अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

वेस्ट इन्डिज ‘ए’ सँगकाे दाेस्राे टी–२० क्रिकेटमा नेपाल १० रनले पराजित

बिआरटीनेपाल २०८१ वैशाख १६ गते ६:०३ मा प्रकाशित

वेस्ट इन्डिज ‘ए’ टाेलीसँगकाे दाेस्राे टी–२० क्रिकेटमा नेपाल १० रनले पराजित भएकाे छ । वेस्ट इन्डिज ‘ए’ ले दिएकाे १ सय ६१ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रनमात्र बनाउन सक्याे । नेपालका कप्तान राेहितकुमार पाैडेलले नट आउट ७१ रन र गुल्सन झाले २६ रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन् । वेस्ट इन्डिज ‘ए’ का ओबेड मकाेए र गुदाकेश माेटीले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायाे । वेस्ट इन्डिज ‘ए’ का आन्द्रे फ्लेचरले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै गुदाकेश माेटीले ८ बलमा नट आउट ३३ रन बनाए । नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान २ विकेट लिए । यस्तै साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

याेसँगै पाँच खेलकाे टी–२० क्रिकेट शृङ्खलामा १–१ काे बराबरी भएकाे छ । हिजाे भएकाे पहिलाे खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले हराएकाे थियाे । टी–२० क्रिकेट शृङ्खलाकाे तेस्राे खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू