काठमाडौँ, नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एन्ड एथलेटिक्स रिसर्च कम्पनीबिच ‘स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलो सीप’ सम्झौता भएको छ । आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवर्द्धन गर्न सेजन सदस्यलाई फेलो सिप उपलब्ध गराउने सम्झौता गरिएको हो ।
सेजनका पूर्व उपाध्यक्ष समेत रहनु भएका स्वर्गीय सञ्जय न्यौपानेको सम्झनामा स्थापना भएको फेलो सिप सम्झौतामा सोमबार काठमाडौँमा भएको एक कार्यक्रमका बिच सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रबन्धक मनिष झा ले हस्ताक्षर गर्नु भयो ।
फेलोसिपका लागि सुरुवातमा कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउने छ भने प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गरिने उल्लेख गरिएको छ । कम्पनीका महाप्रबन्धक मनिष झा ले पत्रकार न्यौपानेले अनुसन्धानमा देखाउने चासोलाइ कदर गर्दै फेलो सिप दिन थालिएको बताउनु भयो । ‘ तथ्यमा आधारित पत्रकारितालाई प्रवर्द्धन गर्न लागि हरेक वर्ष सेजन सदस्यमध्ये एक जनलाई फेलो सीप दिइने छ’ झाले भन्नु भयो ।
यो फेलो सिप हरेक वर्ष सेजन स्थापना दिवसको अवसर पारेर वितरण गरिनेछ । फेलोसिपका लागि सेजनका पूर्व अध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजनका अध्यक्ष अथवा कार्य समितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी एक मूल्याङ्कन समिति गठन गर्ने व्यवस्था गरिएको छ ।