अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने कोसिस भइरहेको छ- मन्त्री शर्मा

बिआरटीनेपाल २०७९ माघ २४ गते ६:१७ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई फेरि सरकारमा ल्याउने कोसिस भइरहेको बताउनुभएको छ । मङ्गलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको उत्तर दिँदै मन्त्री शर्माले यस्तो बताउनुभयो । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार सङ्कटमा नरहेको उहाँको भनाइ छ । उहाँले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले रास्वपालाई फेरि सरकारमा ल्याउन राजनीतिक ढङ्गबाट पहल गरिएको बताउनुभयो ।

मन्त्री शर्माले किसानले तरकारी फालेर विरोध जनाइरहेको बारेमा सरकारको ध्यानाकर्षण भएको जानकारी दिनुभयो । उहाँले कृषिजन्य पदार्थ उत्पादनमा जोड दिने भनिरहँदा बजार भाउ र समर्थन मूल्य नतोकिँदा समस्या आएकाले अब सरकारले उत्पादक र उपभोक्ताको बीचमा रहेको ’ग्याप’ लाई समाधान गर्नेबारेमा छलफल भएको बताउनुभयो । किसान र उपभोक्ताबीचका बिक्रेताका लागि लाइसेन्सको व्यवस्था गर्नेबारेमा पनि मन्त्रालयस्तरीय बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।

मन्त्री शर्माले पाँच दिनसम्म प्रतिनिधि सभाअन्तर्गतका समिति बनिसक्ने पनि बताउनुभयो । उहाँले समितिहरू निर्माण गर्न ढिलाइ हुँदा आवश्यक विधेयक पनि संसदमा पेस हुन नसकिरहेको भन्दै समिति निर्माण गरेर विधेय पास गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

प्रतिक्रिया