अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

सगरमाथामा झारपात उम्रिँदै, तापक्रम वृद्धिको असर

बिआरटीनेपाल २०७६ पुष २५ गते ७:४४ मा प्रकाशित

सगरमाथा क्षेत्र र हिमालय शृंखलामा झारपात उम्रिन थालेका छन् । पृथ्वीमा सबभन्दा बढी तात्न थालेको क्षेत्र नै हिमालय क्षेत्र हो । ट्रीलाइन (रुख उम्रिने सबभन्दा माथिल्लो विन्दु) र स्नोलाइन (हिउँ पर्ने ठाउँ) को बीचमा सानो तर उल्लेख्य मात्रामा झारपात उम्रिन थाल्दा त्यसले जवप्रवाहमा कस्तो असर पार्छ भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । तर यसले हिन्दूकुश हिमालय क्षेत्रमा बाढीको समस्या निम्त्याउन सक्ने सम्भावना छ । यस विशाल क्षेत्रले एसियाका १० वटा ठूला नदी प्रणालीलाई पानी दिन्छ अनि १.४ अर्ब मानिसलाई पानी आपूर्ति गर्छ ।

वैज्ञानिकहरूले भूउपग्रहीय आँकडा उपयोग गरेर सबनिभल इकोसिस्टममा झारपात बढेको देखाएका छन् । त्यहाँ घाँस र होचा झाडीहरू छन् र सीजनमा हिउँ पर्छ । यो इकोसिस्टमले हिमालय क्षेत्रको हाइड्रोलोजीमा महत्त्वपूर्ण भूमिका खेल्छ । नासाको ल्यान्डस्याट भूउपग्रहले सन् १९९३ देखि २०१८ सम्म खिचेका तस्वीरबाट इक्सेटर विश्वविद्यालयका अनुसन्धाताहरूले समुद्र सतहभन्दा ४ हजार १५० मिटरदेखि ६ हजार मिटरमाथिसम्मको क्षेत्रमा झारपात उम्रिएको पत्ता लगाएका छन् ।

यो संगै यस शताब्दीमा हिमनदीहरू पग्लिने क्रम दोब्बर भएको छ भने विगत चार दशकमा त्यस क्षेत्रमा रहेको एक चौथाइभन्दा बढी बरफ हराइसकेको छ । हिमालय क्षेत्रका इकोसिस्टम जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया