अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०७ | Colorodo: 13:22

चिराकसँग एक दिन

राम खत्री, न्यु योर्क २०७८ पुष १७ गते १९:०९ मा प्रकाशित

लामो हुने भएकोले आजभोलि मलाई उपन्यास पढ्न निकै झर्को लाग्छ । उपन्यासले डोर्‍याएयो भने नसकिएसम्म छोड्न मन लाग्दैन । केही हप्ता अगाडि पदम विश्वकर्माको क्वारेनटाइन आइपुगेको थियो । मानवजगतलाई जीवन मृत्युको सँघारमा उभ्याउने कोरोना प्रकोपको यथार्थ चित्रण भएको होला भनी पढ्न थालेँ, नभन्दै एकै बसाइमा सक्न बाध्य भएको थिएँ ।

म हिजो घरमा कागजपत्र खोज्दै थिएँ । किताबहरूको चाङमा डा रेणुका सोलुको चिराक देखियो । रेणुका बहिनीलाई मैले जुममामात्र देखेको हो । निर्भीक भएर बोल्ने साहस उनमा देखेको थिएँ । लाग्यो, यो चिराकले उनको त्यो निर्भीकता, निर्भयता बोलेको छ र पाठकलाई जुरुकजुरुक उचालेको हुनुपर्छ । वर्तमान समाजमा चेतनाको आगो ओकलेको हुनुपर्छ ।

२३४ पृष्ठको ३५० रुपैयाँ पर्ने विक्रम सम्बत २०७५मा सगरमाथा प्रतिभा प्रतिष्ठानले प्रकाशन गरेको रहेछ यो कृति । पहिले पहिलेको जासुसी उपन्यासको साइजमा रहेको यो उपन्यास हिड्दा—हिड्दै पनि पढ्न मिल्ने खालको छ । खल्तीमा हालेर पनि हिँड्न सकिन्छ । जहाँ गएर उभियो, निकालेर पढ्न सकिन्छ । सजिलो साइजको उपन्यासभन्दा उपयुक्त होला । यसभन्दा अगाडि पढेका उपन्यासमा निबन्धको जस्तो शीर्षकहरू भएजस्तो लाग्दैन । चिराकमा त शिर्षकहरुपनि रहेछ ।

अन्तिम निर्णयबाट उपन्यास सुरु हुन्छ । आमाछोरीबिच छोरीको विवाहको कुराबाट उपन्यास अगाडि बढ्न थाल्छ । कुलिन परिवार, राम्रो पढाइ—लेखाइ, समाजमा ख्याति कमाएका पात्रहरूको चयन गरिएको छ । पुरुष प्रधान समाजमा घरका मूलीको व्यवहारले कसरी परिवारका अन्य सदस्यहरू आफू जत्तिकै पढाई, आफू सरहकै वा सो भन्दा बढी इज्जतको जागिर, समाजमा मान प्रतिष्ठा पाउँदा—पाउंदैपनि आफ्नै घरको, आफैले लामो समयसम्म चिनेको, माया गरेको र सङ्गै उठबस गरेको पुरुषबाट हेपिन, दबिन र तुच्छ भएर बाँच्न बाध्य भएका छन् । मैले कल्पना गरे जति आगो नै ओकल्न त सकेन तर समाजको आधा अंस ओगेटा महिलाहरूलाई चेतनाको सुइरोले घोचेको भने पक्कै छ ।

समाजमा हरेकको आ—आफ्नै अस्तित्व छ । एउटाबिना अर्कोको सार्थकता झन्डै असम्भव जस्तै छ तर पनि पुरुष प्रधान समाजले यसलाई अझै स्वीकार गरिसकेको छैन । यसै बस्तुस्थितलाई ध्यान दिएर विशेष गरेर महिलाहरूले क्रान्तिको शंखनाद आफ्नै घरबाट सुरु गर्नु पर्छ भन्ने चेतनाको बीउ यो उपन्यासले रोपेको मैले पाएँ । पोथी बास्नु हुन्न भन्ने समाजमा भालेको दम्भ र अहँकारले कुनै पनि बेला त्यो समाजमा नौलो बिहानी आउन सक्ने सम्भावनाको सङ्केत दिएको छ । यदि भालेको दम्भ र अहंकार समयमै रोकिएन भने त्यो अहंकारी घर त पक्कै विनाश हुन्छ भने समाजलाई पनि विनाशको मुखैमा धकेली दिन सक्छ । चेतना समयमै आउनु जरुरी छ ।

मलाई यो उपन्यास रमाइलो लाग्नु र झन्डै—झन्डै एकै बसाइमा सक्नुमा उपन्यासले चुनेको भौगोलिक परिवेश र भाषा पनि हो । डा. रेणुकाले उपन्यासको परिवेश कञ्चनपुर कैलाली, धनगढी, महेन्द्रनगर, दार्चुला, डोटीको खप्तड, तुफान डाँडा, डाडेलधुरा खोडपे, बझाङको चैनपुर, कर्णालीका चिसापानी, महाकालीका चाँदनी र दोधारा काठमाण्डौको कीर्तिपुर ट्याङलाफाँट, भृकुटीमण्डप तथा प्रदर्शनी मार्गको प्रयोग गरेकी छिन । साथै त्यहाँको स्थानीयहरूले बोलिने भाषालाई जस्ताको त्यस्तै प्रयोग गराएकी छिन् । उपन्यासले सजिबता पाएको महसुस मैले गरेँ । ती क्षेत्रका बासिन्दाहरूको छ महिना यता बसेर काम गर्ने । यता खाली भएपछि छ महिना उता (भारत) जीविकाको लागि जाने परम्परा उहिलेदेखि अभैm चलिरहेकै छ । सरकारले अभैm आफ्ना जनतालाई काम र मामको व्यवस्था गर्न सकेको छैन भनेर सरकारलाई सचेत हुने आग्रह पनि देखाइएको छ । त्यति मात्र नभएर नेपालको सिमानाभित्रै आएर भारतीय पुलिसले नेपाली जनताको खानतलासी लिनु कतिसम्म कमजोर नेपालको सरकार र यहाँका नेताहरू रहेछन् भनेर खुल्ला चुनौती दिइएको छ । राष्ट्रियताको नारा लगाएर जनताको मन जितेर सत्तामा टिकिरहने उद्देश्य लिइ देशको नक्सालाई एकलौटी रूपमा सच्चाई राष्ट्रवादी नेतालाई भएको आभासको इच्छा राख्ने नेतालाई यो एउटा कडा प्रहार पनि हो । आफ्नो देशभित्र अर्को देशले जानकारी नै नदिई ८० किलोमिटरको बाटो बनाउँदा पनि टुलुटुलु हेरिरहने सरकारले राष्ट्रियताका खोक्रा नारा लगाएर सोझा जनता भड्काउने काम गरिरहेको बेलामा यो उपन्यासले पाठकलाई यस्ता ढँटुवा नेताबाट सावधानी हुनुहोला भन्ने सूचना दिन खोजेजस्तो पनि मलाई लागेको छ ।

एउटी कुलिन, सहनशील, पढेकी महिलाले आफ्नो र घरपरिवारको इज्जतको ख्याल गरी घरभित्र आफूलाई परेको पीडा र दर्दलाई आफैभित्र लुकाइ राखिन जसको फाइदा दम्भी पुरुषले मौका मिल्नासाथ लिइ रह्यो । यता नारीको अस्मिता लुटिँदै गयो उता त्यही पुरुषको समाजमा मान सम्मान र प्रशंसा बढ्दै गयो । त्यस्ता दम्भी भालेहरूको दुइटा रूप हुन्छ एउटा घरभित्र अर्को घरबाहिर । उपन्यासका देवेन्द्र यस्तै मध्येका एक पात्र हुन । त्यसैले उपन्यासले बोल्छ —तानासाह दरबारबाट घरबारमा आए । उपन्यासको सेरोफेरो महिला हकहितमा नै समाजको हित हुन्छ र समाज अगाडि बढ्न सक्छ भन्नेछ ।

मेरो अनुमान के थियो भने देवेन्द्रले तुलसीमाथि प्रतिदिन जुन किसिमले अभद्र व्यवहार गरिरहेका थिए त्यसको कडा जवाफ वा प्रतिकार छिट्टै तुलसीले दिने छिन् । एक दुई पटक मौका दिएर त्यसको छिनोफानो गर्ने छिन । तर घरकै दुई जनाको अस्मिता दाउमा लागिसकेपछि बल्ल तुलसीलाई यसको जड मै हुँ भन्ने लाग्यो । उनीसँग सहयोग माग्न आउनेहरूले पनि तुलसीको कुरा कट्दा पनि उनी चुपै बसिन । उनी योग्य भएर पनि अयोग्य साबित भइन । त्यसैले चिराकले जति आगो समाजमा लगाउनु पर्थ्यो त्यति लगाउन सकेन । तर पनि आगोको झिल्को भने फालिदिएको छ समाजमा ।

यो भन्दा बढी लेख्न चाहिन । पाठकको मनको कौतुहलतालाई मार्नु पाप हो जस्तो लाग्यो । त्यसैले बाँकी कथा पाठकहरू आफैले पढेर विचार पोख्नु होला ।