अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

एएनए सम्मेलनमा व्यापक महिला सहभागिता हुने

बिआरटीनेपाल २०८० जेठ २७ गते १८:४१ मा प्रकाशित

कोलोराडो । एएनएको आगामी जुलाई १ र २ तारिख डेनभर कोलोराडोमा हुन गई रहेको ४० औँ सम्मेलनको तयारी क्रम भव्य रूपमा अगाडी बढी रहेको जानकारी सम्मेलनका प्रमुख संयोजक विनोद त्रिपाठीले बिआरटी नेपाललाई दिएका छन् । विभिन्न स्थानीय सङ्घ-संस्थाहरूसंगको सहकार्य र सहभागितामा यो कार्यक्रम हुन लागेको हो ।

विगतका सम्मेलनहरूमा झैँ यस वर्ष पनि महिला सहभागिता बढाउन विशेष कार्यक्रमहरू राखिएका छन् । एनए सम्मेलन मूल कमिटीको डेपुटी कन्भेनर सरिता गुरुङ हुन भने शर्मिला शर्माको संयोजकत्वमा २६ सदस्यीय महिला समिति गठन गरिएको छ । धेरै भन्दा धेरै दिदी-बहिनीहरूलाई पनि कार्यक्रममा संलग्न र समावेश गराउनका साथै एक-आपसमा मेल मिलाप र थप प्रोत्साहन र प्रेरणा दिन यस समितिको ठुलो भूमिका रहेको छ ।

त्यसैगरि तारा अधिकारीको संयोजनमा शनिवार दिउसो २ देखि ३ः३० बजे सम्म हुन गई रहेको महिला मञ्चमा “अमेरिकामा नेपाली एकल महिलाका चुनौतीहरू” विषयमा गहन छलफल गरिनेछ । मञ्चमा साहसी महिला वक्ताहरूले आफूले सामना गरेका चुनौती र अनुभवहरू दर्शक माझ प्रस्तुत गर्नेछन् भने विशेषज्ञहरूले सल्लाह र समाधानको निकर्यौल निकाल्न मद्दत पुर्‍याउने छन् । भविष्यमा अरू महिलाहरू माथि यस्तो परिस्थिति आई परेमा उनीहरूलाई जागरूकता र जानकारीमूलक संदेश दिन यस छलफलबाट सहयोग पुग्नेछ । मञ्चको सहजकर्तामा तारा अधिकारी र सरिता गुरुङले संयुक्त रूपमा गर्नेछन् ।

श्रुति पाण्डे संयोजक रहेको समितिले “मिसेज एएनए” सुन्दरी प्रतियोगिताको भव्य तयारी गरी रहेको छ । विवाहित महिलाहरूले आफूमा भएको सौन्दर्य र प्रतिभा प्रदर्शन गर्नुका साथै आफ्नो आत्मविश्वास बढाउन यस प्रतियोगिताले थप हौसला दिनेछ भन्ने विश्वास गरिएको छ । गत सम्मेलनबाट सुरु गरिएको मिसेज एएनए दर्शकहरूले निकै मन पराएका थिए ।

कार्यक्रमलाई आकर्षण र मनोरञ्जन बनाउन “फेसन सो” पनि राखिएको छ । यसको संयोजन आकृति अधिकारीले गरी रहेकी छन् भने यस कार्यक्रममा नेपाली संस्कृति र पश्चिमी शैली झल्काउने विभिन्न पहिरनहरूको प्रदर्शन गर्दै युवा र बालबालिकाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् । मिसेज एएनए र फेसन सो शनिवार अर्थात् जुलाई १ तारिख साँझ ७ बजे राखिएको छ ।

सम्मेलनबाट महिला सशक्तीकरण र महिला नेतृत्व विकासमा प्रोत्साहन र अवसर मिल्ने कुरामा आयोजक विश्वस्त छन् ।

प्रतिक्रिया