अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

बिहीवारदेखि लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन काठमाण्डौमा हुने

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ६:४९ मा प्रकाशित

लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन पर्सि विहीवारदेखि काठमाण्डौमा हुने भएको छ । एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो । संस्थाले मङ्गलवार पत्रकार सम्मेलन आयोजना गर्दै सम्मेलनको तयारी पूरा भएको जानकारी गराएको छ ।संस्थाका अध्यक्ष सुजन कुमार काफ्लेकाअनुसार सम्मेलनमा नेपालको लेखा प्रणालीमा भएको विकास, अन्तर्राष्ट्रिय अभ्यास र आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयमा प्रस्तुतीकरण तथा गहन छलफल हुनेछ । सम्मेलनमा एक हजार जना भन्दा बढी लेखा व्यवसायीहरु सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम छ ।  सम्मेलनमा लेखा व्यवसायीहरुको अन्तर्राष्ट्रिय नियामक निकाय इन्टरनेशन फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइएफएसी)का अध्यक्ष अस्मा रेसमौकीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आइक्यानका पूर्वअध्यक्ष तथा काउन्सिल मेम्बर युद्धराज ओलीकाअनुसार अन्तर्राष्ट्रिय नियामक निकायका प्रमुखको सहभागिता हुनु नेपालका लागि महत्वपूर्ण विषय हो ।

सम्मेलनको पहिलो दिन बिहीवार उद्घाटन सत्रबाहेक तीनवटा छलफल सत्र हुनेछ । त्यस्तै दोस्रो तथा अन्तिम दिन शुक्रवार साना तथा मझौला व्यवसायको दीगो व्यावसायिक रणनीति, सहकार्यसहितको नियमन, व्यावसायिक सेवाको दक्षता अभिवृद्धि विषयमा छलफल सत्र रहनेछ । आइक्यानले नेपालमा सीए शिक्षाको विकास र यसका सदस्यहरुको नियमनको काम गर्दै आइरहेको छ । लेखा व्यवसायीहरुका लागि सरकारी निकायमा छुट्टै दरबन्दी सिर्जना गर्न पहल गरिरहेको आइक्यानले सम्मेलनका दौरान यो विषयलाई समेत प्राथमिकताका साथ उठाउने भएको छ । लेखा व्यवसायीहरुको कामको न्यूनतम शुल्क तोक्ने, कम शूल्कमा काम गरेमा त्यसको गुणस्तरको समीक्षा गर्ने विषयसमेत सम्मेलनमा छलफल हुने अध्यक्ष काफ्लेले बताउनुभयो ।

सम्मेलनमा नेपाल राष्ट्र बैंंकका गभर्नर महाप्रसाद अधिकारी, राजस्व सचिव, एक्यानका अध्यक्ष दीपक पाण्डे, अडानका अध्यक्ष केदारनाथ पौडेल, विभिन्न वाणिज्य बैंक तथा कम्पनीका सीइओ तथा वरिष्ठ सिएहरु सहभागी हुनुहुनेछ । साथै नेपाल धितोपत्र बोर्ड, सम्पत्ति सुद्धीकरण, सहकारी विभाग, नेपाल बीमा बोर्ड, आन्तरिक राजस्व विभाग, केन्द्रिय अनुसन्धान ब्यूरो, कम्पनी रजिष्टारका प्रतिनिधिहरु समेतको सहभागितामा नियमनबारे छलफल समेत गरिने भएको छ ।

सम्मेलनमा देशभरबाट लेखा व्यवसायीहरुको सहभागिता हुने बताइएको छ । आइक्यानको आयोजनामा सन् २०२२ मा पहिलो सम्मेलन भएको थियो । जसमा १३ सय जनाले भाग लिएका थिए । सन् २०२३ मा दोस्रो राष्ट्रिय सम्मेलन भएको थियो । जसमा १२ सय जनाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया