अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

नेपाली जात्रामा सम्पदा र संस्कृतिको झलक

बिआरटीनेपाल २०८० साउन १५ गते २२:४४ मा प्रकाशित

कोलोराडो । कोलोराडो स्थित लङमन्ट म्युजियममा नेपाली जात्रा हिजो आइतबार सम्पन्न भएको छ । नेपाली जात्रामा पाँच सयभन्दा बढी सहभागी भएका छन् । जात्रामा नेपाली समुदायको सम्पदा र संस्कृति प्रदर्शन गरिएको छ ।

उक्त नेपाली जात्राकी योजनाकार सुनन्दा डंगोल हुन् । उनले भर्खरै भएको एनआरएनए कोलोराडो च्याप्टरको चुनावमा बोर्ड अफ डाइरेक्टरमा विजय हासिल गरेकी छन् । उनले पहिलो र दोस्रो पुस्ताका नेपाली आप्रबासीलाई आफ्नो मौलिक सम्पदा र संस्कृतिसँग जोड्न यो कार्यक्रम महत्त्वपूर्ण भएको उल्लेख गरिन् । ‘मैले जस्तो सांस्कृतिक अनुभूति लिएर हुर्किएँ, यहाँ रहेका नयाँ पुस्ताले त्यस्तो स्वाद लिन पाएका छैनन्,’ उनले भनिन्, ‘उनीहरूलाई आफ्नो संस्कृतिसँग नजिक गराउन यो कार्यक्रम आयोजना गरिएको हो।’ उनी अमेरिकामा जन्मिएका नयाँ पुस्ताले आफ्नो संस्कृति बुझुन् भन्ने चाहन्छिन् ।

कोलोराडोमा नेपाली जात्रा आयोजना गरिएको यो दोस्रो पटक हो । अघिल्लो वर्ष पनि लङमन्ट म्युजियममै यो कार्यक्रम आयोजना गरिएको थियो । म्युजियमको क्षमताका कारण दुई साता अघि नै जात्रा सहभागिताका लागि नाम दर्ता बन्द गरिएको थियो । कार्यक्रम अवधिभर म्युजियमको हलमा सहभागी खचाखच थिए । नेपलिज स्टुडेन्ट एशोसियसन अफ सियु बोल्डर, नेवा खल र शेर्पा एसोसिएसन अफ कोलोराडो तर्फबाट कार्यक्रममा लाखे नाच, संगीत, नृत्य र परम्परागत नृत्य प्रस्तुत गरिएको थियो ।

नेपाली जात्राको उदेश्य मित्रता र सामुदायिकता बढाउनु पनि थियो । कार्यक्रम मुख्य प्रायोजक सुनिल पाठकले धेरै नेपालीले एक अर्कालाई नचिन्ने उल्लेख गर्दै कार्यक्रमको उदेश्य नेपाली समुदायमाझ चिनजान र सम्बन्ध घनिष्ठ बनाउनु रहको बताए । उनले सबै नेपालीलाई आपसमा परिचित गराए समस्यामा परेकालाई सहयोग गर्न सजिलो हुने धारणा राखे ।

कार्यक्रममा स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उपस्थित थियो । कार्यक्रमको सञ्चालन निशा पाठकले गरेकी थिइन ।

WATCH PROGRAM LIVE VIDEO

Photo: dogdazephoto

प्रतिक्रिया