अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 04:43

विवेक प्रयोगमा महिला

राम खत्री, न्यु योर्क २०७९ चैत १० गते १६:३४ मा प्रकाशित

वि.स.२०३२—३३ तिरको समयलाई म आजको दूरबिनले अनुभव गर्न खोजिरहेकोछु । मेरो स्कुले जीवन सकिएर कलेज पढ्ने रहरको समय थियो । साँच्चै भन्ने हो भने मेरो जीवनले पढाइलाई एकाग्र भएर पढ्ने मौकै दिएन । पाटन संयुक्त क्याम्पसमा बिहान ६ बजेदेखि ९ बजेसम्म पढ्ने र १० बजेदेखि ५ बजेसम्म केशर महलको शिक्षा मन्त्रालयमा काम गर्न थालेँ । जीवन रमाइलैसँग चलेकै थियो । डेरामा बसे पनि घर र डेराको बसाइमा उती फरक थिएन । गाउँमै बसेसरह थियो ।

गाउँ पातलो भएर हो वा जनसङ्ख्या पातलो भएर हो निकै परपर सम्मका मानिस हामी चिन्थ्यौँ । चिनेसम्मको गाउँ अझै मलाई आफ्नै लाग्छ । पुस्त्यौली फरकले अहिले गाउँमा मलाई धेरैले चिन्दैनन् । तर, त्यहाँको नचिनेको मानिस भेट्दा पनि सोधिखोजी गरेर नजिकैको भएको अनुभव गर्छु । थापा गाउँ, बाहुन गाउँ, चारघरे, बिसुन्डोल, डाँडा गाउँ, धाराको चउर, ढुङ्गे साँगु, बिशंखुनारायाण, दमाईटार, गोदमचौर, डाँडा थोक, चसिडोलसमेत आफ्नै गाउँजस्तो लाग्थ्यो । दूरीको हिसाबले यी सबै हिँडेर आधा घण्टामा पुगिने गाउँहरू हुन । वर्तमान राजनैतिक विभाजनमा सायद यी क्षेत्रहरू दुई नगरपालिका (महालक्ष्मी र बिशंखुनारायण न.पा) भित्र पर्छन् होला । यी सबै क्षेत्रका मानिससँग हाम्रो सम्पर्क हुन्थ्यो । कसैसँग पारिवारिक सम्बन्ध थियो त कसैसँग साथी भाइको । बेला मौकामा एक अर्काबिच सहयोगको आदान—प्रदान भइरहन्थ्यो ।

यिनै गाउँको बिचमा हाम्रो आफ्नै १३ दिने दाजुभाइ खलकको सानो खत्री गाउँ छ । खत्री गाउँ नाम त्यति राम्रो नलागेर हो वा थर—जात पनि गाउँ सहरको नाम हुन्छ १ भनेर हो हामीले आफ्नो गाउँको नाम लेख्दा जहिले पनि शँखादेवी लेख्छौँ । यसो गर्दा भगवान्प्रति हाम्रो अटल आस्था पनि कायमै रहने र भगवान्को नाम सबैलाई प्रिय पनि लाग्ने भएकाले होला अथवा कसैलाई ठाउँ बताउन पनि मन्दिरको ठेगाना दियो भने सजिलो हुने भएर पनि हुनसक्छ ।  सात—आठ पुस्ता बितिसक्दा पनि हामी ठुलो पारिवारिक माहौलमा पैmलिन सकेका छैनौँ । हाम्रो कुल देवता दोलखा भीमसेन हुन् भनेर मान्दै आएका छौ । त्यति टाढाको देवतालाई कुल देवता मान्नुको पछाडि हाम्रा पिता पुर्खा दोलखाको मकै बारी भन्ने ठाउँबाट अहिलेको ठाउँमा बसाइ सरेर आएको भन्ने भनाइ रहेको छ । यो एक पुस्ताले अर्को पुस्तालाई सुनाउँदै आएको कथा हो । अहिलेसम्म न अनुसन्धान गरिएको छ न लिखित अभिलेख भेटिएको छ । पिता पुर्खाले बताएको कथा नै सही होला भन्ने विश्वास हामी सबैमा रहेको छ ।

मलाई थाहा भएसम्म सयदेखि डेढ सय वर्षको पारिवारिक इतिहासमा दुई दाजुभाइका सन्तान हामी अहिले सोर परिवार भएका छौँ । ३०—३५ रोपनी जतिको क्षेत्रफलमा पैmलिएको जमिनमा हाम्रा घरहरू छन् । माटो र ढुङ्गाका ती घरहरूबाट काठमाडौँ उपत्यका सजिलैसँग देख्न सकिन्छ । अहिले बनिरहेका घरहरूले पाको इँटा, सिमेन्ट, बालुवा र फलाम पाउन थालेका छन् । हाम्रो गाउँको पूर्वतिर कोट डाँडो ढसमस्स बसिदिएकोले हाम्रा घरहरूमा बिहानको घाम निकै ढिला आउँछ । हामी घाम ताप्न शंँखादेवी मन्दिरकै वरिपरि झर्थ्यौँ । सूर्यास्तको घाम भने झन्डै झन्डै गोधुलीसम्मै घरमै रहन्थ्यो । हाम्रो गाउँको दक्षिणतर्फ सानो खुल्ला सार्वजनिक पाखो छ भने उत्तरतर्फ पनि दक्षिणतर्फको  भन्दा अलि सानो सार्वजनिक पाखो छ । उत्तर तर्फको सार्वजनिक पाखाको फेदीमा एकदम सफा र शुद्ध पानीको पँधेरो छ । हामी त्यसैको पानी पिएर हुर्के बढेका हौँ । त्यस बेला हामीलाई कहिले पानीको दुख परेको सम्झना छैन । हाम्रो गाउँलाई एउटा गोरेटो बाटोले चट्टै चिरिदिएको छ । यो बाटोले ती दुई भाइको अंशलाई छुट्टाइ दिएको छ । बाटोको दक्षिणपट्टि एक भाइ र उनका सन्तानहरू । उत्तरपट्टि अर्को भाइ र उनका सन्तानहरू । तीमध्ये केही बर्षपहिले एक जना भाइले एक टुक्रा जग्गा बेचेर शंखादेवी मन्दिरको अगाडि नयाँ सुन्दर भवन बनाएर बसेकाले उनको जग्गामा एक जना अलि परका गाउँकै दाजुभाइ पर्ने बस्न आएका छन् । उनी पनि खत्री नै परिवारका भए पनि हाम्रो सगोत्रीय परेनन् । होइन भने अभैm ती जग्गाजमिनमा बाहिरी मानिसको प्रवेश भएको छैन ।

ईश्वरको नियति के हो, हामीलाई थाहा हुने कुरा भएन तर सरसरती हेर्दा ती दुई भाइको पारिवारिक बिस्तारको क्रम अलि नमिल्दो भएजस्तो मलाई लाग्छ । मैले कुरा गरिरहेको समय झन्डै डेढ सय वर्ष अगाडिदेखि आजसम्म सात—आठ पुस्ताबिचको हो । वर्तमान अवस्थामा एक भाइको परिवार आज पनि एकै परिवार छ भने अर्को भाइ १५ परिवारमा बिस्तार भएको छ । ती १५ परिवारमध्ये चार परिवार सानेपातिर बस्छन्, एक परिवार भरखरै बालकोटतिर बसाइ सरेको छ भने अर्को एक परिवार लुभुतिर सरेको छ । पुरानो गाउँ अझै पातलो र स्वच्छ छ । मेरो आलेखको उद्देश्य मैले माथि उठाएको समयमा मैले देखेको, अनुभव गरेको र परिवारले भोगेको वास्तविकताको अनुभव प्रिय पाठक वृन्दसम्मपुर्‍याउनु रहेको छ ।

मैले हाम्रोपट्टिका चार जना हजुरबुवाहरूमध्ये तीन जनालाई देख्दै देखिन । साइँलो हजुरबुवालाई देखेँ । उहाँसँग बसेर गफ गरेर उहाँको जीवनको उकाली ओरालीका बारेमा जान्ने र सुन्ने अवसर मिलेन वा मिलाउन सकिन । त्यस बेला मलाई लेख्ने प्रेरणा पनि थिएन । रहर पनि थिएन । कान्छी हजुरआमालाई पनि भेटेँ । उहाँका आफ्नै सन्तान भने थिएनन् तर मलाई उहाँले सधैँ माया गरिरहेको र म एस.एल.सी पास भएको दिन मायाले अँगालो हालेर रोएको याद छ । मेरो गाउँमा सबैभन्दा पहिले एस.एल.सी पास गर्ने केटो मै थिएँ ।

मेरो विष्णु दाइले म भन्दा एक—दुई साल अगाडि नै पास गरेको हो तर उहाँ सानेपामै बस्ने भएकाले गाउँको केटो भनेर कसैले पनि वास्ता गर्दैनथे । मेरी आफ्नी हजुरआमाले निकै लामो जीवन जिउनु भयो । निकै स्वास्थ्य पनि हुनुहुन्थ्यो । उहाँसँग हामी गाउँका कुनै पनि नाति वा नातिनीहरू कसैको पनि राम्रो माया पिरती जम्न सकेन किनकि हामीले उहाँको माया, ममता, लाड, प्यार, स्नेह, गाली, हप्काइ, पिटाइ केही पनि पाएनौँ । हाम्रो नाता औपचारिकतामा मात्र सीमित भएको अनुभूति हुन्छ । उहाँ सानेपा नै आएर ठूलाबुबाको परिवारसँगै बस्नुभयो । माया भन्ने चिजै यस्तो हो कि जता नजिक भयो उतै टाँसिएर बस्ने । मानिस जति टाढा गयो माया उति नै टाढा हुने । हाम्री हजुरआमा मात्रै किन अपवाद हुनु र? सानेपाका दिदीबहिनी र दाइलेमात्र उहाँको मायाको स्वाद चाख्न पाए । म सानेपा आइसकेपछि पनि औपचारिक आदर सम्मान त गरेँ तर हजुरआमाकै माया दिन चाहिँ म असफल भएको हो । त्यसभित्रका कारणहरू जे जस्तो भए पनि मैले सबै बिर्सनु पर्थ्यो । त्यसमा म चुकेकै हो । मलाई केही पश्चात्ताप भने छ ।

उतापट्टिको हजुरबुबालाई मैले देखिन । ठूलोबुवालाई देखेको त हो तर सम्झना धमिलो मात्र छ । उहाँका दुई जना छोराहरू थिए, जेठो रामबहादुर र कान्छो गोपी । जेठा दाइलाई मैले देखिन । गोपी दाइ उमेरको हिसाबले अलि चाँडै बित्नुभयो तर उहाँसँग मैले खेतबारीदेखि लिएर ग्वालासम्मको काम पनि गरेको थिएँ । घरमा गाई भैँसी थिए । दूध बेच्न हरिसिद्धि र साना गाउँसम्म जानुपर्थ्यो । साहुले दूध लिनुअगि दूधमा पानी मिसाएको छ वा छैन भनेर जाँच गर्न मक्खन निकालेर परीक्षण गर्दथ्यो । त्यसपछिमात्र त्यसको मूल्य निर्धारण हुन्थ्यो । त्यो काम नसकिएसम्म हामी उसकै घरमा कुरिरहनुपर्थ्यो । मलाई १० बजे स्कुल पुग्नैपथ्र्यो । घरबाट हरिसिद्धि पुग्न कम्तीमा पनि ४५ मिनेट लाग्थ्यो, फर्कन ४५ मिनेट । बिहानको खाना खानु पर्‍यो । घरबाट स्कुल पुग्न अर्को आधा घण्टा लाग्थ्यो । गोपी दाइ मेरो त्यस्तो तनावपूर्ण अवस्था बुझेर भन्नु हुन्थ्यो — “जा तँ भाइ जा । स्कुल पुग्न ढिला होला । म तेरो पनि दूधको जाँच सकेर आउँछु ।” कहिलेकाहीँ दाइ नभएको बेलामा मैले पर्खनुपर्थ्यो । मेरो छटपटाइटलाई त्यो साहुकार (नाम मलाई अझै याद छ (गणेश महर्जन) ले पनि महसुस गर्थे र भन्थे — “परन जानु पर्छ राम तिमीलाई जाऊ । म आफै हेरर तिम्रो खातामा लेखिदिन्छु ।” म खुसी भएर दौडिहाल्थेँ । हाम्रो पसिना, साहुकारको इमान्दारीतामा भरोसा राख्ने बेला थियो । मानवीय विश्वास र इमान्दारीको डोरी अहिले भन्दा त्यो बेलामा सयाँै गुणा बढी भएको अहिले मलाई महसुस भइरहेको छ । त्यति बेला म १३—१४ वर्षको थिएँ होला । गोपीदाइका छोराहरू तीन जना थिए र एउटी छोरी थिइन । उनीहरू सबै मभन्दा कान्छा थिए । दुई जना भाइ र एउटी बहिनी बितिसके । माइलो भाइ जगन्नाथले भने अहिले सबैभन्दा राम्रो गरेर परिवार चलाएको रहेछ । जेठो दाइ रामबहादुरको एउटी छोरी सीता । नाताले मेरो भतिजी भए पनि उमेरले दिदी नै हुनहुन्छ । सायद गाउँमा सबैभन्दा पहिले स्कुल जाने छोरी उहाँ नै हो । मैले जानेदेखि नै गोपी दाइ र जेठी भाउजू राधा (रामबहादुर दाइको श्रीमती, हामी सबैले उहाँलाई भाउजूबाहेक अरू सम्बोधन गरेनौँ । आमाबुवाहरूले ठुली बुहारी भन्नुहुन्थ्यो । खास नामले कसैले बोलाएको थाहा छैन मलाई ।

