अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

स्पेनिस फुटबल टोलीसँग नेपालले मैत्रीपूर्ण खेल खेल्ने

बिआरटीनेपाल २०७९ पुष ७ गते ५:३३ मा प्रकाशित

स्पेनिस फुटबल क्लब दुई मैत्रीपूर्ण खेलका लागि नेपाल  भ्रमणमा आउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ दुई मैत्रीपूर्ण खेल्न स्पेनको काथेरेन्यो फुटबल क्लब नेपाल भ्रमणमा आउन लागेको हो । स्पेनिस लिग प्रणालीअन्तर्गत दोस्रो डिभिजनको क्लबले काठमाडौं र पोखरामा एक एक मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।

खेल पोखरा रंगशाला र  दशरथ रंगशालामा हुनेछन् । काथेरेन्यो फुटबल क्लब र गण्डकी–११ बीचको मैत्रीपूर्ण खेल १३ पुसमा पोखरा रंगशालामा हुनेछ । यसैगरी १४ पुसमा दशरथ रंगशालामा काठमाडौं–११ सँग दोस्रो मैत्रीपूर्ण खेल हुने तालिका छ ।  नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गण्डकी–११ फुटबल टिमको कप्तानी जिम्मेवारी पाउनुभएको छ । टोलीको प्रशिक्षण पोखराबासी राजेन्द्र तामाङले दिनुहुनेछ ।  यसैगरी काठमाडौं–११ को टिम पूर्वकप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ । काठमाडौं टिमको प्रशिक्षकमा मेघराज केसी  हुनुहुन्छ ।

स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) नेपाल भ्रमण टोलीमा हुनेछन् । सन् १९८८ देखि १९९२ सम्म स्पेनको राष्ट्रिय टोलीबाट खेल्ने क्रममा स्ट्राइकर मोनोलोले २८ अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका थिए । विश्वकप १९९० मा मोनोलो स्पेनिस टिमको मुख्य खेलाडी थिए ।  फाउन्डेसनका उपाध्यक्ष गोबिन्द सुवेदीले नेपाली राष्ट्रिय टोलीका वर्तमान तथा पूर्वस्टार खेलाडीहरू र स्पेनिस राष्ट्रिय टिमबाट विश्वकपको समेत अनुभव बटुलिसकेका खेलाडीबीचको प्रतिस्पर्धा अत्यन्तै रोमाञ्चक हुने अपेक्षा रहेको बताउनुभयो ।

नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यसहित गरिन लागेको मैत्रीपूर्ण खेलका लागि काथेरेन्यो फुटबल क्लबको साथमा स्पेनिस राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरूका साथै स्पेनिस फुटबल महासंघका उपाध्यक्ष पनि नेपाल आउनेछन् । फाउन्डेसनले नेपालको पर्यटन प्रवद्र्धनमा यस मैत्रीपूर्ण खेलले धेरै सहयोग पुग्ने विश्वास लिएको छ ।

फाउन्डेसनले भविष्यमा दुई देशका फुटबल एकेडेमीहरूबीच दीर्घकालीन सहकार्यको वातावरण बनाउने, स्पेनिस प्रशिक्षकहरू नेपाल ल्याएर खेलाडीहरूलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाउने, स्पेनका विशेषज्ञ इन्स्ट्रक्टरहरूबाट नेपाली प्रशिक्षकहरूलाई प्रशिक्षित गराउने, नेपालका प्रतिभावान युवा खेलाडीलाई स्पेनमा विशेष प्रशिक्षणको व्यवस्था मिलाउनेलगायतका योजना बनाएको छ । फाउन्डेसनले एन्फा र स्पेनिस फुटबल महासंघसँग सम्झौता गराउन पहल गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू