काठमाडौँ । विश्व कीर्तिमानी सर्जक डा. डी. आर उपाध्यायको १७ औँ उपन्यास’आशक्ति’को आज लोकार्पण भएको छ।
साहित्यिक पत्रकार सङ्घद्वारा आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौँमा आयोजना गरिएको सो लोकार्पण कार्यक्रममा कृतिको लोकार्पण प्रमुख अतिथि माननीय डा. अमरेशकुमार सिंह, संघका अध्यक्ष राधेश्याम लेकालीसहित मन्चासिन विशिष्ट व्यक्तित्वहरू चर्चित कलाकार मदनदास श्रेष्ठ, काव्यकार खेमनाथ दाहाल, कवि शैलेन्द्र साकार, महाकाव्यकार खेमनाथ दाहाल, कलाकार उत्तम केसी, खनाल सेवा समितिका महासचिव माधव खनाल, नेपाल गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासीले सो उपन्यासको लोकार्पण गरेका थिए।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मञ्चासिन व्यक्तित्वहरू द्वारा सामूहिक रूपमा पुस्तकको लोकार्पण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै माननीय डा.अमरेश कुमार सिंहले जुन देशमा कलम अवरुद्ध हुन्छ, साहित्य अवरुद्ध हुन्छ त्यस देशमा स्वतन्त्रता हुँदैन भनेर बताए। राजनीतिक वितृष्णा तथा विसङ्गतिलाई साहित्यकारहरूले कलमको माध्यमद्वारा व्यक्त गर्नुपर्छ भन्दै उनले राजनीति गर्नेले झुट बोले पनि साहित्यकारले झुट बोल्दैनन् त्यसैले साहित्यकारहरूलाई कलम नरोक्न आग्रहसमेत गरे। आजको समाज विभक्त छ, जनता विभक्त छन्, कर्मचारी विभक्त छन् यस प्रकारको विभाजनमा लेखक तथा साहित्यकारहरू कलमको माध्यमबाट पृथ्वीनारायण शाह जस्तै भई एकीकरणको अभियानमा लाग्नुपर्ने बताउँदै उनले आशाको सञ्चार जगाइदिन समेत आग्रह गरेका थिए।
सभापतिको आसनबाट बोल्दै सापस अध्यक्ष राधेश्याम लेकालीले सर्जक डा. डी. आर उपाध्यायको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पारेका थिए। डा. उपाध्यायले आठ वटा विभिन्न देशहरूबाट विद्यावारिधि उपाधि हासिल गरेको, १५० भन्दा बढी सम्मान प्राप्त गरेको, १५३ वटा विश्व कीर्तिमान प्राप्त गरेको, विश्वको सर्वोच्च उचाइमा बसेर गीत रचना गरेको, तीन दर्जन गीति एल्बम निकालेको, सयौँ लेख प्रकाशन गरेको आदि कुरा बताउँदै लेकालीले त्यसैले उनलाई विश्व कीर्तिमानी भनिएको कुरा प्रस्ट्याए।
लोकार्पित कृति’आशक्ति’का भूमिका लेखकसमेत रहेका काव्यकार खेमनाथ दाहालले उपाध्यायको उपन्यास आशक्ति ऋणम् कृत्वा घृतम् पिवेत उखानसँग मिल्न गएको बताए।उपन्यासभित्रका पात्रका बारेमा क्रूरता र ममता दुवै भाव रहेको उल्लेख गर्दै एकातिर भौतिक सुख सुविधाको इच्छा र अर्कोतिर सत् पनि रहेको प्रसङ्ग कोट्याएका थिए।
कार्यक्रममा उपन्यासका सर्जक डा. उपाध्यायले पनि आफ्ना कृतिका बारेमा संक्षेपमा प्रकाश पारेका थिए।
कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ, खनाल सेवा समितिका महासचिव माधव खनाल, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी, गायक सन्तोष श्रेष्ठ तथा कलाकार उत्तम केसीले शुभकामना मन्तव्य राखेका थिए। शुभकामना मन्तव्यकै क्रममा कलाकार मदनदास श्रेष्ठले महिषासुर नाटकको सानो अंश संवादसहित अभिनय समेत प्रदर्शन गरेका थिए।
कार्यक्रममा गायक सागर अधिकारीले डा. उपाध्यायद्वारा रचित आफ्नै साथीबाट बोलको गीत गाएर सुनाएका थिए। कार्यक्रममा प्रवासमा बसेर नेपाली भाषा र साहित्यको सेवा गरेका साधक विनोद खड्कालाई सम्मान गरिएको थियो। अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको सो कार्यक्रमको सहजीकरण तथा सञ्चालन कृष्ण भुषालले गरेका थिए। कार्यक्रममा साहित्यकार, पत्रकार र बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो।