अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०७ | Colorodo: 11:22

म बाचेको संसार

हरि उप्रेती २०७७ जेठ २९ गते ११:४२ मा प्रकाशित

म बाँचेको संसार
मलाई थाहा छ
हिजो राती आकाशमा
झलमल्ल जुन लागी रहेको थियो

ताराहरूले मलाई चियाएर
तँछाड मछाड गर्दै
मन्द मन्द मुस्कान छोड्दै
हाँसी रहेका थिए

आकाश निलो थियो
घामको सुनौला किरणले
हिमाल मुस्कुराइ रहेका थिए
वसन्तको आगमनले पलाएका

ती हरिया पालुवाहरू
त्यो शीतल पवन सँगै नाँची रहेका थिए
बगैँचामा ती चिरबिरे चराहरूको
सुमधुर सङ्गीत गुन्जाइमान थियो

उता भमराहरू चम्पा, बेली अनि
गुलाबको प्राकृतिक बास्नामा
प्रेमिल नाँच रची रहेका थिए
यता असारे महिनाको

रिमझिम रिमझिम पानी सँगै
किसानहरू असारे बेठी
अनि मालसिरी धुनमा
छमछमी नाँची रहेका हुन्थ्ये

शिशिर सँगै रङ्गिएका ती पातहरू
रमझम दसैँ अनि तिहार सँगै
झुलाएका धानका बालाहरू
धर्ती छोडेर

आकाशमा मच्चिएको
त्यो लिंगेपिंग
सुनखरी बनमा
ती न्याउलीका सुरिलो भाकाले

म बाचेको गाउँ रङ्गिन हुन्थ्यो
ती महान् चाडहरूमा
पारिलो घामले दिएको
त्यो मन्द मन्द मुस्कानले

म बाचेको गाउँ
साँच्चीकै स्वर्ग जस्तो लाग्थ्यो
आफन्त अनि भाइचाराले
मौलाएको त्यो बस्ती

साँच्ची नै मेरो घर जस्तो लाग्थ्यो
तर, तर
आजकल रातहरू
सधैँ सधैँ औँसीको रात झैँ भएका छन्

दिनहरू बादलले ढाकिएका छन्
आकाश धमिलो भएको छ
वसन्तमा पलाएका
ती हरिया पालुवाहरूमा

प्राणघातक कीटाणुहरूले
आफ्नो सहर अनि बस्ती बनाइरहेका छन्
आज असारे झरी होइन
खडेरीले गाउँ सहर उजाडिएको छ

ती असारे लोक भाका
अनि मालसिरी धुनमा घुन लागेको छ
दसैँ तिहार दशा भएको छ
वृद्ध बा आमा घरबाट फालिएका छन्

पराई आफन्त भएका छन्
अनि आफन्त टाढिएका छन्
भाइचारा र सद्भाव हराएको छ
देख्ने आँखाहरू पापी भएका छन्

बुझ्ने मन बेइमानी छ
ती पापी आँखा अनि बेइमानी मनमा
राष्ट्र र देश प्रेमीहरू
आतङ्ककारी भएका छन्

मानव सेवीहरू राक्षस कहलिएका छन्
असहाय र टुराहरूको सेवा गर्ने
त्यो बेइमानी मनमा
लुटेरा भएर चिनिएको छ

ती पापी आँखामा
वृद्ध बृद्धाको सेवा गर्नेहरू
आज अपराधी ठहरिएका छन्
जातीय र रङ्ग भेदले

मेरो गाउँमा डडेल्लो लागेको छ
सारा बस्ती उठाउन
यता महामारीले आक्रमण गरिरहेको छ
बगैँचाहरू उजाडिएका छन्

गुलाब, मखमली, सुनखरी
बेली, चम्पा अनि चमेलीहरू
ओइलाएका छन्
प्राकृतिक बास्नाहरू

आज दुर्गन्धित भएका छन्
आजकल यस्तै यस्तै छ
म बाँचेको संसार