अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४१ | Colorodo: 12:56

संघीय प्रणालीका आधारमा आगामी बजेट ल्याउन सरकारलाई अर्थविद्हरुको सुझाव

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ६:३० मा प्रकाशित

सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय प्रणालीमा रहेको अभास हुनेगरी ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन् ।मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको प्रि–बजेट छलफलमा अर्थविद्हरुले सरकारलाई यस्तो सुझाव दिएका हुन ।उनीहरुले मुलुक संघीय प्रणालीमा छ भन्ने आधारबाट बजेट ल्याउन जरुरी रहेको बताए । अर्थविद्हरुले केन्द्रियतालाई मात्रै प्राथमिकता दिएर सरकारले बजेट ल्याउने गरेको आरोप लगाए । उनीहरुले सरकारले योजना आयोगले बनाएर दिएको योजनाका आधारमा प्रदेशले स्थानीय तरिकाले सिद्धान्त सेट गर्नेगरी आउन नहुने बताए ।

अर्थविद्हरुले आगामी आर्थिक वर्षको बजेट वातावरण संरक्षण,जलवायु परिवर्तन र राजश्व वृद्धिलाई प्राथमिकता दिन सुझाव दिए । उनीहरुले राजश्व संकलनको सम्भावनाका क्षेत्र पहिचान गर्न नसके आगामी पाँच वर्षमा राजश्ज शुन्यउन्मुख हुने दाबी गरे ।समिति बैठकमा बोल्दै अर्थविद् डा. अच्युत वाग्लले सरकारले मुलुक संघीय प्रणालीमा छौं भन्ने आधारमा बजेट बनाउन सुझाव दिनुभयो । उहाँले योजना आयोगले बनाएका योजना दिएर प्रदेशले स्थानीय तरिकाले सिद्धान्त सेट गर्न नसक्ने बताउनुभयो । सरकारले बनाउने घोषणापत्र,आवधिक योजना,सिद्धान्त तथा प्राथमिकता, बजेट र नीतिहरुको तादात्म वा एकले अर्कोलाई परिपुरण गर्ने काम नभएको दाबी गर्नुभयो । उहाँले पूर्वाधार विकास,सामाजिक विकास,आर्थिक विकास,वातावरण संरक्षण र जलवायु परिवर्तनको सम्बोधन एक अर्काका विरोधाभास पूर्ण अवधारणाहरु जस्तो देखिएको बताउनुभयो ।

डा. वाग्लले आर्थिक वृद्धि र विकास भर्सेस वातावरण संरक्षण र जलवायु परिवर्तनको पहिलो सौद्धान्तिक अवधारणा वा राष्ट्रिय नीति बजेट भन्दा फराकिलो ढङ्गले आउनुपर्नेमा जोड दिनुभयो। उहाँले मुलुक राजश्व संकलनको ठूलो जोखिममा परिसकेको उल्लेख गर्नुभयो । उहाँले चालु आर्थिक वर्षमा राजश्व संकलन भन्दा २ अर्ब बढी खर्च भएको बताउनुभयो । उहाँले मुलुकको अहिलेको अर्थतन्त्रको संरचना अनुसार वातावरणमैत्री बनाउने नीति लिए पाँच वर्षमा राजश्व शुन्यउन्मुख हुने दाबी गर्नुभयो ।उहाँले भन्सार राजश्वको स्रोत सवारी साधन, पेट्रोलियम पदार्थ र सवारी साधनको पार्टपूर्जा मात्रै भएको बताउनु भयो । उहाँले मुलुक ग्रिन अर्थतन्त्रमा जाने हो भने विद्युतले चल्ने सवारीसाधन आयात गर्न दिनुपर्ने र विद्युतीय सवारी साधन आयात भएपछि पेट्रोलियम पदार्थ आयात पनि घट्ने बताउनु भयो । उहाँले आयात गरेरपछि मात्रै राजश्व बढ्ने राजश्व संरचनाले मुलुक ठूलो राजश्वको संकटमा पर्ने देखिएको बताउनु भयो ।

समिति बैठकमा बोल्दै प्रा. डा. गोविन्द नेपालले खुला सीमानामा हुने चुहावट सरकारले रोक्नसके मात्रै राजश्व संकलनमा सुधार हुने बताउनुभयो । उहाँले सिमा क्षेत्रमा हुने राजश्व चुहावट रोक्नको लागि राज्य निर्मम हुन जरुरी रहेको बताउनुभयो । उहाँले सरकारले बजेट मार्फत भ्याट (कर)छुट दिने कुराहरु गर्न नहुने बताउनुभयो । उहाँले करमा छुट दिँदा राज्यले ठूलो रकम बाहिरिएको बताउनुभयो ।

प्रा. डा. नेपालले कर छुट दिँदा राज्यलाई हुने फाइदाका विषयमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले कर छुट दिँदा नेपालको उत्पादन र निर्यातलाई कति योगदान गरेको छ भनेर विश्लेषण गर्न आवश्यक रहेको बताउनुभयो । सरकारले कर छुट, प्रोत्साहन केमा दिँदा अर्थतन्त्रमा बढी फाइदा हुन्छ ? भन्ने विषयमा ध्यान दिनुपर्ने नेपालले उल्लेख गर्नुभयो । उहाँले बजेट मितव्ययिता कायम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सार्वजनिक वित्त सन्तुलन गर्न सार्वजनिक खर्च पुनरावलोकनको सुझावहरुलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।

अर्थविद् नेपालले राजश्व संकलन गर्न सक्ने सम्भावना भएका क्षेत्रलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो । उहाँले सरकारलाई ऋणको दायित्व तिर्न समस्या भएको बताउनुभयो । उहाँले सरकारको सार्वजनिक ऋणको दायित्व बढ्दै जाँदा बजेटको आकार बढ्दै जाने देखिएको बताउनुभयो ।

प्रतिक्रिया