अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 03:01

कोरोनाको खोप लाउनेलाई १ मिलियनको चिट्ठा

बिआरटीनेपाल २०७८ जेठ १८ गते १२:२९ मा प्रकाशित

डेनभर । चिट्ठा भन्नुहोस् या प्रोत्साहन, कोलोराडोबासीले कोरोनाको खोप लगाएकै भरमा एक मिलियन डलर जित्न सक्ने भएका छन् । कोलोराडोका गभर्नर जरेड पोलिसले मङ्गलवार कोलोराडो कम ब्याक क्यास कार्यक्रम अन्तर्गत यस्तो नगद इनामको घोषणा गरेका हुन् ।

एक मिलियन डलरको इनाम ५ जनालाई ५ पटक दिइने छ । अर्थात्, ५ जनाले ५ मिलियन डलर इनाम पाउने छन् । पहिलो पटक इनाम विजेता अगामी शुक्रवार अर्थात् जुन ४ मा घोषणा गरिने छ । जुन १ भन्दा अघि खोप लगाएका कोलोराडोबासी इनामका लागि हुने चिट्ठामा सहभागी हुन पाउने छन् ।

दोस्रो इनाम विजेता आगामी ११, तेस्रो जुन १८, चौथो जुन २५ र पाँचौँ जुलाई ७ मा घोषणा गरिने छ । चिट्ठामा १८ वर्ष पुरा भएका र त्यसभन्दा बढी उमेरका कोलोराडोबासी सहभागी हुन पाउने छन् । इनाम रकममा युवा कोलोराडो बासिन्दाका लागि छात्रवृत्तिको हिस्सा पनि समावेश गरिएको बताइएको छ ।

गभर्नर पोलिसका अनुसार ५७ प्रतिशत कोलोराडो निवासीले कोरोनाको खोप लगाएका छन् । त्यसमध्ये कोरोनाको पूर्ण खोप लगाउनेका सङ्ख्या ५१ प्रतिशत छ भने बाँकीले आंशिक खोप लगाएका छन् । कोलोराडो निवासी सबैले खोप लगाउने हो भने यो रकम जित्ने सम्भावना पावरबल ज्याकपटको भन्दा २ सय ५० गुण बढी छ । तर, १२ वर्ष मुनिका बालबालिका कोरोना भाइरसको खोप लगाउन योग्य छैनन् ।

चिट्ठामा सहभागी हुन कम्तीमा १८ वर्ष पुगेको कोलोराडो निवासी हुनु पर्नेछ । चिट्ठामा कोलोराडो इम्युनाइजेसन इन्फरमेसन सिस्टमका प्रशासक, कोलोराडो लटरीका कर्मचारी, त्यसका एकाउन्टेन्ट, गभर्नर, ल्युटनेन्ट गभर्नर र कोलोराडो लटरीका सिनियर डाइरेक्टरले सहभागी हुन पाउने छैनन् ।

चिट्ठामा सहभागी हुन् फाइजर वा मोडेर्नाको पहिलो डोज खोप लिइसकेको वा जनसन एण्ड जनसनको खोप लिइसकेको हुनुपर्ने छ । साथै, खोप लिएको जानकारी कोलोराडो इम्युनाइजेसन इन्फरमेसन सिस्टममा हुनुपर्ने छ । एक पटक नगद इनाम पाइसकेकाले पुनः चिट्ठामा सहभागी हुन पाउने छैनन् । समयभित्रै चिट्ठा प्रक्रियामा सहभागी हुन सबै कागजी प्रक्रिया पुरा गरी त्यसमा हस्ताक्षर गरेको हुनु पर्नेछ ।

प्रतिक्रिया