अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय –प्रचण्ड, कास्कीको सिक्लेसमा शान्ति स्तम्भ अनावरण

बिआरटीनेपाल २०७५ मंसिर २४ गते ८:३६ मा प्रकाशित

पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले नेपालको शान्तिप्रक्रिया विश्वकै लागि अनुकरणीय र नयाँ अनुभव हुने बताउनुभएको छ । नेपालको शान्ति प्रक्रियाको मोडल विश्वका द्वन्दग्रस्त मुलुकको विवाद समाधानका लागि उदाहरण हुने उहाँको भनाई रहेको छ । शान्ति प्रक्रियाको प्रस्थान बिन्दु मानिने कास्कीको सिक्लेसमा निर्मित शान्ति स्तम्भको अनावरण गर्दै नेकपाका अध्यक्ष एवं तत्कालीन युद्धरत नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त कुरा बताउनुभएको हो । शान्तिको प्रतिकका रुपमा सिक्लेशलाई स्थापित गराउने प्रयास गरेको भन्दै उहाँले मादी गाउँपालिका र स्थानीय नागरिकलाई धन्यवाद दिनुभयो । सो अवसरमा प्रचण्डले नेपालको जनयुद्ध जनआन्दोलन र शान्ति प्रक्रिया, सेना समायोजन र हतियार समायोजन मौलिक रुपमा र सफल शान्ति प्रक्रियाको रुपमा स्थापित हुने क्रममा रहेको प्रचण्डले उल्लेख गर्नुभयो ।

प्रचण्डले शान्ति प्रक्रियालाई अगाडि बढाउनमा स्वं गिरिजाप्रसाद कोइरालाको भूमिका अहंम रहेको बताउनुभयो । उहाँले अहिले पनि ढुक्क हुने अवस्था नरहेको भन्दै मुलुकमा राजनीतिक स्थायित्व, सार्वभौम सत्ताको रक्षाका साथै विकास र समृद्धिमा सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।

ऐतिहासिक, साँस्कृतिक पहिचान र पर्यटकीय सबै हिसावले बिशिष्ट क्षेत्रको रुपमा रहेको उहाँको भनाई छौं । पोखरादेखि सिक्लेशसम्म जाने सडक निर्माणका लागि बजेट व्यवस्था निर्माण गर्ने उहाँको प्रतिवद्धता थियो । प्रचण्डले केबलकार मार्फत् हिमाल नजिकै जान सकिने योजनामा समेत सहयोग रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा वोल्दै तत्कालीन सरकारी वार्ताटोलीका संयोजक एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पनि माओवादी जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन आफुले पहल गरेको र पूर्वप्रधानमन्त्री एवं काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाको भूमिका अहंम रहेको स्मरण गर्नुभयो । कास्कीको मादी गाउँपालिकामा पर्ने सिक्लेसको वडा नं. १ मा करीब १६ लाखको लागतमा शान्ति स्तम्भ निर्माण गरिएको हो । मादी गाउँपालिकाको १० लाख, वडा नम्बर १ को १ लाख र स्थानीयको ५ लाख बराबर श्रमदान गरी १६ लाखको लागतमा शान्ति स्तम्भ निर्माण गरिएको छ । करिब डेढ रोपनी क्षेत्रफलमा २० वटा भाव झल्कने गरी स्तम्भ निर्माण गरिएको छ । ३ महिना लगाएर निर्माण गरिएको स्तम्भ परिसरमा अर्काइभ मार्फत शान्ति प्रक्रियाका विभिन्न झलक तथा जानकारी गराइने बताइएको छ ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आउने वातावरण निर्माणका लागि तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता बाबुराम भट्टराई सिक्लेसमा १२ वर्षपहिले पहिलोपटक सार्वजनिक हुनुभएको थियो । उहाँहरु २०६३ साल असार २ गते सिक्लेसमा सार्वजनिक हुनुभएको हो । तत्कालिन सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाले माओवादी नेताहरु प्रचण्ड र बाबुरामलाई हेलिकोप्टरमार्फत सिधै काठमाडौं जानुभएको थियो ।

त्यही दिनलाई ऐतिहासिक दिन मान्दै मादी गाउँपालिकाले शान्ति स्तम्भ निर्माण गरेको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले जानकारी दिनुभयो । शान्ति स्तम्भ निर्माणपछि आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । सिक्लेसदेखि कोरीसम्म पुग्ने केबलकार निर्माणका लागि समेत पहल भइरहेकाले सोका बारेमा पनि नेकपाका अध्यक्ष प्रचण्डलाई जानकारी गराउने एवं हेलिकप्टरमार्फत् अवलोकन भ्रमण गराउने बताइएको छ । यसअघि प्रचण्डले पोखरादेखि सिक्लेस जाने बाटोमा पर्ने विजयपुर खोलमा बन्ने पक्की पुलको शिलान्याश गर्नुभएको थियो ।

प्रतिक्रिया