अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 21:28

क्वारेन्टाइन

राम खत्री, न्यु योर्क २०७८ मंसिर १४ गते १७:३४ मा प्रकाशित

कोरोनाको महामारीले १८ महिनाभित्रमै विश्वबाट झन्डै ५२ लाख मानिसको ज्यान लिइसकेको अवस्था छ । यस्तो त्रासदीपूर्ण वातावरणमा कोलोराडो निवासी हाम्रा मित्र श्री पदम विश्वकर्माको १८४ पृष्ठको नवीनतम कृति क्वारेनटाइन बजारमा आइसकेको छ । यसलाई साग्रीला पुस्तक प्रा.लिले वि.सं २०७८ मा प्रकाशनमा ल्याएको हो । साहित्यकार श्री पदम विश्वकर्माको यो पहिलो उपन्यास हो भने उहाँको अन्य कृतिहरू कविता तथा कथासङ्ग्रहहरू यस अगाडि नै प्रकाशित भइसकेका छन् ।

क्वारेन्टाइन शब्दको प्रयोग अस्पतालहरुमा तथा न्युयोर्कको जे.एफ.के एयरपोर्टमा प्रयोग भएको सुनेको थिएँ । अस्पतालहरूले बिरामीलाई अन्य बिरामीबाट बेग्लै राख्ने र एयरपोर्टमा अमेरिकाभित्र ल्याउन नहुने सामान खास गरी कृषिजन्य बस्तुहरूलाई अलग्याउने कामलाई क्वारेन्टाइन भनिएको थियो । सन् २०२० को आरम्भबाटै संसारका बोल्न सक्ने बालकदेखि बृद्धासम्मलाई यो शब्दको ज्ञान हुन थाल्यो ।

क्वारेनटाइन उपन्यासको सेरोफेरो कोलोराडो, क्यालिफोर्निया तथा न्यु योर्क रहेको छ । विशेष गरेर न्युयोर्कजस्तो अति नै भिडभाडको सहरमा बस्ने मानिसहरूले कोरोनाको भयावह स्थितिको सामना किन गर्नु पर्‍यो, कसरी गरे र अबका दिनमा मानिसले कसरी सोच्नु पर्ने रहेछ भन्ने कुराहरूको यो एउटा ऐतिहासिक दस्तावेजनै हो । अमेरिका जस्तो शक्तिशाली देशले सुरुका दिनमा यस्तो विकराल महामारीलाई कुन हिसाबले हेरे र पछि कुन तरिकाले यसलाई बिस्तारै कम गर्न सफल भए आदि कुरालाई विनय र जमुनाको माध्यमबाट अभिव्यक्त गराइएको छ । यो उपन्यासमा पात्रहरू धेरै नभए पनि कथा सलल बगेको । बिचबिचमा उपकथाहरू आएर जोडिन्छन् र त्यसै बिलाउँछन् । उपन्यासकारको प्रकृति वर्णनलाई पढ्दा उहाँ एउटा परिपक्व साहित्यकार देखिनु हुन्छ । कोलोराडोमा भएको हिउँको वर्णन गर्दा त्यहाँ नपुगेको मानिसलाई कोलोराडो एक पटक पुगिहालौँ जस्तो लाग्ने बनाउनु भएको छ । विश्वमा बेलाबेलामा फैलिएको यस्ता महामारी, मानवीय घमन्डबाट सिर्जित लडाई तथा दैविक प्रकोपहरूबाट भएको मानवक्षतीको ऐतिहासिक फेहरिस्त विनयका बुबा मार्फत पाठकहरूलाई दिने प्रयास गर्नु भएको छ । साथै कोरोना ज्यानमारा महामारी भएकोले सर्जकले आफूmले जीवन—मृत्युका सम्बन्धमा आर्जन गरेको अनुभव तथा ज्ञानको दर्शन पनि पाठक समक्ष प्रस्तुत गर्नु भएको छ ।

आपत्कालीन अवस्थामा अस्पतालको अवस्था, बिरामीको अवस्था तथा आफन्तहरूको हालत र चिन्ताको जीवन्त चित्रण गरिएको छ । विज्ञान र प्रविधिको विकासले गर्दा अस्पताल गएपछि घर फर्कन पाउने हो वा होइन त्रासको अवस्थामापनि फेस टाइमको मद्दतले डाक्टर, नर्सहरूले आफन्तलाई बिरामीको अनुहारसम्म हेरेर चित्त बुझाउने बनाइ दिएकोले केही राहत मिलेको अवस्थाको वर्णन सजीव छ । अमेरिकी समाजमा यो महामारीको असर जनजीवन, व्यापार—व्यवसाय तथा खाद्यान्नमा कसरी पर्दै गयो र अझै परिरहेको छ जस्ता विषयलाई पनि उपन्यासमा यथास्थान दिइएको छ ।

चौबिसै घण्टा चहल—पहलमा रमाउने न्यु योर्क नगर मुर्दा तुल्य बनेको थियो । हवाईजहाज, रेल, बस, गाडी तथा ट्याक्सीहरू सबै आ—आफ्नो स्थानमा टक्क अडिएका थिएँ मानौँ भगवान् श्रीकृष्णले महाभारतको लडाइको मध्य भागमा रथ रोकेर अर्जुनलाई गीताको ज्ञान दिन सबै ब्रम्हान्डलाई टक्क रोके जस्तो । अमेरिकी सामान्यस्तरको जीवन यापन (करिब ७० प्रतिशत जनता) एउटा तलबबाट अर्को तलब नआएसम्मका गुजारामा चलिरहेको एउटा कटु वास्तविकता हो । यदि कुनै कारणवश पछिल्लो तलब आइदिएन भने त्यो परिवार वा व्यक्ति समस्याको चपेटामा परिहाल्यो । राम्रो जीवनबाट घरबार विहीनमा पुग्न धेरै बेर लाग्दैन । यी कुराहरूलाई पनि उपन्यासमा निकै प्रस्टसँग उतारिएको छ । बास्तवमा अमेरिकी समाजको यो यथार्थ चित्रण नै हो ।

सम्झना स्वरूप छुवाछुतको कुरालाई पनि उपन्यासमा निकै स्थान दिइएको छ । जुन हाम्रो पुरानो सामाजिक कुरीतिहरूको एउटा ह्ङ्गओभरपनि हो । त्यो पनि जस्ताको तस्तै लाग्छ । मायापीरतीका सम्बन्धमा भने यो उपन्यासले कमै छोएको छ तर शून्य भने छैन । अमेरिकीले चुम्बन गर्न नपाएर छटपटाहटमा परिरहेकोले सन्तोषका लागि मास्क बाहिरैबाट चुम्बनमा रमाउने कोसिस गरिरहेको बताउनु भएको छ । यसका अलावा अमेरिकी सरकारले रोकथामका लागि गरेका कामहरूमा न्युयोर्कमा अस्थायी अस्पतालहरू पानीजहाजमा राखियो, रङ्गशालाहरूमा स्थापना गरियो, प्रदर्शनी स्थलहरूमा खोलियो, तथा पार्कहरूमा खोलिएका कुराहरू राखिएको भए पनि नराम्रो हुने थिएन । शायद उपन्यास लामो हुन सक्ने डरले यसो नगरिएको हुनसक्छ । त्यस्तै छुवाछुतको कुरालाई अझ कम गरिएको भए अझ राम्रो हुने थियो । पहिले—पहिले छुवाछुत साँच्चै मानवीय जीवनको एउटा कलङ्क, पीडा र दर्दको पाटो थियो । तर वर्तमान समाजले र नयाँ पुस्ताले यसलाई पछाडि पार्दै आइरहेको अवस्था छ । बिस्तारै फाल्दै आइरहेको देखिइरहेको छ । यस्तो परिस्थितिमा विभिन्न सङ्घसंस्था खोलेर त्यसैको प्रचार—प्रसारमा हरहमेसा मानिस लागि रहँदा समाजमा यो प्रथा झन् गहिरो जरा गाडेर बस्ने त होइन .तीनै संघसंस्थाहरुले यस्तो प्रथालाई पनि पुस्तान्तरण नगरुन् भन्ने मेरो निजी दृष्टिकोण मात्रै हो ।

अन्तमा सामाजिक परम्परालाई भत्काउँदै उमेर पाको भइसकेपछि पनि जीवन निर्वाहका क्रममा बाँच्ने आधारको रूपमा विनय र पार्वतीको मिलन गराइएको छ । उपन्यास वियोगान्त र संयोगान्तको मिश्रणमा गएर टुङ्गिएको छ । उपन्यास पढ्ने मात्र होइन यो एउटा इतिहासको पुस्तक हो भनेर सबैले घरमा राखेर आउने पुस्तालाई कोरोना प्रकोपको भयावह दृश्य देखाउने र त्यसको बचाउका लागि सिकाउने शिक्षा पनि हुनेछ । को बाच्ने हो तथा को मर्ने हो भनेर मृत्युबाट भयभीत भई मानिस आफ्नो जीवन कसरी जोगाउने ध्यानमा पूर्ण शक्ति लगाइरहेको अवस्था थियो । नेपाली उखान— ‘हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ भन्ने परिस्थितिमा सर्जक श्री पदम विश्वकर्माजीले आफ्नो दिमागलाई यसरी लेखनमा एकत्रित गरी समाजलाई यो उपहार दिनु भएकोमा उहाँलाई मुरीमुरी धन्यवाद तथा बधाई ।