अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 09:40

२१ औँ शताब्दीको महिला उन्मुक्तिमा भीरमह

राम खत्री, न्यु योर्क २०७८ चैत १४ गते १७:४८ मा प्रकाशित

३६ भागमा विभाजित डा. रेणुका सोलुको १९८ पृष्ठको उपन्यास भीरमह लामोसमय लगाएर पढिसिध्याएँ । सगरमाथा प्रतिभा प्रतिष्ठानले यसलाई विक्रम संवत् २०७३ मा प्रकाशित गरेको रहेछ र सोही साल दोस्रो संस्करण र विक्रम संवत् २०७४ मा तेस्रो संस्करण बजारमा आइसकेको रहेछ । रु ३००/ पर्ने यो चिटिक्क परेको उपन्यास यति छोटो अवधिमा तेस्रो संस्करण निस्कनु भनेको यसभित्र पाइने आधा आकाश ढाकेर बस्ने ती सम्पूर्ण आमा, दिदीबहिनी, छोरी, भतिजी, भान्जि, नातिनीहरुको अस्तित्वको साच्चिकै विकास, उत्थान, उन्नति र विवेकका लागि प्रेरणादायी पुस्तक भएकै कारण हो जस्तो मलाई लागेको छ ।

म गाउँमै हुर्के बढेको मान्छे । मलाई पनि उकालीओरीली गर्न आउँथ्यो र सक्षम पनि थिएँ । भारीकैसाथ गोडाहरु कमाउँदै ओरालो नझरेको पनि होइन । तर ती सोलुका बुङ, नेले, मुक्ली, बासा आदिको वर्णन तथा चर्चाले मलाई अझ विकटताको आभास गरायो । म आफै त्यही उकालो चढिरहेको छु । उही ओरोली झरिरहेको छु । अनि तिनै सिँगाने बच्चाहरू दौराको फेर मात्र हल्लाउँदै दौडेर नयाँ मान्छे हेर्न आइरहेका छन् । ‘हलो’ भन्दै बोल्ने बहाना बनाउँछन् । केही नयाँ बस्तु दिई पो हाल्छन् की भन्ने आशा पनि गरिहेछन् । डा. रेणुका सोलु होइन म आफै यी दृश्यहरू हेरिरहे, भेटिरहेजस्तो भइरहेको छ । केही शब्दहरू मैले नसुनेका, नपढेका पनि थिए । शायद ती स्थानीय शव्दहरुपनि हुन सक्छन् वा ठाउँको नाउँ पनि हुन सक्छ वा मैले थाहा नपाएकै पनि हुनसक्छ । मात्र १२ वर्षकी माहिलीसँगको भेट, माइलीको माया र माइलीको पढ्ने चाहना र भाँडा माझेर कमाएको पैसाले एक दिन आएर मीठो बोलेर जाने मानिसका लागि उपहार किनेर दिने आँट उपन्यासको एकदमै मन छुने भाग हो । कतिपय ठाउँमा म झुक्किएँ पनि । वरिष्ठ नियात्राकार दाइ प्रतीक ढकालको नियात्रा पो पढिरहेको छु की । उहाँ पनि नारी उत्थान र सम्मानका लागि प्रशस्तै आवाज उठाउने लेखक हो । नारी उत्थान र सम्मानकै लागि प्रशस्तै साहित्य लेख्ने, सभा सम्मेलन गर्ने, पुरस्कारको व्यवस्था गर्ने मैले आदर गर्ने दाइ नरेन्द्रराज प्रसाई हुनुहुन्छ । शायद यो भीरमहले उहाँहरूको त्यो इच्छा तथा चाहनालाईसमेत केही हदसम्म पूरा गरेको हुनुपर्छ ।

उपन्यास महिला हकहित तथा महिलाको साच्चिर्कै सम्मानको लागि अगाडि बढ्दै जान्छ । विभिन्न कार्यक्रमहरू मार्फत देशका सम्पूर्ण महिला दिदीबहिनीहरूले आफ्नो घरपरिवारलाई जुन माया—प्रेम र सद्भावले एक ढिक्का बनाइरहेका छन् सोही अवस्था कायम राख्दै आमा, छोरी दिदीबहिनी सबैले छोराले जस्तै पढ्न, लेख्न र सिक्ने समान अवसर प्राप्त गर्न सके भने त्यो घरपरिवार मात्र होइन देशकै कायापलट हुन्छ भनेर विश्वास दिलाउने प्रयास यो भीरमहले गरेको छ । बास्तवमा यो सही कुरा हो । नेपाल एउटा भाग्यमानी देश हो जसले एक्कै पटक देशको सर्वोच्च पद राष्ट्रपति, सभामुख र प्रधान न्यायाधीशजस्तो गरिमामय पद महिलाको हातमा सुम्पियो । तर आफ्नै पौरखबाट उक्त पदमा नपुगेका कारण उक्त समय नेपाली महिला हक, हित, सम्मान तथा समानताको युद्धका लागि व्यर्थ सिद्ध भयो । त्यो भन्दा बढी नवमहारानीको व्यवहारको जन्म भयो भन्नेसमेत चर्चा उठ्यो । उमेरमा आफूभन्दा पाका ओहोदाले पनि सम्माननीय प्रधान न्यायाधिशसम्मका व्यक्तिलाई पनि सारा संसारले देख्नेगरि आफ्नो सामुन्नेमा घुँडा टेकाएर टीकाजमारा प्रदान गरियो साथै देशको प्रधानमन्त्रीलाई आधिकारिक कार्यक्रममा शपथ ग्रहण गराउँदा कानुनले निर्धारित ढाँचामा शपथ गराउन नसकी घरमा श्रीमान्/श्रीमतीबिचको कुराकानी तथा हँस्सी मज्जाको रूपमा टेलिभिजन मार्फत सम्प्रेषित सन्देशले उनको काविलियताप्रति प्रश्न चिन्ह खडा गरायो । भीरमहले त्यस्ता महिला खोजेको छैन । यसले खोजेको नारी ती हुन जो पढेकी हुन, जो विवेकी हुन, जो ज्ञानी छिन्, जो अरूको नचाइमा नाच्दिनन्, जो तर्क गर्न सक्छिन्, तर्कमा विजय हासिल गर्छिन्, जो अरूले दिएको कोटामा आश्रित बन्न चाहन्न ।

भीरमहको माग के हो भने सन्तान छोरा होस् वा छोरी दुवै ईश्वरका वरदान हुन । दुबैलाई जन्माउन, हुकाउन, बढाउन पालनपोषण गर्न आमाबाबुले उत्तिकै दुःख र मिहिनेत गरेका हुन्छन् । माया दुवैको उत्तिकै लाग्छ भने किन छोरीलाई मात्र घरको काममा लगाउने <छोरालाई मात्र किन स्कुल पठाउने <कसरी त्यही आमाबाबुले एउटै कोखबाट जन्मेका सन्तानलाई असमान व्यवहार गर्न सकेको पाप धर्मको केही सम्झना आएन ती आमाबाबुलाई<आप्mनै जन्मदिने आमाबाबुले छोरीलाई हेलाँ गर्न सक्छन् भने समाजले छोरीलाई कुन दृष्टिले हेर्ने त्यसैको फल हैन र नमिता, सुमिता तथा निर्मलाजस्ता चेलीहरुको विविध काण्डको जन्म<यिनै चेतनाको बिगुल फुकेको छ भीरमहले ।

काठमाण्डौको नव—धनाढ्य वर्गको सानो चर्चाले ठुलो उपदेश दिन खोजेको छ । एकातिर १०/११ वर्षकी सुन्तलीको जीवन निर्वाहको परिस्थिति छ भने अर्कोतिर स्नोपीको २४ घण्टे स्याहार सुसार छ । अकुत धनराशि आर्जन गर्नेहरूले मानिसलाई भन्दा जनावरलाई बढी माया गर्ने बेला आइसकेको हो त ? उनीहरूले आर्जित धनसम्पत्ती मिहिनतकै कमाई होला त । देशभरि त गरिबी व्याप्त छ । सोच्न बाध्य बनाउँछ भीरमहले । समग्रमा भन्ने हो भने महिलाको विकास, उन्नति, संवृद्धि नभई सिङ्गो परिवार, समाज र देशको उन्नति हुंदैहुंदैन । आधा समाजलाई कानो बनाएर कसरी सिङ्गो देशको विकासको आशा गर्ने आधा समाजलाई अझै मूर्ख बनाइ रहेको कुरा भीरमहले प्रस्टसँग देखाइरहेको छ । यस्तो अवस्थामा कसरी सिङ्गो समाजको उन्नतिको आशा राख्ने एक पटक पढेर चेतना बाँड्न पछि नपरौँ भन्ने मेरो आग्रह सबै पाठकबृन्दहरुमा रहेको छ ।