अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२१ | Colorodo: 00:36

युगकवि सिद्धिचरण श्रेष्ठको संक्षिप्त जीवनी

गोपी मैनाली २०८१ जेठ १३ गते १५:२० मा प्रकाशित

जन्म र बाल्यकाल
नेपाली साहित्य जगतमा युुगकविका सम्मानबाट चिनिएका सिद्धिचरण श्रेष्ठको जन्म वि स १९६९ जेठ ९ गते मङ्गलवार शुक्ल पञ्चमीको विहान ९ बजेर ४० मिनेटमा पूर्व तीन नम्वर ओखलढङु्गा बजारमा भएको थियो । उनी माता नीरकुमारी श्रेष्ठ र पिता विष्णुचरण श्रेष्ठका एकमात्र सुपुुत्र हुन् । उनको विवाह वि स १९८६ मा मिश्रीकुमारी श्रेष्ठसँग परम्परागत रुपमा सम्पन्न भएको थियो र उनिहरुबाट पाँच छोरा तथा चार छोरीको जन्म भएको थियो ।

उनका पिता तत्कालीन सरकारको कर्मचारी थिए । सिद्धिचरणको जन्म भएको समय उनका पिता जागिरको सिलसिलामा ओखलढुङ्गाको माल अड्डाका हाकिम (खरिदार) को जिम्मेवारीमा थिए । ओमबाहल काठमाडौं पुख्र्यौली घर भएका सिद्धिचरण श्रेष्ठ पिताजीको जागिरमा ११ बर्षको उमेरसम्म ओखलढुुङ्गामा विताएका थिए । त्यहीको प्राकतिक वातावरण र साथी सङ्गातिसँग खेलेर उनको बाल्य अवस्था वितेको थियो । पिताजी सरकारी सरकारी जागिरको सिलसिलामा व्यस्त रहन्थे । माल अड्डा तत्कालीन अवस्थामा सरकारी धनमाल सुरक्षित गर्ने, बैंकको काम गर्ने र जग्गा प्रशासनको विशिष्ट भूमिकामा हुन्थ्यो । माल अड्डा हकिम भएकाले बेलुका अवेरसम्म कचहरीमा व्यस्त रहनु पिताजीको दिनचर्या थियो । माता भने पूजापाठमा व्यवस्थित हुन्थिन । उनले पाठ गरेको रामायण र महाभारतबाट बालक सिद्धिचरण निकै प्रभावित हुन्थे । त्यही प्रभावले पनि हुनसक्छ सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यका शीर्षस्थ कवि बन्न पुुगे ।

पारिवारिक अवस्था
सिद्धिचरणको पारिवारिक अवस्था राम्रो थियो । पिता विष्णुचरण श्रेष्ठ समाजका इनेगनेका व्यक्तित्व थिए । सरकारी सिन्दुर पर्नु, त्यसमा पनि माल अड्डाको हाकिम हुनु सामान्य कुरा थिएन । उनको काठमार्डौको मुख्य स्थान ओम बहालमा घर थियो भने तराईको सिराहामा मौजा पनि थियो । यस अर्थमा तत्कालीन समाजमा उनका पारिवारिक अवस्था राम्रो थियो । के खाउ के लाउ भन्ने समस्याबाट पर थियो । पिता विष्णुुचरण श्रेष्ठले सुमति उपन्यास पनि लेखेका थिए । उनको सरसङ्गत कर्मचारीि, साहित्यकार र राजनैतिक व्यक्तित्वहरुसँग हुने गर्दथ्यो । उनको पारिवारिक अवस्था र पत्नी तथा सन्तानहरुसँग राम्रो सम्बन्ध थियो ।

शिक्षादीक्षा
सिद्धिचरण श्रेष्ठको बाल्यावस्थाका समयमा विद्यालयहरु खासै थिएनन् । ओखलढुुङ्गामा त झनै विद्यालयहरु थिदैथिएनन् । परम्परागत गुरुकूल शिक्षामा पनि वर्गीय भेद थियो । ब्राह्मणका छोराहरु गुरुका घरमा गएर चण्डी, रुद्री लगायत धार्मिक शिक्षा लिन्थे । तर अरुका लागि त्यो अवसर पनि उपलव्ध थिएन । त्यसैले उनले सात आठ बर्षसम्म केवल बा¥हखरी मात्र चिनेका थिए । वि स १९७८ बाट पिता काठमाडौं आएर यतै बसोबास गर्न थालेपछि भने दरवार स्कुलमा भर्ना भै औपचारिक शिक्षा थालनी गरे । तर त्यो पनि कक्षा आठमा सीमित रह्यो । उनी हिसावमा निकै कमजोर थिए । त्यसैले पनि उच्च शिक्षा नलिएका हुनसक्छन । एउटा शिक्षित र सम्पन्न परिवारको सन्तान भएर पनि सिद्धिचरण श्रेष्ठले उच्च शिक्षा लिन पाएनन् । तर काव्य सिर्जनालाई भने शिक्षाले किहिल्यै बाधा पुु¥याएन । उनी नेपाली र नेपाल भाषा साहित्यका शीर्ष साधक बने । उनको स्वअध्ययन भने विस्तृत थियो । उनले उठाएका प्रसङ्ग, अन्तरक्रियामा व्यक्त तर्क तथा उनका सिर्जनामा व्यक्त भएका कुराहरुको आधारमा उनले नेपाली तथा अन्य भाषाका साहित्य र दर्शन का पुस्तकहरु अध्ययन गर्नु भएको थियो भन्ने पुष्टि हुन्छ । नेपाली समाजले औपचारिक अनुुष्ठानमा लिएको शिक्षालाई मात्र शिक्षाको कोटिमा दिने गर्दछ, जुन सत्य होइन । कतिपय महान विद्वानहरु औपचारिक शिक्षा र प्रमाण पत्रविना पनि स्वाध्यनले स्थापित बनेका छन् ।

