । कार्यक्रम उपराष्ट्रपतिको कार्यालय बहादुर भवनस्थित हलमा भएको थियो ।

फोटोः जय दाहाल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू