अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

शून्यभित्र हराउँदा

डा. रेणुका सोलु २०८१ जेठ १३ गते १४:५९ मा प्रकाशित

जन्म थलो गोरखा जिल्ला र अमेरिकालाई कर्मथलो बनाइरहेकी साहित्यकार रश्मि भट्टद्वारा लिखित शून्यबाट सुरु कथासङ्ग्रह भर्खरै बजारमा आएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिजका कार्यकारी सदस्य भट्ट सशक्त छन्द कविका रूपमा परिचित हुन् । आफूलाई लागेका कुरा निर्भीक बोल्न अनि लेख्न सक्ने उनी अमेरिकामा बसेर पनि नेपाली भाषा साहित्यको विकास र विस्तारका लागि अहोरात्र खटिएकी छन् । यसैको परिणाम अहिले चौथो कृतिका रूपमा ‘शून्यबाट सुरु’ प्रकाशित भएको छ । उक्त कृति लेखकले आफ्ना पिता स्व. रोहिणीदेव भट्टज्यूमा समर्पित गरेकी छन् । जम्मा १९ वटा कथा सङ्ग्रहित उक्त कृतिभित्रका कथाहरू प्राय सबै जीवन्त लाग्छ । संरचनाका हिसाबले छोटा लाग्ने यी कथाहरू रसस्वादन गर्दै जाँदा ज्यादै मीठा लाग्छन् । प्राय सबै कथाका विषयवस्तु सत्यमा आधारित लाग्छन् । ‘अनुत्पादक’ शीर्षकको कथाबाट शुरू भएर ‘अत्यन्त पीडा’ शीर्षकमा पुगेर पुस्तकको बिट मारिएको छ ।

‘अनुत्पादक’ शीर्षकको कथामा कवि र डाक्टर पात्रद्वारा साहित्य र मेडिकल क्षेत्रको महत्वका बारेमा बहस गराइएको छ । नेपाली शिक्षक र साहित्यलाई अनुत्पादक सम्झने अनि मेडिकल लाइन अत्यन्तै सम्मानित सम्झने डाक्टर काम र पैसाको आधारमा प्रतिष्ठा कमाउने भाग दौडमा दौडिरहँदा पत्तै नपाई डिप्रेसनको औषधि समेत सेवन गर्नु परेको र अन्त्यमा साहित्य, गीत, गजल– भजन जस्ता माध्यमबाट नै पुनर्ताजकी भएको कुरा उल्लेख गरिएको छ । ‘द्वन्द्व’ शीर्षकको कथामा एकले अर्कालाई नबुझ्दादाम्पत्य जीवन खल्लो हुने, मानवता भन्दा बढी भौतिक वस्तुलाई प्राथमिकता दिँदा पनि द्वन्द्व बढ्ने र अति हुँदा जता पनि खती हुने प्रसङ्ग लेखिएको छ । ‘साधक र साधना’ कथामा किसान, कवि र समाजसेवीको साधनाको प्रसङ्ग उप्काइएको छ भने ‘पुनरागमन’ कथामा कर्मघरको नाममा दास भएर बाँच्नुभन्दा जन्मघरमा मान्छे भएर बाँच्ने प्रण गरेकोले परिवर्तनको संकेत देखाउन खोजिएको छ । ‘इच्छाको घर’ कथामा यो समाजमा ठगहरूको बिगबिगी, विश्वासमा खडेरी, आफन्तले नै ठगेको प्रसङ्ग एकातिर छ भने अर्कातिर अति नै महŒवकाक्षीँ भयो भने पनि मान्छेको व्यवहार बिग्रन्छ भन्ने सन्देश दिन खोजिएको छ ।

रश्मि भट्टद्वारा लेखिएको प्रस्तुत कथासङ्ग्रह ‘शून्यबाट सुरु’ भित्रको ’शून्यबाट सुरु कथामा शून्यको महत्वका बारेमा प्रकाश पारिएको छ । कृतिको नाम नै यही कथाको शीर्षकलाई राखिएको उक्त कथामा शून्यलाई आत्मसात् गर्ने मान्छे प्रगति पथमा लम्कन सक्ने भाव अभिव्यक्त भएको छ । मान्छेले शून्यलाई महत्व दिँदैनन् तर शून्य त प्राणिजगत्को जीवनको मुख्य सार हो भनिएको उक्त कथामा यसो भनिएको छ “यहाँ त जुन काम खोजेर सुरू गर्न खोजे पनि एक पटक भाफू र आफ्ना सबै ज्ञानलाई तिलाञ्जली दिएर शून्यबाट सुरु गर्नुपर्ने रहेछ । जो यो शून्यदेखि डराउँछ, ऊ शून्यमै विलीन हुन सक्दछ । जो शून्यलाई आत्मसात् गर्छ ऊ अवश्य अघि बढ्छ । शून्य त जीवनको मुख्य सार रहेछ, शून्य त महाशक्ति रहेछ । शून्य हुनु भनेको सकिनु हैन रहेछ, बिलाउनु हैन रहेछ । हरेक पटक जीवनलाई नयाँ ढुङ्गले सुरुवात गर्नु पो रहेछ, अनेकौँ रङ्गमा रमाउनु पो रहेछ र दिमागलाई फराकिलो बनाउनु पनि रहेछ । अङ्कले पनि जति ओटा शून्यलाई अँगाल्न सक्यो त्यति ठुलो हुँदो रहेछ ।” (पृष्ठ ५९) यसै गरी प्रस्तुत सङ्ग्रहभित्र सङ्गृहित “आँखाका दुई कुण्ड” कथामा बिन लादेनको मिशायलले ध्वस्त बनाएको ट्वीन टावरको भूभागको भग्नावशेषमा दुई वटा ठूलाठूला पानीका कुण्ड भएको र त्यसको वरिपरि त्यस बेला मरेका मध्ये सनाखत हुन सकेका मानिसको नाम लेखिएको कुरा जानकारी गराइएको छ त्यो दिनलाई अमेरिकामा कालो दिन भनिने गरेको कुरा समेत उल्लेख गरिएको छ । त्यही एक कथामा दश वर्ष जनयुद्धका नाममा आफ्नो एक मात्र भएको भाइ पनि गुमाएको पीडा साथै पीडाले अविरल बगेका आँसु जम्मा भएर बनेको पो हो कि यो कुण्ड भन्ने भाव समेत व्यक्त गरिएको छ । ‘सार्थक’ कथामा जुन देशबाट आएका भए पनि अमेरिकामा रहेका प्रवासीहरू पीडामा नै रहेको प्रसङ्ग छ । प्रवासीहरूलाई गरेको व्यवहार देख्दा अमेरिकाको शब्दकोशमा न्याय, मानवअधिकार र मानवता भन्ने शब्द नै छैन कि क्या हो भनेर त्यहाँको कठोरपनालाई प्रस्तुत गरिएको छ । “आहा पैसा, थुइक्क पैसा” कथामा अमेरिकामा भएको श्रम शोषण, म्यानेजरहरूको दादागिरी, जे पायो त्यही काम गर्नुपर्ने बाध्यता, पैसाको लागि स्वाभिमान गुमाउनुपरेको दुखद अवस्थाको प्रसङ्ग उप्काइएको छ ।

‘शून्यबाट सुरु’ कथासङ्ग्रह भित्र रहेको ‘पश्चिमा’ शीर्षकको कथामा डिभोर्सपछि बिहे हुँदा पनि आ–आफ्ना बच्चासहित सङ्गै बस्ने सम्झौता भएको पक्ष सकारात्मक रहेको छ । आफूले जन्माएका सन्तानलाई आफ्नो जीवन साथी प्राप्तिको उन्मादमा सडकमा नछोड्ने बेवारिसे नबनाउने, बरु दुबै जना मिलेर सबै सन्तानलाई आफ्नै साझा सन्तान सम्झने कुरा राम्रो भए पनि डिभोर्स र पुनः विवाहको फेसन देख्दा यो छाडा तन्त्र हो कि उदार तन्त्र हो भन्ने सवाल पनि यहाँ उठाइएको छ । “रोबोट जिन्दगी” कथामा विदेशमा भएको शोषण नीति, ग्राहकको चाहना वा म्यानेजर र डाइरेक्टरको आदेशमा चल्नुपर्ने बाध्यता, काममा जाँदा र फर्किदा लाग्ने घण्टौँको समय, मेशिनरी युग, प्रेम र पनि पैसा मेसिनमा नै साटिने रहेछ भन्ने मर्म लेखिएको छ । “बेखबर” कथामा किशोरावस्थाको बेलामा भएको बच्चाहरूको जिद्धीपना उल्लेख गरिएको छ । एउटा छोरा हुनु, बाह्र कक्षा पास भएपछि विदेश जाने भनेरै जिद्धि गर्नु, बाबुआमासँग भएको सबै सम्पत्ति बेचेर छोरो विदेश पठाउनु, अमेरिका पुगेर पनि काम नपाउनु, पटक पटक खर्च मगाइरहनु, साथीहरूको लहै लहैमा लागेर समुन्द्रमा पौडी खेल्न जाँदा डुबेर मर्नु, अमेरिकामा भएका साथीहरूले पनि बाहिर हेर्दा हामी र्छौं नि भन्ने तर भित्रभित्र शोषण गरिरहनु, अन्त्यमा उता छोरा पनि सकिनु, यता सम्पत्ति पनि सकिनु, आफ्नो कमाउने उमेर पनि सकिनु जस्तो संवेदनशील कुरा उठाइएको छ । ‘ह्याप्पी हलिडेज’ कथामा अपुरो पढाई, अवैध बसाई अमेरिकामा सबैभन्दा बढी कठिनाइ हो भन्ने सत्य ओकलिएको छ । सह–अस्तित्व स्वीकार गर्नु पर्ने कुरा आग्रह गरिएको छ भने ‘हड्सनको किनार’ कथामा अमेरिकास्थित हड्सन समुन्द्रको किनारमा भएको दृश्यलाई फोहोरी अनि छाडा संस्कृति भनिएको छ । नेपाली संस्कृतिमा हुर्किएकाले देख्न पनि नसकिने, मनले सोच्न पनि नसकिने त्यो प्रेम हो कि आशक्ति भन्ने सवाल उठाइएको छ यहाँ ।

‘अन्वेषण’ कथामा चुपचाप मनमा अथाह पीडा लुकाएर बाँचेकी छोरी जो चालीस उमेरको युगमा बाँची रहेकी छे, उसैको कथा लेखिएको छ । ‘हाम्रो संस्कार’ कथामा छोरा छोरामा पनि विभेद रहेको प्रसङ्ग, जन्मँदै सम्पत्तिको हकदार रहेको जेठो छोराको रूखो व्यवहार, कान्छो छोराको विवशता जस्ता प्रसङ्गले आमाको प्रेम भन्दा पनि सम्पत्तिलाई महŒव दिने गलत संस्कारलाई उजागर गरिएको छ । अन्तिम कथा ‘अव्यक्त पीडा’ मा बाह्र पास भएपछि बिदेसिएको छोरो बिस वर्षपछि घर फर्किएको बेला दिदी बेखबर बेपत्ता भएको, बिस वर्षको कमाई सबै ग्रीनकार्डमा खर्च भएको, यौवन र पैसा सबै सकरे पाएको ग्रीनकार्डले न यता सुख, न उता सुख, सबैतिर बेचैन जिन्दगी बाँचिरहेको तितो यथार्थ पोखिएको छ ।

समग्रमा भन्दा ‘शून्यबाट सुरु’ कथासङ्ग्रह भित्र रहेका कथाहरूमा अमेरिकामा रहेका प्रवासीहरूको पीडा लेखिएको छ । विदेशीहरूलाई केटा र केटी साथी बनाउनु, फेर्नु र छोड्नु भनेको नेपालीले कपडा फेरे भन्दा नि सजिलो अवस्था, आफ्नो क्षणिक यौन लालसाका लागि आफ्नो पति सँग बिछोडिएका महिलाहरूको कथा छ । किशोरावस्थाका केटाकेटीको जिद्धीपना र सन्तानलाई विदेश पढाउँदाको घमन्डीपनाले गर्दा यता न उताको भएको अवस्था, अपुरो पढाई र अवैध बसाएका कारण भोग्नु परेको कठिनाइ, सहअस्तित्व स्वीकार गर्नुपर्ने प्रसङ्ग उल्लेख गरिएको । बिहे भएपछि घर खानुपर्छ भन्ने छोरीलाई रटाएको हाम्रो नेपाली संस्कारका कारण जन्मघर फर्केर बस्न सहास नहुँदा विवाहित छोरी वेपत्ता भएको दर्दनाक पीडा पनि यहाँ व्यक्त गरिएको छ । एक छिन राम्रा फोटो खिचेर फेसबुकमा पोस्ट गरेजस्तो छैन अमेरिकामा बस्ने प्रवासीहरूको जिन्दगी, मान्छे लहैलहैमा जान्छ र दल्दल्मा फस्छ जस्ता कुरा लेखिएको प्रस्तुत कृतिभित्रका प्राय कथाहरूमा अवैध रूपमा अमेरिका पस्ने र फस्नेहरूको यथार्थ भोगाई उतारिएको छ ।

यो पुस्तक पढिसकेपछि विदेश जानलाई एक पटक होइन पटक पटक सोच्न बाध्य बनाउँछ । कृतिभित्रका सबै कथाहरू सरल, सहज बोधगम्य छन् । विदेश भनेपछि आँखा चिम्लरे हाम फाल्न खोज्नेलाई खबरदारी छ । प्रविधिमैत्री बनेर, हातमा सीप अनि मस्तिष्कमा जोस, मनमा लक्ष्य बोकेर मात्र विदेशको यात्रामा लाग्न सुझाव छ यहाँ । एकै बसाइमा पढेर सकिने सलल बगेको भाषा शैली भुइँमान्छेले समेत सहजै बोध गर्न सक्छ । पढ्दै जाँदा कतिपय कथाहरू अखबारभित्रका खबरहरू जाता पनि लाग्छन् । घटना प्रधान प्राय सबै कथामा विचार पक्ष, अत्यन्तै बलियो छ, सन्देशपरक छ । यति हुँदाहुँदै पनि प्रत्येक कथाको आख्यान पक्ष वा बनौट पक्ष चाहिँ अझै माΣन सकिने थुप्रै ठाउँ रहेको छ । अर्को संस्करणमा यतातर्फ पनि ध्यान पुग्यो भने ‘शून्यबाट सुरु’ कथासङ्ग्रहले एउटा तरङ्ग अवश्य ल्याउनेछ । विदेश जाने मनस्थिति बनाउने जो कोहीले एक पटक पढ्नै पर्ने कृति सार्वजनिक गरेर सरोकार पक्षलाई मार्ग निर्देश गरिदिएकामा लेखकलाई हार्दिक बधाई साथै कृति सफलताका लागि शुभकामना  ।

##########
डा. रेणुका सोलु
त्रिभुवन विश्वविद्यालय

प्रतिक्रिया