विचार, प्रेरणा र व्यक्तित्व विकास
सिद्धिचरण श्रेष्ठको घरपरिवार र वातावरण राम्रो थियो । पिताजी सरकारी सेवामा भएकोले विभिन्न बुद्धिजीवीहरुको आउजाउ सामान्य थियो । सङ्गत र परिवेश मानिसको व्यक्तित्व विकासको आधार हो । पिताजीको साहित्यमा लगाव थियो भन्ने कुरा उनले सुमति उपन्यास लेखेबाट नै स्पष्ट हुन्छ । पिताजी भानुुभक्तको रामायण, होमनाथ केदारनाथका कृतिरु र मोतीराम भट्टको रचनाहरु पढ्थे । आमा पूजापाठ गर्थिन, रामायण र महाभारत वाचन गर्थिन । यो पारिवारिक वातावरणले, विशेषतः आमाको व्यवहारबाट बालक सिद्धिचरण निकै प्रभावित थिए । यसले नजानिँदो रुपमा साहित्य सिर्जनामा तानिरहेको थियो ।

अर्को जोरगणेश प्रेसका संस्थापक ऋद्धिबहादुर मल्लको घरमा आउजाउ हुँदा साहित्यिक व्यक्तित्वसँगका संसर्गले पनि साहित्यतर्फ लाग्न प्रभाव पार्दै थियो । मल्लले शारदा पत्रिका प्रकाशन गर्दै आएका थिए । पत्रिकाका कारण मल्लको घर समसामयिक साहित्यकारको जमघट स्थल बनेका थियो । सिद्धिचरणको चिनजान र सङ्गत साहित्यकारहरुसँग हुनगयो । यसले पनि उनको व्यक्तित्व विकासमा प्रभाव पारेको थियो । यही क्रममा १९९० को विनाशकारी भूकम्पलाई देखेर ‘भुुइँचालो’ शीर्षकमा कविता लेखी त्यही बर्ष गोरखापत्रमा प्रकाशित गरे । यसैबाट उनको साहित्यिक यात्रा अघि बढेको देखिन्छ ।

सिद्धिचरणको बाल्यावस्था पिताजीको जागिरमा वितेकोले तत्कालनीन शासकीय प्रवृत्तिको थोरबहुत जानकारी पाएमा थिए । शासकीय क्रूरता, राणा विरुद्धको आन्दोलन, १९९७ को काण्ड, प्रजा परिषद् लगायत राजनैतिक समूहरुको सक्रियताको प्रभाव पनि कवि हृदयमा पर्दै गयो । भूकम्पका समयको दुखलाई पनि उनले नजिकबाट नियालीरहेका थिए । यी सबै कारणले सिद्धिचरण श्रेष्ठमा विद्रोही स्वभाव, मानवताप्रति सेवा भाव, प्रकृति उपासनाको भाव विकास हुँदै आयो । उनका साहित्य सिर्जना र जीवन व्यवहारमा यीनै कुराले स्थान पाएको देखिन्छ ।

पेशा वृत्ति
सिद्धिचरण श्रेष्ठ विभिन्न पेशामा संलग्न भएपनि ती सबैको केन्द्रविन्दु भने साहित्य नै थियो । वि स १९९० मा भूकम्प गएपछि भूकम्प पीडीतोद्धार सहायता समितिमा उनले कारिन्दाको जागिर खाए । यो नै उनको पहिलो पेशागत कार्य थियो । १९९१ बाट सात बर्ष जति शारदा पत्रिकाको सम्पादक, २००५ देखि २००७ सम्म गोरखापत्रको सम्पदन कार्यमा रहे । २००८ मा नेपालको पहिलो दैनिक पत्रिका आवाजको पहिलो सम्पादकका रुपमा काम गरे । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनादेखि सदस्य भएर त्यहाँको साहित्य विभागमा कार्यरत रहे । त्यहाबाट प्रकाशित हुने साहित्यिक पत्रिका ‘कविता’ का प्रधान सम्पादक भएर पनि काम गरे । उनले प्रतिष्ठानबाट कविता योजनाको थालनी गरेका थिए, जसले कविता पत्रिका प्रकाशसनका साथै कविता उत्सव गर्ने, कविताका प्स्तकहरु प्रकाशन गर्ने काम गर्दथ्यो । उनको सक्रियतामा त्यस समयमा कविता सम्बन्धी धेरै कामहरु भएका थिए । तत्कालीन राजालाई सल्लाह दिने संस्था राजसभाको सदस्यमा पनि सिद्धिचरण श्रेष्ठले काम गर्ने मौका पाए । सामाजिक संस्थाहरुमा संलग्न रहेर पनि मुलुक, व्यवस्था र राष्ट्रको सेवा गरे । उनी जुन पेशा र संस्थामा रहे पनि सहित्य सेवा नै मुख्य थियो । जीवनभर उनको प्रमुख संलग्नता क्षेत्र साहित्य नै थियो ।

राजनीतिक संलग्नता
पारिवारिक परिवेश चेतनाको थियो । पिताजी सरकारी सेवा रहेकाले पनि सरकारी गतिविधि र राजनैतिक अवस्थाबारे परिरिचत थिए । त्यही समय राणाविरोधी क्रियाकलापहरु बढ्दै गएको थियो । शहर बजारका चेतनशील युवाहरु राणाविरोधी आन्दोलन र स्वतन्त्रताका लागि आवाज उठाइरहेका थिए । कवि भावनाको व्यक्ति निजत्वको स्वतन्त्रता, स्वाभिमान र प्रजातन्त्रप्रति लगाव राखिहाल्थ्यो । सिद्धिचरणमा कवित्वको विस्फोट नै राणा निरङ्कुशताको विद्रोहमा भएको थियो । उनी जागरणका कवि थिए । जागरुक युुवाहरु चिनियालाल, फत्तेबहादुरहरु महाविर इन्स्टिच्यूट खोलि विद्यार्थीहरुलाई गोलबद्ध गराइरहेका थिए । जारणका कविता लेख्ने सिद्धिचरण पनि यसमा आवद्ध भए । क्रान्तिविना हुँदैन शान्ति (क्रान्ति विना थन ज्वीमखू शान्ति) भन्ने जागरण गीत लेख्ने युवा कविले ‘बर्षा’ कवितामा क्रान्ति शब्द प्रयोग गरेकाले उनलाई तत्कालीन राणा शासनले १८ बर्षको कारावास सजाय तोक्यो । उनी कारगारमा रहँदा वि स २००१ मा पिताको देहवसान भयो । उनले पिताजीको काजक्रिया गर्न पाएनन् । उनले कारागारभित्र रहँदा पनि विद्रोहका कविता लेखे । उनीसँग कारागारमा रहेका व्यक्तिहरुलाई उत्साह जगाउन उनका कविता उर्जा बन्ने गर्दथे भन्ने कुरा गणेशमानसिंह लगायतका राजनैतिक नेताहरुले उल्लेख गरेका छन् । जुद्ध शमशेरले महर्षि बन्ने लोभले कारागार सजाय पाएको पाँच बर्षमा वि स २००२ मा नै उनलाई जेलमुक्त गरियो । यतानाबाट मुक्त भएपछि जागरणका कविता लेख्दै रहे ।

एक प्रसङ्गमा नेपली काङ्ग्रेसका सर्बमान्य नेता गणेशमान सिंहले भनेका थिए–‘यो गणेशमानलाई गणेशमान बनाउन सिद्धिचरण दाइको सबैभन्दा ठूलो हात छ । राणाहरुको कालकोठरीमा सिद्धिचरण दाइले मलाई मानसिक रुपमा भाँचिन नरोकेको भए शायद त्यतिवेलै खत्तम भैसकेको थिएँ ।’ ‘सिद्धिचरणका जोसिला कविता कण्ठ गरेर हामी सडकमा भट्याउदै हिड्थ्यौं’ । उनका यी भनाइले सिद्धिचरणको स्वभाव, राजनतिक चेत र प्रवृत्तिलाई पनि देखाएको छ । बामपन्थी नेता तुल्सीलाल अमात्यका अनुसार उनका एकै बेञ्चमा रहेर पढ्ने सहपाठी सिद्धिचरणका नेपाल भाषा र नेपाली भाषाका कवितामा (विशेषतः १९९७ को काण्ड अघिका) बढी राजनैतिक र क्रान्तिकारी थिए । राजनीतिज्ञ मनमोहन अधिकारीका अनुसार निरङ्कुश राणा शासन विरोधी आन्दोदनमा चार सहिदको समेत प्रेरणा लिएर सङ्घर्षको बलिवेदीमा हाम पाmलेका र राणाहरुले कविवरलाई कठोर श्रम कारावासको सजाय दिएको थियो । उनका कविताहरुमा रहेको युुगचेत र विद्रोही भावनाका कारण त्यतिबेला प्रजातन्त्र स्थापनाका लागि चालिएको संघर्षमा ऊर्जाका स्रोत बन्थे । तर उनी कुनै राजनैतिक सङ्गठनमा भने आवद्ध थिएनन् ।

साहित्यलाई साहित्यकै दृष्टिले मात्र हेर्ने, उसका अरु पाटामा हेर्न नहुने उनको मान्यता थियो । यो मान्यता त्यतिखेर झनै देखियो जतिवेला मूधन्र्य साहित्यकार विश्वेश्वरप्रसाद कोइरालालाई साहित्यिक पत्रकार संघले अभिनन्दन गर्दैथियो । २०३८ श्रीपञ्चमीका् अवसर पारेर संघले आयोजना गरेको कार्यक्रममा त्यतिवेलाका धेरै साहित्यकारहरु उक्त कार्यक्रममा आउदा कोइरालाको अर्को व्यक्तित्वका कारण तत्कालीन सत्ता र राजाबाट अर्कै दृष्टिले हेर्ने डरले विभिन्न बहानामा उपस्थित भएनन् । तर युगकवि सिद्धिचरण श्रेष्ठ उक्त कार्यक्रमको सभापतित्व नै ग्रहण गरेर कोइरालाको साहित्यिक योगदानको व्याख्यामा देखिए ।

पञ्चायत व्यवस्था आएपछि भने सिद्धिचरण दरवार र राजाको नजिकमा रहेको देखिन्छ । राजा कुलपति भएको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य, राजसभाके सदस्य र राजा र पञ्चायतका आदर्श विपरीत नगएका कारण पनि उदार प्रजातन्त्रका लागि चलाइएको आन्दोलनमा उनी असंलग्न रहे । यो कुराको पुष्टि उनलाई अत्यन्तै आदर गर्ने गणेमान सिंह र बरिष्ठ साहित्यकार एवम् रचनाका सम्पादक रोचक घिमिरेको भनाइबाट पनि पुष्टि हुन्छ ।

साहित्य सिर्जनामा संलग्नता
सिद्धिचरण श्रेष्ठको घरपरिवार र सरसङ्गत साहित्यमैत्री थियो भन्ने माथि नै उल्लेख भैसकेको छ । उनी कक्षा पाँचमा पढ्दा (१५ बर्षको उमेरमा) वि स १९८४ मा उनले ‘सन्ध्या’ शीर्षकको कविता लेखेर साहित्य सिर्जनामा प्रवेश गरेका थिए, जुन २०२१ मा प्रकाशित कविता सङ्ग्रह ‘कोपिला’ मा समावेश छ । उनको प्रकाशित पहिलो कविता भने ’भुुँइचालो‘ हो, जुन वि स १९९० मा गएको महाभूकम्पको विभत्स रुपको सेरोफेरोमा लेखिएको थियो र सोही बर्ष गोरखापत्रमा प्रकाशित भएको थियो । त्यसपछि १९९१ मा ‘जुनेली रातमा निर्भmर’ (शारदा पत्रिकाको अंक १, बर्ष १), १९९१ मा नै ‘प्राकालीन किरण’ (शारदा पत्रिकाको बर्ष १ अंक १) लगायतका कविताहरु फुटकर रुपमा प्रकाशित भएका थिए । उनका शुरुका कविताहरुबाट मानता, विद्रोहीचेत र प्रकृति चित्रण उनका प्रवृत्ति हुन् भन्ने सङ्केत मिल्दछ । सूूर्यविक्रम ज्ञावलीले नेपाली साहित्यका दुई तारामा लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरणको नाम उल्लेख गरेर लेख प्रकाशित गरेबाट नै उनको साहित्यिक संलग्नता र त्यसको गहनता विस्तृत थियो भन्ने स्पष्ट थियो ।

समाज सेवा
चेतनशील मानिस अरुको सुखदुखमा सहभागी हुन्छ । कविहरु÷स्रष्टाहरु स्वभावैले कोमल हृदयका हुन्छन् । सर्जकहरु स्वतन्त्रता, समाज र राष्ट्रसेवाका पक्षपाती हुन्छन् । कवि सिद्धिचरण यसका अपवाद थिएनन् । कवि सिद्धचारण विभिन्न संघ संस्थामा संलग्न भएर, कतिपय संस्थाको नेतृत्व गरेर समाज सेवाका विभिन्न क्षेत्रमा लागेका थिए । १९९० को महाभूकम्प गएपछि उद्धार गर्न स्थापित भूकम्प पीडितोद्धार समितिका संलग्न भएका थिए । कारिन्दाका रुपमा समितिमा प्रवेश गरेपनि यो समाज सेवामा निर्दिष्ट थियो । त्यस्तै १९९१ देखि १९९७ सम्म शारदा पत्रिकाको सम्पादक बनी साहित्यिक पत्रकारितामा रहे । २००५ देखि २००७ सम्म गोरखापत्रको सम्पादनको जिम्मेवारीमा रहे । २००८ मा आवाजको सम्पादक, २०१२ मा कविता पत्रिकाको प्रधान सम्पादक बने । त्यसपछि शान्ति समितिका अध्यक्ष बने । २०११ मा लेखनाथ पौड्याल अभिनन्दन समितिका अध्यक्ष भएका थिए, यही समतिले किवशिरोमणिलाई अभिनन्दन गर्ने काम सम्पन्न गरेको थियो । २०१४ देखि २०२१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य बनेर साहित्य, संस्कृति र कलाको सेवामा लागे । २०२२ बाट उनलाई प्रतिष्ठानको आजीवन सदस्यको दार्जा मिल्यो ।

उनी विभिन्न स्वयमसेवी संस्था र मञ्चहरुमा संलग्न रहेका थिए । युवा बर्ष मोती पुरस्कार छनौट समितिका प्रथम अध्यक्षको जिम्मेवारीमा पनि रहे । त्यस्तै नेपाली शिक्षा परिषद्का अध्यक्षको जिम्मेवारीमा पनि काम गरेका थिए । झपट पुरस्कार समितिका अध्यक्ष पनि बनेका थिए । २०२८ बाट श्री ५ त्रिभुवन स्मारक समितिको अध्यक्ष भै विभिन्न सामाजिक र अन्वेषणात्मक कामको नेतृत्व लिन पुुगे । तत्कालीन अवस्थामा यो संस्था निकै गौरवशाली मानिन्थ्यो । महाविर विद्यालयको शिक्षकको जिम्मेवारीमा रहेको पनि कतिपय आलेखहरुमा पाइन्छ । नेपालको नोवेल पुरस्कार भनिने मदन पुरस्कार गुठीको सदस्यको जिम्मेवारीमा पनि कवि सक्रिय थिए । तत्कालीन राजाबाट २०३० देखि २०३६ सम्म राजसभा स्थायी समितिको सम्माननीय सदस्यको जिम्मेवारीमा मनोनित भएका थिए । त्यस्तै प्रधान नाट्य मण्डलको सल्लाहकार समितिको अध्यक्ष, लेखक संघ, शहिद स्मारक जनकल्याण केन्द्र, नेपाल शान्ति परिषद्मा पनि अध्यक्ष भै जिम्मेवारी लिएका थिए । औपचारिक संस्थामा रहेर मात्र होइन, विभिन्न अनौपचारिक सस्था, समूह, सभा, सम्मलेन, अन्तरक्रियाका माध्यमबाट २०४९ मा उनको देहबशान हुनु अघिसम्म युुगकवि सिद्धिचरण श्रेष्ठ कुनै न कुनै रुपमा समाज सेवा र साहित्य सेवा गर्दै पछिल्लो पुस्तालाई प्रोत्साहन गरिरहेका थिए ।

स्वभाव तथा रुचि
युुगकवि सिद्धिचरण सरल र सहयोगी स्वभावका थिए । उनको ओमबहाल स्थित निवासमा साहित्य सिर्जना, खोज अनुसन्धान र विचार चिन्तन गर्ने मानिसहरु भैरहन्थे । आफूलाई भेट्न आउने मानिसहरुलाई मृदु भाषामा शिष्टाचार गर्ने, फिसिक्क हाँसेर बोल्ने, शालीन रहने, अरुको इज्जत गर्ने र सल्लाह दिने काम उनको दिनचर्या नै हुन्थ्यो । तमाखु (हुक्का) लिने उनको आदत थियो । सामान्य नेवारी शैलीमा रहेको घरमो माथिल्लो तलामा सोफा तथा कुुर्सी विना नै रहन्थे । कोठामा कुनै तामझाम देखिदैनथ्यो । भेटघाटमा आउने मानिस भुुइँमा कपडाको चकटीमा बस्ने गर्थे । सानै उमेरमा कविसँग मेरो चिनजान भएको थियो ।

प्रवेशिका पास गरेपछि मेरो उमेर १८ बर्ष नभएसम्म म कविको निवासमा प्राय गैरहन्थे । मेरो दाजु (बरिष्ठ समालोचक) युवराज मैनाली, युवाकवि धीरेन्द्र मल्ल र म कविको निवासमा जाने गथ्यौं । कतिपय अवस्थामा युुगकविले आफैले खाजा ल्याएर ख्याएका छन् । उनको यो स्वभाव देखेर मलाई मेरो हजुरबुुबाको सम्झना आउथ्यो ।

म र मेरो दाजु सानै थियौँ, हामीमा साहित्यिक चाख थियो, दाजुले आफ्नो पहिलो पुस्तक ‘मुर्दा बोल्यो’ कथा सङ्ग्रह प्रकाशन गर्नु भएको थियो । मैले पनि किताव प्रकाशन गर्ने रहर गरेको थिएँ, कवि श्रीहरि फयाँलले आफूले सम्पादन गर्ने ‘ब्यथा’ पत्रिकामा पूर्णाङ्कमा मेरो निजात्मक निबन्धसङ्ग्रह ‘अवसाद अभिनयी’ प्रकाशित गरिदिएका थिए । युुगकवि हामीजस्ता सिकारु साहित्यकारसँग पनि कुनै सीमा नराखी प्रेत्साहन दिने गर्दथे । हामीहरुबीचको सम्बन्ध अत्यन्तै हार्दिक थियो । हामीलाई सानो देखेर होला एक दुुईपटक सयको नोट पनि खर्चका लागि दिएका थिए । मलाई एउटा राम्रो डट्पेन पनि उपहार दिएका थिए ।

उमेरका कारण आँखा कमजोर भएकाले उनले भन्ने र मैले लेख्ने गरेर केही फुटकर र दुुईटा कवितासङ्ग्रह पूरा गरेका थियौं । उनले भनेका कुराहरु आसु प्रवाहमा आउँथे । लेखिसकेपछि म सुनाउँथे । मिले नमिलेको सच्याउने काम हुन्थ्यो । यो काम उनको निवास र त्रिभुवन स्मारक समितिको कार्यालय (पहिला महाङ्काल स्थान र पछि थानकोट) मा हुन्थ्यो । उनले सानो भनेर कहिले सानो व्यवहार गरेनन् । एकदिन महाङ्काल स्थानमा बद्रीविक्रम थापा, भिमबहादुर अधिकारी जस्ता ठूला व्यक्तित्वलाई मेरो प्रशंसा गरेर चिनजान गराएउँदा म निकै लज्जित भएको थिएँ । त्यस्तै प्रसङ्ग दाजु र मलाई पूर्णप्रकाश नेपाल ‘यात्री’ सँग चिनाउँदा पनि भएको छ । चालिस सालतिरको कुरा हो, अस्कल कलेजमा प्रगतिशील साहित्यकारहरुको गोष्ठि रहेछ, उनले दाजु र मलाई लिएर गए र हामीलाई ठूला सात्यिकारहरु (निनु चापागाइँ, रमेश विकल, मञ्जुुल आदि) सँग चिनाए ।

उनी कति सामान्य थिए भन्ने अर्को प्रसङ्ग उल्लेख गरौं, एकदिन उनको नयाँ बर्षको शुुभकामना दिनेगरी लेखिएको लामो कवितालाई फाइनल गर्न ओमबाहलको निवासमा बोलाएका थिए । दिउँसोको समय थियो । घरमा शायद अरु कोही थिएनन् । युुगकवि आफै भान्छामा गएर मालपुुवा, चना र अण्डा लिएर आए । मैले अण्ड खाने गरेको थिइन । चनामाथि अण्डा राखेको देखेर अलि निगनिग मानँे । तर उनको आग्रहका कारण अण्डा पन्छ्याएर खाजा खाएँ । केहीपछि खरिदार भएँ । कार्यालयमा हाकिमले पेलेर जिल्लातिर हुत्याइदिए । मेरो पढाइ विग्रिन्छ भनेर कविले म मन्त्रीलाई भन्छु, त्यसो गर्न पाइन्छ भने । सबै मन्त्रीहरुले उनलाई राम्रो आदर गर्थे । तर भनसून गर्न हुन्न भनेर उनलाई मन्त्रीसम्म पुुग्न दिइन । उनले लेखेका सबै कृतिहरु हामीलाई दिएका थिए । एक दिन उनले एकजना ठूला आख्यानकारको आख्यानले मदन पुरस्कार पाउनुुपर्छ भन्ने छलफल पनि हामीसँग गरेका थिए (तर ती व्यक्तिले त्यो बर्ष पुरस्कार पाएनन्) । यी प्रसङ्गले युुगकविको सरल र सहयोगी चरित्र देखाउँछ ।

२०४५ सालमा म शाखा अधिकृत भएर विभिन्न जिल्लामा खटिइ जानुपरेकोले त्यसपछि मेरो र युुगकविको भेटघाट निकै पातलियो । तर उनको कितावमाथि विस्तृत समलोचनात्मक अन्वेषण गरी ‘युुगकवि सिद्धिचरण ः कृति र प्रवृत्ति विश्लेषण’ तयार गरेँ । तर उहाँलाई थाहै नदिइ कृति देखाउने मेरो अभिलाषा पूरा भएन । साझा प्रकाशनले पनि सात–आठ बर्ष अल्झायो । नारायण गजुरेल र गणेश रसिक महाप्रवन्धक भएको समय अलि छिटो प्रकानका लागि अनुरोध पनि गरेँ, पुस्तक प्रकाशन गर्न सकिएन, प्रकाशनबाट हुन्न भन्ने उत्तर पनि आएन । लामो समय पाण्डुलिपि त्यहा रहँदा हराउला भन्ने डरले फिर्ता लिएँ । निकै पछि २०६८ मा दायित्व वाङ्मय प्रतिष्ठानबाट यो समालोचनासङ्ग्रह प्रकाशित गरेँ । उनको विषयमा लेखिएको समालोचना उनी स्वर्गेभएपछि मात्र प्रकाशन भयो । यसमा युुगकविप्रति कति न्याय गर्न सकेँ म भन्न सकिक्तन । जेहोस् पुुस्तक प्रकाशन भएकोमा भने खुसी छु । केही बर्षअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदा साझा प्रकाशन जस्तो ऐतिहासिक पृष्ठभूमि र गरिमा भएको संस्थाको सङ्कट समाधानका लागि काम गरेँ । प्रकाशनलाई खारेज हुनबाट बचाउन सकेँ । यसको पृष्ठभूमिमा पनि युुगकविसँगको मेरो सम्बन्ध, त्यस सिलसिलामा कविज्यूको समग्र साहित्यिक विश्लेषणमा लेखिएको कृति नै थिए ।

उनको सरल स्वभावलाई बौद्धिक चिन्तक सि के प्रसाई, राजनीतिज्ञ एवम् महलिा अधिकारनेतृ साहना प्रधान, राष्ट्रकवि माधव घिमिरे, राजनीतिज्ञ मातृकाप्रसाद कोइराला, बरिष्ठ साहित्यकारहरु श्यामदास बैष्णव, बासु शशी, बासु पासा, बरिष्ठ राजनीतिज्ञ चन्द्रप्रकाश मैनाली, बरिष्ठ मूर्तिकार ठाकुरप्रसाल मैनाली, राजनीतिकर्मी पुरुषेत्तम बस्नेत, आख्यान महानायक रमेश विकल लगायतका बरिष्ठ व्यक्तित्वहरुले प्रशंसा गरेका छन् ।

कविको व्यक्तिगत व्यवहार र सादापन उनका सिर्जनामा पनि देखिएका छन् । समालोचक कृष्णचन्द्रसिंह प्रधान भन्दछन् ‘कविको मूल्य कर्मको इमान्दारी हो’। कतिपय विवेचकहरुले उनलाई सामन्तवादी शैली देखाएको प्रसङ्ग पनि उठाएका छन् । तर मेरो अनुुभवमा कविताजस्तै कवि छन्, र कवि जस्तै कविता छन् । पात्रजस्तो प्रवृत्ति र प्रवृत्तिजस्तै चरित्र उनको विशेषता हो भन्ने मलाई लागेको छ । अरुहरुमा कस्तो प्रभाव प¥यो मलाई थाहा हुने कुरा भएन तर मैले अन्तरङ्ग सङ्गत गरेको युगकविमा त्यो इमान्दारी पाएको छु । त्यसैले ‘मंगलमान’ होस् कि ‘विश्वव्था’, ‘तिम्रो वासित पैसा छैन’ होस् कि ‘मेरो प्रतिविम्व’, सवैमा कलामूल्य र जीवनको यथार्थ समान छन् । उनले प्रतिनिधित्व गरेको कालखण्डहरु जे जस्ता छन्, कविता कर्ममा तिनै बिम्ब मुखरित छन् । लेखक पुरुषोत्तम बस्नेत भन्छन् ‘कवितामा क्रान्तिकारी, विद्रोही देखिए पनि सामाजिक रुपमा सहृदयी र सुसांकृत छन् ।’ यही नै उनको महानता हो ।

युुगकविका प्रकाशित कृतिहरु
युुगकविले साहित्य यात्राको शुरुवात १९८४ मा ‘सन्ध्या’ काविताबाट र २०४९ मा ‘नयाँ युुगको आगमन’ (बर्ष १०, अङ्क ३४, वगर, २०४९) मा विश्राम लियो । उनका स्वर्गीय भैसकेपछि पनि उनका अप्रकाशित कृतिहरु प्रकाशित हुने क्रम जारी नै छ । उनका नेपाली तथा नेपाल भाषामा प्रकाशित रचनाहरु यस प्रकार छन् ः

फुटकर कविता:
जुनेली रामत निर्झर (शारदा, बर्ष १, अङ्क १, १९९१)
प्रातकालीन किरण (शारदा, बर्ष, १, अङ्क १, १९९१)
एक्लै हिड्न मन लाग्छ (प्रगति, बर्ष १, अङ्क ३, २०१०)
एक्लै तास खेल्दा (नवनिर्माण, बर्ष १, अङ्क १, २०१२)
या निशा सर्वभूतान (नवनिर्माण, बर्ष १, अङ्क २, २०१२)
जीवन र मृत्यु (रत्नश्री, बर्ष ४, अङ्क ३, २०२२)
आवाज (रमझम, बर्ष ३, अङ्क १, २०२३)
विहेपछि (रत्नश्री, बर्ष ४ अङ्क, ४, २०२५)
करवीर मसान (मधुपर्क, बर्ष १७, अङ्क ७, २०४१)
कुहिरो र घाम (मधुपर्क, बर्ष १८, अङ्क ३, २०४२)
मृत्युको सुरिलो स्वर (मधुपर्क, बर्ष २०, अङ्क ४, २०४४)
गणेश–बन्दना (मधुपर्क, बर्ष २१, अङ्क ३, २०४५)
मरो कविता पढ्नेहरुलाई (मधुपर्क, बर्ष २४, अङ्क ४, २०४८)
नयाँ युुगको आगमन (वगर, बर्ष १०, अङ्क ३४, २०४९)

कवितासङ्ग्रह:
कोपिला, २०२१
मेरो प्रतिबिम्ब, २०२१
कुहिरो र घाम, २०४५,
सिद्धिचरणका प्रतिनिधि कविता, २०४५
बाँचिरहेको आवाज, २०४६
तिरमिर तारा, २०४६
झिलिमिली जूनकिरी, २०५९

खण्डकाव्य:
शवरी, २००४
उर्वशी, २०१७
ज्यानमारा शैल, २०२३
विश्वव्यथा, २०३१ (शोककाव्य)
मेरो नेपाल, २०३९
जूनकिरी, २०४९
मङ्गलमान, २०४९
आँशु, २०५०
भीमसेन थापा, २०६०
बालीबध, २०६७ (पद्य नाटक)

नेपाल भाषामा प्रकाशित कविता
सीस्वाँ, २००७
फूस्वाँ, २०१७
ग्वय्स्वाँ, २०४७

युुगकवि सिद्धिचरण श्रेष्ठले कविता बाहेक अन्य रचना पनि गरेका छन् । मधुपर्क (बर्ष ३५, अङ्क ३, २०५९) मा नमसकार शीर्षकको निबन्ध प्रकाशित छ । त्यस्तै गरिमा (बर्ष ६, अङ्क ११, २०४५) मा चोर नाटक प्रकाशित छ । उनले थुप्रै साहित्यिक सम्वार्ता र विचारहरु छन् । तर उनको आत्मकथा वा संस्मरण भने छैन ।

युुगकविको साहित्यिक योगदान
स्वच्छन्दतावादी धाराका प्रवत्र्तकमध्ये मानिने कविलाई उनको कवितामा रहेको युुगीन आवाजका कारण नेपाली साहित्यमा युुगकविको उपाधि दिइएको छ । उनका कविताले त्यतिबेला प्रख्याती पाउन थाल्यो जव राणा शासनका विरुद्धमा नेपाली जनमानस विद्रोहमा उत्रिदै थियो । प्रजातन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा उनका कविता जागरणका उर्जा थिए । उनका कविताका कारण राणा शासनले सर्वस्वसहित १८ बर्षको कैद सजाय दिएको थियो । कारागारमा पनि उनका कविताले गणेशमान सिंह, खड्गमान सिंह लगायतका योद्धालाई जीवन बाँच्ने, विद्रोह जगाउने काम गर्दथ्यो भन्ने थोरै प्रसङ्ग माथि नै उल्लेख गरिएको छ ।

सिद्धिचरण श्रेष्ठको कविताको चर्चा त्यसबेलादेखि साहित्यिक जगतका बढी महत्व पाउन शुरु गयो, जब दार्जिलिङ्गबाट नेपाली साहित्य सङ्गम पत्रिकामा सूर्यविक्रम ज्ञवालीले वि स १९९३ मा ‘नेपाली साहित्यका दुुईतारा’ शीर्षकमा लेख प्रकाशित गरे । समकालीन अवस्थामा लक्ष्मीप्रसाद देवकोटको समकक्षमा राखेर यसरी लेख प्रकाशित हुनुु निकै ठूलो कुरा थियो । यसले स्वयम् कविलाई पनि राम्रा कविता लेख्न प्रेरणा दिएको थियो । त्यसपछि उनका विषयमा रत्नध्वज जोशी, ईश्वर बराल, रामकृष्ण शर्मा, अरुणचन्द्र प्रधान, आनन्ददेव भट्ट, माणिकलाल श्रेष्ट, ठाकुरप्रसाद पराजुली, ताना सर्मा, राजेन्द्र सुवेदी, अभि सुवेदी, कृष्णचन्द्रसिंह प्रधान जस्ता सिद्धहस्त समालोचकहरुले युुगकविको साहित्यिक योगदान र प्रवृत्तिका विषयमा प्रकाश पारेको देखिन्छ । उनको साहित्यिक योगदानलाई लिएर विश्वविद्यालयहरुमा समेत दर्जनौ शोध अनुसन्धान भएको छ । पछिल्लो पुस्ताका सबैजसो समालोचकहरुले उनको विषयमा लेखेका छन् । मैले पनि ‘युुगकवि सिद्धिचरण ः कृत्ति र प्रवृत्ति विश्लेषण’ समालोचनात्मक कृति प्रकाशन गरेको छु । उनको साहित्यिक योगदानको अधिमूल्यन भयो भन्ने भनाई पनि सुनिन्छ । तर अधिमूल्यन वा न्यूनमूल्यन के भयो भन्ने कुरा इतिहासले नै बताउने छ ।

मैलै मेरो समालोचनासङ्ग्रहमा ‘अभिव्यञ्जना यात्राप्रति’ मा उनको साहित्य साधानलाई प्रमुख पाँच प्रवृत्तिमा उल्लेख गरेको छु:
विद्रोह र क्रान्तिकारिता
राष्ट्रप्रेम
प्रकृति पे्रम
जीवनवोध
बिम्ब योजन
साथै ‘युुगकवि सिद्धिचरण ः कृति र प्रवेत्ति विश्लेषण’ प्रगतिवादी धारा, रोमान्टिक धारा र आत्मअभिव्यञ्जना र नवीनता र बैचारिकताका आयामबाट उनका समग्र कविताको विश्लेषण मूल्याङ्कन गरिएको छ । साथै सिद्धिचरण र देवकोटीय स्वच्छन्दता, सिद्धिचरण र लेखनाथीय शास्त्रीयता र सिद्धिचरण र समेली बौद्धिकता शीर्षकमा तुलनात्मक विवेचना गरिएको छ ।

मान सम्मान तथा विभूूषण
सिद्धिचरण श्रेष्ठको कविता साधानालाई कदर गरी उनलाई जनस्तरबाट युुगकविको सम्मान दिएको छ । योभन्दा ठूला मान, पदवी, सम्मान, कदर र विभूूषण अरु के हुन्छ र ? यो महान सम्मान बाहेकका अन्य सम्मान, पुरस्कार र विभूूषणको उल्लेख गर्दा नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकारहरुलाई सम्मान गर्ने सबैभन्दा ठूलो पुरस्कार पृथ्वी प्रज्ञा पुरस्कारले २०४५ मा सम्मान गरेको छ । राष्ट्र प्रमुख (राजा) बाट प्रदान गरिने गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्ट, श्रीराम पट्ट जस्ता विभूूषण र पदकहरु प्राप्त गरेका छन् । साथै विभिन्न साहित्यिक संस्था, समुदाय र समाजसेवी निकायले पनि उनलाई पुरस्कार, कदर र सम्मान अर्पण गरेको छ । उनको समाज, साहित्य र राष्ट्रलाई गरेको योगादनको कदर गर्दै नेपाल सरकारले कटारी–ओखलढङु्गा सडकलाई सिद्धिचरण लोकमार्ग, ओखलढङु्गाको सदरमुकामलाई युुगकवि सिद्धिचरण नगरपालिका, ओखलढुुङ्गा, गाम्नामटार विद्यालयलाई युुगकवि सिद्धिचरण उच्च मा वि, जलेश्वरको एक प्राथमिक विद्यालयलाई युुगकवि सिद्धिचरण प्रा वि नामकरण गरेको छ । साथै सिद्धिचरण प्रतिष्ठान समेत स्थापना भएको छ । उनको कदर स्वरुप प्रतिष्ठान, प्रतिमा र पार्कहरु निर्माण भएका छन् ।

सिद्धिचरण सामन्तवादी थिए ?
प्रगतिशील कविका रुपमा ख्याति कमाएका र सिङ्गै युुगको नेतृत्व गरेका युुगकविको लेखनी र व्यवहार एकै नभएको उल्लेख बरिष्ठ साहित्यकार रोचक घिमिरेले गरेका छन् । आफ्नो कृति ‘सम्झनामा फक्रिएका थुँगाहरु’ अन्तर्गत ‘कवि सिद्धिचरण श्रेष्ठको सामन्ती चरित्र’ उक्त कुरा घिमिरेले उल्लेख गरेका हुन् । उनले उल्लेख गरेका छन् ‘२०२५ पुस २६ गते ब्रम्हपुरीबाट काजीदाइलाई भेट्न म अर्ने गएँ । उनी खलिहानमा नै घाम तापेर बसेका थिए । एकजना गरिब किसान धानको दाइँ गरिरहेका थिए । उनले काजीदाइको खेत अधियाँमा कमाएका रहेछन् । त्यसै खेतको दाइँ भैरहेको थियो । दाइँ सकियो । धान उडाइबताई सकियो । एक ठाउमा थुप्रो लगाइयो । हद्वे (जोखने मानिस) बोलाइयो । तिनले जोखेर बराबर दुुईटा थुप्रो लगाइदिए । त्यसपछि काजीदाइले ती किसानलाई भने ‘तैले खाएको कर्जा तिर्नुछ, तेरो भागको त्यो थुप्रो पनि यतै मिसा ।’ ती किसानले हात जोड्दै भने ‘मालिक १ हाम्रा धियापुता भूूख्ले मरजातै, तिनिक दया करु ।’ (मालिक छोराछोरी भोकै मर्छन, केही त दया गर्नुुस्) । काजीदाइले कड्किएर हप्काउदै भने ‘सावा व्याज सबै गर्दा त्यतिले त पुुग्दैन । अझ तँ माथि दुुई मनजति बाँकी नै रहन्छ, त्यसको कागत गर । धानसान पाउदैनस् ।’ विचरा ती गरिब किसान हात जोडेर रुन्चे स्वरले विन्तीभाउ गर्दै रहे । तर काजीदाइको मनमा कत्ति पनि दया पलाएन । उनको यस्तो निर्दयी स्वरुप कहिल्यै देखेको थिइनँ । मलाई घोर अचम्म लाग्यो र भनेँ ‘काजीदाइ यति सारो त गर्नू भएन, विचरालाई केही त दिनुस १ यसबाट तपाईको सिद्धान्त र व्यवहारमा फरक पर्छ नि ।’

काजीदाइले भने ‘हेर्नुस मैले यसलाई दिएँ, अथवा कर्जा माफी गरिदिएँ भने मेरा अरु आसामीले पनि यस्तै खोज्छन् । यसो गरेर कहाँ साद्दे हुन्छ र १ ….सिद्धान्त भन्ने कुरा व्यवहारमा उतार्न कहाँ सकिन्छ र १’

काजीदाइको यस्ता कुरा सुनेर म अवाक भएँ । उनले गर्ने गरेको समाजवादी र प्रगतिशील कुरा देखावटी स्वाङ् पो भन्ने मलाई लाग्यो । संवेदनशील, सहृदयी, भावुक र प्रगतिशील भनिएका कविमा त्यस दिन देखिएको क्रुरता मैले कहिल्यै विर्सन सकिन । पछि पनि काजीदाइले कहिलेकाँही प्रगतिशीलतका कुरा गर्दा म उनीबाट भएको त्यो अप्रियघटना सम्झउने गर्थे । काजीदाइ असजिलो मान्दथे ।’

काजीदाइलाई अत्यन्तै प्रशंसा गर्ने गणेशमान सिंहले पनि पछि उनीमा परिवर्तन आएको कुरा सङ्केत गरेका छन् । उनले भनेका छन् ‘युुगकविका योगदानहरु अमर छन् । सच्चा मान्छे कही अल्मलिएपनि ती वास्तवमा सच्चा नै हुन्छन् । २०१७ सालको घटनापछि सिद्धिचरण पञ्चायती सत्ताको निकट हुन पुुगेको सुन्द आफूखिन्न भएको र २०३३ सालमा भारत प्रवासबाट स्वदेश फर्केपछि आफू र आफ्ना पार्टीका साथीहरुप्रति सिद्धिचरणको सद्भाव र भने कायमै रहेको थाहा पाउँदा आफूप्रसन्न भएको थिएँ । सच्चा मान्छे घाम जस्तै हो, केही छिन बादल लागेर चमक हराएजस्तो देखिए पनि सूर्य त चम्कन्छ, चम्कन्छ ।’

देहवसान
युुगकवि सिद्धिचरण महाकवि लक्ष्मीप्रसाद देवकोटा, आख्यान महानायक रमेश विकल झै जीवनको अन्तिम समयसम्म पनि काव्य सिर्जनामा लागेको पाइन्छ भने उनका लेखनीमा शिल्प, विचार र युुगबोध कम भएको पाइदैन । ओखलढुुङ्गा, रोशी र कोशीको प्राकृतिक मनोरमले उनको साधनामा झल्किएको पाइन्छ भने मानवताप्रतिको प्रेम, राष्ट्रप्रति समर्पण र सामाजिक जागरण उनका कविताले बोकिरहेका छन् । जीवनको अन्तिम समयमसम्म सक्रिय रहेका र अव आफू अनन्त यात्रामा हिडेको अनन्य साथी र परिवारजनमा वताएका युुगकविको भौतिक शरीर २०४९ जेठ २२ गते विदा लियो । स्रष्टाहरु सिर्जनामा सँधै बाँचिरहन्छन् । उनको काव्य प्रवृत्ति र धारलाई उनीपछिका कैयन साधकले पछ्याइरहेका छन् । यनका कालजयी रचनामा उनी अमर छन् ।