अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 09:54

‘म भाग्यमानी निर्माता’ : गीतकार सुरेश वाग्ले

बिआरटीनेपाल २०८० असार ७ गते १९:१२ मा प्रकाशित

काठमाडौँ । अभिनेता सरोज खनालको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘बगान’ असार २९ बाट प्रदर्शन हुँदैछ । अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रूपमा चित्रण गरिएको चलचित्रमा एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहार इत्यादिलाई प्रस्तुत गरिएको छ । यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन् । यसै चलचित्रमार्फत निर्देशनमा कलाकार सरोज खनाल डेब्यु गर्दैछन् ।

‘सरोज दाइ अमेरिका आएको समयमा हाम्रो सहकार्य गर्ने योजना बनेको थियो । म नेपाल आएपछि उहाँले सुनाउनु भएको कथामा कन्भिन्स भएँ’, गीतकार वाग्लेले भन्नुभयो,’गीत संगीतसँगै सामाजिक विषयलाई चलचित्रको ठुलो पर्दाको माध्यमले दर्शकसम्म पुर्‍याउने कुरामा म सहमत भएँ । सरोज दाइ निर्देशनमा डेब्यु गर्ने र करिश्मा दिदी निर्मात्रीमा रहने भएपछि म पनि निर्माताको रूपमा डेब्यु गरे ।’

आफ्नो निर्माण रहेको चलचित्रमार्फत अनुभवी कलाकार सरोज खनालले डेब्यु गर्नु सुखद रहनुका साथै आफू भाग्यमानी निर्माता रहेको बताए । ‘सर्जक भएकाले सामाजिक दायित्व बहन गरेर कथा रोजेका हौँ । यो कथा र यसमा देखाइएको भावनालाई परिवारले महसुस गर्नु जरुरी छ । यसले सकारात्मक पक्षलाई प्रसार गर्न मदत गर्छ’, निर्माता सुरेशले भने ।

यसमा एकल महिलाको भूमिकामा प्रस्तुत करिश्माले आफ्नो न्यायोचित भूमिका रहेको बताउँदै आएकी छिन् । ‘मैले चाहेको भूमिका गर्न पाएकी छु । यसलाई दर्शकले सम्झिने पात्रको रूपमा तयार गरेकी छु’, करिश्माले भनिन् ।

चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमीला कार्की, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन् । स्वप्न नीरवको कथामा आधारित रही बनेको यो चलचित्रमा नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको छ ।

कार्यकारी निर्माता विनोद मानन्धर रहेका चलचित्रमा गौरीशङ्कर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायाङ्कन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समीर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याक राउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।

यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरूमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले पारिवारिक चलचित्र रहेको जानकारी दिए । ‘सरोज दाइको डेब्यु निर्देशन रहेको चलचित्र वितरण गर्न पाउनु हाम्रो लागि गौरवको कुरा हो । किनकि उहाँ कलाकारितामार्फत नै चिनुनु भयो र अहिले आफूलाई निर्देशकको रूपमा प्रस्तुत गर्दै हुनुहुन्छ”, वितरक श्रेष्ठले भने ।

प्रतिक्रिया