अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारको क्रममा ज्यान गयो

बिआरटीनेपाल २०७७ जेठ १० गते ७:३८ मा प्रकाशित

सेनाको हेलिकप्टरमार्फत शुक्रबार सङ्खुवासभाबाट काठमाण्डौ पठाइएकी सुत्केरीको उपचारको क्रममा ज्यान गएको छ । खाँदबारी नगरपालिका ६ घर भएकी ३२ वर्षीया गंगा कार्कीको काठमाण्डौको थापाथली प्रसूति गृहमा उपचारको क्रममा ज्यान गएको हो । प्रसव पीडाले च्यापेपछि कार्की गएको ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुनालाई भर्ना हुनुभएको थियो । तर उहाँको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको भिडियो एक्सरेबाट थाहा पाएपछि जिल्ला अस्पताल खाँदबारीले नसक्ने भन्दै नोबेल अस्पताल विराटनगर रिफर गरेको थियो ।

नोबेल अस्पतालले कार्कीको पेटबाट मृत शिशुलाई अप्रेशन गरेर बाहिर निकालेको थियो । त्यहाँका चिकित्सकले दुई हप्तासम्म अस्पतालमा नै आराम गरेर बस्नु पर्ने भने पनि कार्की परिवारिको अवस्था दयनीय भएकाले खर्च धान्न नसकेको भन्दै ८ गते घर फर्किएका थिए । घर आएपछि राति सिकिस्त बिरामी परेपछि शुक्रबार बिहान खाँदबारी अस्पतालमा सुत्केरीलाई भर्ना गरिएको थियो । सुत्केरी अवस्थामा रहेकी कार्कीको उच्च रक्तचाप र अर्धचेत अवस्थामा रहेकाले शुक्रबार जिल्ला अस्पतालले काठमाण्डौ रिफर गरेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुन्दरश्याम झाले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएपछि कार्कीलाई जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यको पहलमा राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रममार्फत उद्धार गरी थप उपचारको लागि काठमाण्डौ पठाइएको थियो । उपचारको क्रममा निधन भएपछि उहाँको शवलाई सङ्खुवासभा नै लग्ने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया