अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

काठमाडौंमा चोरी र लुटपाटमा संलग्न ४ महिलासहित ७७ जना पक्राउ

बिआरटीनेपाल २०७५ पुष ४ गते ३:५० मा प्रकाशित

प्रहरीले काठमाडौं उपत्यकामा चोरी र लुटपाटमा संलग्न भएको आरोपमा ७७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको हो, जसमा १ बच्चासहितकी आमा समेत पक्राउ परेकी छन् ।

काठमाडौंका सार्वजनिक सवारी साधनमा लुटपाट गर्नेदेखि विभिन्न सार्वजनिक स्थल र घर तथा आवासीय क्षेत्रमा समेत उनीहरुको संलग्नता रहेको प्रहरीको दाबी छ । उपत्यकामा चोरी र लुटपाटमा संलग्न उक्त गिरोहले २–२ जनाको दरले ६ जनाको समुह बनाई सार्वजनिक बसहरुमा यात्रारत यात्रुहरुबाट नगद, पैसा, गहना लुटपाट गर्ने गरेको समेत जनाईएको छ ।

त्यस्तै प्रहरीले पक्राउ पर्नेहरुबाट बरामद गरिएको ५ लाख ९६ हजार पीडितलाई फिर्ता गरेको छ । दाङको घोराहीमा बस्ने धनीमान रोकामगरको न्युरोडबाट लुटिएको १ लाख ९ हजार पकेट मार्दामादै पक्राउ गरी फिर्ता गरेको छ । प्रहरीले ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप लगायतका सामानहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ । पहिलोपटक पकेट मार्नेलाई १ महिना जेल र सोही बराबर बिगो, दोश्रोपटक पकेट मारेको भेटिएमा २ महिना जेल र सोही बराबर बिगो कार्वाही हुने प्रहरीले जनाएको छ ।

प्रहरीले उपत्यकाका सार्वजनिक सवारी साधनहरुमा चोरी र लुटपाट गर्दा पकेटमारहरुले आफ्नै खालको सांकेतिक भाषाको प्रयोग गर्ने गरेको खुलासा गरेको छ । सुरुमा पकेटमारहरु सवारी साधनमा यात्रा गरिरहेका यात्रुहरुको भीडमा घुस्ने गर्छन् । त्यहाँ उनीहरुको २ देखि ६ जनासम्मको समुह हुने गर्दछ । जब भीडमा उनीहरु घुस्छन् तब उनीहरुले सांकेतिक भाषाको प्रयोग गरेर पकेट मार्ने गर्छन् ।

उनीहरुले पैसालाई द, मोबाइललाई कान, पकेटमारी पीडित– रामे, पकेटमारी गर्ने (मास्टर) काशी, पैसा धेरै भएको यात्रु देखिएमा टानको द, पैसा थोरै भएको यात्रु देखिएमा जुटको द भनेर सांकेतिक भाषाको प्रयोग गरेको पाइएको छ । त्यस्तै उनीहरुले गाडीलाई काँचा, केटालाई छापा, केटीलाई भद्री, पुलिसलाई आयो ठुलदाई, ड्राइभरलाई मामा, खलासीलाई मले, गाडीबाट झरेर भाग्नलाई टप्की, गाडीभित्र अगाडि सर भन्यो भने अकल जा, गाडीभित्र पछाडि सर भन्यो भने चिछल जा भन्ने सांकेतिक भाषाहरु प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया