अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२८ | Colorodo: 03:43

ईर्ष्याको सिकार

राम खत्री, न्यु योर्क २०७९ वैशाख ९ गते १७:५१ मा प्रकाशित

सन् १९९१ को डिसेम्बरतिरको कुरा हो । चार वर्षको अवधि निकै भए पनि यहाँ छोटो अनुभव भइरहेको थियो । सुख—दुःख, हाँसी—खुसी, अप्ठ्यारा—सप्ठ्यारा परिस्थितिलाई पार गर्दै पेरिसमा बसेर काम गर्ने मेरो कार्यकाल सकिनै लागेको थियो । मलाई बदल्न मन्त्रालयका नयाँ मित्र नेत्रबहादुर मण्डनलाई खटाउने निर्णय भयो । नयाँ राजदूत कल्याणविक्रम अधिकारीले केही महिना मेरा लागि बसिदिनुहोस्, तपाईँका लागि म्याद थप गराउनेछु भनेर अनुरोध गर्दागर्दै पनि मचाहिँ छोराको पढाइका निमित्त जतिसक्दो चाँडो नेपाल फर्कने तयारीमा थिएँ ।

चार वर्षअघि मैले पुष्पजीबाट नियोगको हिसाब बुझ्नको लागि सात दिनको म्याद लिएर पेरिस आएको थिएँ । त्यति बेला हामी दुवै बेग्लाबेग्लै अपार्टमेन्टमा बस्यौँ । हाम्रो भेट कार्यालयमा मात्र भयो । हाम्रो पारिवारिक भेटघाट पनि महामहिम राजदूतले आयोजना गरेको रात्रि भोजमा भएको थियो । एकले अर्कोलाई दुःख भनौँ वा अप्ठेरो परिस्थितिमा पारेनौँ । चार वर्षपछि टण्डनजीले मसँग हिसाब बुझ्नको लागि पन्ध्र दिनको समय लिएर आउने निर्णय गराएछन् । मेरो आफ्नो अनुभवअनुसार बरबुझारथको लागि पन्ध्र दिनको आवश्यकता नपर्ने रहेछ । कुनै पनि नियोगको काम त्यति क्लिष्ट अर्थात् कम्पिलिकेटेड हुँदैन । प्रत्येक महिना मासिक रिपोर्ट तथा आय—व्ययको रिपोर्ट तयार गरेर नियोग प्रमुखबाट स्वीकृत गरेर मन्त्रालयमा पठाउने नीतिबमोजिम नियोगहरूले सो काम पूरा गर्दै आइरहेकै हुन्छन् । कुनै विशेष परिस्थितिमा बाहेक पन्ध्र दिन सँगै बस्ने स्वीकृति दिनु त्यति उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन ।

मेरा निमित्त सरकारले भाडामा लिएको एक बेड रुमको सानो अपार्टमेन्ट सानो परिवारको लागि चिटिक्क थियो । त्यो सानो अपार्टमेन्टमा हामी चार जना हाँसी खुसी गुजारा गरिरहेका थियौँ । नियमानुसार टन्डनजी आएको पन्ध्र दिनपछि मैले त्यो अपार्टमेन्ट उनलाई छोड्नुपर्थ्यो । पन्ध्र दिनसम्मको लागि होटेलमा बस्ने तथा अन्य खर्चको लागि सरकारले नेपाल छोड्नुअगाडि नै रकम भुक्तानी दिन्थ्यो । पन्ध्र दिनलाई मैले निकै छोटो अवधि सम्झेछु क्यारे अथवा उनको केही उद्धार होला भन्ने विचार मनमा आयो कि ? अहिले मलाई याद छैन । मलाई कुनै कानुनी बाध्यता नहुँदा नहुँदै मैले टन्डनजीलगायत उनका अन्य तीन जनाको परिवारलाई त्यति सानो कोठामा हामीसँगै राख्ने निधो गरेँ । पेरिसमा मात्र नभई युरोप र अमेरिकामा एक बेडरुमका अपार्टमेन्टमा दुई जनाभन्दा बढी मानिस कानुनी रूपमा बस्नै मिल्दैन भन्ने तथ्य त्यति बेला मलाई याद नै भएनछ ।

सबैभन्दा नराम्रो मन मानिसको हुने रहेछ भन्ने मलाई त्यसपछि पो अनुभूत हुन थाल्यो । त्यो सानो कोठामा आठ जना मानिसको बसाइ त्यो पनि पन्ध्र दिनसम्म । एकातिर चार जना निस्कनका लागि तयार भइरहेको अवस्था थियो भने अर्कोतिर चार जना त्यसैमा बस्नको लागि आएको अवस्था । आठ—आठ जनाका सामानहरूले कोठा भद्रगोल भएको छ, प्याकिङका लागि बाकसहरू कोठाभरि छरिएका थिए । हररोज एउटा बाथरुममा आठ जनाको लाइन । घरमा चुरोट पिउने मानिस कोही थिएन तर उनको परिवार बाथरुमभित्रै चुरोट तान्ने । एक सर्को चुरोट नतानी निन्द्रा नआउने रे । चुरोटको गन्ध र धुवाँले हामीलाई चाहिँ खोकी लागेर राती सुत्नै नसक्ने । अर्को तर्फ जसको जे सामान अगाडि देखिन्छ त्यही प्रयोग गरिदिने उनका परिवारको बानी रहेछ जसले गर्दा मलाई एकदमै अप्ठेरो स्थिति आइपर्‍यो । खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाउको अनुहारको अवस्थामा पुगेँ म । धैर्य गर्नुबाहेक मसँग अर्को कुनै उपाय पनि थिएन । यो भोगाइले मलाई नयाँ र ठुलो पाठ सिकायो । मलाई लाग्यो जीवनमा अब म यो भूल कहिल्यै गर्ने छैन र अन्य पोस्टिङमा गरिन पनि । येनकेन प्रकारेण पन्ध्र दिन सकियो र हामीले पेरिस छोड्यौँ ।

यसैसँग जोडिएको पिरलो झन्डै छ/सात वर्षपछि मैमाथि खनियो । त्यसैले सबैभन्दा नराम्रो मन मानिसको हुने रहेछ भन्ने निष्कर्ष निकालेँ मैले । आफन्त अनि साथीभाइका मन ईर्ष्यामा बद्लिन समय नलाग्दो रहेछ । म सन् १९९७ को जुनमा पेरिस हुँदै न्यु योर्क आइपुगेको थिएँ । नयाँ ठाउँमा केटाकेटीको स्कुल, परिवार तथा काममा समायोजन हुने क्रममा व्यस्त भइरहेकै थिएँ । पेरिसका नेपाली राजदूत महामहिम केशवराज झाले अगस्ट ४, १९९७ मा लेख्नुभएको पत्र आइपुग्यो । पत्र पढेर म छक्क परेँ, अलिअलि नर्भस पनि भएँ । पत्रमा दुइटा कुराको जिकिर थियो । पहिलो कुरा — दूतावासमा काम गर्ने स्थानीय सेक्रेटरी श्रीमती डाउडले जुलाई १५ बाट अवकाश लिएकी थिइन् । उनको उपदानको रकम माग गर्दा परराष्ट्र मन्त्रालय, आर्थिक प्रशासन शाखाको २०४७ साल भाद्र २८ को पत्र पठायो जसमा लेखिएको थियो — “स्थानीय सेक्रेटरी म्याग्डा डाउडको उपदान रकम पे्रmन्च फ्रयांक ४४,३८२।— यसैसाथ पठाइएको छ । आम्दानी खर्च देखाई ड्राफ्ट प्राप्तिको भरपाई पठाइदिनु ।” श्रीमती डाउडलाई तिमीले त पैसा लिइसकेकी रहिछ्यौ भन्दा मैले दूतावासबाट उपदानसम्बन्धी एक सेन्ट पनि लिएको छैन भनिन् । दोस्रो कुरा — “टण्डनजीको भनाइमा यो रकम विश्वकर्मा र तपाइहरू मिली हिनामिना भएको छ । यस सम्बन्धमा राम्ररी नबुझी झट्ट केही गर्नु नराम्रो हुन जाने भएकोले यो पत्र लेखेको छु । यथाशीघ्र जबाफ पठाउनुभयो भने सजिलो हुने थियो ।” केशवराज झा शिष्टाचार महापाल भएका बखत मलाई झन्डै दुई वर्ष जति राहदानी शाखामा राखेर काम लगाउनुभएको थियो । सँगै काम गर्न सजिलो व्यक्तिहरूमध्येमा उहाँ पनि पर्नुहुन्छ । उहाँको छोरा डा. किरण झा पेरिसमा बस्दा हामीकहाँ निकै आवतजावत थियो र केही दिन त हामीसँगै पनि बस्नुभएको थियो । त्यसैले झा सरसँग म अलि नजिक पनि थिएँ । उहाँको त्यो चिठ्ठीले मलाई विचलित बनायो तर मलाई सबै कुराको याद थियो । उक्त पत्रमा झा सर नेपाल जान लागेको मिति पनि लेख्नु भएकोले सकेसम्म उहाँ जानुअगाडि नै उहाँलाई सबै कुरा अवगत गराउन पाए अझ बेस हुने ठानी तुरुन्तै जबाफ लेखेर सोही दिन पोस्ट गरेँ । मेरो पत्रले उहाँलाई समयमै भेट्टाउन सकेन । उहाँ नेपाल पुगेपछि आर्थिक प्रशासन शाखाका प्रमुख ओझाजीले सोही कुरा उठाएछन् । उहाँले उता गएपछि सबै कुराको जबाफ दिन्छु भनेर फर्किनु भएछ । अगस्ट १४ तारिखका दिन झा सरले मेरो चिठ्ठी पाउनु भएछ । मैले दिएको विस्तृत विवरणअनुसार उहाँ आफैले हिसाबको फाइल हेरेर उक्त उपदान रकम मन्त्रालयमा फिर्ता पठाएको चेक तथा बैङ्क स्टेटमेन्ट प्राप्त गरी सोको कपी मन्त्रालयलाई फ्याक्सबाट पठाई फोनसमेत गर्नु भएछ । ती सबै काम सकेपछि अगस्ट २०, १९९७ मा सबै कुराको जानकारी दिँदै झा सरले मलाई अन्तिम पत्र लेख्नुभएको थियो । दुष्ट मानिसका दुष्ट मन फेरि पनि पलाउन सक्छन् र खराब नियत राख्न सक्छन् भन्ने डरले ती दुवै पत्रलाई मैले अझै जतनसँग राखिरहेको छु ।

यति कुरा गरिसकेपछि त्यस बखत दूतावासमा भएको वास्तविक घटनाबारे पनि यहाँ खुलासा गराउनु उचित नै देखिन्छ । यसअनुसार स्थानीय सेक्रेटरी श्रीमती डाउड उमेरको कारणले राजदूत डिल्लीराज उप्रेतीको कार्यकालको अन्तिमतिर अवकाश लिन खोजेकी थिइन् र डिल्लीराजको कार्यकाल नसकिँदै उनले राजीनामा दिइन । उनले पाउने उपदान रकमको दूतावासले मन्त्रालयसँग माग ग¥यो । उनको उपदानको रकम दूतावासमा आई नपुग्दै डिल्लीराज उप्रेती नेपाल फर्कनुभयो । उपदान पर्खँदापर्खँदै नयाँ राजदूत कल्याणविक्रम अधिकारी पेरिस आउनुभयो । त्यसपछि उनको उपदान रकम दूतावासमा आइपुग्यो । स्थानीय सेक्रेटरी जान लागेको कुरा नयाँ राजदूतलाई पेरिसतिर उड्नु अगाडि नै थाहा भएको रहेछ । काम जानेको मानिस गएपछि नयाँ मान्छेसँग काम गर्न केही असजिलो त हुन्छ नै । त्यसैले नयाँ राजदूतले रकम निकासा आइसकेपछि पनि स्थानीय सेक्रेटरी श्रीमती डाउडलाई केही समय दूतावासमै काम गर्न अनुरोध गर्नुभयो । उनले पनि मानिन् तर राजीनामा दिइसकेको र उपदानको रकमसमेत आइसकेको अवस्थामा नियोगमै उही तलब दिएर काममा लगाई राख्दा कानुनी बाधा—अड्चन आउन सक्ने सम्भावना भएकोले ती स्थानीय सेक्रेटरीलाई राजीनामा फिर्ता लिन लगाउने र उपदान रकम पुनः मन्त्रालयमा फिर्ता पठाउनु उपयुक्त हुन्छ भनेर राजदूतलाई सुझाव दिएँ । उहाँले यसलाई राम्रै किसिमले लिनुभयो र श्रीमती डाउडलाई राजीनामा फिर्ता लिन लगाइयो । उनका लागि आएको उपदानको रकम पनि मन्त्रालयमा फिर्ता गर्‍यौँ ।

सरकारी रकम फिर्ता गर्ने काम मौखिकमा हुँदैन भन्ने कुरा नजान्ने कोही छैन होला । यसका लागि कागजपत्र, चेक तथा गोश्वारा भौचर सबै तयार हुनै पर्छ । महिनाभरिको हिसाब तयार भएपछि प्रत्येक महिनाको हिसाब डिपमेलबाट मन्त्रालयको आर्थिक प्रशासन शाखामा पठाउनै पर्छ । त्यसरी तयार गरेको महिनाको आम्दानी खर्चको एउटा फाइल दूतावासमा राख्ने र मूल फाइल मन्त्रालयमा पठाउने चलन थियो । सायद अहिले पनि प्रचलनमै होला यो प्रथा ।

एकातिर परराष्ट्र मन्त्रालयले झन्डै सात वर्षअघि दूतावासमा पठाएको रकमको रेकर्डचाहिँ फेला पार्‍यो र दूतावासलाई के हो यो भनेर जानकारी दियो । तर सोही समयताका पाँच—सात महिनापछि करिब साढे छ वर्षअघि दूतावासले मन्त्रालयमा फिर्ता पठाएको सोही रकम चाहिँ पत्ता लगाउन सकेन । यो एउटा अनुसन्धानको विषय थियो भने अर्कोतिर मैले गर्दै आएको कामलाई निरन्तरता दिँदै चार वर्ष बिताइसकेका मित्रले छ वर्षपछि फलाना फलानाले मिलेर हिनामिना गरे भनेर राजदूतलाई कारबाही अगाडि बढाउन उक्साएका रहेछन् । मानिस कस्तो कमजोर मानसिकता बोकेर हिँड्न सक्दो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हो यो । आर्थिक प्रशासन शाखाका कर्मचारी तथा मेरो कामलाई निरन्तरता दिने ती दुवै कर्मचारी मित्रहरूलाई के थाहा भएन भने दुःख भोग्ने मानिस भोलि सुखी हुन सक्छ तर दुःख दिने मान्छे कहिल्यै सुखी र खुसी हुन सक्दैन ।

संयोगले अहिलेसम्म ती मित्रलाई भेट्न वा देख्नपरेको छैन, अब पनि भेट नहोस् । अहिले पनि मलाई लाग्छ मैले मान्छे चिन्न कति ढिला गरेँछु । जीवनमा भोगेका अन्य अप्ठ्यारा तथा असजिलो परिस्थिति मलाई त्यति सम्झना छैन किनकि जीवनमा दुःख सुख आउँछन् जान्छन् तिनलाई कसरी सामना गरेर जीवन अगि बढाउने भन्ने कुरा प्राप्त संस्कार र ज्ञानमा निर्भर हुन्छन् । तर प्रमाण देखाउन सकिने सरकारी कागजपत्र जो आफ्नै मातहतमा थिए, आफ्नो अवधिभर ती कुरा नउठाउने । छ वर्षअघिको कुरा थाहा थिएन भने थाहा छैन भन्न त सक्थे होलान् तर उनको विकृत मानसिकताले दोष अरूका थाप्लामा थोपरेर आफूचाहिँ आत्मरतिमा रमाइरहने निर्णय गर्‍यो र मनगढन्ते आरोप राजदूत मार्फत लगाए । मलाई अझै लाग्छ मैले उनका लागि राम्रोबाहेक नराम्रो केही गरेकै थिइन । किन होला मलाई झन्डै—झन्डै बदनामीको खाडलमा जाक्न खोजेको ? अझै म आश्चर्यमा छु । भगवान्को आशीर्वादले विश्वकर्माजी र मेरा विरुद्ध उठाइएको त्यो आरोप राजदूतसम्म मात्र सीमित भयो । राजदूतले कारबाही अगाडि बढाउनुअघि मसँग सम्पर्क गर्नुभयो । यसले गर्दा मैले यथार्थ पेस गर्ने र कागजपत्र पत्ता लगाउने उपायसमेत सुझाव गर्न भ्याएँ । फलस्वरूप हाम्रो खबर मिडियामा पुग्न पाएन । यस्तै ईर्ष्यालु मित्रहरू कसैका पनि नहोउन् र कसैले पनि ईर्ष्याको सिकार बन्न नपरोस् भन्ने कामना राख्दछु ।