अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

काठमाडौंको फोहोर स्थायी रूपमा समाधानकाे बाटाेमा जाँदै: मन्त्री चौधरी

बिआरटीनेपाल २०७९ भदौ १ गते ६:४९ मा प्रकाशित

शहरी विकास मन्त्री मेटमणी चौधरीले काठमाडौंको फोहोर स्थायी रूपमा समाधानको बाटोमा गएको बताउनुभएको छ ।नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । काठमाडौं उपत्यकालाई सधै फोहोर बनाउने र झगडा गराउने एउटा शक्तिशाली गिरोह सक्रिय रहेको पनि उहाँले बताउनुभयाे।उक्त गिरोहले विभिन्न नाममा महानगरबाट वर्षेनी फोहोरको नाममा अरबाैं रकम लैजाने गरेको उहाँकाे दावी छ । उक्त गिरोहसम्म सरकार पुगेकोले अब केही समयमै काठमाडौंको फोहोर स्थायी रूपमै समाधान हुने उहाँले बताउनुभयाे ।

कार्यक्रममा मन्त्री चौधरीले जनताले राम्रो माने पनि नमाने पनि अबको १० वर्षसम्म नेपालको राजनीतिमा दुई कित्तामा विभाजन भईरहने अवस्था रहेको बताउनुभयो । २०७४ सालमा गठबन्धन गर्ने प्रमुख शक्ति एमाले भएकाे र अहिले नेपाली कांग्रेस भएको उहाँले बताउनुभयाे ।अहिलेसम्मको अवस्था आउँदा पार्टीको सिद्धान्त विचार भन्दा पनि आ-आफ्नो अस्तित्व रक्षाका लागि गठबन्धन भईरहेको मन्त्री चौधरीले बताउनुभयाे । नेपाली नेताहरूकाे गलत संस्कार, गलत प्रवृत्ति र सक्षम नेतृत्वको अभावका कारण आज व्यवस्था परिवर्तन भएपनि शासन व्यवस्थामा सुधार नआएको मन्त्री चौधरीकाे भनाइ छ ।

सरकार कुनै व्यापारीक समूह नभएकाले जनताको दुःख र सुखमा साथ सहजीकरण गर्ने संस्था सरकार भएकोले पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि व्यापारीले जस्तै अहिले घाटा भएकाे उहाँले बताउनुभयाे । घाटा पूर्ति भएपछि मात्र मूल्य घटाउछु भन्ने तर्क जायज नभएकोले आगामी सोमबारको मन्त्रिपरिषदको बैठकमा यस विषयमा कुरा उठाउने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । मन्त्री चौधरी पाल्पा, रुपन्देही र दाङमा शहरी विकास मन्त्रालयले गरेका कामहरूको अनुगमनको क्रममा जिल्ला भ्रमणमा आउनुभएको हो ।

प्रतिक्रिया