अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

एएनए डेनभर सम्मेलनमा विविध साहित्यिक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८० असार १८ गते १६:०६ मा प्रकाशित

कोलोराडो । एएनए डेनभर सम्मेलन २०२३ को अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाद्वारा संयोजन गरिएको विविध साहित्यिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको सुरुवात स्थानीय बालबालिकाहरू प्रियङ्का श्रेष्ठ, आँचल सापकोटा, एरिका अधिकारी, तेजस चौलागाईं र श्रुयोग बिडारीको नेपाली राष्ट्रगान र स्वागत गीतको गायनबाट गरिएको थियो ।

यसै गरी आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा एरिका अधिकारीले रामायणको श्लोक सुनाएकी थिइन् भने उपस्थित सबैले आदिकविको तस्बिरमा फूल अर्पण गरेका थिए । अनेसास केन्द्रीय सदस्य तारा अधिकारीले सामूहिक गानमा भाग लिने बालबालिकाहरूलाई प्रमाणपत्र तथा गिफ्ट कार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रमको अर्को चरणमा खुल्ला कविता प्रतियोगिताका उत्कृष्ट पाँचमा परेका प्रतियोगीहरूले आफ्नो कविता वाचन गरेर सुनाएका थिए । वाचन र लेखनको समग्र मूल्याङ्कनको आधारमा घोषणा गरिएका विजयी कविताहरूमा डा. खगेन्द्रप्रसाद दाहालको ‘जिन्दगी प्रयोगशाला’ प्रथम, रोहित रानाको ‘खुसीको स्वतन्त्रता’ द्वितीय, डा. खगेन्द्र दाहालको ‘मुटुको समुद्र’ तृतीय र श्रीराम लुइटेलको ‘खाऊ नेता हो खाऊ’ तथा शर्मिला शर्माको ‘अर्धाङ्गिनी’ सान्त्वना भएका थिए ।

प्रतियोगितामा प्राप्त भएका ३२ कविताहरू मध्ये १९ कवितालाई उत्कृष्ट पाँचको लागि छनौट गरिएको थियो । कविता प्रतियोगिताको निर्णयहरूमा गोवर्द्धन पूजा, निलम कार्की निहारिका, लालगोपाल सुवेदी, मोहन सिटौला, आचार्य प्रभा, डा. विजयराज शर्मा र सुशील ताम्राकार हुनुहुन्थ्यो । अनेसासका पूर्व केन्द्रीय अध्यक्ष मोहन सिटौलाले कविताको मूल्याङ्कन प्रकृयाको बारेमा जानकारी गराउनुभएको थियो भने अनेसास, कोलोराडो शाखाका सल्लाहकार रमेश गुरुङले विजयी प्रतियोगीहरूलाई प्रमाणपत्र तथा पुरस्कार राशि प्रदान गर्नुभएको थियो । यसै गरी कार्यक्रममा आचार्य प्रभाको कृति विधुर पुरुष, र पूर्व राजदूत राजेश्वर आचार्यको कूटनीतिक डायरीको विमोचन गरियो ।

यसै गरी कार्यक्रमको अर्को चरणमा सुप्रसिद्ध साहित्यकार निलम कार्की निहारिकालाई नेपाली साहित्यमा उहाँले पुर्‍याउनुभएको योगदानको निमित्त तथा अनेसास बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्मालाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संस्थागत विकासमा दिनुभएको योगदानको निमित्त सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरू निलम कार्की निहारिकाले आयोजकहरूलाई धन्यवाद दिँदै आफ्नो कविता वाचन गरेर सुनाउनुभएको थियो भने पदम विश्वकर्माले आफूले मान सम्मानलाई भन्दा पनि बढी कामलाई बढ्ता महत्त्व दिने बताउनुभएको थियो । अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले सम्मानित हुने व्यक्तित्वहरूको बारेमा चर्चा गर्दै अनेसास कोलोराडो शाखाले यो सम्मानको कार्यक्रम गरेर राम्रो काम गरेको बताउँदै अनेसास कोलोराडो शाखा र एएनएलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन अनेसास, कोलोराडो शाखा महासचिव किरण अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया