अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१२ | Colorodo: 05:27

विवादित प्रश्नहरुबारे नबोल्न रास्वपा सांसदहरुलाई रवि लामिछानेको चेतावनी

बिआरटीनेपाल २०७९ माघ २४ गते ६:३८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिएसँगै थप आलोचित बनेको छ। सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि सभापति रवि लामिछानेले आयोजना गरेको पत्रकार सम्मेलनमा व्यक्त धारणाको कारण रवि र रास्वपा थप आलोचित बन्नुुभएको छ । पार्टीमा विवाद बढेको छ। पटकपटक आग्रह गर्दा लामिछानेलाई सरकारले गृहमन्त्रालयमा पुनर्बहाली नगरिदिएको झोंकमा रविले दुई मन्त्री र एक राज्यमन्त्रीलाई पनि राजिनामा दिन लगाउनुुभएको थियो ।सरकारबाट बाहिरिने निर्णय गरेपछि आयोजित पत्रकार सम्मेलनमा रविले दिएको अभिव्यक्ति पार्टीको सर्वसम्मत निर्णय नभई व्यक्तिगत धारणा मात्रै भएको एक नेताले बताएका छन् ।

रविको अभिव्यक्तिपछि पार्टी संगठन, सिद्धान्त, आगामी योजनालाई लिएर धेरै प्रश्नहरु उब्जिएका छन्। सञ्चारमाध्यम र सरोकारवालाले गरेका प्रश्नको जवाफ नदिन र विवादित जवाफ दिए पार्टी र सदनमा रहेको पदीय हैसियत खोसिनेसम्म लामिछानेले नेताहरुलाई चेतावनी दिएको एक नेताले बताएका छन् । प्रतिनिधिसभामा रास्वपाका हाल १९ जना सांसद छन्। सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरिदिएपछि रविको सांसद पद गुमेको छ। रास्वपाकी इन्दिरा रानामगर उपसभामुख बन्नुुभएको छ । पार्टीप्रति सबैको चासो भइरहेका बेला विवादित अभिव्यक्ति नदिन र दिए सांसद पद खारेज गरिदिने लामिछानेले धम्की दिएको नाम उल्लेख नगर्ने सर्तमा एक नेताले बताए । पार्टी स्थापनाको छोटो अवधिमा नै नेताहरुबीच फरक मत देखिँदै आएकोमा रविको अभिव्यक्तिपछि पार्टीभित्र तिक्तता चुलिएको छ।

रविको महत्वकांक्षाले स्थापना भएको रास्वापामा फरक–फरक पृष्ठभूमिका व्यक्तिहरु भेला हुँदा स्थापनाकालदेखि नै धेरथोर फरक मत देखिँदै आएको थियो। पार्टी सभापति लामिछानेको एकल निर्णयलाई थेग्दै आएका नेताहरुले सरकारबाट बाहिरिएपछि भने खुलेर नै विरोध गरेका छन्। पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा जानुको कारण र छिट्टै बाहिरिनुको कारण सभापति लामिछानेसँग मागेका छन्। धेरै नेता सरकारबाट बाहिरिन नहुने पक्षमा हुँदाहुँदै गृहमन्त्रालय नपाएको झोंकमा रविको एकल निर्णयले रास्वपा अहिले सरकारबाहिर पुगेको हो।

सुरुदेखि नै सभापति लामिछाने र प्रवक्ता मुकुल ढकालको मनोमानी र एकलौटी शासन चलेको एक नेताले बताए। नेताहरु गणेश कार्की, विराजभक्त महर्जन, शिशिर खनाललगायतले फरक मत राख्दै आएकामा अहिले अरु पनि थपिएका छन्। गत आइतबार रास्वपाको पत्रकार सम्मेलनमा रविले अनावश्यक बिषयबस्तुहरु पनि उठाएको राजनीतिक वृत्तमा टिप्पणी भएका छन्।

प्रतिक्रिया