अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

दार्चुलाका विद्यार्थी जोशीले आफैले बनाएर ड्रोन उडाए

बिआरटीनेपाल २०७५ मंसिर १४ गते २१:५३ मा प्रकाशित

दार्चुला, महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिष जोशी महेन्द्र नमुना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् । सानैदेखि विज्ञान र अनुसन्धानमा सोखिन जोशीले विज्ञानमा नयाँ–नयाँ प्रयोग गर्दै आएकाले अहिले चर्चामा छन् ।

विज्ञान विषयअन्तर्गत उनले बम डिस्पोजलको सफल परीक्षणपछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छन् । आफ्नै विद्यालयमा भएको शैक्षिक सामग्री प्रदर्शनी एवं प्रतिभा पहिचान कार्यक्रममा ड्रोन क्यामरा बनाएर उडाएपछि उनले सबैको ध्यान खिचेका छन् ।

रिमोट कन्ट्रोलको माध्यमबाट क्यामरालाई नियन्त्रण गरिने यस प्रविधिमा घरायसी वस्तुको प्रयोग गरिएको छ । “गुगलमा ड्रोन क्यामरा बनाउने प्रविधि हेरेरै एक हप्तामा क्यामरा तयार गरेको हुँ”, जोशीले भने ।

सानैदेखि विज्ञान विषयमा रुचि रहेको र नयाँ खोज अनुसन्धानमा उनको रुचि छ । “विज्ञानमार्फत नयाँ प्रविधिमा रम्न रुचाउँछु”, उनले भने , “ड्रोन क्यामराको लागि चाहिने मोटर काठमाडौँबाट मगाएर बनाएको हुँ ।”

गत वर्ष प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत उनले दार्चुलामा भएको कार्यक्रममा बम डिस्पोजल सामग्री बनाएका थिए । जसको कारण जिल्लामा मात्र नभएरै प्रदेशमै उत्कृष्ट भएका थिए ।

जोशीले एकपछि अर्को विज्ञानमा देखाएको प्रदर्शनले विद्यालयको मात्र नभई समग्र जिल्लाको पहिचान गराएको विद्यालयका शिक्षक जयराज जोशीले बताए । दुई चार वर्ष यता विद्यालयमा प्रतिभावान् विद्यार्थी देखिँदै आएका छन् । सुरुमा विद्यार्थीलाई विज्ञानमा खोजी गर्न आफैले सामग्री व्यवस्थापनदेखि सबै क्रियाकलाप सिकाउनुपर्ने अवस्था थियो, तर हाल आएर विद्यार्थीले प्रतिस्पर्धात्मक रूपमा विज्ञानमा नयाँ प्रतिभा देखाइरहेका छन् ।

दुई वर्षअघि महेन्द्र नमुना मावि खलङ्गाका वीरेन्द्र बडाल र साहित्यमा गोविन्द डडालले राष्ट्रिय प्रतिभा पहिचानमा सहभागिता जनाएका थिए । गत वर्ष विद्यालयको तर्फबाट सहभागी भएका गणितमा धिरज भट्ट र विज्ञानमा मनिष जोशीले राष्ट्रिय प्रतिभा पहिचान कार्यक्रममा तृतीय स्थान हासिल गरेका थिए । भने साहित्यमा राजेन्द्रप्रसाद बडूले सान्त्वना स्थान हासिल गरेका थिए ।

“गत वर्षको भन्दा अझै परिष्कृत रूपमा विज्ञानमा नयाँ खोज भएको छ । यस पटक राष्ट्रिय प्रतिभा पुरस्कारमा पहिलो स्थान हासिल गर्ने गरी विद्यार्थीले मेहनत गरेका छन्” भनेर विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले भने । फायल फोटो

प्रतिक्रिया