अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३७ | Colorodo: 12:52

सुदूरपश्चिमको मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ६:३१ मा प्रकाशित

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गठबन्धनको निर्णयपछि विद्रोह गर्दै एकीकृत समाजवादीका प्रदेश सभा संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा चौधरीलाई समर्थन जनाएका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीको विषयले गठबन्धनमै समस्या आउने भएपछि मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच छलफल भएको थियो । गठबन्धनमा रहेका दलहरु मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन फेरी सहमत भएपछि प्रदेश प्रमुखको कार्यालय पुगेर सोडारीले लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी गरेपछि कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भनेर निर्णयमा पुगी नसकेका प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबी रद्द गर्दै पुनः मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आह्वान गर्ने तयारी गर्नुभएको छ । प्रदेश प्रमुखले आह्वान गरेपछि मुख्यमन्त्रीमा सत्ता गठबन्धन दलका तर्फबाट एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने नेता सोडारीले बताउनुभयो ।

प्रदेश प्रमुखले यसअघि गरेको आह्वानअनुसार आइतबार नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीले बेग्ला बेग्लै दाबी पेश गर्नुभएको थियो । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एक सिट सिट रिक्त छ । बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रतिक्रिया