त्यसैले मलाई पनि उहाँको नाम थाहा थिएन । केही दिनअघि मैले मेरी बहिनीसँग सोधेर राधा भन्ने पत्ता लगाएर यहाँ उल्लेख गरेको हो ।  छुट्टै बस्नु हुन्थ्यो । उहाँहरूका दुई वटा घर थिए । एउटा घरको दक्षिण मोहडा अर्को घरको उत्तर मोहडा र आँगन एउटै तर एउटा सोझो रेखा तान्यो भने आधा आधा गर्न मिल्ने । उत्तर फर्केको घरमा भाउजू र सीता दिदी बस्नु हुन्थ्यो । दक्षिण फर्केको घरमा गोप दाइको परिवार । २०७२ सालको भूकम्पले गोप दाइको घर भत्कियो वा भतिज जगन्नाथले आफ्नो कमाइ गरेर नयाँ घर बनाएको रहेछ । भाउजूको घर अभैm छ कि नयाँ बनाएको हो मैले याद गरिन तर त्यही ठाउँमा सीता दिदीको जेठो छोराले बन्द व्यापार गरिरहेको रहेछ ।

परिवार छुट्टाछुट्टै बसे पनि सबै दाजुभाइ दिदीबहिनीहरूबिचको माया, प्रेम, सद्भाव एकदम राम्रो थियो । सामाजिक काम होस् वा धार्मिक, विवाह होस् वा व्रतबन्ध, खेतीवारि मेलापात जे काम पनि एउटै परिवारको हैसियतमा सम्पन्न हुन्थ्यो । टाठा बाठाले अलि धेरै वा आफ्नो बढी लाभ हुने काम गर्थे होलान् । सोझा र सादाले सामान्य तर सबैले चित्त बुझाएरै जीवन भनौँ वा पारिवारिक जीवन चलिरहेकै थिए । ती मध्ये तीन—चार जना काका र ठुलाबाहरू लाहुर पनि गएका थिए । उनीहरू दसैँ तिहारको अवसरमा घर आउँदा पनि निकै रमाइलो हुन्थ्यो । उनीहरूले ल्याउने मिठाइ सबैले एक—दुई टुक्रा भेट्टाउँथे । बल्ल थाहा भयो ती मिठाइ त लाहुरबाट आउने होइन रहेछ । हाम्रो आफ्नै बजारको पो रहेछ । लाहुरमा के काम गर्नुभयो, कति पैसा कमाउनुभयो हामीलाई थाहा भएन तर लाहुर नजानेको भन्दा लाहुर जानेहरूको परिवारको केही बढी उन्नति र प्रगति भएको आभास हुन्थ्यो हामीलाई ।

काम, क्रोध, लोभ, मोह, ईर्ष्या द्वेष मानिसले जन्मँदा नै ल्याउने गुण हो । जीवनचक्रमा यिनीहरूले मानिसलाई कुनै न कुनै बेला कहीँ कतै प्रभाव पारिहाल्छन् । यिनीहरूले प्रभाव पार्न थालेको मानिसलाई महसुसै हुन्न । यसरी प्रभाव पारेका बखत कतिले यसलाई बुद्धि र विवेकको बलमा आफ्नो बसमा राख्न सक्छन् भने कतिले सक्दैनन् । यी सबै विकारलाई जसले नियन्त्रणमा राख्न सक्यो ऊ ज्ञानी बन्यो, जसले सकेन त्यस्तै रह्यो । जीवनमा जहिले पनि काम लाग्ने वस्तु ज्ञान हो । ज्ञान त्यसै आउँदैन आर्जन गर्नुपर्छ । हाम्रो परिवारमा पनि ती माथिका विकारहरूले बिस्तारै प्रवेश गरेछ । हामीलाई थाहै भएन । ती विकारहरूमध्ये काम र लोभ नाम गरेका विकारले सबैभन्दा पहिला गोप दाइको मनमा प्रवेश गरेछ । उक्त विकार गोप्य र घरबाहिर भएकाले बाहिरै रह्यो र पारिवारिक माहौललाई केही असर पारेन व्यक्तिगत रूपमै सीमित भयो र दाइको अवसानपछि हरायो पनि । हेर्दा लोभ पनि व्यक्तिगतमै सीमित हुनुपर्ने जस्तो मलाई लाग्थ्यो तर व्यक्तिगत हुँदाहुँदै पनि लोभले परिवार र समाजभित्र पसेर सत्य, इमानदारी र नैतिकताको निश्छल माहौललाई धरासायी बनाई दिँदो रहेछ ।

त्यस बेला राधा भाउजूको परिवार र गोप दाइको परिवार बिच कानुनी अंशबन्डा भइसकेको थियो वा थिएन, मलाई थाहा भएन तर मैले थाहा पाएदेखि उहाँहरू दुवै जना आआफ्नै घर र खेतीवारिमा बेग्लाबेग्लै बसेर जीवन अगाडि बढाइरहनु भएको थियो । मानौँ उहाँहरू सगोलको घरमा कहिले बस्नु भएन । हुन त हामीहरूतिरको सामाजिक रीति वा चलन के थियो भने (सायद अभैm छ होला) बिहे भएपछि दाजुभाइहरू बेग्लाबेग्लै बस्न थाल्छन् र आआफ्नै पारिवारिक माहौल मजबुत बनाउने काममा लाग्छन् । आमाबुबाचाहिँ मन पर्ने एक जना छोरासँग जिउनी भाग लिएर बस्थे । आमाबुबाको अवसान नभएसम्म कानुनी अंशबन्डा खोज्ने साहस छोराहरूले गर्दैनथे । आमाबुबाको अवसानपछि जिउनी भाग जुन छोरासँग आमाबुबा बस्नु भएको छ उसैले पाउने र बाँकी जग्गाजमिन सम्पत्ति सबैले आआफ्नो हिस्सा लिएर कानुनी अंशबन्डा गर्ने । सायद त्यहाँ पनि यस्तै थियो कि ? यस धरतीमा लोभको माहौल बढ्दै गएको परिप्रेक्ष्यमा यस्तो इमानदार प्रथाले बिस्तारै बिदा लिइरहेको अवस्था छ । सीता दिदी ठुली हुँदै जानु भयो । बिहेको समय आयो । जन्म घरबाट बिदा हुनुभयो । गोप दाइको मनमा सायद धेरै पहिलेदेखि भाउजूको सबै सम्पत्ति मेरै हो भन्ने बिचार पलाइरहेको थियो होला । छोरीको बिहे नभएको खन्डमा आमाको सम्पत्ति छोरीको नाममा जान सक्थ्यो भन्ने डर दाइलाई भएको हुनुपर्छ । छोरीको बिहे भएपछि सायद गोपी दाइले भाउजूसँग सबै वा केही जग्गा माग्नुभयो कि जस्तो लाग्छ । राधा भाउजूले सबै वा केही दिन आनाकानी गरेको हुनुपर्छ । दाइले पारिवारिक सिफारिसका लागि सबै दाजुभाइहरूसँग  भित्रभित्रै मद्दत माग्न थाल्नुभयो । कतिले दाइलाई भरोसा दिए होलान् कति मौन रहे होलान् वा कतिले जति दिन्छिन् हात थापेर लिनुपर्छ, भईmझगडातिर जान हुन्न भन्ने सल्लाह पनि दिए होलान् । त्यही बिन्दुबाट हाम्रो परिवार बिच फाटो आउन थाल्यो । यति हुँदाहुँदै पनि देखावटी मेलमिलाप भने कायमै थियो । लोभको बिउ रोपिसकेपछि वृक्ष बनेर झाँगिनु प्राकृतिक नियमै हो । राम्रो वृक्षले मिठो फल र शीतलताको छहारी दिन्छ भने लोभको वृक्षले विनाशको गर्तमा पु¥याउँछ । इमानदारीसाथ भन्ने हो भने राजधानी वरिपरिको बासिन्दा भएर हाम्रो गाउँमा अभैm शतप्रतिशत ग्र्याजुएट नहुनु दुखको कुरा हो । बल्ल ३—४ जना छोरीहरू ग्र्याजुएट भएछन् । पढेलेखेका बुहारीहरू त औँलामा गन्न सकिने नै होलान् । सत्य बोल्न डराउने, इमानजमानमा ख्याल ठट्टा गर्ने र नैतिकताबाट टाढा रहने मानिस वा तिनको समाज विकसित हुन र अगाडि बढ्न त्यति सजिलो पनि हुँदैन ।

छ जनाको परिवार थियो हाम्रो । दिदीको बिहे भइसकेपछि पाँच जनामा घट्यौँ । दसैँ तिहार र खास चाडपर्वबाहेक हामीलाई खासै फुर्सद हुँदैन थियो । सानाठूला सबै आआफ्नो काममा सधैँ व्यस्त । सानाका काम सानै थिए भने ठुलाका ठुलै । कसैको दायित्व निश्चित नभए पनि सक्ने काम सबैले गर्ने नीति थियो । घर मूली बुबा भए पनि आमाले गरेको निर्णयले घर चल्थ्यो । त्यसैले होला हाम्रो घरमा गृहकलह भनौँ वा सामान्यतया घरमा हुने ठाकठाक ठूकठूक वा ठुलो स्वरले बोलेको हामीले कहिल्ले सुनेनौँ । अहिले मलाई लाग्छ मेरी आमाले पढनलेख्न जान्नु भएन । त्यसैले उहाँलाई किताबी ज्ञान भएन तर उहाँ जीवनको विश्वविद्यालय हुनुहुन्थ्यो ।

गोपी दाइ हाम्रो घरमा आएर मद्दत मागेको त मलाई थाहा भएन । हाम्रो घरमा पारिवारिक मिटिङ भनौँ या कुराकानी या छलफल गर्ने अथवा हामीलाई आमाबुबाले गाली गर्ने बेला भनेको नै खाना खाने बेलामा हो । एक दिन हामी सबै खाना खान बसेको बेलामा आमाको आदेश आयो ‘आज कोही पनि घरबाट कतै बाहिर निस्कने होइन । निस्किहालेको खण्डमा कसैले काममा बोलाए भने पनि घरमा काम छ भनेर घर फर्किहाल्नु । सकेसम्म घरबाटै ननिस्कनु’ । भाइबहिनी सानै थिए कति बुझे कति बुझेनन् मैलेचाहिँ केही बुझिन ।

यस्तो आदेश आमाले हामीलाई जम्मा तीन पटक दिनु भएको मलाई सम्झना छ । एउटा यही भइहाल्यो । अर्को— हामीले भैँसी पालेका थियौ । भैँसीलाई बिहान बेलुकी नै पोखरीमा नुहाउन लैजानुपर्थ्यो । शिवहरि आचार्यको नेतृत्वमा हामीले घरनजिकै एउटा पोखरी बनाएका थियौँ जहाँ अहिले खानेपानीको कार्यालय बनेको रहेछ । हाम्रो घरनजिकै पुग्ने ठाउँमा मानिस हिँड्नलाई त दुई तीन स्टेपको खुट्किला थिए । मानिसलाई त सजिलै भइहाल्ने तर गाई भैँसी त मानिसजस्तो भ¥याङ चढ्न नसक्ने भएकाले उनीहरूलाई ती खुट्किला चढ्न अप्ठेरो परेकाले हाम्री आमाले परबाट ढुङ्गा बोकेर ल्याई केही गहिरो पारेर ती खुट्किलालाई समथरजस्तो बनाइदिनुभएको थियो । यसले गाई भैँसीलाई सजिलो भयो तर झरीमा भैँसीको बोझले गर्दा भत्कियो पनि । त्यो गोरेटो बाटो दाइको परिवार र हामीले हिँड्ने हो तर दाइको परिवारलाई त्यो बाटो नहिँडेर पनि जीवन चल्थ्यो । हाम्रो भने दोस्रो विकल्प थिएन । यसलाई हाम्रो दाइले निकै ठुलो इस्यु बनाएर हामीलाई गालीगलौज गर्दै झगडामा उकास्ने निकै दुष्प्रयास गर्नुभयो । बुबा खुबै रिसाउनु भयो तर आमाको आदेशले घरैबाट गाली सुनेर सहेर बसिरह्यौँ । त्यसै गरी अर्को एक पटक तिनै दाइलाई थापा गाउँका मानिसहरूले जानीजानी वा नजानी गरेको राजनैतिक आक्रमणको दोषी मान्दै नजिकैको चिया पसलमा आएर नराम्रोसँग कुटे । आफ्ना दाजुलाई आफ्नै आँखाअगाडि कुटेको देख्नु पनि असाध्यै पीडादायी हुँदो रहेछ । उताका मानिससँग मेरो राम्रै सम्बन्ध थियो । सबैले मलाई माया नै गर्थे । एक पटक गएर माफ गरिदेऊ भन्ने मनमा आएको थियो तर, यहाँ पनि आमाले जान दिनु भएन । ‘त्यो उसको कर्मको फल हो उसैले भोग्नुपर्छ । अरूले आफ्नो थाप्लोमा लिने होइन’ भन्नुभयो । हामी चुपचाप घरमै बसिरह्यौँ । आमाको दोस्रो आदेश थियो त्यो ।

उक्त दिन गाउँमा के हँुदैछ भन्ने कुराको जानकारी हाम्री आमालाई रहेछ । अरूको मुखबाट सुनेको हो वा गोपी दाइ आफैले अनुरोध गर्नुभयो मलाई थाहा भएन । न आमाले नै भन्नुभयो । मङ्सिरको बेला थियो । जमिनमा धान बाली लहराइरहेका थिए । हावाको बहाबसँगै यी धानका बालाहरू कहिले यता पल्टन्थे कहिले उता पल्टन्थे । प्रकृति सुन्दरताले परिपूर्ण भएकी थिइन । धानका गेडा जन्मदाता बोटबाट बाहिर आउने प्रतीक्षामा बसिरहेका थिए । केवल उनीहरूलाई मानिसका हातको स्पर्श चाहिएको थियो । त्यति बेला गाउँमा बाली भित्र्याउनेलगायत अन्य धेरैजसो कामहरू भारोपर्ममै चल्थे । त्यसैले आफ्नो र अर्काको पालो सबैलाई थाहा हुन्थ्यो । सबैले थाहा पाउनु जरुरी पनि थियो तर त्यस दिनको काम गोप्य थियो । खासखुस व्यक्तिहरूलाई मात्र थाहा रहेछ । मानौँ त्यो दिन काम नगर्ने हो कि जस्तो देखिएको थियो । यता गोप दाइको गोप्य योजनाअनुसार ठिक समयमा यथेष्ट कामदारसहित राधा भाउजूको धान खेतमा जाने र सबै धान जति लुटेर आफ्नो घरमा भित्र्याउने रहेछ । प्रहरी कारबाही वा गाउँका अन्य ठालुले धान लुट्ने काममा बाधा नदिउन् भन्ने उनको भित्री मनसाय थियो होला ।

हाम्रोतिर दिउँसो मेलापातको काम प्रायः दस बजेतिर सुरु गरेर पाँच वा छ बजे अन्त्य गर्ने चलन थियो । दस बजेतिर एक्कासि गाउँका सबै दाजुभाइ दिदीबहिनी, काका काकीहरू राधा भाउजूको खेतमा जम्मा भएर धमाधम पाकेका धानका काट्न सुरु गरेछन् । उता राधा भाउजूलाई पत्तै थिएन । दाजुभाइ खलकभित्र राधा भाउजू र हामीबाहेक धान खेतमा सबैको उपस्थिति थियो । जति सक्यो छिटो काम सक्नुपर्ने भएकाले योजनामुताबिक सबै कामदारहरू कोही कसैसँग नबोली काम गर्न थालेका थिए रे । आफ्नै दाजुभाइ दिदीबहिनीलाई मात्र काम सिद्ध्याउन समय लाग्न सक्छ भनेर दाइले बाहिरका केही बलिया कामदारलाई पनि ज्याला तिरेर बोलाउनु भएको थियो रे । बिचरी एक्ली भाउजू कति छटपटिनु भयो होला । के गरौँ कसो गरौँ, कोसँग सहयोग मागौँ ? छटपटी र वेदनाको पहाडै खस्यो होला उहाँको थाप्लोमा । गाउँका दाजुभाइ नै लुटेरा बनेर बर्सभरि खानको लागि लगाएको बाली लुटिरहेका छन् । के उनको मनमा महाभूकम्प गएन होला ? तावामा परेको माछाको जस्तो हालत भयो होला । त्यति बेला फोनको चलन सरकारी अड्डाका हाकिमको टेबुलमा मात्रै हुन्थ्यो । फोन गरेर छोरी र ज्वाइँ वा अरू कसैलाई बोलाउन पनि हिँडेर वा दौडेर जानुपर्थ्यो । प्रहरीकैमा जान पनि लुभु पुग्नु पर्ने । उता पनि दाइले मानिस लगाएर तुरुन्तै आउन नसक्ने चाँजोपाँजो मिलाएको पनि हुनसक्ने सम्भावना थियो । जहाँ गए पनि जान र आउनमै घन्टाँै बित्छ । त्यतिन्जेल धान लुट्ने काम सकिन्छ । गाउँका ठालुहरू पनि दिउँसो आआफ्नो काममा गइहाल्छन् । सायद छोरीको घरमा पुगेर उनीहरूको अन्य आफन्तहरूको सहयोग मिल्नेबाहेक भाउजूलाई अरू केही उक्ति सुझेन होला । त्यसैले विपत्तिको भारी टाउकामाथि राखेर लुगा लगाएर भाउजू घरबाट बाहिर निस्कनु भयो रे ।

त्यो धान लुटाइमा आफ्नै घरपरिवारका दाजुभाइ दिदीबहिनी, काका काकीहरू सबैले भाग लिएर अन्यायको साथ दिनु भयो तर हाम्रो परिवारले भाग लिएन । हामी घरमै बसिरह्यौँ । बल्ल हाम्री आमाले हामीलाई दिएको आदेशको सम्झना आयो । त्यो आदेश हाम्रा लागि महत्त्वपूर्ण थियो वा थिएन सोच्न थाल्यौँ । त्यो आदेश दिएर हाम्री आमाले त्यो बेलाको समयमा ठुलै खतरा उठाउनु भएको थियो । आफ्नै दाजुभाइ खलकसँग शत्रुता मोलेर वा अलग भएर एक्लै अगाडि बढ्न खोज्नु एकातिर साहसी काम थियो भने अर्कोतिर विनाश पनि हुनसक्ने सम्भावना थियो । हाम्रो पानी पँधेरो, घरबारी, जग्गाजमिन, जिउज्यान सबै यिनै दाजुभाइहरूसँग जोडिएका थिए । हाम्रा प्रत्येक पाइलामा उनीहरूले खिचोला गर्न सक्थे । हामीबिच भारोपर्म, लेनदेन, सरसहयोग आदि सबै बन्द हुन सक्थ्यो । उस्तै परे आक्रमण पनि गर्न सक्थे । त्यस्तो पिटाइ त मैलै दाइबाट पहिले पनि खाइसकेकै थिएँ ।

हामी तीन जना केटाकेटी बढ्दै थियौं । हाम्रो सामर्थ्य त केही थिएन न धनको न जनको । एक किसिमले निरीहजस्तै । तैपनि मेरी आमाले सत्यको बाटो छोड्न चाहनु भएन । त्यसमा बुबाको पूर्ण साथ थियो । हामी सानै भए पनि हामीलाई के ज्ञान थियो भने हाम्रो जग्गा भनेको हाम्रो हो । त्यसमा लगाएको बाली पनि हाम्रै हुन्छ । । राधा भाउजू र गोपीदाइबीचको अंशबन्डा बारेमा हामीले जान्ने कुरा भएन तर भाउजूको जग्गामा भाउजूले नै लगाएको अन्नपात दाइले लुट्नु गलत कार्य हो । कसैको केही पनि लुट्न वा चोर्न पाइन्न त्यो सरासर गलत हो, चोरी हो । लुकेर गरेको काम भए चोरी भन्न मिल्थ्यो । दिउँसै सबैको सामुन्नेमा ठुलो जमात आएर आफ्नै १३ दिने दाजुभाइ खलकबाट आफ्नै परिवारभित्रकी एउटा विधवा नारीले लगाएको बाली वा सम्पत्ति जबर्जस्ती लैजाने काम लुटपाट र डकैती नै हो जुन हाम्रो पारिवारिक तथा सामाजिक इज्जत, मान, प्रतिष्ठाको लागि कहिले नमेटिने कलङ्क भएर पुस्तौँ पुस्ता रहिरहनेछ ।

समय आफ्नै गतिमा बगिरहन्छ । कहिले राम्रो आउँछ, जान्छ । कहिले नराम्रो आउँछ, जान्छ । प्रकृतिको नियमै यही हो । घटना राम्रो वा नराम्रो जे भए पनि घटिसकेपछि सकिन्छ । कष्टपूर्ण समय बित्छ, जान्छ, जानै पर्छ तर त्यसको असर चिरकालसम्म रहिरहन्छ । राष्ट्रिय घटना भए इतिहासमै केही टेढोमेढो भए पनि लिखित रूपमै बस्छ । पारिवारिक वा सामुदायिक भयो भने केही कालसम्म रहेर हराउन पनि सक्छ । त्यो दिनको घटनामा हामीले न राधा भाउजूलाई सहयोग गर्न सक्यौँ न लुटमा सामेल भयौँ । हाम्रो मौनता नै हाम्रो आफ्नो समस्या बन्यो । भाउजूले त त्यो घटना घटेको ४८ घण्टाभित्रमा चमत्कार देखाइदिनुभयो । ४८ घण्टाभित्र भाउजू र देवर बिचमा के कस्तो सम्झौता भयो हामीलाई थाहा भएन । दुवै पक्ष टेन्सनमै थिए । रातभरि दौडधुप भइरहेको कुरा भुसको आगोजस्तो गाउँभरि फैलिरहेको थियो । ४८ घण्टा नबित्दै दाइले लुटेर लगेको धान भाउजूलाई फिर्ता गरिदिनुभयो । आफ्नै दाजुभाइबिचको एउटा अधार्मिक, असामाजिक घटनापछि गाउँमा फेरि शान्ति छायो तर यही बिन्दुबाट हाम्रो परिवार र बाँकी १३ दिने दाजुभाइ खलकबिच एउटा अदृश्य रेखा कोरियो । राधा भाउजू एकातिर, हामी अर्कोतिर र बाँकी परिवार अर्कोतिर । पछि राधा भाउजू र गोपीदाइबीच अदालतमा मुद्दा दायर भयो क्यारे । पहिले पहिले राधा भाउजू अलिकति जग्गा ती भतिजाहरूको लागि दिने कुरा गर्नुहुन्थ्यो । मुद्दा मामिलामा गएपछि ती दिने र लिने कुराहरू सबै बाढीमा रेल्लिएर बगे । नियम कानुनले जे निर्धारण ग¥यो त्यसैमा सन्तोष लिएर बस्नुबाहेक अरू उपाय पनि थिएन ।

त्यसपछिका दिनमा दाजुभाइ खलकका सबैले हामीसँग बोल्न बन्द गरे । बोल्न बन्द भएपछि भारोपर्म, मेलापात बन्द भइहाल्यो । चाडपर्व, तिथि श्राद्ध, विवाह, व्रतबन्ध आदि सबैमा हामी बहिष्कृत भयौँ । खेतबारीको काममा हामीलाई कठिनाइ हुन थाल्नु स्वाभाविकै थियो । हामीलाई दाजुभाइले बहिष्कार गर्नुमा हाम्रो दोष थिएन । दोषीले निर्दोषीलाई शक्तिको आडमा सजायको भागी बनाइरहेको कुरा गाउँभन्दा परका सबैलाई थाहा थियो । त्यसैले परका दाजुभाइहरूले हामीलाई सहयोगको वचन दिन थाल्नुभएको थियो । घरजग्गा, खेतबारीसँगै जोडिएका दाजुभाइको सहयोग नभए खेतमा रोपाइँ नै गर्न नसक्ने हो कि भन्ने आशङ्का हामी केटाकेटीलाई त थियो भने हाम्री आमालाई कति पिर र डाहा भएको थियो होला म अहिले अनुमान लगाउन सक्छु । एक साल मात्रै हाम्रो खेतबारी बाँझो भयो भने आमाबुबाले गाउँमा कसरी मुख देखाएर हिँड्न सक्नुहुन्थ्यो होला । आमालाई कतिले केके भनेर गाली गर्थे होलान् । ‘सत्यको बाटो हिँड्ने साहस गर्नुपर्छ, भगवान् साथमा हुनेछन्’ भन्ने कथन त्यति बेला सत्य भएको अनुभव अहिले मलाई हुन्छ । आमाबुबाले तिनै परका छिमेकी दाजुभाइको सहयोग माग्नुभयो । उनीहरूले सहस्र स्वीकार गरी साथ दिए । परका छिमेकीहरूको सहयोग पाएकाले त्यो साल हाम्रो खेतबारीको काम अरू सालको भन्दा निकै चाँडो सम्पन्न भयो । हाम्रो खेत सबैभन्दा टाढा भएकोले जहिले पनि ढिला रोपाइँ हुन्थ्यो । टाढा भएका कारणले सबै दाजुभाइको काम सकिएपछि मात्र हाम्रो पालो आउँथ्यो तर दाजुभाइबाट बहिष्कृत भएको साल उनीहरूको भन्दा पहिले हाम्रो खेतको काम सकियो । हाम्रो खुसीको सीमै रहेन । त्यसले हाम्रो साहस बढ्यो, आमाबुबाको इज्जत । त्यसपछिका दिनमा हामीले दाजुभाइबाट बहिष्कृत भएरै बस्न रुचायौँ । यसबाट हामीलाई नै फाइदा भयो । हाम्रो जीवन अझ सरल र सहज भएको अनुभव हुन थाल्यो । आफ्नाहरूकै सामाजिक नियन्त्रणबाट हामी स्वतन्त्र भयौँ । स्वतन्त्रताको बिगुल महिलाबाटै फुक्नुपर्ने रहेछ । त्यसैले फ्रेन्चहरूले अमेरिकन जनतालाई स्वतन्त्रताको बिगुल बजाउने महिलाको मूर्ति उपहार दिएका रहेछन् । जुन मूर्ति आज पनि न्यु योर्क सहरको छेउमा रहेको आन्ध्र महासागरमाथि एउटा हातमा किताब र अर्को हातमा उज्यालो बत्ती लिएर संसारका महिलाहरूको स्वतन्त्रताको लागि प्रेरणा दिइरहेकी रहिछिन् ।

उस्तै असहज अवस्थाका दुईचार वर्षै बिते होलान् । एक दिन अदालतको पैmसला आएछ क्यारे । एकातिर राधा भाउजू खुसी देखिनुहुन्थ्यो भने अर्कोतिर गोपीदाइलगायत हाम्रो दाजुभाइ खलकका सबै सदस्यहरू चिन्तित र निन्याउरो मुख लगाएर हिँडेको देखियो । सायद निर्णय राधा भाउजूकै पक्षमा आएको हुनुपर्छ । भाउजूको बोली वचन पहिले पनि राम्रो थियो । हामी उहाँभन्दा साना भए पनि हामीलाई माया र आदर गर्नुहुन्थ्यो । त्यसपछिका दिनमा भाउजू कसैसँग नडराई हाँस खुसीले हामीसँग बोल्न थाल्नुभयो र निर्बन्ध भएर घरमा आउजाउ गर्न थाल्नुभयो । एक किसिमले हाम्रो आफ्नै समाज दुई चिरामा विभाजित भयो । मुद्दाको नौ वटा सिङ हुन्छ भन्छन् । नौ सिङको अर्थ लेखिएको कानुनको शाब्दिक व्याख्या र त्यसको प्रमाणले पुष्टि गर्छन् । हरेक भाषामा एउटा शब्दका अनेक अर्थ हुन्छन् । वकिलहरूले त्यस्ता शब्दको व्याख्या गरेर आफ्नो दुनो सोझ्याउने प्रयास गर्छन् । त्यही व्याख्याले न्यायमूर्ति भनिनेहरूले फैसला गर्छन् तर हाम्रो पारिवारिक किचलोको कहानी एक बाबुको दुई सन्तानका बिचको हो । बाबुआमाको मृत्युपश्चात् पैतृक सम्पत्तिमाथि दुई भाइ छोराहरूको हक दाबी आधा आधा किटानसाथ लेखिएपछि किचलो गर्नै पर्नै किन होला ? त्यो आधा आधाको निर्णय बदल्नको लागि त एउटा मात्र छोरा थियो भन्ने प्रमाण पेस गर्न सक्नुपर्थ्यो वा राधा भाउजूलाई त्यो घरको जेठी बुहारी होइन भनेर घोषणा गर्न सक्नुपथ्र्र्योे । हाम्रा दाजुभाइहरूले के सोचेर धान लुट्ने र मुद्दा हाल्ने साहस गरेका होलान् ? राधा भाउजूलाई त्यो घरको जेठी बुहारी होइन भन्ने कस्तो प्रमाण पेस गर्ने विचार थियो होला ?

हाम्रा आमाबुवा पढेलेखेका मानिस थिएनन् । हामी पनि बल गरेर अक्षरको लडाइँमा होमिइरहेकै थियौँ । कानुनको केही ज्ञान थिएन तर हाम्रो सामान्य ज्ञान के थियो भने बाबुआमाको सम्पत्ति उनीहरूको मृत्युपश्चात् छोराहरूले बराबरी हिस्सा पाउँछन् । ३५ वर्षसम्म बिहा नगरी घरमै बसेकी छोरीले पनि सो सम्पत्तिबाट अंश पाउँछिन् तर विडम्बना त्यस बखत हाम्रा दाजुभाइहरू कि त अज्ञानको गर्तमा थिए वा उनीहरू गोपी दाइलाई भाउजूले माया गरेर केही सम्पत्ति दिन सक्ने सम्भावनाबाट वञ्चित गराउन चाहन्थे । यदि उहाँहरू सबैले गोपीदाइका त्यस्ता कुकृत्यहरूको साथ नदिएको भए वा आधा सम्पत्तिको हकदार भाउजू हुन् भनिदिएको भए राम्रो हुने थियो । बरु भाउजूलाई खुसी गराएर केही जग्गाजमिन मागेर लिनु भन्ने सल्लाह दिएको भए त्यस्ता अप्रिय घटना घट्ने थिएन । सायद भाउजूले केही जग्गा दिनु हुन्थ्यो होला पनि ।

दाजुभाइ खलकबिचको माया, प्रेम, सद्भाव र एक आपसी सहयोग र सामिप्यता हुँदाहुँदै त्यस्तो नराम्रो विचारले कसरी जन्म लियो होला भन्ने कुरा मैले सोच्नै सकेको छैन । रगतको नाता, हाडा नाता वा नजिकको नातागोता, दिदी भाइ, दाजु बहिनी, दाजु भाउजू, काकाकाकी भनेको के हो र किन आवश्यक पर्छ ? यस्तै मौका पर्नासाथ एउटी नारीमाथि सबै मिलेर आक्रमण गर्नको लागि हो त ? कतिपय नारीले एउटै ओछ्यान बाँडेर सुत्दासुत्दै त प्रत्येक दिन त्यही लोग्नेबाट कुटाइ र पिटाइ खाएर शरीरभरि निल डाम लिएर हिडनु परिरहेकै अवस्था हाम्रै आँखा अगाडि छंँदैथिए । जन्मघर, आमाबाबु, दाजुभाइ छोडेर कहिले नचिनेको, नदेखेको मानिसलाई श्रीमानको रूपमा स्वीकार गर्दै उसको घर गएपछि त्यही श्रीमान् र उसको परिवारलाई मेरो आफ्नो परिवार भन्दै आफ्नो बुद्धि, विवेक तथा बलले त्यो घरपरिवारको मान सम्मान, प्रगति र उन्नतिको लागि जीवन बिताइरहेकी नारीलाई श्रीमानको अवसानपछि कस्तो पीडा, दर्द र छटपटी हुन्छ होला त्यो भोग्ने र झेल्नेलाई नै थाहा हुन्छ । यस्तो अवस्थामा आफन्तहरूले माया, सान्त्वना, सहानुभूति र सहयोग बर्षाउन पर्ने बेलामा ठिक विपरीत कर्म गर्न कुन शक्तिले उकास्छ होला ? ती परिवारको हृदयमा दया, माया, स्नेह नभएकै हो त ? मैले आफ्नो परिवारको मात्रै कुरा गरेको हुँ । यस्तो घटना त सायद देशभरि नै छ्यापछ्याप्ती छ जस्तो लाग्छ । पितृसत्तात्मक समाज भएकोले पुरुषहरूको दम्भ हो कि भनौँ भने यस्ता काममा साथ दिने महिला दिदीबहिनी, आमाकाकी, भाउजू बुहारी आदि नै हुनुहुन्छ ।

उनीहरूले यसो नगरौँ भनेर पुरुषहरूलाई भन्न किन सकेनन् ? डरले वा लोभले वा ईर्ष्याले ! त्यसैले मेरो भोगाइ र अनुभवले महिला विरुद्धको शोषणलाई मलजल गरेर बलियो बनाइ राख्नमा महिलाकै ठुलो हात र सहयोग छ भन्ने लाग्छ । यस विषयमा हाम्रो समाजले द्वैध चरित्र (डब्बल स्ट्यान्ड) गरिरहेको जस्तो लाग्छ । हामी आफ्ना छोरीहरूलाई त्यही विपत्ति आयो भने माइतीबाट छोरीको मद्दतको लागि रुँदै कराउँदै सहयोगको लागि पुग्ने र हाम्री छोरीलाई हेला गर्न पाइन्न भनेर तर्साउने । त्यही विपत्ति बुहारीलाई पर्दा हेलाँ गर्ने, पिट्ने र घरबाटै निकाल्ने प्रयास गर्नु के यो जायज कुरा हो त ? यस्तो प्रवृत्ति निरन्तर हुनुमा कतै हाम्रो धर्मशास्त्र, पुराण वा धार्मिक अन्धविश्वासले घुमाउरो पाराले सहयोग गरिरहेको पो छ कि ? सोच्ने समय आइसकेको होइन र ? नारीहरूको आफ्नै सोच नबदलिएसम्म यस्ता अन्याय अत्याचारहरू जानी नजानी अगाडि बढिरहने छ ।

गोपी दाइ र राधा भाउजूको विषयमा अदालतले के पैmसला ग¥यो हामीले कहिले जान्ने कोसिस गरेनौँ न भाउजूसँगै सोध्यौँ । बिस्तारै भाउजूले चर्चेका जग्गाजमिनहरू बेच्न थाल्नुभयो । पहिले पहिले त भतिजाहरूको नाममा एक रोपनी जग्गा दिन्छु भन्नु भएको पनि थियो । मुद्दा खेपेपछि ती सबै हराए । ठिकै पनि हो लोभले लाभ, लाभले विलाप भनेजस्तै भयो गोपी दाइलाई । धेरै पछिसम्म पनि हामीलाई गाउँभरिका मानिसले प्रशंसा गर्दै रहे र हाम्रो इज्जत गरिरहे । मेरी आमाले टेकेको सत्यको बाटो कठिन त भयो तर अभेद्य पनि भएन । निकै लामो समयसम्म हाम्रो पारिवारिक जीवन दाजुभाइका सद्भाव, माया, प्रेम तथा सहयोग विना नै चल्यो । समयले घाउ पुरिँदै गयो । बिस्तारै सबै दाजुभाइले सत्यको महसुस गर्दै गए । चाडपर्वमा बन्द भएको टीका टालो पनि खुल्दै गए । सायद यस्तै घटना अबका दिनमा हाम्रो परिवारमा मात्र नभएर अरू कसैको परिवारमा भएको सुन्न नपरोस् भन्ने अपेक्षा गर्दछु ।