अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

जनकपुरमा नेपाली रेल आइपुग्यो, फोटो र भिडियो खिच्नेको भिड

बिआरटीनेपाल २०७७ असोज २ गते ७:३५ मा प्रकाशित

नेपाली झण्डा अङ्कित रेल जनकपुर आइपुगेको छ । एउटा इन्जिन र चार वटा बोगीसहितको रेल शुक्रबार दिउँसो जनकपुर आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभएको छ । नेपाली रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार दिउँसो जनकपुर आइपुगेको होे ।

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल नेपाल ल्याईएको हो । यो संगै ६ वर्षअघि २०७१ सालदेखि नेपालमा रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दशै÷तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटर समेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाइसकेको छ । जनकपुरमा रेल आइपुगेपछि आज त्यहाँ ठूलो भिड देखिएको थियो । रेल स्थलमा फोटो खिच्नेदेखि भिडियो लिनेसम्मको ठूलो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया