अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

लुम्बिनी सरकार अल्पमतमा रहेको भन्दै प्रदेश प्रमुखलाई चार दलको ध्यानाकर्षण पत्र

बिआरटीनेपाल २०७८ साउन १६ गते ६:३१ मा प्रकाशित

लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै यसलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाउँदै आफूहरूको पक्षमा प्रदेशसभामा बहुमत रहेको जानकारी गराएका छन् । हाल कायम रहेको ८० सदस्यमध्ये ४२ जनाको समर्थन आफूहरूसँग रहेको र सरकारलाई ३८ जनाको मात्र समर्थन रहेको विपक्षीको भनाइ छ ।

‘संविधानको धारा १६८ (१) बमोजिमको अल्पमतको सरकार जबरजस्ती चलाइरहेको अवस्थामा सरकारलाई विघटन गरी १६८ (२) बमोजिम बहुमतको सरकार निमार्णको लागि मार्ग प्रशस्त गर्न आवश्यक पहलको लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धनका दलहरुले आग्रह गरेका छन् । वैशाख १९ गते संसद्मा प्रस्तुत अविश्वास प्रस्तावको सामना नगरी मुख्यमन्त्री पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्नुभएको थियो ।

त्यसपछि राजीनामा दिनुभएका पोखरेलले प्रदेशसभामा आफ्नो बहुमत रहेको भन्दै एकल बहुमतको सरकारको दावी गर्नुभएको थियो । तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।प्रदेश सरकारको नीति तथा कार्यक्रम संसद्मा चलिरहेका वेला हतार संसद अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएर मुख्यमन्त्रीले गलत काम गरेको विपक्षीको आरोप छ । प्रदेश प्रमुखले संविधानको र कानुनी मर्म अनुसार प्रक्रिया थाल्नका लागि विपक्षी गठबन्धन दलहरूले अनुरोध गरेका छन् ।

यसैबीच विपक्षी दलहरुको ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले ध्यानाकर्षणपत्र संविधान र कानुनसम्मत भए नभएकोबारे आफूले अध्ययन गरी निर्णय गर्ने बताउनुभएको छ । उहाँले विपक्षी दलहरुले उठाएका मागबारे मुख्यमन्त्री शंकर पोखरेलसंग पनि सल्लाह गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया